प्रविधिमा साक्षर उन्मुख विद्याथी र अभिभावक : सर ! हाम्रो अनलाइन कक्षा बन्द नगर्नुस् है ?'

प्रविधिमा साक्षर उन्मुख विद्याथी र  अभिभावक :   सर ! हाम्रो अनलाइन कक्षा बन्द नगर्नुस् है ?'

राजकुमार महर्जन  |  शिक्षा  |  जेठ ५, २०७७

प्रसङ्ग एक

एकाबिहानै मोबाइल बज्छ, ‘हेलो ! राजकुमार सर बोल्दै हुनुहुन्छ हो ?’ 

‘हो हजुर, हजुर को बोल्नुभयो ? केही कुरा थियो कि ?’ मेरो जिज्ञासा ।

‘सर नमस्कार ! म हजुरकै विद्यार्थीको अभिभावक, एउटा कुरा सोधूँ कि भनेर ।’ अभिभावकज्यूको औपचारिक अभिवादन ।

‘नमस्कार हजुर ! भनिस्यो न ! ’ मेरो पनि औपचारिक अभिवादन सँगसँगै जिज्ञासा । म अभिभावकहरूलाई उमेर र अवस्था हेरी तपाई, हजुर, तिमी आदि जस्ता आदरार्थी शब्दहरूको प्रयोग गर्ने गर्दछु । हजुरसँगै आइस्यो  गइस्यो, तपाइसँगै आउनुस्– जानुस्, तिमीसँगै आऊ–जाऊ ।

‘हाम्रो स्कुलको अनलाइन कक्षा कहिले सम्म चल्छ ?’ अनपेक्षित प्रश्न ।

प्रश्न अनौठो लाग्यो । आज भन्दा ३० वर्ष अगाडि स्कुल स्थापना गर्दा ‘तिम्रो स्कुल कति महिना चल्छ?’ भनेर सोध्ने गरिएका प्रश्नहरूको सम्झना दिलायो । प्रश्नको प्रकृति त्यस्तै थियो । यति बेलासम्म कुन विद्यार्थीको अभिभावक हो भन्ने चिन्न सकिएको थिएन । अभिभावक बनेर अरू कसैले फोन गरेको पनि हुन सक्थ्यो । अलि झर्रो जवाफ दिन मन लाग्यो, ‘आजसम्म त समाज सेवा गर्दै छौँ । जुन दिनसम्म भोकै काम गर्न सकिएला त्यो दिनसम्म गरिन्छ । सक्दै नसकिने भए पछि त्यसलाई बचाउने जिम्मा हजुरहरूको । हजुर को, कुन कक्षाका, कसको अभिभावक ? 

त्यसपछि उहाँले आफ्नो परिचय दिनुभयो । सानो कक्षामा अध्ययनरत विद्यार्थीका अभिभावक हुनुहुँदो रहेछ । प्रश्न सोध्नु पछाडिका कारणहरू पनि बताउनुभयो । उहाँको साथीको बच्चा पढ्ने विद्यालयमा हाम्रो भन्दा पहिले नै अनलाइन कक्षा सुरु भएको तर अहिले बन्द भएछ । कतै हाम्रो हालत पनि उस्तै हुने हो कि भन्ने डर उहाँमा पसेको रहेछ ।

‘अनलाइन कक्षा पढ्न पाएर बाबु धेरै खुसी छ । सधैँ उसको कक्षा हुने समय कुरेर बस्छ । साथीको स्कुलमा जस्तै हाम्रो स्कुलमा पनि अनलाइन कक्षा बन्द भयो भने के गर्ने होला भनेर निकै चिन्ता गर्दै थियो, त्यसैले फोन गरेको । सर ! हाम्रो अनलाइन कक्षा बन्द नगर्नुस् है ?’ अभिभावकज्यूको स्पष्टीकरण सहितको माग ।

