आफ्नो कुरा राम्ररी भन्न नसक्नेका लागि अनलाइन पढाउन जरुरी नै छ त ?

आफ्नो कुरा राम्ररी भन्न नसक्नेका लागि अनलाइन पढाउन जरुरी नै छ त ?

निर्जला कक्षपति  |  शिक्षा  |  जेठ ६, २०७७

लकडाउन खुल्ने कहिले हो ? कहिल्यै अनिश्चित बन्दै गएपछि काठमाण्डौंका धेरै निजी विद्यालयले अनलाइन कक्षा सुरु गरिसकेका छन् । त्यसैले हिजो आज धेरै विद्यार्थीहरू अनलाइन कक्षामा आफ्नो पढाई लाई सुचारु गरिरहेका छन् । सानो उमेरमै प्रविधिमा अभ्यस्त भएर पढ्न पाउनु एक हिसाबले निकै नै राम्रो कुरा हो । हाम्रा बच्चाले अनलाइन पढाई गर्दा विषय वस्तुमा आधारित ज्ञान मात्र नभई प्रविधि सम्बन्धी थप कुराहरू पनि सिक्छन् । 

त्यसैले अनलाइन पढाइलाई नराम्रो मान्न सकिँदैन । तर के निजी विद्यालयले पूर्व तयारी गरेरै अनलाइन कक्षा लिइरहेका छन् त ? के सबै शिक्षकसँग अनलाइन कक्षा सम्बन्धी ज्ञान छ त  अथवा प्रविधिसँग हाम्रा शिक्षकहरू कति परिचित छन् ? यो प्रश्न अनलाइन कक्षा भन्ने बित्तिकै आउने प्रश्न हो । यसै गरी बन्दाबन्दीको यो समयमा अनलाइन कक्षा सुरु गर्न हतार भइसकेको अवस्था हो त ?

यदि लकडाउन नहुँदो हो त अथवा स्थिति सामान्य र साधारण हुँदा वर्ष दिनभरमा जम्माजम्मी ११६ देखि १२० दिनसम्म मात्र पढाई हुने गरेको यथार्थ हाम्रो थियो । अहिलेकै स्थितिलाई मात्र हेर्ने हो भने त्यति ढिलो भइसकेको अवस्था होइन । दसैँ तिहार र अन्य पर्व बिदामा समेत पढाएर कोर्स समाप्त गर्न सकिन्छ । तर कोभिड १९ को असर लामो समयसम्म पर्न सक्ने भएकाले विद्यार्थीलाई अनलाइन कक्षा सुरु गर्न थालिएको छ । यसलाई नराम्रो मान्न सकिँदैन तर कुन उमेर समूहकालाई मात्र यो अनलाइन कक्षा उचित हुन्छ त भन्ने सोच्नु आवश्यक छ । किनभने यहाँ त मन्टेश्वरी पढ्ने बच्चादेखि उच्च शिक्षा पन्नेसम्मका लागि अनलाइन कक्षा सुरु गरिएको छ । के आफ्नो कुरा राम्ररी समेत बताउन नजान्नेका लागि अनलाइन कक्षा पढाउनु जरुरी छ ? 

