रगतमुछेल भएर छटपटाइरहेका बामदेव गौतमले भने ‘मलाई नछोऊ बा ! म मर्छु ।’

हेलिकप्टरबाट झरेका बामदेव गौतमलाई उठाउँदाकाे सम्झना

रगतमुछेल भएर  छटपटाइरहेका बामदेव गौतमले भने  ‘मलाई नछोऊ बा ! म मर्छु ।’

टेकबहादुर खत्री  |  दृष्टिकोण  |  जेठ १, २०७७

जागिरे जीवनमा रमाइरहेको मान्छे म । जिल्ला विकास समिति, बाँकेको कर्मचारी थिएँ । नेपालगन्जमा डेरा गरी बस्थेँ । एक दिन कार्यालयमा काम गरिरहेको बेला एक जना मानिस मलाई भेट्न आए, मेरो नाम लिँदै । आफूले चिनेको व्यक्ति पनि थिए साथमा ।  ‘ए लौ ! साथी आइपुगेछन्’ भन्दै उनलाई चिया पिलाउने प्रस्ताव राखे ।  तर आएका दुवै जनाले चिया खान जान मानेनन् । बरु मलाई अनौठो किसिमको सूचना दिए । म छक्क परेँ !

 दुवै जनाले स-बिस्तार जानकारी गराए । सङ्कटकालको समयमा उस्तै मान्छे आत्तिन्थे होलान् । तर म हड्बडाइनँ । ती साथीले पनि मलाई ढाडस थिए । आखिर ममाथि जुन आरोप लगाइदैथियो . त्यो शतप्रतिशत झुटो हुनाले म ती साथीको पछि लागेर उनले जहाँ जानुपर्ने भन्यो त्यहीँ गएँ । म ढुक्कसँग रिक्सामा चढेर उनको साथ गएको थिएँ ।

ती मेरा परिचित साथी सशस्त्र प्रहरीमा कार्यरत थिए । मलाई सशस्त्र प्रहरी गणमा पुर्‍याइयो । गेटमा के पुगेको थिएँ, त्यहाँ मलाई सशस्त्र प्रहरीहरूले ‘लालसलाम कमरेड’ भनेर सलाम सलाम गर्दा पो म तीन छक्क परेँ । त्यहाँ पुर्‍याएर मलाई त एकै पटक अभियुक्तजस्तो बनाइयो । प्रहरीहरूले एक्कासि सोध्न थालियो– ‘आजसम्म कहाँ कहाँ के के घटना घटाइयो ? को को छन्, माओवादी साथीहरू ?’

म कहिल्यै पनि वामपन्थी विचारसम्म नराखेको मान्छे । मेरा बुबा बलबहादुर खत्री बाँकेको साबिकको कचनापुर गाविस वडा नम्बर ७ मा दुई पटक नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष । त्यहीँ भएर पनि हाम्रो परिवार उल्टै माओवादी पीडित थियो । मैले प्रहरीलाई भनेँ, ‘एक त म यताउता नगरी जागिर खाएर बसिरहेको कर्मचारी, अर्को हाम्रो परिवार नै माओवादी पीडित छ, म कसरी माओवादी हुन सक्छु ? जसले मेरो बारेमा जे बकेको भए पनि उसले उसको गाउँमा के गर्छ मलाई थाहा छैन ।’

मैले आफूलाई लागेको आरोपका बारेमा जसरी प्रतिवाद गरे पनि तत्कालै कुनै सुनुवाइ भएन । त्यसपछि प्रहरी अधिकारीले आफ्ना सिपाहीलाई आदेश दिए, ‘लैजा यसलाई भित्र !’

यस्तो आदेश हुनासाथ सबैभन्दा पहिले मलाई पातो फर्काएर हतकडी लगाइयो । त्यसपछि आँखामा पट्टी बाँधियो । र एउटा साँघुरो कोठामा लगेर हत्याइदिए । मेरो शरीर ढुन्मुनिदै कोठाको भित्तामा गएर ठोक्कियो ।

त्यस दिनदेखि मैले सोचेँ, मेरो संसार अब अर्कै भयो । मेरो कुनै कसुर थिएन । रोएँ, कराएँ । अब बिना कारण मार्ने भए भन्ने लाग्यो, विलाप गरेँ । साँघुरो कोठाभित्र १५ जना जति खाँदेका थिए, तीमध्ये दुई जना महिला पनि थिए । केहीले सम्झाउँथे पनि ।

