थुनुवाको डायरीः कोही छोरीका बलिन्द्र धारा आँसु ! कोही छोरीद्वारा यौन दुराचारको आरोप !!
नखाएको विष
जेठ ३, २०७७

भद्र बन्दी गृहकाे १९औँ दिन  २०६७/०७/०८ सोमवार (२५ अक्टोवर २०१०) 

आज नुहाउनको लागि पानी दियो । खाना खाएर नुहाएँ । नुहाएर घाम तापिरहेको बेला हेटौंडाबाट छोरी अनिता र ज्वाइँ समीर आए । सञ्चो विसञ्चोको कुराकानी भयो । के कसरी भयो भनेर ज्वाइँले सोध्नुभयो । मैले भएको यथार्थ घटना सबै बताएँ । मैले छोरीलाई हेरेँ । छोरीको आँखाबाट बलिन्द्रधारा आँशु बगिरहेको छ । आखिर उनी मैले नजान्माएकी भए पनि आफ्नै छोरीलाई जस्तै माया र स्नेह दिँदै आएको थिएँ । उनको बाल्यकाल वीरगञ्जमै बितेको थियो । एसएलसी पास गरेर क्याम्पस पढ्नमात्र उनी काठमाण्डौं आएकी थिइन् । उनी रोएकी देखेर मलाई पनि रुन मन लाग्यो । तर म रोइनँ । मैले आफ्नो मनलाई बलियोसित बाँधेर स्वरलाई काबुमा राखेर भनेँ, 'नरोउ न छोरी ! तिमी रोएपछि मलाई पनि  रुन आउँछ । म पनि रोई दिऊँ ?'

मैले यति भनेपछि अनिताले आँशु पुछेर मुसुक्क हाँसेको बहाना गरिन् । मैले फेरि भनेँ, 'हेर ! तिमीहरूले यहाँ मलाई कति दुःख, कष्ट छ होला भन्ठानेका हौला । मलाई यहाँ त्यस्तो कुनै असहज छैन । मलाई आरामै छ । यहाँ समयमा खाने, समयमा सुत्ने गरेको छु । यहाँ मैले एकचोटि खोके मात्र पनि औषधी खुवाउँथे । यहाँ मलाई सबैले माया गर्छन् । मलाई केही तकलीफ छैन ।'

बल्ल छोरी मुसुक्क हाँसिन् । अनि आफ्नो स्वरलाई नियन्त्रणमा राखेर सोधिन् - 'अब तपाईँ कहिले छुट्नु हुन्छ ?'

'खोइ थाहा छैन । पुनरावेदन जाने भनेको छ । त्यहाँबाट सामान्य तारिखमा छुट्न पनि सक्छु होला । नछोड्न पनि सक्छ । हिजो राजनीति गर्दा जेल जानु परेन । अहिले जेल जीवनको अनुभव गर्न पाइरहेको छु । मेरो मुद्दा यति खतरनाक छ कि जतिसुकै पहुँच भए पनि केही गर्न सक्दैनन् । म निर्दोष छु तैपनि एक वर्ष जेल सजायँ भोग्नु पर्ने पनि हुन सक्छ । त्यसैले जेलमा बस्नु परे पनि बस्ने मानसिकता बनाइ सकेको छु ।'

छोरी त झनझन रुन थालीन् । उनलाई यहाँ धेरैबेर राखीराख्नु हुँदैन नत्र मैले पनि आफ्नो रोदन रोक्न सक्दिन होला । त्यही बेला शान्त दाइ आउनु भएको देखेँ । अनि मैले भनेँ, 'मेरो शान्त दाइ आउनु भयो । भइगो जाउ छोरी ।' गहभरि आँशु राखेरै छोरी विदा भइन् ।

शान्त दाइ भेटघाट स्थलमा आउनु भयो । सञ्चो विसञ्चोको कुराकानी भयो । म जेलमा परेकोले सबै टोलवासी दुःखित भएका छन् ।

'आफ्नै छोरीजस्तो माया गरी पालेर राखेकाहरूलाई पनि करणी गर्छ र ? ती केटीहरूलाई कसैले केही भन्यो भने तुरुन्तै झगडा गर्न तयार हुने मान्छेले त्यस्तो गर्‍यो भन्न ती केटीहरूलाई लाज पनि लागेन । यो बाहिर जिल्लाबाट आएका केटीहरूको कुनै विश्वास हुँदैन । त्यस्ता केटीहरूलाई पालेर तिमीले ठूलो भूल गर्‍यौं ।' शान्त दाइले भन्नुभयो ।

