केही प्रहरीमा काेराेना सङ्क्रमण देखिएपछि जिल्लामा सतर्कता

केही प्रहरीमा काेराेना सङ्क्रमण देखिएपछि जिल्लामा सतर्कता

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ ९, २०७७

भरतपुर । काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो । 

उहाँले जिल्लामा रहेका १५ जना प्रहरीको पिसिआर परीक्षण र १०० जनाको ¥यापिट डाइग्नोष्टिक टेष्ट गरेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय मातहतमा रही लोथर, नारायणगढको पुलचोक, मुग्लिन, कार्यालयकै मुद्दा फाँट, अस्पताल, विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा कार्यरत प्रहरीको परीक्षण गरिएको उहाँले बताउनुभयो ।  

सो कार्यालयले प्रहरी अधिकृतदेखि जवानसम्मलाई साबुन पानीले हात धुन, कार्यक्षेत्रबाट फर्किएपछि आफ्नो पोशाकलाई धोएर निर्मलीकरण गर्न, कार्य क्षेत्रमा रहेको समयमा सामाजिक दूरी कायम गरी आफ्नो काम सम्पन्न गर्न लगाइएको उहाँले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणको समय भएकाले अहिले नियमित गरिने कवाजसमेत बन्द गरिएको उहाँले बताउनुभयो । यस्तै कार्यक्षेत्रमा जाँदा नियमित मास्कको प्रयोग गर्ने, ह्याण्ड सेनिटाइजर, पञ्जाको प्रयोग अनिवार्य गर्न लगाउने गरिएको छ ।

प्रहरीको मोबाइल सवारीमा दुईजनालाई पिपिइसहित सुरक्षा सामग्री लगाएर राख्ने गरिएको छ । कसैलाई समात्नुपरे वा तुरुन्तै एक्सनमा जानुपरे उनीहरुलाई पनि पठाउने र थप मद्धत पनि सँगै राख्ने गरिएको उहाँले बताउनुभयो । 

कोरोनको सङ्क्रमण बढ्दै गएको समयमा प्रहरीले व्यक्तिगत सुरक्षाका साधन पिपिइ ५० थानको व्यवस्था गरेको छ । जिल्लामा रहेका प्रहरीलाई पिपिइ अपुग भएको भए पनि थप व्यवस्था गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । मास्क, सेनिटाइजर विभिन्न सङ्घसंस्थाले सहयोग गरेको उहाँले बताउनुभयो । 

प्रहरी स्वास्थ्यकर्मीभन्दा पनि अग्रपङ्तिमा रहेर काम गरिरहेको उहाँको भनाइ छ । अहिले जिल्ला प्रहरी कार्यालयमा करिब २५० को हाराहारीमा प्रहरी छन् । जिल्लाभर प्रहरीका ६६ इकाइमा गरेर ८०० जना प्रहरी कार्यरत रहेका छन् ।