म त्यतिखेरको फुच्चेले उनको टाउकोमा बगिरहेको रगत नियन्त्रण गर्न आफ्नो सर्ट च्यातेर घाउमा ब्याण्डेज गरिदिएको र हिलोमा भासिँदै सकी नसकी आफ्नो पिठ्युँमा बोकी सुरक्षित स्थानतिर लैजान उद्धार गरेको व्यक्ति त अहिले फेरि नेपाली राजनीतिको चर्चामा रहेका नेता बामदेव गौतम पो रहेछन् । हेलिकप्टर दुर्घटनामा परी रगतमुछेल भई त्यतिखेर छटपटाइरहेका उनको उद्धार गरेको क्षण मेरो जीवनमा अविस्मरणीय घटनाका रूपमा रहेको छ ।

ओहो ! दिशापिसाव आयो भने त काल आएजस्तै हुने ! नर्क त्यहीँ थियो । खाना खाँदा पनि कुकुरले जस्तो गरी खानुपर्ने, थालमा दिइएको भात पातो कस्सिएको हातले उठाएर खान नमिल्ने । थालमा मुखै जोतेर खानुपर्ने । सुत्नका लागि कुरै छाडौँ, त्यहीँ चिसो भुईँमा कि कोल्टो पर्नुपर्थ्यो कति घोप्टो ।

मलाई त्यहाँ राखिएको भोलिपल्ट जसले मेरो नाम लिएका कारण मलाई पनि त्यहाँसम्म पुर्‍याइएको थियो, ती मान्छेको स्वर चिनेँ । त्यसपछि मेरो पारो तातिहाल्यो । ‘त्यसपछि बेकसुर मलाई फसाउने तैँ होइनस् भन्दै लात्तैलात्तले तिनलाई गोदेँ । अन्धा सुरमा लात्ती प्रहार गरेको थिएँ, अरूलाई पनि लागेछ ।’

उसले भन्यो ‘तँ जागिर खाइरहेको मान्छे, तेरो नाम लिँदा बच्न सकिन्छ कि भनेर मैले यसो गरेको हुँ ।’ यति भनेर ऊ पनि खुब रोयो । हामीसँग बसेका दुई महिला पनि उसैले बकेका कारण फसेका रहेछन् । उनीहरू स्टाफ नर्स पढ्दै थिए ।

यसरी म कडा यातनाका साथ त्यस कालकोठरीमा बसेँ ।

मेरो बयान लिन थालियो । अन्तिम बयानका क्रममा मलाई भनियो ‘यो अन्तिम बयान हो । घर परिवारलाई केही भन्नुपर्ने कुरा छ भने भन्नू ।’ मैले प्रतिवाद गर्दै फेरि भनेँ ‘माओवादी भएको प्रमाणित भए मलाई सिधै गोली ठोके हुन्छ ।’
 
मेरो आँखाको पट्टी खोलेर कम्प्युटरको स्क्रिनमा दुई जनाको फोटो देखाए । सोधियो, ‘यी दुई जनालाई चिनिन्छ ? कहिलेकाहीँ भेटिएको छ ?’ फोटोमा देखाइएका व्यक्तिलाई मैले कहिल्यै नभेटेको र नचिनेको । मैले त्यसै भनेँ । ती दुई फोटो बाबुराम भट्टराई र प्रचण्डको थिए ।

यसरी कालकोठरीमा यातनासहित एक महिना बिताएर म २०५८ साल मङ्सिर २९ गते रिहा भएँ । ६ महिना दैनिक तारिख धाएँ । 

एक जना नातामा पर्ने दाइ बिएसीको परीक्षा दिन नेपालगन्ज आउँदा मेरै डेरामा बसेका थिए । उनी हालको राप्तीसोनारिका गाउँपालिका वडा नम्बर २ टिकुलिपुरका बासिन्दा हुन् । उनी परीक्षा दिएर गाउँ फर्के । पछि उनी माओवादीको आरोपमा समातिएछन् । केही ठाउँ घटना घटाएको र पर्चा पम्प लेट गरेको भन्दै मेरो नाम पनि पोलेछन् ।

म रिहा त भएँ, तर जागिरमा फर्कँदा मैले हाकिमदेखि साथीभाइहरूबाट पहिलेजस्तो व्यवहार पाइनँ । उनीहरू मसँग सकेसम्म टाढिन खोज्थे । मलाई शङ्कालु नजरले हेर्थे । मलाई पनि सहज महसुस भएन र मैले जिविसभित्रै लघु उद्यम कार्यक्रममा जागिर सुरु गरेँ ।

यसरी म बेकसुर माओवादी आरोपमा राज्यबाट पीडित भएँ । म यो घटना जीवनमा कहिल्यै भुल्न सक्दिनँ । 

अनि त्यो हेलिकप्टर दुर्घटना...

त्यो दिन म जामुन खान भने जङ्गल गएको थिएँ । म त्यतिखेर १४/१५ वर्षको थिएँ । जङ्गल  पुगी जामुनको रुखमा चढेको थिएँ । हामी हालको दुर्गा भवानी सामुदायिक बनमा थियौँ । मेरा साथीहरू शेरबहादुर खत्री र केशव खत्री बाख्रा गोठाला गएका थिए । मेरो केही खसी बाख्रा पनि उनीहरूकै हुलमा छाडेर म चाहिँ रुखमा चढी जामुन टिप्दै खाँदै थिएँ । अर्को एक जना हामीभन्दा अलि जेठा कमारो घर्ती नामका दाइ राप्ती नदीमा बल्छी खेल्न गएका थिए ।

त्यतिकैमा एउटा अनौठो आवाज आयो । पट‍‍्....ट... पड्केजस्तो । हाम्रो ध्यान त्यतातिर गयो । उड्दै गरेको एउटा हेलिकप्टर देखियो । हेलिकप्टरको उडाई नै अनियन्त्रित थियो । पुच्छरको भागमा धुवाँ आइरहेको थियो भने पुच्छर तल झरेको र टाउकोको भाग माथितिर थियो । हेलिकप्टर बटारिँदै भूँई झर्न खोजिरहेको जस्तो देखिन्थ्यो । हेलिकप्टर राप्ती नदीमा खस्यो भन्ने अनुमान हामीले लगायौँ ।

सुरुमा त हामी तीन फुच्चेहरू थियौँ, त्यसपछि बल्छी खेल्न गएका ती दाइ हामीसँग मिसिए । हामी चार जना हेलिकप्टर खसेको ठाउँ खोज्दै दौडँदै थियौँ । दौडँदै त के भनौँ, गजगजि हिलोमा गाडिएको खुट्टामा हस्याङ फस्याङको अवस्थामा थियौँ । बर्सादको समय हाम्रा घुँडासम्म हिलो आइपुग्थ्यो ।

सामान्य अवस्थामा भए आधा घण्टामा पुगिने त्यो ठाउँ पुग्न हामीलाई एक घण्टा लागेको थियो । त्यहीँ बिचमा बल्छी खेल्न जाने दाइ चाहिँ अर्कै दिशा समातेर हिँडे ।

दूर घटनास्थलमा पुग्न करिब ५० मिटर जति थियो, एक जना सेनाको बर्दी लगाएको बडेमानको शरीरको व्यक्तिले हामीलाई हातको इसाराले बोलाए । ज्यान ठुलो भएका सेनाको मान्छे देखेर मेरा दुई जना साथी त डराएर भाग्न खोजे । मैले उनीहरूलाई सम्झाएर रोकेँ ।

ती सेनाका मान्छेले भने–‘यो हेलिकप्टर पड्कन सक्छ, उहाँहरूलाई यहाँबाट निकालौँ ।’

हालको राप्ती सामुदायिक बनमा हेलिकप्टर खसेको थियो । त्यो ठाउँ पुरै झाडी थियो । झाडी पन्छाएर त्यहाँ उद्धार गर्नुपर्ने अवस्था थियो । हेलिकप्टरको पङ्खाले केही रुखहरू काटिएका थिए । 

एक जना वृद्धलाई सेनाकै बर्दी लगाएका एक व्यक्तिले पछाडिबाट दुई वटा हातले अङ्गालो हालेर सिधा पारिराखेका थिए । ती वृद्ध छिटो छिटो सास फोरिरहेका थिए । झाडी पन्छाउँदै ती वृद्धलाई सुख्खा ठाउँतिर ल्याउन सहयोग गर्‍यौँ । 

