सिरहामा थप ८० आइसोलेसन बेड तयार पार्ने

सिरहामा थप ८० आइसोलेसन बेड तयार पार्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ७, २०७७

सिरहा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्ययाको आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो ।
 
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दिवास अस्पतालमा ५० बेड थप गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेश नं २ मा हाल ४४७ आइसोलेसन बेड छ । यीबाहेक ३०५ बेड थप्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

यसअघि गत जेठ २ गते प्रदेश सरकारले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई ५० श्यया ९बेड०को कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश नं २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ ।