थुनुवाको डायरी: मेरी प्यारी कृष्ण ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ !!
नखाएको विष

२२औँ दिन (२०६७/०७/११ बिहिवार २८ अक्टोवर २०१०) 

आज रातभरमा तीनचोटि पिशाव गर्नु पर्‍यो । अस्ति डाक्टर देखाउँदा ब्लड प्रेशर लो छ पानी बेस्सरी पिउनु, झोल पदार्थ खानु भनेकोले झोल पदार्थ र पानी अलि बढी पिएको थिएँ । त्यसैले पिशाव बढी गर्नु परेको होला । डायबिटिज रोगीको किड्नी खराब हुनसक्छ भन्ने सुनेदेखि अलि बढी पिशाव लाग्यो कि किड्नी बिग्य्रो कि भन्ने चिन्ता हुन्छ ।

मेरो वकिल मदन रेग्मी, भान्जा नरेन्द्र र छोरा निरज पुनरावेदन अदालत १७ नं मा जान निवेदनमा मलाई सही गराउन आएका रहेछन् ।

'म बाहिर आउन पाउने हो कि होइन ?' मैले वकिलसँग सोधेँ ।

'तपाईं छुट्ने धेरै आधारहरू छन् । धन्दा नमान्नुहोस् । तपाईंलाई पुर्पक्षमै पठाउनु नपर्ने हो । १७ नं.बाट साधारण तारिखमा छुटाएर लैजान्छु ।' वकिल मदन रेग्मीले विश्वासका साथ भन्नुभयो ।

'बच्चाहरूलाई स्कूल पठाएको छ कि छैन ? के छ खबर ?'मैले छोरासँग सोधेँ ।

'कहाँ स्कूल पठाउने † उनीहरूले त तपाईंले भन्दा बढी सास्ती भोगिरहेका छन् । उनीहरूलाई त एउटा कोठामा थुनिराखेका छन् । कसैसँग भेट्न दिएको छैन । कहीँ जान पनि दिएको छैन ।' निरजले भन्यो ।

'मामालाई ती बच्चाहरूको त्यत्रो पीर किन ?' भान्जा नरेन्द्रले भन्यो, 'मामाले जिन्दगीभर खाली अर्काको भलाइको लागि मात्र काम गर्नु भयो । अर्काको भलाइ हेर्दाहेर्दा आज आफै यस्तो ठाउँमा आएर बस्नु परिरहेको छ । अब त्यो समाजसेवा छोड्नुहोस् ।'

मैले वकिलले ल्याएको कागजमा सहीछाप गरी दिएँ । उनीहरू मसँग विदा भएर गए । कोठामा आएको एकछिन पछि ज्वाइँ जनक एक्लै आयो । शोभा, बाबुलाई कस्तो छ भनेर सोधेँ ।

'बाबु विरामी छ । घरमा एक्लै छोड्नु भएन । त्यसैले म एक्लै आएको हूँ । काकालाई कस्तो छ ?' जनकले सोध्यो ।

'अब १७ नं पुनरावेदनमा जान आज निरज, नरेन्द्र र वकिल आएर मलाई सही गराएर लगेका छन् । अनि गाउँघरमा मेरो बारे के चर्चा छ ?'

'तपाईं निर्दोष हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । यस्तो समाज सेवक मान्छेले त्यस्तो काम गर्दैन । धर्म गर्न खोज्दा पाप लाग्यो भन्नेहरू पनि छन् । फेरि जवरजस्ती नगरेको भए केटीहरूले गर्‍यो भन्ला र ? भन्नेहरू पनि छन् ।'

'होइन जनक ! हाम्रो गाउँका मान्छेहरूले मेरो मुद्दाको बारेमा राम्ररी थाहा पाएको छैन जस्तो लाग्छ । मैले बच्चाहरूलाई करणी गर्‍यो भनेको छैन । मलाई फसाउन करणी उद्योग भन्ने झुटो आरोपमात्र लगाएका हुन् ।”

'त्यो त हो । अहिले धेरै जनाले कुरा बुझिसकेका छन् । सबैले भन्छन् त्यस्ता खाते केटीहरूलाई मान्छे बनाउन खोज्दा आफू बदनाम हुनुपर्‍यो ।'

यस्तै गफ गर्दै हामी छुट्टियौँ । एकछिन पछि भान्जी रचना र उनको छोरी रेश्मा आए । सञ्चो विसञ्चोको कुराकानी भयो । बाहिरभन्दा भित्र नै म हृष्टपुष्ट भएको देखेर उनले सन्तोषको सास फेरिन् । मलाई अपराधी मान्न उनी पनि तयार थिइनन् । मलाई फसाइएको हो भन्नेमा उनी पनि विश्वस्त रहिछिन् । उनले पनि आइन्दा त्यस्तो दुःख पाएको, अनाथ भनेर कसैलाई माया नगर्न अनुरोध गरिन् । डलरधारी संस्थाहरूले मानिसहरूलाई फसाएर मुद्दा लड्ने नाममा डलर कमाउने मेसो हो भनिन् । हेर्दाखेरि साह्रै सोझीजस्ती भए पनि कुरा त निकै गहकिला गर्दा रहेछन् । आखिर पत्रकारिता क्षेत्रमा काम गरिरहेकी न हुन् ।

