दारीको सौन्दर्यशास्त्र

दारीको सौन्दर्यशास्त्र

डा. धनप्रसाद सुवेदी  |  दृष्टिकोण  |  जेठ २, २०७७

जुँगाको बारेमा धेरैले लेखेका छन्, सायद दारीको बारेमा पनि लेखेका होलान्, मैले पढेको छैन । जुँगाका बारेमा लेख्नेहरूले त्यसलाई पुरुष सौन्दर्यका रूपमा, पुरुष हैकमका रूपमा, पुरुषसत्ताको प्रतीकका रूपमा चर्चा गरेका छन् । जुँगा जस्तै दारी पनि पुरुष मात्रको पेवा सम्पत्ति हो, जुँगा जस्तै दारी पनि पुरुषसत्ताको प्रतीक हो । मेरो विचारमा दारी र जुँगाका बिचमा त्यति धेरै फरक छैन । जुँगा दारीको व्यष्टि हो, दारी जुँगाको समष्टि हो । दारी मैदान बारीमा र जुँगा त्यही मैदानसँगै जोडिएको सानो सुर्कामा उही बिउबिजनबाट उम्रिएका उस्तै झार हुन्, जसमा न फूल फुल्छ, न फल लाग्छ, न घाँस हुन्छ, न मल हुन्छ । घाँसका रूपमा गाईवस्तुले नखाने, निगुरो भएर तरकारी पनि नबन्ने र मलका रूपमा प्रयोग गर्दा बालीबिरुवा नै पहेँलै पार्दिने एक प्रकारको उन्युँ जस्तै हो दारीजुँगा । 

जुँगा दारीकै एउटा इलाका समिति मात्रै हो, त्यसलाई हाम्रा पार्टीहरूका स्थायी समितिसँग तुलना गर्न सकिन्छ । पार्टीहरूमा स्थायी समिति हुन्छ, नहुन पनि सक्छ । जुँगा पनि त्यस्तै हो, कसैले त्यसलाई स्थायी रूपमा पाल्छन्, कसैले सफाचट पार्छन् । अँ, दारीलाई भने थोरैले मात्रै स्थायी बनाउँछन्, अधिकांशले सफाचट पार्छन् । यसरी भन्न सकिन्छ, दारी भनेको पार्टीहरूको केन्द्रीय समिति जस्तै हो, त्यसलाई भर्सक बढ्न, टिक्न, चल्न दिइँदैन । यदि बढ्न दिइहाले पनि सेल्फी खिचेर फेसबुकमा पोस्ट्याउन बाहेक त्यसको बढ्ता महत्त्व पनि छैन जसरी हाम्रा पार्टीका केन्द्रीय समितिका निर्णयहरू अखबारका पाना सजाउन काम लाग्छन् । पार्टी केन्द्रीय समिति र दारीका बिचमा रहेको आधारभूत समानता हो, देखाउनैकै लागि भए पनि यी दुवैको अस्तित्व छ, हुनुपर्छ र रहन्छ । 

पहिले पहिले र अझै पनि महिला सौन्दर्यको एउटा आधार उनको केशको लमाइ थियो । जेठाजुहरू आफूतिर नलठ्ठिउन् भनेर बुहारीहरूले जेठाजुका अगाडि केश ढाक्नुपर्ने चलन अझै पनि कताकतै छँदैछ । महिलाहरूको दारी पलाउँदैन, त्यसैले ब्लेट किनिरहनु पर्दैन तर ब्लेटभन्दा धेरै महँगा क्रिम, पाउडर, गाजल र रङहरू किन्नुपर्छ राम्रिनलाई । सायद, पुरुषलाई जुँगा मिलाउनभन्दा गाह्रो छ महिलाको आँखीभौँको छटाइ । अनुहारको रङ, आँखा, नाक, ओठको आकारप्रकार, छातीको उचाइ, नितम्बको उठाइ अनि शरीरको अग्लाइ नारी सौन्दर्यका सूचकहरू छँदैछन् । पुरुष सौन्दर्य सूचकमा भने उसको उचाइ, मोटाइ, अनुहारका रङसँगै उसको दारी पनि आउँछ । त्यसैले जङ्गलको उन्युँ, पार्टीको केन्द्रीय समति जस्तै दारीको पनि कतै न कतै ठाउँ हुन्छ । दारीको पनि सौन्दर्य छ । जब कुनै कुराको सौन्दर्य छ भने त्यसको सौन्दर्यशास्त्र हुने नै भयो । यसर्थ दारीको पनि आफ्नै मौलिक सौन्दर्यशास्त्र छ । 