लकडाउन लम्बिँदै गएको कारण अभिभावकहरू आत्तिएका छन् । अभिभावकहरूले यो दुई महिनाको अवधिमा सन्तानलाई व्यस्त राख्न जे जति गर्न सक्थे, गरिसकेका छन् । बजारमा सल्लाहकार थुप्रै छन् । सीप, संस्कार र व्यवहार सिकाउनु । घरायसी कामकाजमा व्यस्त राख्नु । यसो गर्नु त्यसो गर्नु । आदि इत्यादि भनेर सिकाउनेहरू छ्यापछ्याप्ती पाइन्छन् ।  यी सबै सरसल्लाह अति उत्तम छन्, व्यवहारमा उतार्न सक्दा धेरै राम्रो, तर वास्तविक जीवनमा यी कुराहरू लागू भइरहेको छैन । भने जस्तो सजिलो छैन सन्तान हुर्काउन । सबै अभिभावकमा त्यति विघ्न धैर्यता पनि कहाँ पो छ र फेरि ? अभिभावकहरू छोराछोरीहरूलाई एक घण्टा मात्र पनि अरूले हेरिदिँदा पनि धेरै सजिलो महसुस गर्न थालेका छन् । त्यसैले होला, अनलाइन कक्षाको माग दिन प्रतिदिन बढ्न थालेको छ ।  

अनलाइन कक्षा चलिरहँदा विद्यार्थी मात्र होइन, विद्यार्थीको पछाडि अभिभावक बसेका हुन्छन् । हिजोसम्म स्कुलको कक्षा कोठामा चुकुल लगाएर पढाउन बानी परेकाहरू यति धेरै खुलेर पढाउन थलेका छन् । पुस्तकको पाठै सही दुनियाँले देख्ने गरी अनलाइनमा पढाउने हिम्मत गर्नु भनेको सम्मान योग्य कुरा हो कि होइन ? अरूको काममा टिका टिप्पणी गर्न सजिलो छ, तर त्यही काम आफूले गर्नुपर्‍यो भने थाहा हुन्छ। 

प्रसङ्ग दुई

बजारमा अनलाइन कक्षाको माहौल तातिरहेको थियो । म आफूले पनि यसलाई पहिलो विकल्पको रूपमा स्वीकार गरेको अवस्थाले गर्दा शिक्षकलाई अनलाइन कक्षा सम्बन्धी तालिम दिने र पूर्वाभ्यास गर्ने क्रममा आफ्नो स्कुलका वरिष्ठ शिक्षकलाई फोन गरेको थिएँ । 

‘ हेलो ! फलानो सर हो? म फलानो’ मोबाइल कलमा मेरो प्रश्न ।

‘सर नमस्कार ! ’ सरको जवाफ ।

‘तपाई के गर्दै हुनुहुन्छ ?’ मेरो सहज प्रश्न ।

हाँस्दै, ‘हे हे ... तपाईँले केही महिना अगाडि मेरो शिक्षणको आयु दुई वर्ष मात्र बाँकी छ भन्नु भएको थियो । तर कोरोनाको कारणले अहिल्यै सकिन थाले जस्तो लाग्यो । म त यति बेला छोरासँग बसेर अनलाइन कक्षा सञ्चालन गर्ने प्रविधिको अभ्यास गर्दै छु ।’ वाह १ कति गज्जबको कुरा ? मनमनै सलाम  गरेँ उहाँलाई । 

हाम्रो कुराकानी सधैँ हाँसो ठट्टामै हुने गरेकाले ठट्टाको भासमा भनेँ, ‘देख्नुभयो बुढो ! मैले भनेको कस्तो लाग्यो । मैले दुईबर्ष भनेको थिएँ तर परिस्थितिले झन्डै दुई महिनामै कोल्टे फेर्‍यो । यो कोरोना पनि मैले ल्याएको भनेर भन्नु होला नि फेरि हा हा हा.. ।’ 

