बाटोमा भेटेको रुमाल र सम्झना : चर्चित गीत 'जुनेली रातमा साटेको रुमाल खोइ कता झरेछ'को कल्पना

'जुनेली रातमा साटेको रुमाल खोइ कता झरेछ 
बादल भित्र सुस्तरी बोल्दा सबैले सुने छ । '.........

यो मेरो रचना भएको गीत रेडियो नेपालमा २०५३ सालमा रेकर्ड भएको हो ।  वरिष्ठ सङ्गीतकार बुलु मुकारुङले सङ्गीत गर्नु भएको छ यस गीतमा । गीतमा स्वर वरिष्ठ गायक लाक्पा सेर्पाको रहेकाे छ।  यो गीतको सृजना गर्ने क्रममा साथीहरूले महत्त्वपूर्ण योगदान गर्नु भएको छ । नेपाली गीतको मैदानमा यो गीतले विशेष स्थान पाएको छ भन्ने मेरो ठम्याई छ । 

गीतलाई कसरी मनन गर्ने त्यो मानिसको बौद्धिक क्षमतामा भर पर्छ ।  कसैले सामान्य भन्लान् कसैले संसार देख्लान् ।  गीत अन्य साहित्य भन्दा छिटो मनलाई समात्ने विशिष्टता काव्य हो ।  तुरुन्त हरेक  'स्पेसिस'लाई स्पर्श गर्छ |  मौलिक विशेषता गीतभित्र अदृश्य लुकेको हुन्छ ।  गीतले समाजको हरेक क्षेत्रलाई  प्रभाव पार्दछ जस्तो मन, क्रान्ति, प्रेम, सद्भाव, माया, आदर्श, प्रगति, परम्परा ,त्यति मात्र होइन सुख दुखको समवेदना प्रकट हुन्छ  ।   अम्बर गुरुङले भन्नुहुन्थ्यो- 'सङ्गीत नभएको जीवन निरस हुन्छ |'

यो मेरो गीतमा कसैले प्रेम प्रस्तावको लागि उपहार दिएको सुगन्धित रुमालको कथा छ | अहिले भ्यालेन्टाइन कार्ड अथवा रातो गुलाब प्रेमिलहरुले साट्न उपयुक्त समय पर्खन्छन् | त्यो समय मेहनतसाथ कुरुसले बुनेको रुमाल कुनै हाट बजारमा भेटेर साट्ने समय थियो |  

अमेरिकाका बब डानलले 'लिरिक्स' (१९६२-१९८५) गीतको पुस्तक लेखेर आफ्नो गायनमा खुब संसार थर्काए ।  उनको 'लिरिक्स' र गायनले नोबेल पुरस्कार पायो ।  बब डानलको गीतले नागरिक अधिकार, जातीय शोषण विरुद्धमा मात्र होइन उन्नाइसौँ शताब्दीको प्रारम्भिक समयमा रोमान्टिक गायक भनेर संसार भर चिनिए ।   गीतले छिटो समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने यो प्रमाण  थियो त्याे ।  गीत विशिष्ट साहित्यिक काव्य हो । गीतको आफ्नो भूमि हुन्छ । 

धेरै मान्छेले जीवनमा प्रेम गरेका हुन्छन् ।  त्यसको मौसम प्रकृति भिन्न होला तर मुटुले प्रेमलाई स्पर्श गर्ने स्वाद उस्तै हो ।  प्रारम्भ फरक होला तर आँखा र मन उस्तै हो | मैले पनि अरूले जस्तै प्रेमको अनुभूति प्रशस्त गरेको छु | कतै प्रेमको हार्दिक प्रस्तावबाट कतै आफ्नै मनको उक्षवासबाट ।  प्रायः यस्तो समय आफ्नै गाउँबाट सुरु भएर क्याम्पस जीवनमा दोहोरिइरह्यो ।  तर प्रेम नभए पनि विवाह हुँदो रहेछ र प्रेम सुरु हुँदो रहेछ । 