हो, दारीको सौन्दर्य छ र त प्राचीन ग्रिसका प्रसिद्ध साहित्यकार सोफोकल्स, आधुनिक युगका महान् दार्शनिक कार्लमाक्र्स, प्रशिद्ध जीव वैज्ञानिक चाल्र्स डार्विन, अर्का प्रशिद्ध खगोल वैज्ञानिक ग्यालिलियो ग्यालिली, विश्व प्रशिद्ध कलाकार लियोनार्दो दा भिन्ची, विश्व प्रशिद्ध हास्य कलाकार चार्ली चैपलिन, प्रशिद्ध स्पेनी कलाकार साल्भाडोर डाली, प्रशिद्ध नेता अब्राहम लिंकन, त्यस्तै प्रशिद्ध साहित्यकार विलियम सेक्सपियर, हेनरी डेभिड थोरो, रवीन्द्रनाथ ट्यागोर हुँदै नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौड्यालदेखि अहिलेका हास्य कवि अर्जुन पराजुली समेत दारीलाई बडो माया गरेर पालेको देखिन्छ । दारी पाल्ने मात्रै होइन, दारी काट्ने शैलीका लागि पनि संसारका सेलिब्रेटीहरू प्रशिद्ध छन् । युवाहरूका लागि विश्व प्रसिद्ध अभिनेताका दारी कटाइ शैली, संसारका कम्युनिष्टहरूका लागि लेनिन दारी कटाइ शैली, हिन्दुवादीका लागि मोदी दारी कटाइ शैली अनुकरणीय होलान् सायद । यसरी सम्झिँदा दारीको सौन्दर्यशास्त्र बुझी नसक्नुको रहस्यशास्त्र बन्ने रहेछ ।

दारीको सौन्दर्यशास्त्रका बारेमा यति छलफल गरेपछि अन्त्यमा भन्न मन लागेको छ, जीवनमा धेरै वर्षदेखि लेबि तिर्दै आएको, भोट दिँदै आएको, झन्डा बोक्दै आएको पार्टीका ठुला नेता कामरेड केपी ओली र प्रचण्डका रातापिरा गालामा मिलाएर छाँटिएका जुँगा र सफाचट दारीमा सौन्दर्य देख्न छाडेको छु । बरु केही दिनयता आएर हेर्दा, जीवनमा कहिलै भोट नदिएको, कहिलै आफ्नो नठानेको पार्टीका नेता विश्वेश्वरप्रसाद कोइरालाको दुब्लो दुब्लो गालामा काँटछाँट नगरी राखिएको दारीजुँगासहितको फोटोमा गज्जब सौन्दर्य देख्दै छु । यो लेख लेखिरहँदा लामालामा दारीजुँगा पालेका, मैलाझुत्रा कपडा लगाएका झन्डै सत्तरी वर्षका एक जना वृद्ध तर्तरी पसिना काढ्दै मेरो कोठासामुन्नेको खालि जग्गामा मकै गोड्दैछन् ।

अब अलिकति आफ्नै कुरा गरौँ । सानामा बुबा काकाहरूको दारी देख्दा मलाई पनि दारीको खुब रहर लाग्थ्यो । त्यही भएर कहिले मकैको जुँगालाई गालामा टाँसेर, कहिले हाँडीको मोसो दलेर दारीको रहर पूरा गरिन्थ्यो । जुँगाको रेखी बस्न थालेपछि दिनमा दस चोटि ऐना हेरेर मख्ख परिन्थ्यो । दारी बढ्दै गएपछि कम्ता खुसी लागेको होइन । त्यस्तैमा दारी पाल्दा राम्रो हुन्छ कि नपाल्दा राम्रो ? जुँगा राख्दा राम्रो कि नराख्दा राम्रो ? भनेर जाँच्ने विचार आयो । अनि केही हप्ता दारी पालेँ । ऐना हेर्थें, २०, २१ बर्से ठिटो, कालो दारी चट्ट मिलेको राम्रो न राम्रो देख्थेँ, आफूलाई । तर त्यस्तैमा एउटी ठिटीले भनी, 'छि ! यो दाइले के दारी पालेको सारै सुहाएन, हेर्दै घिन लाग्दो !' भोलि पल्ट अर्की ठिटीले भनी, 'यो दाइ त सारै अल्छे रहेछ, त्यति दारी काट्न पनि नसक्ने !' तैपनि केही हप्ता पालेँ तर जब दारी चिलाउन, बिजाउन थाल्यो । अलिक असजिलो भए जस्तो हुन थाल्यो । अनि त नकाटी मनै मानेन । 