उनीसित छुटेर आएको एकछिन पछि फेरि माइकबाट मेरो नाम बोलायो । म गेटतिर गएँ । मन्दिरको प्राङ्गणमा बसिरहेका साथीहरूले भने, 'ओहो ! आज त तपाईंलाई भेट्न कति आएको ! माईकले बोलाएको बोलाएकै छ ।'

अति भएपछि खति हुन्छ भनेझै मलाई चिकेन खानै मन लागेन । त्यसैले छ्वय्ला ल्याइदेउ भनेको थिएँ । बारा, छ्वय्ला र चिउरा खाजा खाने बेलामा खाएँ । मिठो लाग्यो । मिठो पनि किन नलाग्ने ? यस खानामा घरको स्वाद छ, स्वास्नीको माया थियो । घरका मान्छेहरूको मायाले त म यहाँ आनन्दले बसिरहेको थिएँ । बस्न सकेको थिएँ । मेरो मुहार सँधै हँसिलो देखेर अरूहरू छक्क पर्थे ।

'अँ ! भनेर गेटमा गएँ । बाहिर हेरेको त ज्वजलपा पत्रिका लिएर जितेन्द्र आएको रहेछ । ऊसँग कुराकानी भयो ।

'ज्वजलपाको प्रकाशक तपाईं थुनुवामा पर्नुभयो त्यसैले पत्रिका बन्द गर भनेर धेरैजनाले सल्लाह दिइरहेका छन् के गर्ने ?' जितेन्द्रले गुनासो राख्यो ।

'म थुनामा परेर के भयो त ? प्रकाशकले त पत्रिका निकाल्ने व्यवस्थामात्र गर्ने त हो नि ? पैसाको व्यवस्था म गरिदिन्छु । अरू सबै गर्न तपाईंहरू हुनुहुन्छ ।' मैले भनेँ ।

'भोलि कानूनी अड्चन आयो भने के गर्ने ? भनेर लेख दिनेले लेख पनि दिएन । विज्ञापन पनि कसैले दिएन ।' जितेन्द्रले मन खिन्न गरेर भन्यो ।

जितेन्द्रले मलाई ज्वजलपा पत्रिका देखायो । मैले पत्रिका हेरेँ त्यसमा एउटा पनि विज्ञापन थिएन । विज्ञापन नभइकन पत्रिका कसरी चल्छ ? अनि मैले भनेँ, 'म कैदी होइन । थुनुवा मात्र हुँ । तैपनि ज्वजलपाको नामबाट प्रकाशित गर्न अप्ठ्यारो लाग्छ भने ज्वजलपा बन्द गरिदेऊ । तिमीहरू नै प्रकाशक, सम्पादक भएर ‘न्हूगु ज्वजलपा’को नामबाट प्रकाशित गर ।'

अनि अरूअरू विषयमा कुराकानी भयो । अन्तमा मैले भनेँ, 'कीर्तिपुरजस्तो नेवारहरूको बाहुल्यता भएको पुरानो शहरमा एउटा पनि नेपालभाषाको पत्रिका भएन भने हामी कीर्तिपुरेहरूको इज्जत जान्छ ।'

'नेवारहरूले नै नेपालभाषा पत्रिकाको विरोध गर्छन् ।'जितेन्द्रले निराश भावमा भन्यो ।

'हामी नेवारहरूमा राजनैतिक चेतना छैन । त्यसैले हामीमा आफ्नो जातिी, भाषा र संस्कृतिप्रति त्यति सचेत छैनौँ । हामी स्वाभीमानी छैनौँ । त्यसैले त हामी नेवारहरू सबै क्षेत्रमा सम्पन्न भइकन पनि झनझन कमजोर हुँदै गइरहेका छौँ ।' मैले भनें, 'ठिकै छ । म भित्र छु । साथीहरूसँग सल्लाह गरेर जे गर्नु पर्छ गर ।'

'न्हूगु ज्वजलपा निकालेँ भने आइतवार निकालूँला ।' भनेर जितेन्द्र गयो ।

भित्र आएँ । उसको कुरा सुनेर मेरो मन खिन्न भयो । देशमा भएका ठूला ठूला जन आन्दोलनमा कीर्तिपुरेहरूको ठूलो योगदान छ । तर आफ्नै जाति भाषा साहित्य उत्थानको लागि अलिकति पनि योगदान छैन । नेतृत्व लिन कोही तयार छैन । कतिञ्जेल अर्काको लागि काँध थापेर भर्‍याङ्गमात्र बनिरहने ? कीर्तिपुरे जनतालाई राजनैतिक चेतना दिउँ भनेर मैले आफ्नै पहलमा ज्वजलपा पत्रिका निकालेँ । आज म थुनामा पर्ने बित्तिक्कै बन्द हुने स्थिति आयो ।

