बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

बूढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ५, २०७७

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । 

वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ । 

सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । 

शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ । तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको  पिसिआर परीक्षण गर्ने बताइएको छ । 

युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो । 

बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौँ आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका–६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताउनुभयो । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौँ आइपुगेको बताइएको छ । 

नेपालगञ्जबाट काठमाडौँ आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताउनुभयो । क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन् ।