एक जना चाहिँ  भुईँमा घोप्टो परिरहेका थिए । घाइतेहरू बोलिरहेका थिएनन् । तर अर्को एक जनाको अवस्था अलि गम्भीर थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । रगत बगिरहेको थियो । उनी छटपटिइरहेका थिए । हामी फुच्चेहरू छेउमा पुग्दा उनले चिच्याएको अवस्थामा भने– ‘मलाई नछोऊ बा ! म मर्छु ।’ उनले जे भने पनि हामी उनको छेउमा गयौँ । मैले आफ्नो सर्ट फुकालेँ । त्यसलाई च्यातेर उनको रगत बगिरहेको ठाउँमा पट्टी बाँधिदिएँ । आफ्नो पिठ्यूमा बोकेर उनलाई सुख्खा ठाउँतिर ल्याउने प्रयास गरेँ । बडेमानको शरीरलाई बडो मुस्किलले बोकेर हिलोमा गजगजी पाइला गाडेर केही हिँडेको थिएँ, ५०/ ६० मिटर पर पुगेपछि अलि बढी हिलो भएको ठाउँमा मेरो खुट्टा भासियो । त्यतिखेरै एक जना गोठालो गएका चौधरी दाइ आइपुगे । उनैले बोक्न सघाए । उनलाई पनि सुख्खा ठाउँमा पुर्‍याएका  थियाै‌ं । 

सैनिकको बर्दी लगाएकाहरूले सोधिरहेका थिए–‘यहाँ नजिक गाउँ कहाँ छ ? अस्पताल र प्रहरी चौकी कहाँ छ ?’

हामीले शम्शेरगञ्ज नजिक छ भनेर देखायौँ ।

त्यतिकैमा प्रहरीहरू आए । गाउँलेहरू पनि जम्मा हुन थाले । हामीलाई प्रहरी र ठुला मान्छेहरूले हेलिकप्टरको नजिकै केटाकेटीहरू जान हुँदैन भनेर हामीलाई लखेटे । त्यहाँ भीड लाग्ने क्रम थियो, त्यसलाई पन्छाउन प्रहरीले लौरो पनि चलाउन पर्‍यो । लौरो खानेमध्ये म पनि एक थिएँ ।

तिनीहरूलाई के थाहा ! हामी फुच्चेहरू नै त्यो दूर घटनास्थलमा पुग्ने पहिलो व्यक्ति थियौँ । हामीले नै केहीलाई झाडी पन्छाएर सुरक्षित ठाउँमा ल्याउन सहयोग गरेका थियौँ ।

केही बेरपछि आकाशमा हेलिकप्टर देखा पर्‍यो । जङ्गलभित्रबाट हामीले कपडा हल्लायौँ । सिट्ठी फुक्यौँ । आगो बालेर धुवाँ पनि लगाइयो । कसैले रुखमा चढेर रातो कपडा पनि हल्लाए । दूर घटनास्थलबाट पाँच सय मिटर पर एउटा चौर थियो । त्यहीँ हेलिकप्टर अवतरण भयो र हामीले दुर्घटनामा परेकाहरूलाई लिएर गयौँ । हेलिकप्टर उनीहरूलाई बोकेर उड्यो ।

त्यो दुर्घटना २०५२ साल साउन २९ गते भएको थियो । त्यतिखेर तराईमा आएको बाढी निरीक्षणका लागि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी, गृहमन्त्री केपी शर्मा ओली (हालका प्रधानमन्त्री), तत्कालीन उपसभामुख रामविलास यादव र एमाले नेता बामदेव गौतमलाई लिएर त्यो सेनाको पुमा हेलिकप्टर राप्ती नदीको किनारमा दुर्घटना भएको रहेछ । हेलिकप्टरका पाइलट किसेन्द्रबहादुर शाही (हालदिवंगत) रहेछन् ।

म त्यतिखेरको फुच्चेले उनको टाउकोमा बगिरहेको रगत नियन्त्रण गर्न आफ्नो सर्ट च्यातेर घाउमा ब्याण्डेज गरिदिएको र हिलोमा भासिँदै सकी नसकी आफ्नो पिठ्युँमा बोकी सुरक्षित स्थानतिर लैजान उद्धार गरेको व्यक्ति त अहिले फेरि नेपाली राजनीतिको चर्चामा रहेका नेता बामदेव गौतम पो रहेछन् । हेलिकप्टर दुर्घटनामा परी रगतमुछेल भई त्यतिखेर छटपटाइरहेका उनको उद्धार गरेको क्षण मेरो जीवनमा अविस्मरणीय घटनाका रूपमा रहेको छ ।

( बाँकेको साबिकको कचनापुरका स्थायी घर भई हाल पोर्चुगलमा रहेका खत्रीसँग राजकुमार दिक्पालले गरेको कुराकानीमा आधारित)