यो मिठो घटना रुमालसँगको मेरो मनमा बसिरह्यो ।  यस्तै पृष्ठभूमिमा यो गीत लेखेर रेकर्ड भएपछि बल्ल मेरो मनबाट बुट्टे रुमालको सम्झना ओझेल भयो । किन ? कसरी ?कसले ? त्यो रुमाल चौतारामा छोडेको हो भन्ने प्रश्न विलीन भयो ।

सबै गीतभित्र प्रेम हुँदैन अथवा गीत भन्नसाथ प्रेम हुन्छ भन्न सकिँदैन ।तर प्रेमले जीवनलाई भने प्रभावीत बनाएको  नै हुन्छ ।  

बुलु मुकारुङ सुन्दर अनुहार,विचार र सङ्गीत भएको गम्भीर स्रष्टा हुनुहुन्छ ।  बुलुको सङ्गीतमा लोक जीवन छ । म बिए दोस्रो वर्ष २०३६ सालमा त्रिचन्द्रमा अध्ययन गर्दै थिएँ ।  खुब फुर्तिलो केटा मेरो डेरा भएकै घरको एउटा सानो कोठामा भर्खर सरेको देखेको थिएँ ।  बेलुका आउने दिउँसो हराउने, अनि भ्वाइलिन बजाएर मस्त कोठाका बसेको देख्थेँ ।  त्यो समयमा मलाई दाइ भनेर परिचय भएको धेरै वर्ष बितेछ ।  त्यो भाइ हेर्दा हेर्दै वरिष्ठ सङ्गीतकार भएर आउनुभयो । भाइ बुलुलाई बधाई भन्न चाहन्छु । 

साधारण ठिटो जोसिएर भोजपुरबाट कल्पनाको आकाश खोज्दै आएर हेर्दा हेर्दै कल्पना समात्न सफल हुनुभयाे ।  बुलुले जहिले पनि मलाई हौसाउँनु हुन्छ ।  एक पल्ट दार्जिलिङबाट अरुणा लामा आउनु भएछ । मलाई फोन गरेर भन्नु भयो– 'दाइ गीत छिटो मलाई लेखेर दिनोस्, अरू कसैको सङ्गीत गर्दिन, अरुणा लामा आउनु भएको छ ।  गीत रेकर्ड गरिहालौँ ।' गीतको भाव मस्तिष्कमा खेलाउँदै थिएँ | पहिले लेखेको गीत अरुणा लामालाई सुट नहुने थियो ।  गीत रेकर्ड गर्ने समय जुरेन अरुणा  लामा बिरामी हुनुभयो ।  हाम्रो अरुणा  लामासँग गीत रेकर्ड गर्ने याेजना  अधुरो नै रह्यो । दिदी बिरामीबाट सुस्तरी गल्दै हुनुहुन्थ्यो ।  म पहाड गएको थिएँ ।  घरमा मतान बनाउने क्रममा व्यस्त भइरहेकाे  थिएँ ।  महान् नेपाली गायिका अरुणा लामा यो धर्तीमा नरहेको समाचार रेडियोले सुनायो  ।  म विक्षिप्त भएको थिएँ त्यस दिन ।  खाना पनि खान सकिनँ  ।  महान् गायिकाको दुःखद् निधनमा एक छाक भात छाडेको थिएँ ।  

हिजाेआज पनि  बुलु मलाई कुन्नि कुन मोडमा भन्ने गर्नुहुन्छ - 'दाइ ! के लेख्दै हुनुहुन्छ । म एक मुखे छु ।  तपाई र मेरो एल्बम निकालूँ  ।  भनेको बेला लेख्नोस् मसँग समय नहुन सक्छ ।  तर मैले बुलु भाइले भनेको बेला गीत दिन कहिले सकिनँ  । 

यस्तै वातावरणबाट मेरो जीवनको सुख दुःख अनुभवहरूको कारण यो गीतको सृजना भएको छ । विभिन्न घटना परिवेशले प्रभाव जमाएको छ ।