पहिलो पटक दारी काटेर अनुहार हेर्दा त आहा ! केटीका जस्ता चिल्ला गाला, आफ्नै गाला मुसारिरहुँ जस्तो लाग्ने । यति भएपछि दारी पाल्नुभन्दा काट्नु नै राम्रो रहेछ भन्ने निष्कर्ष निकालेँ र काट्न थालेँ । यति हुँदाहुँदै पनि एउटा रहर भने थियो, झ्याप्पै दारी पालेर फोटो खिच्ने । पटक पटक त्यसको जमर्को नगरेको होइन । तर कहिले जागिरको अन्तर्वार्ता, कहिले स्टाफ मिटिङ, कहिले हाटबजारतिर, देवाली वा स्वस्थानीको साङ्गेतिर निम्तो आइलाग्ने अनि त्यहाँ गएपछि राम्रा राम्रा युवतीहरू भेटिने सम्भावना, भएपछि कुनै 'छ्या है ! तपाईंलाई दारी पालेको सुहाएन' भनिदेलान् भन्ने डरले दारीले चाहेअनुसार बढ्न पाएन । अलिक पछि त मास्टरी पेसामा लागियो, विद्यार्थीले ‘दारी मास्टर’ भने नाम नराखुन् भन्नेतिर ध्यान गयो । अब त दारीजुँगा सबै तिलचामले रङमा फुल्न थाले, बुढौलीलाई लुकाउनकै लागि पनि दारीजुँगा सफाचट पार्नै पर्‍यो । त्यही भएर जीवनमा पूरा गर्न नसकेका धेरै रहरका लिस्टमा झ्याप्प दारी पालेको फोटो खिच्ने रहर पनि थपिएको छ । 

सुरु सुरुमा जुँगा चाहिँ पाल्थेँ । तर मिलाउन कहिलै नजान्ने, कहिले दाहिनेतिर खुँडे हुने, कहिले देब्रेतिर । पटक पटकको त्यो अप्ठ्यारेपछि जुँगा पनि सफाचट पार्न थालियो । त्यस्तैमा एक पटक एक जना हजुरबाले 'बाबु हुनेले जुँगा खौरिनु हुँदैन' भनेर गाली गरे । तर बर्सौंदेखि जुँगा सफाचट पार्नेमध्ये कतिका बाबुहरू ९० वर्षको उमेरमा पनि आधा माना घिउ तन्तनी पिउँथेँ र दिनमा १० चोटि सुर्ती तान्दै गोरु जोत्थे । तिनै साक्ष्यसहित छेवरमा, व्रतमनमा पूरै केश खौरिन हुने, दारी काट्न हुने, जुँगा चाहिँ खौरिन नहुने किन ? भनेर प्रतिप्रश्न गरेपछि हजुरबा चुप भए । त्यस्तैमा एक जना दाइले 'जुँगा पाल्नु मर्दको पहिचान हो, जुँगा खौरिनेहरूलाई स्वास्नीले पनि हेप्छन्' भने । तर जसले त्यसो भने, उनी लामालामा जुँगा पाल्थे र उनका दुइटी श्रीमतीहरू पोइल गइसकेका थिए । पछिल्ली श्रीमतीसँग पनि उनको सधैँ झगडा पर्दथ्यो । उनलाई उनकै उदाहरण दिएर तर्क गरेपछि उनी पनि चुप भए । एक जजा काकाले '२०१५ सालको चुनाबताका ‘जुँगा काट्ने कांग्रेसको बानी’ भन्ने गीत थियो तर तिमी त जुँगा काट्ने तर सधैँ काँग्रेसको विरोध गर्ने, यो त भएन नि !' भनेका थिए । त्यसलाई मैले ठट्टा सम्झिएँ । यस्ता उस्ता अवरोध भए पनि जुँगा काट्ने कुरा भने छोडिएन । 