'त्यही त भनेको, हेर्नुहोस् न, धर्म गर्न खोज्दा पाप लाग्यो भनेको यही हो ।'

'अब हामीले के सहयोग गर्नुपर्छ ? त्यो संस्थामा जुलुस जानु परे टोलभरिका मानिसहरू लिएर जान्छु ।'

'मेरो निर्दोषिताको प्रमाण न्यायाधीशकहाँ पुर्‍याउने कोशिस हुँदैछ । अदालतमा जुलुस जानु पर्ने पनि हुन सक्छ ।'

'हुन्छ, हामीलाई खवर गर्नु । हामीले सक्दो सहयोग गर्नेछौं । चिन्ता नलिनु ।' शान्त दाइले भन्नुभयो ।

मैले मन दह्रो बनाई सकेको छु । हामी कानूनी राज्यलाई मान्छौं । मेरो मुद्दाको फैसला भएको छैन । अहिले म थुनुवा मात्र हुँ । फैसलापछि मात्र म अपराधी हो कि होइन थाहा हुन्छ । न्यायाधीशले प्रमाण नहेरी आँखा चिम्लेर मुद्दाको फैसला गर्नु हुन्न होला । मलाई भ्वाइस अफ चिल्ड्रेन भन्ने एउटा एनजिओले फसाइएको हो । अहिले मुद्दाको पुर्पक्षको लागि थुनामा राखिएको छ । हाम्रा आफन्तहरू, साथीहरू सबैले मलाई निर्दोष ठानेका छन् । मैले सफाई पाउँछु भन्नेमा सबै जना ढुक्क छन् ।

समय सकियो भनेर हामी छुट्टियौं ।

आजकल मेरो मन रमाउन थालेको छ । यो जेल जीवनलाई अलिअलि आफ्नो अनुकूल बनाउन खोज्दै छु । अहिले त यहाँभित्र धेरै जनासँग चिनजान भैसकेको छ । गफ गर्न साथीहरू भइसक्यो ।

२oऔँ  दिन २०६७/०७/०९ 

हिजो छोरी अनिता रोएकी मेरो आँखामा झलझली आइरहेको छ । मैले यहाँ धेरै दुःख पाएको छु भन्ने ठानेर रोएकी होलिन् । मेरो यहाँको स्थिति बारे जानकारी दिन पत्र लेख्ने विचार गरेँ । पत्र लेख्न थालेँ ।

प्यारी छोरी अनिता,

शुभाशिर्वाद, कुशलै छु कुशलताको कामना गर्दछु ।

हिजो ज्वाइँ र तिमी मलाई भेट्न आउँदा म साह्रै खुशी भएको थिएँ । हामी बन्दीहरू ठूलाठूला पर्खालभित्र बसिरहनु पर्दा साह्रै उकुस मुकुस हुन्थ्यो । तिमीहरूले भेट्न आउँदा केही क्षणको लागि मात्र भए पनि हामी आरामले बाहिरी दुनियासँग सम्पर्क राख्न पाउँछौं । यही भेटघाट नै हाम्रो बाहिरी दुनियाँसित सम्पर्क हुने माध्यम हो । तर नजिक आउँदा तिम्रो नयनबाट झरिरहेको बलिन्द्रधारा आँशु बाढी भइ मलाई नै बगाएर लैजाला जस्तो भएको थियो । तिम्रो आँशुले मेरो मुटु छियाछिया पारी दियो । तिमी रोएको देखेर मलाई पनि रुन मन लागेको थियो । तर मुटुमा गाँठो पारेर रोदन रोकेँ । हिजो सपनामा पनि म रोएको थिएँ ।

