प्लट भत्काउने गोपाल पराजुलीः साहित्यको बजार प्रचारमुखी, सतही र गुटगत हुदै गएकोमा दुःखी देखिनुहुन्छ

प्लट भत्काउने गोपाल पराजुलीः साहित्यको बजार प्रचारमुखी, सतही र गुटगत हुदै गएकोमा दुःखी देखिनुहुन्छ

सुरेश हाचेकाली  |  साहित्य  |  जेठ ७, २०७७

प्रेमजीवनको बारेमा प्रश्न सोध्दा मुसुक्क हासेर लजाउने र विषयान्तर गर्ने युरोपियन हाइट, उच्च नासिका र सेतो कपाल भएका गोपाल पराजुली मूलतः कथा, नाटक र कविता लेख्ने बरिष्ठ लेखक हुनुहुन्छ । यी ‘सेप्चुवाजेनेरियन’ साहित्यकारलाई धेरैले साझा प्रकाशनको पत्रिका ‘गरिमा’को पूर्व सम्पादक भनेर पनि चिन्दछन् । त्यतिबेलाको कोेटेश्वर गाउँमा बि.सं. २००७ सालमा जन्मिनुभएका उहाँ अहिले त्यही रुपान्तरित कोटेश्वरको सहरमा बस्नुहुन्छ । मध्यम वर्गीय किसान परिवारमा जन्मिनु भएका पराजुलीसँग त्यो समयको दिउँसै स्याल कराउने कोटेश्वर क्षेत्रका खेतवारीहरूको आलो सम्झना अद्यावधी छदैछ । 

नयाँ ईश्वरको घोषणा काव्यका लागि बि.सं. २०६० सालको मदन पुरस्कार बिजेता पराजुलीका करिव १५ वटा कृतिहरू प्रकाशित छन् । वर्षौ पहिलेदेखि शाकाहारी जीवन बिताइरहनु भएका उहाँ शान्ति, स्वतन्त्रता र आनन्दजस्ता मानवीय सरोकारका विषयलाई सम्वोधन गर्नु नै आफ्नो लेखनको उद्देश्य र निचोड रहेको बताउनु हुन्छ  । बि.सं. २०२४ मा राष्ट्रिय सेवा दलको २ वर्षे तालिम सकेर ‘सेकेण्ड लेफ्टिनेन्ट’ हुने अवसर पाए पनि उहाँले त्यो अफरलाई अस्वीकार गर्नुभयो । सम्भवतः युद्ध र अशान्तिलाई भित्रैदेखि नरुचाउने ‘कन्सेन्सस अब्जेक्टर’ले पराजुलीको हृदयमा बास गरिसकेको थियो । बन्दुक छोडेर कलम समाउने दिशामा उहाँले सैनिक जीवनमा प्रवेश गरेकै समयमा यात्रा आरम्भ गर्नुभयो । आजपर्यन्त मानवतालाई शीर्षस्थानमा राखेर उहाँ कलम दगुराइ रहनुभएको छ ।  अहिलेको विश्व आतङ्कवाद र उग्रवादले आक्रान्त भएकैले पनि आफूभित्र शान्तिको चेत झनै जागृत भइरहेको उहाँ ठान्नुहुन्छ । अङ्ग्रेजी र नेपाली दुवै भाषामा  उहाँको पछिल्लो समयको काव्यकृति एउटा जेलबर्डको चिठी त्यही शान्तिकामी चाहनाको उत्कर्ष उपलब्धी हो । आफूलाई पृष्ठभूमिमा राखेर लेखेको यो काव्यकृतिमा उहँले जेलबर्डको चेतनालाई समात्नु भएको छ । उहाँ आफूभित्रको लेखकलाई जेलबर्ड ठान्नुहुुन्छ । आजको मान्छेले जेलभित्रै नबसे पनि आफूलाई जेलभित्रै बसेको अनभूति गर्दछ भन्ने उहाँ मान्यता राख्नु हुन्छ  । 

पाश्चात्य साहित्य र दिनानुदिन विकास भइरहेका नयाँ सोच र चिन्तनप्रति उहाँको अगाध सम्मोहन देखिन्छ । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्नुभएका पराजुली युवा साहित्यकार तथा पाठकहरूका निम्ति एउटा ‘लिभिङ लेजेन्ड’ हुनुहुन्छ् । साहित्यको बजार प्रचारमुखी, सतही र गुटगत हुदै गएकोमा उहाँ दुःखी देखिनुहुन्छ  । 

सोद्धेश्य प्रयोग रुचाउने पराजुलीले तीसको दशकमा नेपाली साहित्यमा केही ‘ल्याण्डमार्किङ’ प्रयोगहरू गर्नुभयो  । उहाँको प्रयोग प्रयोगको नाममा प्रयोग थिएन । उहाँले ‘प्लटलेस’ कथाहरू लेखेर त्यो समयको जमिरहेको चेतनालाई थप्पड हान्नुभयो  । उहाँले विचार र शैलीमा नयाँपन खोजे । कथा, कविता र नाटकबाट नवीनताको अन्वेषण गर्नुभयो  । नयाँपनकै खोजीमा उहाँको प्रयोग लक्षित थियो भन्ने उहाँ ठान्नुहुन्छ । उहाँ विचार र शैलीमा ‘फोटोकपी’ प्रवृत्तिको बिपक्षमा उभिनुभयो । विचार, विषय र शैलीलाई ‘डिकन्स्ट्रक्ट’ गर्दै नयाँ ढङ्गले उठनुभयो  । आपूmले त्यही समयदेखि नै अन्तरविषयात्मक उपागमको प्रयोग गरेको उहाँ सगौरव बताउनुहुन्छ । तीसको दशकमा लेखिएको नाटक गोलाद्र्धका दुई छेउ तथा तीस र चालीसको दशकमा लेखिएका कथाहरूको सङ्ग्रह दिशाहीन आकास उहाँको प्रारम्भिक चरणको प्रयोगधर्मिताका लोभलाग्दा उच्च नमूनाहरू हुन् । उक्त नाटकले लैङ्गिक द्वन्द्व तथा युद्ध र शान्तिबीचको द्वन्द्वलाई उजागर गरेको छ । फ्ल्यासब्याकमा तीसको दशकलाई सम्झिनुपर्दा उहाँ त्यसलाई स्वतन्त्रता, मानव अधिकार केही नभएको कालो र जटिल कालखण्ड ठान्नुहुन्छ । त्यो समयमाथि आफ्नो प्रतिवादी आवाज दिनका लागि आफूले विधाभञ्जन र ‘प्लटभञ्जन’को अभ्यास गरेको उहाँको भनाइ छ । 

अन्याय र विसङ्गति सहन नसकेर आफू लेखक भएको कुरो बताउने पराजुलीले विसङ्गत समयलाई नङ्ग्याउन थुप्रै हासो लाग्ने पात्रहरूको जमघट आफ्नो कथामा गराउनुभएको पाइन्छ  विभिन्न पात्रहरू खडा गरेर भन्नु भन्दा एउटै पात्र मार्पmत् धेरै कुरा किन नभनिएको भन्ने प्रश्नमा उहाँको यस्तो भनाइ छ,— ‘त्यही समाजमा बसेर त्यही समाजको एक विशिष्ट पात्रको चरित्र पूर्णरुपले ल्याउदा असहज हुने महसुस भयो । नल्याउदा समाजको तस्वीर नआउने भएकोले विभिन्न पात्रहरू खडा गरेँ । ल्याउनु असुरक्षा, नल्याउनु आफ्नै लेखकप्रति अन्याय हुने भएकाले लुकाएर ल्याएँ अनि देखाएँ । लुकाइलुकाइ देखाएँ ।'