अब के राम्रो ? के नराम्रो  भन्ने कुरामै जाऊँ । डाक्टरले लाएको सेतो ड्रेस कति राम्रो लाग्छ । कात्रो र बरखी बारेकाले लगाउने त्यस्तै सेतो कपडा राम्रो लाग्दैन । युवतीको कालो केश राम्रो लाग्ने, कालो अनुहारका मानिस त्यति राम्रो नलाग्ने । अझ अचम्म, भगवान् कृष्णको कालो रङको भजन गाउनमा मस्त हुनेहरूले तिनै कृष्णका सन्तान तराईतिरका मानिसको अनुहारको कालो रङलाई गाली गरिरहेका हुन्छन् । मानिसहरू  'छि ! कस्तो कालो, नराम्रो' भन्छन् । यदि कालो हुनु नै नराम्रो हुन्थ्यो भने त दारीजुँगा र केश फुल्न थालेपछि मानिसहरूले उत्सव मनाउनुपर्ने हुन्थ्यो तर दारीकेश पाकेर सेतो बन्दै गर्दा कोही पनि उत्सव मनाउँदैन । 'रातो राम्रो गुलियो मिठो' नै अन्तिम सत्य हुँदो हो त अरु रङ र स्वादहरूको कुनै अस्तित्व नै हुँदैनथ्यो दुनियाँमा । सायद राम्रो र नराम्रो अथवा सुन्दर र असुन्दर भन्ने कुरा वस्तुको उपयोगितामा, उसको गुणमा हुन्छ क्यारे । भखैरैको अनुभव सुनाउँ, अस्ति लकडाउन सुरु हुन लाग्दा सार्क राष्ट्रका नेताहरूको भिडियो कन्फरेन्सको लाइभ हेरिहँदा नरेन्द्र मोदीको दारी कति राम्रो लागेथ्यो, लिपुलेकको सडक उद्घाटनपछि त्यही दारी सम्झिँदा मात्रै पनि उखोपातसँग रिस उठ्न थालेको छ । 

फेरि दारीकै कुरा गरौँ । लकडाउनको पहिलो सत्रमा दारी पालेको र दोस्रो सत्रमा मुडुले टाउकोको फोटो धेरैले सार्वजनिक गरे । मलाई लाग्छ, विगतमा पूरा गर्न नसकेको काम फत्ते गरेका हुन् उनीहरूले । दारी पाल्दा कि फाल्दा ? केश पाल्दा कि मुडुले टाउको हुँदा ? आफ्नो सौन्दर्य खुल्छ भनेर जाँच गर्न पनि यसो गरेका होलान् अथवा 'काम पाइनस् ... पोख्तै उठाउँदै' गरेको पनि हुन सक्छ । मैले पनि यही मौका दारी पालेर फोटो खिच्ने कि भनेर नसोचेको होइन तर अनलाइन कक्षामा विद्यार्थीहरूसँग देखिनुपर्ने भएकाले त्यतातिर लागिनँ । मुडुले टाउको बनाउने कर्म भने पूरा गरेँ, मुख फेरेर खाना खाँदा जस्तै एकप्रकारको स्वाद मिल्यो । फोटोले फेसबुकमा मनग्गे लाइक पायो । उसो त कुनै विचार, सिर्जनामा भन्दा फोटोमै बढी लाइक आउँछ फेसबुकमा । विचार, सिर्जनामा सहमति असहमति हुन्छ, पढ्न पनि समय लाग्छ । फोटामा न सहमति, न असहमति, न त पढ्नुपर्ने झन्झट, लाइक ठोकिदिए भइहाल्यो । त्यसमाथि अलिक अनौठो भएपछि त लाइक बर्सिने बरररर । तपाईलाई फेसबुके लाइक धेरै चाहिन्छ भने कहिले दारी पाल्नोस्, फोटो खिच्नोस् र पोस्ट्याउनुहोस् । अनि फेरि जुँगा मात्रै काट्नोस्, फोटो खिच्नोस् र पोस्ट्याउनुहोस् । त्यसपछि फेरि दारी पनि सफाचट पार्नुहोस् र पोस्ट्याउनुहोस् । दारीको सौन्दर्य यसैमा हुने रहेछ भन्ने कुरा दिव्य ज्ञान दियो लकडाउनले । 