छोरी अनिता, आकाशको चरीसरि स्वतन्त्र भएर उडि हिँड्ने मान्छे म ! आज एक महिनादेखि भद्रवन्दी गृहमा वन्दी जीवन बिताइरहेको छु । तर बाहिर बसेर तिमीहरूले यहाँ भित्रको बारेमा जति सोचेका छौँ । यहाँ हामीलाई त्यस्तो केही तकलीफ छैन । यहाँ बन्दी गृहभित्र आफ्नै आन्तरिक प्रशासन र नियम कानून छ । त्यो नियमलाई सबैले पालना गर्नुपर्छ । त्यो नियमको पालना गरेन भने दण्डको भागीदार बन्नुपर्छ । यहाँ भित्रको नियम पालना गरेँ भने यहाँ बस्न केही गाह्रो छैन । यहाँ दिसा, पिशाव गर्ने र थुक्नको लागि निश्चित ठाउँ तोकेको छ । त्यसैले यहाँ हरेक ठाउँ सफा सुग्घर छ । यहाँ खेलाडीहरूको लागि भलिवल कोर्ट, वास्केटवल कोर्ट, ब्याडमिन्टन कोर्ट र टेवलटेनिस कोर्ट छन् । यहाँ चेस पनि खेल्न पाइन्छ ।

छोरी, यहाँ राष्ट्रिय दैनिक पत्रिकाहरू सबै, नाम चलेका राष्ट्रियस्तरका साप्ताहिक तथा मासिक पत्रिकाहरू पढ्न पाइन्छ । शनिवार र अरू विदाको दिनबाहेक विहान १० बजेदेखि साँझ ४ बजेसम्म पुस्तकालय खुल्छ । शनिवार र अरू सार्वजनिक विदाका दिनहरूमा मन्दिरको प्राङ्गणमा बसी पत्रिका पढ्न पाइन्छ । साँझ टीभी हलमा टीभी हेर्न पाइन्छ । म बस्ने कोठामा पनि प्राइवेट टीभी छ । त्यसैले समय गुजार्न गाह्रो छैन । यहाँ धर्मनिरपेक्षताको प्रत्यक्ष अनुभव गर्न पाइन्छ । यहाँ सबै धर्मका मान्छेले आफ्नो आस्थाअनुसार धर्म मान्ने समान हक पाएका छन् । यहाँ मुसलमानहरूको लागि नमाज पढ्ने ठाउँ छ । ईसाईहरूको लागि प्रार्थना गर्ने ठाउँ दिइएको छ । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र अर्थात ओम शान्ति हल नै छ । मन्दिरमा पूजा गर्नेहरूको लागि दुईवटा मन्दिररू छन् । जहाँ शिव, गणेश, कुमार, सरस्वती, वजरंङ्गवली, सङ्कटा इत्यादि छन् । ती मन्दिरहरूमा दैनिक पूजा गर्न एक जना पुजारी पनि राखेको छ । मन्दिरको सरसफाई र हेरचाह गर्न नाईके पनि नियुक्त गरेको छ ।

छोरी ! म चिनी रोगको रोगी हूँ । चिनी रोग कुनै खतरनाक रोग होइन रहेछ । मुख बारेर नियमित औषधी सेवन गर्‍यो भने कन्ट्रोलमा राख्न सकिन्छ । यहाँ मलाई चाहिने औषधी यहींबाट निःशुल्क दिइन्छ । समय समयमा डाक्टरी परीक्षण पनि हुन्छ । अहिले घरमाभन्दा यहाँ मेरो स्वास्थ्य राम्रो भएको महसुस गरेको छु । घरमा समाजसेवाको लागि यताउता जाँदा खाना खाने समयको ठेगान थिएन न त सुत्ने समयकै ठेगान हुन्थ्यो । घरमा हुँदा राति एघार बजेभन्दा अगाडि कहिल्यै सुतेको थिइन बरु कहिलेकहीँ इन्टरनेट चलाउदा चलाउँदै मध्यरात पनि हुन्थ्यो । यहाँ त्यस्तो छैन । विहान ५ बजे उठ्छु । नित्यकर्म गरेर रेडियो सुन्दै घुम्छु । त्यसपछि चिया पिएर ओम शान्ति हलमा जान्छु । भाइजीबाट मुरली सुन्छु, ध्यान बस्छु । आठ बजेपछि फिल्टरको पिउने पानी थाप्छु । यहाँ विहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खाना खाइसक्नु पर्छ । बेलुका ९.३० बजेसम्म ओछ्यानमा जानै पर्छ नम्बर लागे पछि कुरा गर्न पाईंदैन । शान्त वातावरण भएपछि निन्द्रा लाग्छ ।