एक पटक २०४२ सालमा धर्तुङ जाँदै थिएँ । खोटाङ जिल्लाको तल्लो विकट क्षेत्र धर्तुङको सिरानमा बेल्टार र धर्तुङ जाने छुट्टिने भन्ज्याङ छ । उकालाे र ओरालो गर्दा गलेर त्यो चौतारामा थचक्क बसेँ ।  ढुङ्गामा कसैले बिर्सेर छोडेको सुन्दर कुरुसले बुनेको रङ्गिन रुमाल भेटेँ ।  भेटेको वस्तु नटिप्नु भनेको सुनेको थिएँ, मैले टिपिन ।  हतार थियो मैले मेरो यात्रातय फेरि गरेँ ।  तर त्यो रुमालसँगै मेरो मन उडिरह्यो ।  यो रुमाल नबिर्सनु थियो ? कसले छोडेको होला ? पक्कै उसको मायालुले मायाको प्रस्ताव आँसुले रुमालमा लेखेको हुनसक्छ ।  जीवनभर नछुट्ने कसम खाएर चिनो दिएको हुनसक्छ ।  प्रेमले भरिएको बुट्टे रुमाल कसैले कुल्चेर फाल्दिन सक्छ ।  रुमाल च्यातेर फाल्न सक्छ अथवा रुमालमा लेखिएको नाम कसैले चिनेर शङ्कालु नजरले बदनाम गर्न सक्छ ।  बाटैभरि यो रुमालको घटनाले म कल्पनामा डुब्दै गएँ । 

यो मिठो घटना रुमालसँगको मेरो मनमा बसिरह्यो ।  यस्तै पृष्ठभूमिमा यो गीत लेखेर रेकर्ड भएपछि बल्ल मेरो मनबाट बुट्टे रुमालको सम्झना ओझेल भयो । किन ? कसरी ?कसले ? त्यो रुमाल चौतारामा छोडेको हो भन्ने प्रश्न विलीन भयो ।

मिठो स्वरका वरिष्ठ गायक लाक्पा सेर्पाले गाउनु भएको छ । लाक्पा सेर्पाको गायिकी दुनियाँले मन पराउँछ ।  मलाई उस्तै मन पर्छ । लाक्पाजीको स्वरमा भिन्नता छ ।  यो गीतको तयारी गर्न बुलुको निवासमा  हामीले छलफल गरेका थियौँ ।  रेडियो नेपालमा लाक्पा सेर्पाले गीत रेकर्ड गर्दा निकै मेहनत गर्नु भयो, म्युजिसियनको टेक्निकल कमजोरीको कारण लाइभ रेकर्ड गर्नु पर्ने जमाना थियो ।  गाउँदै गयो कहीँ कतै कुनै म्युजिकको ताल खुस्किहाल्ने समस्याले गायक पसिनाले भिजेको जस्तो मलाई लागेको थियो ।  मिलनसार असल मिजासका लाक्पाजी  कताकता रिसाएको जस्तो मुडमा पनि देखेको थिएँ त्यो बेला ।  निश्चय त्यो स्वभाबिक थियो ।  लाइभ राम्रा गायकले मात्र गाउन सक्छ ।

लाक्पा सेर्पा र बुलु मुकारुङ नेपाली आधुनिक सङ्गीत क्षेत्रमा विशिष्ट हुनुहुन्छ ।  दुवैलाई आज पनि बधाई भन्न चाहन्छु | यो मेरो रचनालाई लोकप्रिय गीत सृजना गर्नमा स्रष्टाहरूको ठुलो योगदान रहेको छ ।  धन्यवाद छ । 

तसर्थ गीत जीवन हो ,जीवन नै गीत हो ।  दुनियाँमा गीतको परिभाषा फरक फरक भएको पाइन्छ तर केन्द्रीयता उस्तै हो ।  जस्तै म दुई हरफ अमेरिकाका प्रसिद्ध गीतकार गायक Bob Dylan को गीत राखेर बिदा हुन्छु – 
'I’m out here a thousand miles from my home
Walkin’ a road other men have gone down.'

लेखेको थियो आँसुले नाम च्यातेछ कसैले 
जुनेली रातमा ...............................|

यो गीत युट्युबमा सुन्न सक्नु हुन्छ 


प्रा. डा‍. विष्णु राई कवि तथा मानव शास्त्री हुनुहुन्छ ।