निश्चय नै दारीमा सौन्दर्य छ । तर त्यो सौन्दर्य दारीवालासँग जोडिएको हुन्छ । दारी आफैँमा सुन्दर हुँदैन, दारीवाला सुन्दर भए उसको दारी पनि सुन्दर हुने हो । दारी भएर सोफोकल्स भएका होइनन्, सोफोकल्स भएर दारी भएको हो । दारी भएर कार्लमाक्र्स दार्शनिक भएका होइनन्, दार्शनिक कार्लमाक्सले दारी पालिदिएकाले दारीको इज्जत रहेको हो । त्यसरी नै चार्लस डार्विन, ग्यालिलियो, लियोनार्दो दा भिन्ची, चार्ली चैपलिन, साल्भाडोर डाली, अब्राहम लिंकन, विलियम सेक्सपियर, थोरो, रवीन्द्रनाथ ट्यागोर, लेखनाथ पौड्याल, अर्जुन पराजुलीहरूले दारी पालिदिएकाले दारीले सौन्दर्यशास्त्र पाउने योग्यता हासिल गरेको हो । 

कुनै व्यक्ति दार्शनिक, साहित्यकार, कलाकार, नेता, अभिनेता बन्नुमा उसको दारी पाल्ने वा काट्ने बानीसँग कुनै सम्बन्ध हुँदैन । यदि दारीजुँगाले मानिसको ज्ञान, सोच, व्यवहार, नियतलाई असर गर्दो हो त केशसरह झ्याप्प दारीजुँगा पाल्ने कार्लमाक्स र जुँगा र बोकेदारी मात्रै लामो पाल्ने एङ्गेल्सका बिचमा त्यत्रोविधि सहकार्य कसरी हुनसक्थ्यो र ? नाकको डाँडीनेर मात्रै जुँगा पालेकाले हिटलर हिटलर भएको भए दारी सफाचट पार्ने मुसोलिनी मुसोलिनी हुन सक्तैनथ्यो । आखिर पूरै जुँगा पाल्ने स्टालिन, महात्मा गान्धी र मार्टिन लुथर किङ, जुँगा काटेर सफाचट पार्ने मुसोलिनी, चर्चिल, रुजबेल्ट र पोलपोट अनि जिग्रिङ्ग केश र जुँगा पाल्ने तर दारी चाहिँ सफाचट पार्ने आइन्स्टाइनका आनीबानी, विचार, व्यवहार, कर्ममा पाइने आकाशपातालको भिन्नताबाट पनि भन्न सकिन्छ, जुँगा वा दारी पाल्ने वा काट्नेसँग व्यक्तिको विचार र व्यवहारको कुनै सम्बन्ध हुँदैन । र, यिनी तथ्यलाई अगाडि सारेर भन्न सकिन्छ, दारीको सौन्दर्यशास्त्र भनेको पानीको रङजस्तै हो, पानीको आकार जस्तै हो, जस्तो जस्तो दारीवालाको सौन्दर्य उस्तै उस्तै दारीको सौन्दर्य ।  
दारीको सौन्दर्यशास्त्रका बारेमा यति छलफल गरेपछि अन्त्यमा भन्न मन लागेको छ, जीवनमा धेरै वर्षदेखि लेबि तिर्दै आएको, भोट दिँदै आएको, झन्डा बोक्दै आएको पार्टीका ठुला नेता कामरेड केपी ओली र प्रचण्डका रातापिरा गालामा मिलाएर छाँटिएका जुँगा र सफाचट दारीमा सौन्दर्य देख्न छाडेको छु । बरु केही दिनयता आएर हेर्दा, जीवनमा कहिलै भोट नदिएको, कहिलै आफ्नो नठानेको पार्टीका नेता विश्वेश्वरप्रसाद कोइरालाको दुब्लो दुब्लो गालामा काँटछाँट नगरी राखिएको दारीजुँगासहितको फोटोमा गज्जब सौन्दर्य देख्दै छु । यो लेख लेखिरहँदा लामालामा दारीजुँगा पालेका, मैलाझुत्रा कपडा लगाएका झन्डै सत्तरी वर्षका एक जना वृद्ध तर्तरी पसिना काढ्दै मेरो कोठासामुन्नेको खालि जग्गामा मकै गोड्दैछन् । म घरि कोठामा टाँगिएको फोटोका कार्लमाक्सको दारी हेर्छु, घरि झ्यालबाट बाहिर छर्लङ्गै देखिने ती वृद्धका दारीमा तप्तप टप्किरहेको पसिना धारा हेर्छु । कसम होला, मलाई किन किन कार्लमाक्स का दारीभन्दा पनि मकै गोड्दै गर्ने ती वृद्धका दारी सुन्दर लागिरहेको छ ।