यहाँ चिया, कफी, दूध, नास्ता गर्न एउटा होटल पसल छ । हामीले भात खाने भान्सामा प्रत्येक महिनाको एक गते र पन्ध्र गते मासु खान दिइन्छ । आफूले पैसा तिरेर खाने भए जहिले पनि खान पाइन्छ । हिजो डाक्टरको कोठामा मेरो शरीरको तौल लिएको थियो । मेरो तौल बैसट्ठी किलो रहेछ । वाहिर छँदा उन्साठी किलोमात्र थिएँ । यसरी मेरो तौल त तीन किलो बढिसकेको रहेछ ।

त्यसैले छोरी, मेरो स्वास्थ्यको बारेमा चिन्ता लिनु पर्दैन । मैले मन दह्रो बनाई सकेको छु । हामी कानूनी राज्यलाई मान्छौं । मेरो मुद्दाको फैसला भएको छैन । अहिले म थुनुवा मात्र हुँ । फैसलापछि मात्र म अपराधी हो कि होइन थाहा हुन्छ । न्यायाधीशले प्रमाण नहेरी आँखा चिम्लेर मुद्दाको फैसला गर्नु हुन्न होला । मलाई भ्वाइस अफ चिल्ड्रेन भन्ने एउटा एनजिओले फसाइएको हो । अहिले मुद्दाको पुर्पक्षको लागि थुनामा राखिएको छ । हाम्रा आफन्तहरू, साथीहरू सबैले मलाई निर्दोष ठानेका छन् । मैले सफाई पाउँछु भन्नेमा सबै जना ढुक्क छन् । सबै जना मलाई भेट्न आइरहेका छन ।

आजलाई यति अरूपछि ।
नजरराम 

यो पत्र बाहिर पठाउन आफ्नो नम्बरको सह नाईकेलाई देखाउनु पर्छ । उहाँले हुन्छ पठाउ भनेपछि गेटमा फेरि देखाउनु पर्छ । गेटवालाले पढेपछि मात्र आफ्नो मान्छेलाई दिन पाइन्छ । त्यसैले मेरो नम्बर ३ नं.का सहनाईके दाइलाई पढ्न दिएँ । उहाँले झर्को नमानिकन पढेर दिनुभयो ।

आज माइकबाट मेरो नाम बोलाइएन । छोरा आउँछ कि जस्तो आशा थियो । यो मन पनि कस्तो ? छोरा प्रत्येक दिन आइरहँदा किन प्रत्येक दिन आउनु परेको जस्तो लाग्थ्यो । आज दुई दिन नआउँदा कहिले आउला जस्तो भइरहेको छ । नरमाइलो महसुस भइरहेको छ ।

मलाई टेन्शन भयो । मलाई टेन्शन भएपछि भोक लाग्छ । चिउरा लिएर होटलमा गएँ । होटलमा छ्वय्ला बनाइ राखेको रहेछ । छ्वय्ला एक प्लेट लिएँ । छ्वय्ला र चिउरा राखेर खान थालेँ । चार चम्चाजति खाएको थिएँ । माइकबाट तीनचोटि मेरो नाम बोलायो । ल को आएको होला भनेर चिउरा कागजले छोपेर होटलमा राखेर ढोकामा गएँ । छोरा र भान्जा पवन आएका रहेछन् । कुराकानी भयो । पुनरावेदनमा जाने भनेको के भयो भनेर सोधें ।

'पुनरावेदनमा जाने पक्का भइसक्यो । हत्तार गर्नु हुँदैन । केही समय लाग्छ ।' छोराले भन्यो, 'तपाई चिन्ता नलिनुहोस् तपाईलाई छिटो बाहिर निकाल्ने प्रयासमा छौँ ।'

'यदि मैले सफाइ मात्र पाउने हो भने यहाँ जति दिन बस्नु परे पनि बस्छु ।' मैले भनेँ ।

'जुजुभाइ दाइ र बद्रीलाल अंकल भ्वाइस अफ चिल्ड्रेनमा कुराकानी गर्न जानु भएको थियो । कुराकानीको क्रममा एकछिन त झोकाझोक भयो । पछि कृष्णकुमार कोमल भएर, 'हामीले मुद्दा चलाईसकेका छौं । अब फिर्ता लिन मिल्दैन । अबदेखि यो केसमा त्यति ध्यान दिन्न, कसैलाई दवाव पनि दिन्न !  भन्यो रे ।'