शिक्षाका विज्ञहरू भन्ने गर्छन्, आमाको दूध चुस्ने बालबालिकालाई हतार गरेर विद्यालय पठाउनु नै गलत कार्य हो । बच्चा राम्ररी आफ्ना कुरा भन्न सक्दैनन् तर पनि अभिभावकहरू विद्यालय पठाएपछि विद्यालयमै सकिछन् भन्दै विद्यालय पठाउँछन् । वैशाख महिना देखि हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु हुने गर्दछ । यो शैक्षिक सत्र देखि नयाँ विद्यार्थीहरू स्कुल जान्थे भने पढी रहेको विद्यार्थी छ भने उ अर्को कक्षामा बढुवा हुने गर्दथ्यो । तर यसपालि अन्य वर्षको जस्तै नयाँ शैक्षिक सत्र भनेर औपचारिक रूपमा सुरु गरिएको छैन । तर धेरै निजी विद्यालयले अनलाइन कक्षा सुरु गरिसक्दा अहिलेसम्म एक वटा पनि सामुदायिक विद्यालयले पढाई सुरु गरेको अवस्था छैन । शैक्षिक सत्रको क्यालेन्डर प्राय गरी सबै स्कुलमा उस्तै उस्तै नै हुने हो तर सामुदायिक विद्यालयमा प्रविधिको पहुँच तथा र शिक्षक आफै प्रविधिमा अपडेट नहुने र पुरानै शैलीबाट पढाउनु पर्ने चलन भएकाले सामुदायिक विद्यालयमा अहिलेसम्म कहीँ कतै अनलाइन कक्षा सुरु गरिएको छैन । काठमाण्डौंमा रहेका केही सामुदायिक विद्यालयले निजी विद्यालयको सिको गदै केही दिन पछि अनलाइन कक्षा सुरु गर्न सक्छन् तर के सामुदायिक विद्यालयमा पढ्ने सबै बालबालिका इन्टरनेटको पहुँचमा होलान् त ? अनलाइन कक्षा पढाउनका लागि उनीहरूका अभिभावकले कम्प्युटर खरिद गर्न सक्लान् ? अनि आफ्ना छोराछोरीलाई पढाइमा मदत गर्न सक्लान् ?यसै गरी शिक्षकले आफूले पढाउने सामग्री पावर प्वाइन्टमा तयार पारेर कक्षा लिन सक्लान् ? यी सबै कुरा सोचनीय छन् । तर सरकारले भने कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी सिकाई पोर्टल सुरु गरी सकेको अवस्था छ ।
के प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा दिनु जरुरी नै छ त ? यो प्रश्न निकै नै उठेको छ । निजी विद्यालयले मन्टेश्वरीमा पढ्ने बालबालिकाका लागि पनि अनलाइन कक्षा लिन थालेपछि यो प्रश्न उब्जिएको हो । अनलाइन कक्षाको लागि खाली विद्यार्थी मात्र तयार भएर पुग्ने अवस्था छैन । यसको लागि अभिभावक र शिक्षक उत्तिकै जिम्मेवार हुन्छन् । अहिले पनि कतिपय निजी विद्यालयले सुरु गरेको अनलाइन कक्षामा अभिभावकहरू प्रविधि मैत्री नहुँदा धेरैले दुःख पाइरहेका छन् ।

महामारीले गर्दा हाम्रो जीवनशैलीलाई हामी जसरी परिवर्तन गर्न जरुरी देखिएको छ त्यसैगरि अब विदेशमा गएर काम गर्न र पढ्न जान सकिने स्थिति रहने छैन त्यसैले जिवनउपयोगी र गरिखान सक्ने शिक्षा आजको आवश्यकता हो । शिक्षा प्रणालीमा परिवर्तन गर्न अथवा जीवन उपयोगी शिक्षाका लागि यस क्षेत्रका विज्ञ र शिक्षा मन्त्रालयले आजै देखि गृहकार्य सुरु गर्न आवश्यक छ । हैन भने धेरै विद्यार्थी पढेर केही गर्न नसक्दा निराश हुनेर डिप्रेसनमा जान सक्ने सम्भावना उत्तिकै रहन्छ । 

केही दिन पहिले छोरीको साथीको ममीले फोन गर्दै भन्नुभयो, असाइनमेन्टहरु कहाँ दिन्छ ? कसरी पठाउने ? अनि कुन दिन कसरी पढाई हुन्छ पढाइको तालिका कसरी थाहा पाउने भनेर सोध्नुभयो, । अनि मैले मेसेँजरमा गएर टिचरलाई एड गर्नुस् अनि त्यही मेसेन्जरमा सबै कुरा आएको हुन्छ भने । आफू प्रविधिमा त्यति धेरै अपडेट नभएकोले छोरीलाई अनलाइन कक्षामा सघाउ पुर्‍याउन निकै गाह्रो भएको अनुभव उहाँको थियो । हुन पनि धेरै अभिभावकहरू प्रविधि मैत्री छैनन् । यसै गरी सबै कहाँ ल्यापटप र टयाव हुँदैन र सबैले स्मार्ट फोन पनि बोक्दैनन् । यस्तो अवस्थामा अनलाइन पढाइ गर्न असम्भव जस्तो हुन्छ । बजार बाट किनेर ल्याउन बजार खुलेको अवस्था होइन ।

के मन्टेश्वरी पढ्ने बालबालिकालाई अनलाइन शिक्षा जरुरी नै हो त ? यस्तो महामारी र बन्दाबन्दीका बेला उनीहरूलाई पढाउन र सिकाउन सक्ने माध्यम भनेको अनलाइन शिक्षा मात्र हो त ? विल कुल हैन । शिक्षा क्षेत्रका अधिकारीहरू बताउने गर्छन् की बच्चालाई ५ वर्ष नपुगी विद्यालय पठाउने तरिका नै गलत हो  । जून हामी गरिरहेका छौ । बच्चा सुत्ने, खेल्ने खाने अनि रमाउने समयमा हामी बोझ थपेर विद्यालय पठाइरहेका छौँ । 

