व्यास नगरपालिका द्धारा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गर्दै

व्यास नगरपालिका द्धारा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माण गर्दै

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ४, २०७७

तनहुँ । व्यास नगरपालिका कार्यालयले नगरपालिकाका १४ मध्ये ११ वडामा फलफूल तथा तरकारी संकलन केन्द्र निर्माणलाई तीव्रता दिएको छ ।  स्थानीय तहमा कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी बिक्रीवितरणमा सहज बनाउन र उनीहरुलाई आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाको सहयोगमा संकलन केन्द्र निर्माण  थालिएको हो । 

नगरपालिकाले एउटै ढाँचाका संकलन केन्द्र निर्माण गर्ने गरी  तीन लाख रुपैयाँका दरले ३३ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको व्यास नगरपालिकाले जनाएको छ ।  व्यास बजार क्षेत्रमा रहेका २, ३ र ४  वडामा नगरपालिकाले नै कृषकका लागि बिक्रीवितरण गर्ने विक्रीकक्ष बनाउन प्रक्रिया अघि बढाइसकेको  नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

पर्यटन र उद्योगले गति लिन नसक्ने अवस्था आएपछि फलफूल र तरकारीमा आत्मनिर्भर बनाउने योजनासहित नगरपालिकाले पहल कदमी थालेको उहाँले बताउनुभयो । वडा कार्यालयमा कृषि क्षेत्रका लागि न्यूनतम १० लाख रुपैयाँ नघटाई आगामी बजेटमा सम्बोधन गर्ने योजना  छ । 

व्यास–१ का वडाध्यक्ष खरसिं दरैले वडामा निर्माण गरिएको संकलन केन्द्रको निर्माण  अन्तिम चरणमा पुगेको बताउनुभयो । व्यास–१ स्थित बुल्दीखोला पुल नजीकको ओरालामा तीन कोठाको संकलन केन्द्र निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । वडामा फलफूल तथा तरकारी संकलन केन्द्र नहुँदा खुला आकाशमुनि घामपानी  र हावाहुरी नभनी सडक किनार छेउमा बसेर बिक्रीवितरण गर्नुपर्ने सर्वसाधारणको बाध्यता थियो ।  

व्यास– ७ मा भने लकडाउनका कारण संकलन केन्द्र निर्माण प्रभावित भएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।