कोरोना सङ्क्रमित वृद्ध दम्पत्तीको भरतपुरमा उपचार हुँदै

कोरोना सङ्क्रमित वृद्ध दम्पत्तीको भरतपुरमा उपचार हुँदै

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ९, २०७७

भरतपुर । भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पताल ल्याइएको छ ।

सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एकजनामा पिसिआर परीक्षण पोजेटिभ देखिएको थियो । 

भरतपुर महानगरपालिका वडा नं ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यायले दिएको जानकारीअनुसार ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धामा पोजेटिभ देखिएको हो । 

उनीहरु दुवै जेठ ३ गते भारतबाट  उपचार गरी फर्किएका हुन् । उनीहरुसँगै फर्किएका छोराको भने परीक्षण नेगेटिभ देखिएको छ । वृद्ध वृद्धा र सँगै फर्किएका छोरालाई आज बिहानै कोरोना अस्पताल ल्याइएको छ । 

यस्तै नवलपरासीका सङ्क्रमितलाई  बिहानै सो अस्पताल ल्याइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका  प्रमुख केशव चापागाईंका अनुसार ४५ वर्षीय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नं ६ का हुन् । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन् । उहाँका अनुसार आएलगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टिनमा राखिएको थियो । उनलाई जेठ ६ गतेदेखि आफ्नै वडाको क्वारेन्टिनमा बसेका थिए । 

यही जेठ ७ गते बेलुका ज्वरो आएपछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिएलगत्तै उहाँलाई भरतपुर कोरोना अस्पताल पठाइएको हो । 

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सङ्क्रमण देखिएका तीन र यसअघिका एक गरी चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।