महाशिलामा नेपालकै ठूलो अर्धनारीश्वरको मूर्ति निर्माण शुरु

महाशिलामा नेपालकै ठूलो अर्धनारीश्वरको मूर्ति निर्माण शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ९, २०७७

पर्वत । प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पर्वतको महाशिला गाउँपालिका–५ स्थित एशियाकै ठूलो महाशिलामा नेपालकै ठूलो अर्धनारीश्वरको मूर्ति निर्माण गर्न थालिएको छ । 

महाशिलाको पूर्वपट्टिको भागमा कलात्मकरूपमा १०८ फिट अग्लो ‘अर्धनारीश्वर’को मूर्ति स्थापना गर्न थालिएको हो । महाशिला गाउँपालिकाले एउटै ढुङ्गामा शिव र पार्वतीको आधाआधा शरीर जोडिएर बनेको नेपालकै सबैभन्दा ठूलो मूर्ति पहिलोपटक स्थापना गर्न लागेको हो । महाशिलाको विकासका लागि गाउँपालिकाले यसअघि नै रु ७० करोडको विस्तृत परियोजना बनाइसकेको छ । सोहीअनुसार सङ्घ, प्रदेश र गाउँपालिकाको सहयोगमा अर्धनारीश्वरको मूर्ति स्थापना गर्न थालिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । 

विशेषतः प्राकृतिक उपचार योग साधनसहित दुनियाँको शान्ति प्राप्तिको गन्तव्यस्थलको रूपमा विकास गर्न यो विशाल मूर्ति निर्माणका लागि विगत तीन महिनादेखि नै काम शुरु भए पनि कोरोना भाइरसका कारण कालीगढ घर गएकाले अहिलेलाई काम रोकिएको छ । करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको यो महाशिला पर्वत घुम्न आउने पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै जान थालेको छ । यो महाशिलालाई एक फन्को लगाइसक्दा एक माना चामलको भातसमेत पाकिसक्छ भन्ने किंवदन्ती पनि पाइन्छ ।
 
यो महाशिलाकै नामबाट गाउँपालिकाको नामकरण गरिएको छ । केही समययता यो ढुङ्गाको चर्चा फैलँदो छ । पर्वत सदरमुकाम कुश्माबाट झण्डै दुई घण्टाको सवारी यात्रामा पुग्न सकिने महाशिलाको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।
 
महाशिलामा अर्धनारीश्वरको मूर्तिसँगै शिला परिक्रमाका लागि सिसाको पुल बनाउने, संस्कृत विद्यालयको स्थापना गर्ने, २०० ज्येष्ठ नागरिक राख्न सकिने वृद्धाश्रम बनाउनेलगायत योजनासमेत समावेश गरिएको छ । त्यसैगरी शिला नजिकै १०८ धाराको निर्माण गर्नका लागि प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उच्चैले गाउँपालिकामा जनप्रतिनिधि चुनिएपछि यसको विकासका लागि निरन्तर सक्रिय रहँदै आएको बताउँदै अहिले गत वर्षदेखि नै काम शुरु भएको जानकारी दिनुभयो । गुरुयोजनाअनुरुप शिलाको भौतिक पूर्वाधारको विकास र प्रवद्र्धनका लागि अब निरन्तर काम हुने उहाँले बताउनुभयो । 

महाशिलामा गत वर्ष पहुँचमार्ग र शौचालयलगायत पूर्वाधारसमेत बनाइ सकिएको छ । महाशिलामा बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्ने गर्दछ । यसैबीच महाशिलालाई कुँदेर वा प्राकृतिक स्वरुप बिगारेर मूर्ति बिगार्न थालेको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न सङ्घसंस्थाले विरोध जनाएका छन् । उनीहरुले विज्ञप्ति नै जारी गरेर उक्त कार्य तत्काललाई रोकी फरक ढङ्गले विशेष छलफल गरेर मात्र काम शुरु गर्न आग्रह गरेका छन् । 

यता गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले महाशिलाको कुनै स्वरुप नबिग्रिने र धेरै कुँद्नसमेत नपर्ने, महाशिलाको एक भागमा मात्र बन्ने भएकाले प्राकृतिक स्वरुपमा कुनै परिवर्तन नहुने बताउनुभयो । उहाँले यो कोरोनाको सङ्क्रमणपछि निरन्तररूपमा काम अघि बढ्ने जानकारी दिनुभयो ।