चीनले दोलखा जिल्लालाई ११ सय थान पिपिईसहित स्वास्थ्य सामग्री प्रदान

चीनले दोलखा जिल्लालाई ११ सय थान पिपिईसहित स्वास्थ्य सामग्री प्रदान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १, २०७७


दोलखा । चीन सरकारले दोलखा जिल्लालाई ठूलो मात्रामा स्वास्थ्य सामग्री अनुदान दिएको छ ।

चीनसँग सीमा जोडिएको दोलखाको बिगु गाउँ पालिकालाई स्वास्थ्य सामग्री उपहार दिएको हो । दोलखा निवासी बागमती प्रदेश सांसद बिशाल खड्का, बिगु गाउँ पालिकाका उपाध्यक्ष संजीव ओली र चीनसँग सीमा जोडिएको लामाबगर क्षेत्रका वडाध्यक्षको पहलमा उक्त स्वास्थ्य सामग्री दिएको हो । 

प्रदेश सांसद खडकाका अनुसार डिस्पोजेवल मेडिकल मास्क एक लाख २० हजार थान, क्विक टेस्ट किट एक हजार दुई सय थान, एन ९५ मास्क एक हजार दुई सय थान, पिपिई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) एक हजार एक सय थान र थर्मोमिटर एक सय १० थानलगायत स्वास्थ्य सामग्री चीनले अनुदान दिएको छ । 

त्यसैगरी चामल, तेल, चिनी, पाउडर, चियालगायत खाद्यान्न पनि चीनले उपहार दिएको छ । खाद्यान्नको माग नगरेको भएपनि चिनियाहरु आफैंले उपहार दिएका सांसद खडकाले बताउनु भयो । ‘चीनले झण्डै १२ कन्टेनर सामान उपहार दिएको छ’, सांसद खड्काले भन्नु भयो ‘बिगु गाउँपालिकाका नाममा दिएको भए पनि अहिले दोलखा जिल्ला अस्पतालमा राखेर जिल्ला दैवी प्रकोप उद्दार कोष मार्फत आवश्यकताका आधारमा जिल्लाभर बाँडफाँड गरिने छ ।’ 

चीनले अनुदान दिएको स्वास्थ्य सामग्री मितेरी पुल र तातोपानी भन्सार कार्यालय पुगेर बुधबार दिउ“सो उपाध्यक्ष संजीव ओलीले बुझ्नु भएको छ ।