एक हजार डलर धनरासीको अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार हिरण्यकुमारीलाई

एक हजार डलर धनरासीको अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार हिरण्यकुमारीलाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ३, २०७७

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई बर्षमा प्रदान गर्दै आएको 'अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार' यो बर्ष बरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गरिने भएको छ । 

 ९ मे २०२० मा संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले मिति २९ मार्च २०२० मा भएको प्रस्तावलाई पारित गर्दै उक्त निर्णय गरिएको हो । 

अनेसासका महासचिव  गणेश घिमिरेका अनुसार  साहित्यकार पाठकका मोहचक्र, शून्यवत, अग्नी दह र दुश्वप्न कथा कृतिहरु, अव्यक्त कविता सङ्ग्रह, श्री कृष्ण लीला, मेहनती मौरी, दश महामुर्ख, राम कथा, चतुरे बन्यो नेता, चमत्कारी औंठी र धूर्त श्याल र घमण्डी बाघ बालकथा कृतिहरु प्रकाशित रहेका छन । यसैगरी पाठकका गोमा संघर्षशील जीवनका पाटाहरु, तोत्र- प्रेम वृतान्त, सम्झनामा राममान तृषित जीवनी कृतिहरु प्रकाशित रहेका छन । यसैगरी पाठकले नारीश्वर साहित्यिक त्रैमासिक साहित्यिक पत्रिकाको पनि सम्पादन गर्दै आउनु भएको छ ।

नेपाली महिला साहित्यकारहरुको सस्था 'गुन्जन' का अध्यक्ष रहनु भएकी पाठक अनेसास नेपाल च्याप्टरको सल्लाहकार पनि हुनुहुन्छ ।

यस अघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियो । अनेसासका ट्रष्टी सदस्य भवन भट्टले प्रायोजन गर्नुभएको यो पुरस्कारमा प्रमाण पत्रसहित अमेरिकी एक हजार डलरको रहेको छ ।