त्यस्तै ४/ ५ महिना अघि होला । कोरोना कहर सुरु भएको थिएन । मैले आफ्ना स्कुलका वरिष्ठ शिक्षकहरू मध्ये एक जनालाई भनेको थिएँ, ‘सर ! तपाईँले लामो समयसम्म अति उत्कृष्ट तरिकाले पढाउनु भयो । तर मैले देखिसकेको छु, अबको २ वर्ष भित्रमा तपाई आउट डेटेड बन्नुहुन्छ ।’ उहाँसँग शिक्षक र प्रिन्सिपल भन्दा माथिको सम्बन्ध भएकाले यति भन्ने हिम्मत गरेको थिएँ ।  

कुरा झट्ट सुन्दा नरमाइलो खालको थियो, तर उहाँले सहजै लिनु भयो । मैले यो कुरा पनि थपेको थिएँ, ‘अहिलेका विद्यार्थीहरू डिजिटल पुस्ता हुन् । ज्ञान र सूचनाको मामलामा उनीहरू हामी भन्दा धेरै अगाडि छन् । उनीहरू लेखपढ गर्न पनि डिजिटल सामाग्रीहरूकै प्रयोग गर्न रुचाउँछन् । यदि शिक्षकहरूमा यस सम्बन्धी ज्ञान र सीप भएन भने विद्यार्थीहरूले शिक्षकलाई दूधको झिँगा फ्याँके जस्तै फ्याँकिदिन्छन् ।’ 

समाधानको उपायको बारेमा मैले यो कुरा गरेको थिएँ, ‘मेरो कुरा मान्नुहुन्छ भने अबको दुई वर्षसम्म तपाई आफ्नो निम्ति लगानी गर्नुस् । शिक्षालाई नयाँ ढङ्गले प्रस्तुत गर्न सक्ने बन्नुस् । त्यति गर्न सक्नुभयो भने तपाईँको शिक्षण अर्को २० वर्षसम्म उत्कृष्ट रहिरहनेछ ।’

प्रसङ्ग तीन

‘सर ! हाम्रो स्कुलको रिजल्ट कहिले ?’ बिहान सब्जी किन्न जाँदा भेटिएका एक जना अभिभावकको प्रश्न ।

रिजल्ट हाम्रो स्कुलको वेबसाइटमा राखिएको छ नि । स्कुलको कम्यूनिकेसन एप, इमेल, स्कुलको पेज लगायत विभिन्न माध्यमहरुबाट त्यसको सूचना दिइरहेका छौँ । नानीको कक्षा, रोल नम्बर र जिमेल खाता के हो भन्नुस् त, म अहिल्यै हेरिदिन्छु ।’ मेरो प्रतिक्रिया ।

‘अनि ग्रेडसीट नि ?’ अभिभावकको अनभिज्ञता मिसिएको प्रश्न ।

‘ग्रेड सिट पनि अहिल्यै हेर्न सकिन्छ । मैले भनेको कुरा दिनु न १’ अभिभावकज्यूको समस्यालाई तुरुन्तै समाधान गरिदिने मेरो आतुरी । 

‘बच्चाको नाम र रोल नम्बर र त फलानो फलानो हो । तर जिमेल खाता अस्ति स्कुलबाट फोन गरेर माग्नु भएको थियो, तर त्यो त दिएकै छैन ।’

‘त्यसो भए कुरा मिलेन । कृपया तपाई घर पुगेर हाम्रो स्कुलको मेलिङ खाता ....... मा विद्यार्थीको नाम, कक्षा, रोल नं आदि राखेर तपाइको आधिकारिक जिमेल खाताबाट एउटा इमेल लेख्नुस् है ? तपाईँको जिमेल स्कुलको सिस्टममा रेकर्ड हुन्छ । त्यसपछि रिजल्ट हेर्ने मात्र नभई त्यही जिमलेमा स्कुलका महत्त्वपूर्ण सूचनाहरू पनि आउँछन् ।’ उहाँलाई बुझाउने मेरो प्रयास ।