हाम्रो पालासम्म अधिकांश बालबालिकाहरु ५ वर्ष पुगेपछि मात्र विद्यालय जाने चलन थियो । कक्षा १ बाट नै पढाई सुरु हुने गथ्र्यो । ५ वर्ष नपुगुन्जेल हामी घरमै आफ्ना अभिभावकसँग कखरा देखि लिएर १ देखि १०० सम्मका अङ्क जान्दथ्यौँ । स्कुल गएपछि शब्द लेख्न सिकाइन्थ्यो । आखिर घरमै बसेर पनि पढ्न सकिन्छ भन्ने प्रमाण हामीसँगै छ तर अहिले बाबु आमा दुवै कामकाजी हुने र एकल परिवारमा बस्ने भएकाले बच्चाको हेरचाह र स्याहार सुसार गरिदिने कोही नहुँदा जति नै महँगो शुल्क तिर्नु परे पनि मन्टेश्वरी पठाएपछि आफू ‘फ्री’ हुन पाइने सोच अभिभावकहरू राख्छन् । यही सोचका कारण आमाका दूध चुस्ने धेरै बालबालिकाहरु दिनभर पढाइका नाममा पिल्सी राखेका छन् । यही कमजोरीको फाइदा निजी विद्यालयले लुट्ने गरेका छन् र यो बन्दा बन्दीको समयमा पनि अनलाइन कक्षा भन्दै कि बोर्डका विभिन्न बटन थिचाउँदै पढाउने गरेका छन् । 
शिक्षाविद्हरू भन्ने गर्छन् , पूर्व प्राथमिक कक्षा र प्राथमिक कक्षाका विद्यार्थीहरूलाई अनलाइन कक्षा जरुरी नै पर्दैन । 

शिक्षाविद् डा. मनप्रसाद वाग्लेका अनुसार यो बन्दा बन्दीको समयमा केटाकेटीलाई, घर पढाउनुपर्छ, करेसाबारी पढाउन सकिन्छ, घरका व्यवस्थापन प्रणाली पढाउन सकिन्छ । घरको समाज शास्त्र र अर्थ शास्त्र पढाउन सकिन्छ । घरका विज्ञान, घरका गणित, घरको भाषा सिकाउनु पनि अध्ययन नै हो । मन्टेश्वरी पढ्ने नानीका लागि त विना टेन्सन हाँस्न खेल्न नाच्न, आमाको काखमा रमाउन,र बच्चा जे गर्दा रमाउँछ त्यही गर्न दिनु हो । घरका सदस्य सँग पनि बच्चाले केही न केही नयाँ कुरा सिकिरहेको हुन्छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई पढाइको बोझ दिनु भन्दा घरमै बसेर आफूले बोल्ने भाषा सम्बन्धी ज्ञान दिनु पनि पढाइ नै हो । आफूभन्दा ठुलालाई आदर गरेर बोल्नुपर्छ अनि सानालाई माया गरी बोल्नु पर्छ भन्ने सिकाउनु पनि ज्ञान नै हो । हेर्दा यस्ता कुरा सामान्य लाग्ने गरे पनि  जीवनमा यसले निकै नै ठुलो अर्थ र महत्त्व राख्दछ । किनभने अभिभावकले छोराछोरीलाई प्रेमपूर्ण व्यवहार नगर्दा बच्चा रूखो हुने अनि झर्केर बोल्ने, कसैसँग मित्रवत् व्यवहार गर्न नजान्ने हुन्छन् । 

त्यस कारण बच्चालाई व्यवहारिक कुरा सिकाउनु पनि ज्ञान नै हो । स–साना नानीलाई घरमै सिकाउने थुप्रै कुराहरू हुन्छन्, जस्तो केही पनि कुरा दिएर गन्न लगाउने । यसबाट उनीहरूले गन्न सिक्छन् र अङ्क थाहा पाउँछन् । तपाईँले बच्चालाई हरेक दिन खुवाउने फलफूलबाट फलफूलको नाम सिक्छन् । जस्तो केरा खान दिनु भयो भने यसलाई अंग्रजीमा बनाना भन्छन् भनेर सम्झाउन सकिन्छ । यसै गरी तरकारीको नाम पनि सम्झाउन सकिन्छ । तरकारीको नाम सम्झाउँदै गर्दा हरियो तरकारी हाम्रो शरीरका लागि किन आवश्यक र महत्त्वपूर्ण छ भन्ने विषयमा बच्चालाई सम्झाउन सकिन्छ । बच्चाले प्रयोग गर्ने किताब कापी र कलम लाई अङ्ग्रेजीमा बुक, कपी र पेन भनेर सम्झाउन सकिन्छ । 
त्यसैले किताबमा लेखिएका कुराहरू रटान गराउनु मात्र पढाई होइन । कामको बारेका जानकारी गराउनु, स्वस्थ रहन हामीले गर्ने क्रियाकलाप बारे जानकारी गराउनु पनि शिक्षा नै हो । योग गर्नु किन आवश्यक छ, अनि ध्यान गर्दा के हुन्छ यस्ता जीवन उपयोगी शिक्षा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई सिकाउन सके निकै नै उपलब्धिमूलक हुन्छ । यसै गरी आफ्नो फूलबारीमा बच्चालाई साथै लगेर फलफूलको नाम, विभिन्न फूलहरूको नाम र कस्तो कलरको छ त्यसबारे जानकारी दिन सकिन्छ । कलरलाई प्रकृति र संस्कृतिसँग जोडेर बताउन सकिन्छ । दिनदिनै बच्चालाई चित्र कोर्न लगाउन सकिन्छ । पेन्टींग गराउन सकिन्छ । देशको भूगोल बारे बताउन सकिन्छ । अहिले नेपालको नक्सा विवादको कुरा उठेको छ यो विषयलाई लिएर बालबालिकासँग कुरा गर्न सकिन्छ ।

कोभिड १९ कै बारे जानकारी दिन सकिन्छ । यस्ता थुप्रै कुरा छन् जून बच्चाले घर परिवारकै सदस्यसँग सिक्न सक्छन् । खेल्ने, उफ्रने, आफ्नो आमाबाबुसँग बसेर रमाउने यी उमेरका बालबालिकालाई कम्प्युटरको की बोर्डमा औला ठम्याउन आवश्यक छैन । अब कुरा गरौँ अनलाइन शिक्षाको पहुँचका बारे । कति प्रतिशत विद्यार्थी अनलाइन शिक्षाको पहुँचमा होलान् ? अथवा कति प्रतिशत मानिसमा इन्टरनेटको पहुँचमा होला ? यो पनि निकै नै मनन गर्नु पर्ने प्रश्न छ । यसै गरी अनलाइन पढाइको लागि विद्युतको सहजता र नियमितता निकै नै अपरिहार्य छ । पढाउँदा पढाउँदा बिजुलीको लाइन गयो भने विद्यार्थीले पढ्न सक्दैनन् । यसै गरी विद्यार्थी कहाँ मात्र लाइन गयो भने पनि विद्यार्थीले पढ्न सक्दैनन् । यति घण्टा बत्ती जाँदैन है भनेर यहाँका निजी विद्यालयले विद्युत् प्राधिकरणसँग कुनै पनि सम्झौता गरेका छैनन् । त्यसैले विद्यार्थीले पढ्दा पढ्दै झ्याप्प झ्याप्प बत्ती गएको उदाहरण धेरै छन् । शिक्षक बसेको लोकेसनमा बत्ती जाँदा कुनै दिन शिक्षक उपस्थित नै हुन सक्दैनन् । बत्ती आएपछि शिक्षकले बल्ल माफ गर्नुहोला बत्ती गएका कारण कक्षा लिन नसकेको कारण जनाउ दिन्छन् । 
अबको शिक्षा भनेको पुरानै शैली र ‘मास्टर्स’ गरे पनि कामको लागि योग्य व्यक्ति उत्पादन गर्न नसक्ने शिक्षा आवश्यक छैन । गरिखाने सिपको अभिवृद्धि गर्न सक्ने शिक्षा अबको आवश्यकता हो । यसै गरी नयाँ सिपको सिकाई सम्बन्धी पढाइ हुनु जरुरी छ भने स्वदेशमै रहेर कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने सिप सहितको पढाइको माग धेरै हुनेछ । त्यसैले पुराना शैलीको पढाइलाई अनलाइनमा पढाएर मात्र मानिसको जीवनस्तर उक्सिन सक्दैन । महामारीले गर्दा हाम्रो जीवनशैलीलाई हामी जसरी परिवर्तन गर्न जरुरी देखिएको छ त्यसैगरि अब विदेशमा गएर काम गर्न र पढ्न जान सकिने स्थिति रहने छैन त्यसैले जिवनउपयोगी र गरिखान सक्ने शिक्षा आजको आवश्यकता हो । शिक्षा प्रणालीमा परिवर्तन गर्न अथवा जीवन उपयोगी शिक्षाका लागि यस क्षेत्रका विज्ञ र शिक्षा मन्त्रालयले आजै देखि गृहकार्य सुरु गर्न आवश्यक छ । हैन भने धेरै विद्यार्थी पढेर केही गर्न नसक्दा निराश हुनेर डिप्रेसनमा जान सक्ने सम्भावना उत्तिकै रहन्छ ।