कपनमा डेरावाल वा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

कपनमा डेरावाल वा बाहिरका व्यक्ति आएमा खबर गर्न आग्रह

लोकसंवाद संवाददाता  |  समाज  |  बैशाख ३१, २०७७

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका –१०, कपन नीलोपुलस्थित प्रगतिनगर टोल सुधार समितिले आफ्ना घरमा बाहिरबाट कोही आएमा तथा भाडामा बस्नेहरु आउजाऊ गरेमा खबर गर्न घरधनीहरुलाई आग्रह गरेको छ ।

समितिका अध्यक्ष रामजी खड्काको अध्यक्षतामा आज बिहान आयोजित स्थानीय बासिन्दाको भेलाको सुझावअनुसार घर बाहिर रहेकाहरुलाई बाहिर नै बस्न आग्रह गर्ने निर्णय पनि गरिएको छ । यदि बाहिरबाट आई लुकिछिपी बसेमा घरधनी र भाडावाललाई २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय समितिले गरेको छ ।

टोलमा नयाँ व्यक्ति वा भाडामा बस्ने व्यक्ति कसैका घरमा बस्न आएमा सोबारे समितिका अध्यक्ष खड्का, सञ्जीव लामा, दीपक खड्का, हिमाल गुरुङ र विद्यादेवी सुवेदीलाई जानकारी दिन स्थानीयवासीलाई आग्रह गरिएको छ । त्यस्तै नीलोपुलस्थित खाली चौरमा खेलकूद गतिविधि नगर्ने तथा साइकल, मोटरसाइकल सिक्ने सिकाउने काम स्थगन गर्ने निर्णय पनि गरिएको छ ।