‘आफूलाई सधैँ कागजमा हेर्ने बानी परेको । अरू कुरा मतलबै हुन्थेन । कोरोनाले गर्दा यस्ता कुरा पनि सिक्ने मौका पाइयो । धन्यवाद सर ! म घर पुगेर इमेल लेख्छु ।’ नयाँ कुरा सुन्न र सिक्न पाउँदा खुसी अभिभावकको प्रतिक्रिया । 

निचोड

माथिका यी धेरै प्रसङ्गहरूबाट तपाइले बुझिसक्नु भयो होला । विद्यार्थी घरमा छन्, अभिभावकहरू सबै शिक्षित र दीक्षित छैनन् । तपाइले र मैले सोचेजस्तो गरी होम स्कूललिङ गर्न पनि सक्दैनन् । त्यसैले अभिभावकका निम्ति छोराछोरीहरू प्रतिको जिम्मेवारी, बोझ जस्तो लाग्न थालिसकेको छ । अर्कोतर्फ छोराछोरीहरू पनि उकुसमुकुस हुन थालिसकेका छन् । म देख्ने गर्छु, अनलाइन कक्षाका क्रममा विद्यार्थीहरू शिक्षकको अगाडि देखा पर्न पाउँदा र आफ्नो शिक्षकलाई भिडियो मै भए पनि देख्न पाउँदा निकै खुसी छन् । 

कुरा रह्यो अनलाइन कक्षा सञ्चालन विधि बारे । यस बारे विभिन्न टिका टिप्पणीहरू बजारमा हुन थालेको छ । अनलाइन कक्षामा जोडिन सक्ने र नसक्नेका बारेमा म आज धेरै चर्चा गर्न चाहन्न । खाली एउटा उदाहरण मात्र प्रस्तुत गर्ने अनुमति चाहन्छु । दुई भिन्नाभिन्नै समूह थिए । उनीहरू सबैको आम्दानीले जेनतेन जीवन धान्न मात्र पुग्थ्यो । फरक यति मात्र थियो कि पहिलो समूहका मान्छे स्वास्थ्य सर्वोपरि हो भन्ने सोच्थे । मान्छे सधैँ स्वस्थ मात्र भइरहँदैन भन्ने कुरा तिलाई थाहा थियो । त्यसैले भोकै रहँदा पनि आम्दानीको केही अंश आपतकालिन अवस्थालाई भनेर जोगाउँथे । दोस्रो समूहका मान्छेहरू जति कमायो, सबै खर्च नहुन्जेल कामै गर्दैनथे । कहाँ कति खर्च भइरहेको छ भन्ने कुराको मतलब गर्दैनथे । जीवन यसरी नै चलिरहन्छ भन्ने सोच्थे । अचानक दुवै समूहका केही मान्छे बिरामी परेछन् । पहिलो समूहका मान्छेले उपचारका निम्ति आपतकालिन कोष चलाउन सक्थे । तर दोस्रो समूहसँग केही पनि थिएन । अब भन्नुस् दोस्रो समूहका मान्छेले खर्च गर्न सक्दैनन् भनेर पहिलो समूहकाले पनि स्वास्थ्य उपचार गर्न पाउँदैन भन्न मिल्छ ?

अर्को कुरा अनलाइन कक्षा र शिक्षकको शिक्षण शैलीको बारेमा पनि यदाकदा टिप्पणीहरू देख्न सुन्न पाइन्छ । मलाई लाग्छ, यसबाट धेरै आशा गर्ने समय भइसकेको छैन । यति बेला बल्ल तल्ला अनलाइन कक्षाको ए.बी.सी सुरु भएको छ । नर्सरीमा पढ्ने बालकले हाइस्कूलको जस्तो दिन सकेन भनेर टिप्पणी गरिहाल्ने बेला भएको छैन । यसो हुनुपर्थ्यो, त्यसो हुनुपर्थ्यो भनेर टिप्पणी गर्ने मूर्खता अहिले गर्नु हुन्न । किनकि यस्तो कार्यले अनलाइन कक्षा के हो र यो कसरी सञ्चालन गर्ने भन्ने कुरा सिक्न भ्याउँदा नभ्याउँदै कक्षा सञ्चालन गर्ने हिम्मत गर्ने विद्यालय र शिक्षकहरूको अपमान हुन्छ । यति बेला उनीहरू पनि अधिकांश अरू स्कुल र शिक्षकहरू जस्तै चुप लागेर बस्न सक्थे । ज्यान रहे पढाउँला लेखाउँला भन्ने बहाना गर्न सक्थे । तर आफ्नो दायित्व सम्झेर केही गर्न जर्मुराएकाहरुलाई हतोत्साहित गर्नु भनेको बाँदरे प्रबृत्तीलाई बढावा दिनु हो ।

जीवन भर कम्प्युटर नचलाएका शिक्षकहरू आफै केही पाठ्य सामाग्रीहरूको खोजी गरी वा आफै निर्माण गरी विद्यार्थी सामु पुग्न थालेका छन् । हिजो कम्प्युटर चलाउनै नपर्ने शिक्षकहरू आज पावर प्वाइन्ट बनाएर पढाउन थालेका छन् । गुगल क्लास रुममा गुगल डकुमेन्ट, गुगल स्लाइडहरु, गुगल ड्राइभ आदि चलाउने र एसेसमेन्ट दिने, अनि त्यहीँ बसेर काम गर्न जान्ने भएका छन् । त्यसको अलावा गुगल मिट, जुम आदि जस्ता एपहरूका माध्यमबाट भिडियो कन्फरेन्सिङ गर्न जान्ने भएका छन् । अनलाइनमै असाइनमेन्ट दिने, विद्यार्थीको कामको मूल्याङ्कन पनि अनलाइनमै गर्न थालेका छन् । 

अनलाइन कक्षा चलिरहँदा विद्यार्थी मात्र होइन, विद्यार्थीको पछाडि अभिभावक बसेका हुन्छन् । हिजोसम्म स्कुलको कक्षा कोठामा चुकुल लगाएर पढाउन बानी परेकाहरू यति धेरै खुलेर पढाउन थलेका छन् । पुस्तकको पाठै सही दुनियाँले देख्ने गरी अनलाइनमा पढाउने हिम्मत गर्नु भनेको सम्मान योग्य कुरा हो कि होइन ? अरूको काममा टिका टिप्पणी गर्न सजिलो छ, तर त्यही काम आफूले गर्नुपर्‍यो भने थाहा हुन्छ। 

नेपाल सरकारको नीति तथा कार्यक्रममा आउँदो वर्ष साक्षर राष्ट्र घोषणा गर्ने भनिएको छ । तर त्यही सरकार निजी विद्यालयलाई समाप्त पारेर जनतालाई निरक्षर राख्ने प्रपञ्च रच्दै छ । कतिपय बजारु विज्ञहरू त्यसैको गोटी बनिरहेका छन् । तर नआत्तिऔँ । बाजारु कुराको पछि लागेर हतोत्साहित नबनौँ । 

त्यसैले आउनुहोस्, समय र परिस्थितिले जन्माएको आवश्यकता पुरा गर्न एक जुट भएर लागौँ । जसले जे जानेको छ, नजान्नेलाई सिकाऔँ, नसिकेकाले सिक्ने आँट गरौँ । सिक्नलाई उमेरले छेक्दैन । जसले जे जसरी सक्छ त्यसरी कामको थालनी गरौँ । कुनै पनि बालक नलडीकन एकै पटक दौडेको छैन । को कति पटक लड्यो भन्ने कुरा महत्त्वपूर्ण होइन, को बारम्बार लडेर पनि उठ्ने हिम्मत गर्‍यो भन्ने कुरा महत्त्वपूर्ण हो ।