'गोरखनाथका शिक्षकहरूसँग भेटेर कुरा गर्‍यौं ?' मैले सोधेँ ।

'सात जनासँग कुरा गरिसकेँ । बाहिर जिल्लाका एक जना शिक्षक आएको छैन । हामीले मिसिल देखाएर के आधारमा विश्वास लाग्छ भनेको भनेर सोध्दा सातै जनाले एक मुखले भन्यो, 'हामीले त नजरराम सरले छोरी जसरी पाली राखेका बच्चाहरूलाई करणी गर्ला भन्ने विश्वास छैन भनेका थियौं । प्रहरीले विश्वास छ भनेर लेखी दिएछ भने ।' पवनले भन्यो ।

'आज ठूलो बा, सरव दाइ, रामकुमारी दिदी, रुद्र, नीलम र लक्ष्मी दिदी अनि म पनि एमाले पार्टी केन्द्रिय कार्यालयमा तपाईंको बारे कुरा गर्न गएका थियौं ।' निरजले भन्यो ।

'अनि कार्यालय सचिवले के भन्यो त ?' मैले सोधेँ ।

'सबै जनाले तपाईंलाई चिन्दो रहेछ । उहाँ त्यस्तो मान्छे नै होइन भन्यो । आज बल्ल थाहा पाएँ । कहाँ कस्तो किसिमको मद्दत गर्न सकिन्छ बुझौंला भनेको छ ।' निरजले भन्यो ।

    मलाई सहयोग गर्न सबैजना लागिरहेको सुनेर मेरो मन आनन्दित भयो ।

२१औँ दिन २०६७/०७/१० 

खाना खाएर पुस्तकालयमा पत्रिका पढिरहेको बेला माइकबाट मेरो नाम बोलायो । को आएको होला भनेर गएको त साथी रामकृष्ण दुवाल आएको रहेछ । सञ्चो विसञ्चोको कुराकानी भयो । ऊ पनि ०३२ सालमा यो भद्रबन्दी भित्र बसिसकेको थियो । अहिले भित्र कस्तो छ भनेर सोध्यो । मैले सबै कुरो बताउँदा ऊ छक्क भयो ।

कुरैकुराको सिलसिलामा उसले भन्यो, 'भ्वाइस अफ चिल्ड्रेनमा कुरा गर्न गएको थिएँ । उनीहरूले त बच्चाहरू जिम्मा लिन भनेको थियो । हामीले ती बच्चाहरू जिम्मा लिने त के अब हाम्रो संस्था नै बन्द गर्ने भन्यौं । यस्ता अनाथ, टुहुरा र असहाय भन्ने कुनै पनि बच्चाहरूलाई सहयोगै नगर्ने भनेर आएँ । अहिले बद्रीलाल कतार गइसक्यो । उसले त्यहाँ डाक्टरलाई सबै कुरो सम्झाउने छ ।’

मैले भित्र होटेलबाट चिया मगाएँ । बाहिरै चिया खाँदै गफ गरिरह्यौँ ।

'मेरो विरुद्ध तीन वटा संस्थाहरू भ्वाइस अफ चिल्ड्रेन, सिविन र सिविस लागेका छन् ।'

'सिविन त गौरी प्रधानको हो । उहाँलाई म सम्झाइ दिन्छु ।' दुवालले भन्यो ।

यसरी रामकृष्णसँग निकैबेर कुराकानी गरेर छुट्टिएर आएँ । एकैछिनमा फेरि माइकबाट बोलायो । गेटमा गएको त साथी कुलवहादुर आएको रहेछ । ऊसँग पनि कुराकानी भयो ।

'म जेल परेको बारे गाउँमा के प्रतिक्रिया छ ?' मैले कुलबहादुरसँग सोधेँ ।

'मिश्रित प्रतिक्रिया छ । हामी आजसम्म आफ्नो खल्तीबाट खर्च गरेर समाज सेवा गरिरहेका छौं । अरूहरू पैसा नआउँने ठाउँमा पाइला नटेक्नेहरूले खान नपाए काम गर्छ र ? भन्छन् ।'

ऊसँग पनि धेरैबेर कुराकानी गरेर छुट्टिएँ ।

क्रमशः

याे पनि 

थुनुवाको डायरी: दुई वर्षदेखि साहुनीसँग यौन आनन्दमा, साहूजीले देख्नासाथ जवरजस्ती करणी र पुर्पक्षको लागि थुनामा !

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

थुनुवाको डायरीः साहित्य सम्मेलनमा  दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !