लकडाउन पछिको योजना ! पाखाहरूलाई खेती योग्य तुल्याउने हो भने मीठो वा नमिठो खाएर बाँच्न सकिन्छ !!

लकडाउन पछिको योजना ! पाखाहरूलाई खेती योग्य तुल्याउने हो भने मीठो वा नमिठो खाएर बाँच्न  सकिन्छ !!

देवराज न्यौपाने  |  दृष्टिकोण  |  जेठ ८, २०७७

नेपालीमा एउटा उखान छ– ‘हुने हार दैव नटार’ । यो नेपाली उक्ति सुन्दा मनोवैज्ञानिक रूपमा एक किसिमको सन्तुष्टि हुन सक्ला । समयको झापडले हानिरहँदा सहरिया मोहभन्दा गाउँ र खेती नै अप्ठ्यारोको अन्तिम विकल्प आधार हुने रहेछ भन्ने शिक्षा पनि पाइरहिएको छ । कोभिड १९ ले आम जनमानसलाई एउटा सन्देश त अवश्य दिएको छ आखिर ‘पैसा’ नै सबै थोक चाहिँ होइन रहेछ । 

‘कृषि’ विना जीवन सङ्कटमा हुने भएकाले व्यापार र सहरीकरणको मूल आधार पनि कृषि नै हो । गाउँको परिवेश र जीवन शैलीको सुखभन्दा ठुलो सहरिया सुख होइन किनकि संसारमा धनी देशका मानिसले जति आत्महत्या गर्छन् त्योभन्दा धेरै कम मात्र गरिब देशमा मानिसले आत्महत्या गर्छन् । हरेक अप्ठ्यारामा आखिर प्रविधिको भौतिक सम्पन्नता पनि निरर्थक बन्ने रहेछ नि त !

प्राकृतिक घटना र अप्रत्याशित विषयलाई कसैले रोक्न सकिँदैन । तैपनि विगतका अनुभव र अभ्यासका आधारबाट कम्तीमा पूर्व तयारी त गर्न सकिन्छ नि ! हो, सोच्ने हो भने हाम्रा पूर्वजले यही विषयलाई बुझेर नै होला विभिन्न सामाजिक संस्थाको स्थापना गरेका रहेछन् । उनीहरूले त्यसै भनेका होइनन्– ‘हुलमुलमा जिउ जोगाउनु, अनिकालमा बिउ जोगाउनु’ । समस्या आउनु पूर्व सतर्क रहन, धैर्य गर्न सिकाए । भनिन्छ नि ! रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ । तसर्थ हाम्रा पुर्खामा आफ्नै प्रकृतिको आर्थिक–सामाजिक पृष्ठ धार रहेछ । जस्तो कि ‘ढुकुटी, गुठी, भेजा, कुलो, पानी आदि । आखिर यी अनिवार्य आवश्यकताका पूर्वाधारलाई विकास गर्ने हाम्रा संस्था कहाँ–कहाँ छन् ।  तिनले के कसरी काम गर्छन् ? यी विषय अबको एउटा बहसका विषय हुन सक्छन् ।  

आधुनिक पुँजीवादी व्यवहारको प्रभाव पर्दै जाँदा हामीले जुठेल्नामा पुदिना वा खुर्सानीको एउटा बिरुवालाई पनि लगाउन छोड्यौँ । हामी परनिर्भरताको पैसामुखी संस्कारभित्र बडप्पन देखाउने भइसकेका छौँ । हाम्रा बारी, पाखा, खेतलाई बाँझो राखेर विदेशतिर पलायन हुँदा अप्रत्यक्ष रूपमा भिन्न पक्षको प्रभावले हामी पूर्ण रूपमा परनिर्भर बनिसकेका छौँ । यो कोरोना भाइरसका कारण भइरहेको लकडाउन खुल्नासाथ हजारौँ नेपालीहरू स्वदेश फिर्ती हुँदा देशले कसरी विप्रेषण आयलाई सन्तुलन राख्ने एउटा विषय हुन्छ भने अर्कोतिर ती नागरिक भित्रिँदा आउने वास्तविक समस्याका बारेमा सोच्नुपर्छ ।

अर्को चासोको विषय हो– सामाजिक चरित्रभित्र व्यक्तिलाई कसरी नियन्त्रण गरिन्छ ? व्यक्तिको दायित्व सामाजिक रूपमा के–कस्तो हुनुपर्छ ? यस्ता विषयमा धेरै विद्वानरूको भिन्न विचार छन् । तैपनि, समकालीन चर्चित समाज शास्त्रीहरू जसले अस्तित्ववादको वकालत गरे । यो पनि असफल सिद्ध बनिसक्यो । यस्ता विषयमा चर्चा गर्दा एङ्गेल्सलाई अवश्य पनि बिर्सन सकिँदैन । न कि सामाजिक संरचनाले व्यक्तिलाई वा व्यक्तिका व्यवहार, क्रियाकलापलाई निर्देशित गरेको हुन्छ । यस आधारमा हेर्दा व्यक्तिगत सोचाइ, विचार, व्यवहार समाजअनुसार प्रकट हुन्छ भन्ने मान्यता एकातिर हुँदाहुँदै अर्कोतर्फ व्यक्ति नै सर्वेसर्वा हो । 

व्यक्तिले जेजस्तो कार्य सम्पादन गर्छ त्यही कुराले सामाजिक संरचनामा प्रभाव पार्छ । अर्थात् व्यक्ति–व्यक्तिको समन्वयबाट समाज बन्नु भनेको व्यक्ति–व्यक्तिको ज्ञानलाई सामूहीकरण गर्नु हो । अतः यो कोरोनाले अब ग्रामीण कृषि करणको नवीन आधारलाई अपनाउन निर्देश गराउने विषयमा सोच्नुपर्छ । अबको समाजलाई उही एक आपसी सहयोग, निर्णय, निर्माण प्रक्रिया, आर्थिक तथा सामूहिक निर्णय वा नेतृत्वको महत्वलाई बोध गराउने आधारलाई तय गर्नुपर्छ । 

यी सामाजिक पक्षमा कतिपय निर्णय लिँदा नेतृत्वविना नै व्यक्तिले आफू र आफ्नो दायित्व, भूमिका, कर्तव्यका साथै आफ्ना समाज, समुदाय वा क्षेत्रको एक सर्वेसर्वाका रूपमा आफूलाई उभ्याइरहेको हुन्छ । यही हाम्रो सामाजिक धार्मिक परम्परा रहँदै आएको विषयलाई हामीले अवश्य नै स्वीकार गर्न सक्छौँ । यसरी जिम्मेवारी लिने तर आफ्नो दायित्व, कर्तव्य वा भूमिका नजान्ने सोचले आज हाम्रो राजनीतिक परिपाटीमा विसङ्गतिका चाङ छन् । अरू सबै कुरा जान्ने तर आफ्नै वास्तविक भूमिका बिर्सने आजको हाम्रो परिवेशमा के कहीँ कतै हामीबाट नै पनि भुल भइरहेको त होइन ? एक पटक हरेक व्यक्तिगत तहबाट पनि सोचौँ ।

प्रसङ्ग ‘नेपाली सामाजिक व्यवस्था’ को हो । यहाँ सम्पूर्ण निर्णय प्रक्रिया सामाजिक दायित्व लिएको व्यक्तिमा रहँदै गएको छ । तथापि, सामूहिक उत्तरदायित्व वहन गर्ने हाम्रा परम्परागत संरचना निरन्तर रूपमा ढल्दै गए । आधुनिक पुँजीवादी व्यवहारको प्रभाव पर्दै जाँदा हामीले जुठेल्नामा पुदिना वा खुर्सानीको एउटा बिरुवालाई पनि लगाउन छोड्यौँ । हामी परनिर्भरताको पैसामुखी संस्कारभित्र बडप्पन देखाउने भइसकेका छौँ । हाम्रा बारी, पाखा, खेतलाई बाँझो राखेर विदेशतिर पलायन हुँदा अप्रत्यक्ष रूपमा भिन्न पक्षको प्रभावले हामी पूर्ण रूपमा परनिर्भर बनिसकेका छौँ । यो कोरोना भाइरसका कारण भइरहेको लकडाउन खुल्नासाथ हजारौँ नेपालीहरू स्वदेश फिर्ती हुँदा देशले कसरी विप्रेषण आयलाई सन्तुलन राख्ने एउटा विषय हुन्छ भने अर्कोतिर ती नागरिक भित्रिँदा आउने वास्तविक समस्याका बारेमा सोच्नुपर्छ । हामी त लाखौँ–करोडौँ रकमको अन्न प्रत्येक महिना भारतबाट ल्याइरहेका छौँ । 

देश हालको काेरना भइरसको चपेटामा गुज्रिरहँदासम्म पनि हाम्रो नेतृत्वदायी पक्षमा पद लालसाको दूरदर्शिताप्रति सोच्न विवस खेप्नुपरिरहेको छ । अब ५–६ महिनापछि कस्तो समय आउँदै छ ? हाम्रा पाखालाई खेती गरी उत्पादनयोग्य तुल्याउन थाल्ने हो भने मीठो वा नमिठो खाएर बाँच्न त सकिन्छ नि ! यसैले हामीले हाम्रो यथार्थतालाई नबिर्सीकन पूर्ण कृषि कार्यमा संलग्न हुने अवस्था आयो भने यसको सक्रिय भूमिका निर्वाह गर्ने दायित्व कसले लिने ? कसरी गर्ने ? यस्ता प्रश्नका उत्तरको खोजी गर्नु पूर्व हामी आफ्नै यथार्थ धरातलमा आई यसैमा नवीन प्रविधिको प्रयोगलाई अगाडि बढाऔँ । अन्यथा आगामी दिनका दैनिकीको पक्षमा निकै अप्ठ्यारो पर्ने देखिन्छ । यस विषयमा गम्भीर भएर लागौँ ।