ईश्वर, ईश्वरको अस्तित्व र ईश्वरको विम्बका बारेमा व्यक्ति र विभिन्न ‘स्कुल अफ थट’का आ–आफ्नै धारणा हुन्छन् । शैलीगत हिसावले आपूmलाई उत्तरआधुनिक र विचारका हिसावले उत्तरउत्तरआधुनिक ठान्ने यी कवि ईश्वर बचाउनु पर्छ भन्नुहुन्छ । उनको सोचाइमा ईश्वर मान्ने मान्छेले मान्छे मार्दैन । यसरी हेर्दा ईश्वर उहाँको निम्ति एउटा जरुरी विम्ब हो । उहाँको विचारमा ईश्वरमाथिको आस्था नैतिक हो । उहाँको ठम्याइमा उत्तरआधुनिकले ईश्वरको ‘स्पेस’ मेटे, उत्तरउत्तर आधुनिकले ईश्वरलाई केन्द्रमा राख्न थालेका छन् । ईश्वर र मानव दुवैलाई बचाउनु उहाँ आफ्नो लेखनमा जरुरी ठान्नुहुन्छ । ‘प्लट’ भत्काउने नैसर्गिक चेतना बोकेका यी गम्भीर मान्छे ‘युनिभर्सल थिम’ समातेर कलम चलाउँनुहुन्छ  । उत्तरआधुनिकले केवल विनिर्माण गर्ने तर उत्तरउत्तरआधुनिकले विनिर्माण गरे पनि एउटा संरचना निर्माण गरेर सौन्दर्य थप्ने भएकोले आफू उत्तरउत्तरआधुनिक भएको कुरो गोपाल पराजुली सगौरव सुनाउनुहुन्छ । 

आजको परिवेशमा बन्दुकधारी सिपाही पनि शान्ति खोजिरहेको अवस्था छ भन्ने पराजुली ठान्नुहुन्छ । नारायणहिटी दरवार हत्याकाण्ड र ‘ट्विन टावर्स’ ढालिएको समयमा उनले त्यसको प्रतिकृयास्वरुप शान्तिको पक्षमा समयको प्रस्थान काव्य लेखेका थिए । यसैगरी अर्को विश्वको प्रस्ताव (बि.सं. २०६९) ले वैज्ञानिक, कवि, कलाकार वा मानवीय संवेदना भएका विचारक तथा राजनेतासहितको ‘ग्रीन जोन’को परिकल्पना गरेको उहाँ बताउनुहुन्छ । 

अङ्ग्रेजी भाषाको ज्ञान आफूमा राम्रै भए पनि चित्त बुझ्दो गरी पर्याप्त नभएकोमा मनको एउटा कुनामा उहाँ आफूैंप्रति केही हदसम्म असन्तुष्ट देखिनु हुन्छ । पाश्चात्य साहित्य र दिनानुदिन विकास भइरहेका नयाँ सोच र चिन्तनप्रति उहाँको अगाध सम्मोहन देखिन्छ । थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्नुभएका पराजुली युवा साहित्यकार तथा पाठकहरूका निम्ति एउटा ‘लिभिङ लेजेन्ड’ हुनुहुन्छ् । साहित्यको बजार प्रचारमुखी, सतही र गुटगत हुदै गएकोमा उहाँ दुःखी देखिनुहुन्छ  । 

कथा, कविता र नाटकका तीन वटा फरक विधामा बाँडिएर किन साहित्य लेख्नु भयो भन्ने प्रश्नमा उहाँको सहज उत्तर छ,- ‘आफूभित्रको मान्छेलाई बाहिर ल्याउन कविता लेखेँ । समाजको चरित्रलाई व्यक्त गर्न कथा लेखेँ र समाजको चित्र हेरेर द्वन्द्वलाई व्यक्त गर्न नाटक लेखेँ ।’ कवितात्मक शैलीमा लेखिएका गोपाल पराजुलीका दर्जनौँ सम्पादकीयहरू अहिले पनि पुस्तकालयभित्र सुरक्षित तथा असुरक्षित रुपमा थन्किएका ‘गरिमा’ पत्रिकाका पृष्ठहरूमा पाठकको प्रतिक्षा गरिरहेका होलान् । 
अन्तमा, यी ‘आइकोनोक्लास्ट’ लेखकको जय होस् ।