 २३औँ दिन

म भद्रवन्दी गृहको ३ नं.को चामल कोठामा छु । जहाँ १९ जना बन्दीहरू एक लाइनले सुतिरहेका छौँ । त्यो १९ जनामा मेरो बेड ११ नम्बरमा छ । सुरुमा यहाँ आउँदा टी.भी. हलमा सुतेको थिएँ । त्यतिबेला कहिले कोठाभित्र सुत्न पाउँला जस्तो लागेको थियो । अहिले कोठाभित्र सुत्न पाउँदा पनि मेरो मन सन्तोष भएको छैन । पुरा खुट्टा पसारेर सुत्न पाएको छैन । खुट्टा तन्काएर सुत्दा बाटो बन्द हुन्छ । अहिले मेरो कोठाका सहयात्रीहरू कोही घुरिरहेका छन् । कोही अंगडाइ लिइरहेका छन् । कोही ग्यास छाडिरहेका छन् । म केही लेख्न व्यस्त छु । वातावरण शान्त छ ।

आज मेरो रगत परीक्षण गराउनु पर्छ । त्यो पनि फास्टिंगको । त्यसैले मैले पानी पनि पिउनु हुन्नथ्यो । ७ बज्यो अस्पतालमा जान मलाई माइकबाट अनुरोध गरे । अस्पताल कोठामा गएँ । फास्टिंगको लागि रगत दिएँ । पी.पी.को लागि अहिले नै केही खाएर दुई घण्टा पछि रगत दिनु पर्छ भन्यो । खाना खाने बेला भएको छैन । दूध, पाउरोटी र विस्कुट खाएँ । घडी हेरेँ । बल्ल ८:३० भएछ । १०;३० बजे पीपीको लागि रगत दिएँ । पिशाव जँचाउन एउटा प्लास्टिकको भाँडामा राखेर दिएँ । यी सबैको लागि जम्मा रु.६५/– मात्र लाग्यो । कति सस्तो ?

पत्रिका पढिरहेको बेला माइकबाट मेरो नाम बोलायो । ढोकामा गएको त नीम्ता आएकी रहिछिन् ।
'सरिताको भोलि परीक्षा छ । त्यसैले उनी तपाईंलाई भेट्न पर्सि आउने छिन् ।'नीम्ताले भनिन्, “पीर नलिनुहोस् नजराम बा, हामीले सकेको मद्दत गर्ने छौं ।”

हामी छुट्टियौँ । एकछिन पछि भतिजा केशमान र धन आए । सञ्चो विसञ्चोको कुराकानी भयो ।
'नजरराम सर !  जसले जे भने पनि तपाईं निर्दोष हुनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौं ।' धनले भन्यो ।

'कसले फसाएको हो, केही थाहा पाउनु भयो ?'केशमानले सोध्यो ।

'खोइ प्रमाण छैन, शङ्काको भरमा कसलाई दोष दिउँ ?' मैले भनेँ  'यो बाहिरबाट आएर बसेकाहरूको संगत गर्नै हुँदैन । उनीहरूलाई जतिसुकै सहयोग गरे पनि हाम्रो गुण सम्झँदैन । अहिले भित्र कस्तो छ ?' धनले सोध्यो ।

'राम्रो छ । मलाई त वृद्धाश्रममा बसिरहेको जस्तो लाग्छ ।' मैले भनेँ ।

'त्यो त अहिलेको यहाँको वातावरणले थाहा पाइसकेँ । २०३७ सालमा म पनि यहाँ बसेर गएको थिएँ । यहाँबाट कीर्तिपुर देखिन्छ है ? भित्र एउटा ढुङ्गे धारा थियो । अहिलेसम्म पनि छ कि ? खाना कसरी खानुहुन्छ ?' धनले जिज्ञासा राख्यो ।

'अहिले पनि ढुङ्गेधारा त तर पानी आउँदैन । खाना खानको लागि यहाँ चारवटा भान्साघर छन् । अहिले त आफूले खाएको थाल पनि माझ्नु पर्दैन । दिनको ७०० ग्राम चामल र ४५ रुपैयाँ पाइन्छ । यहाँबाट कीर्तिपुर राम्ररी देखिन्छ । त्यही त दुःखको कुरा हो, आँखाले भ्याउने घरमा पनि जान पाइएन ।' मैले भनेँ ।

उनीहरूसँग निकैबेर कुराकानी गरेर विदा भएँ ।

त्यसको केही बेरमै फेरि मलाई माइकबाट बोलायो । ढोकामा जान लागेँ ।
'तपाईं दिनभरि यतैतिर बसिरहनु भएको भए हुन्थ्यो । किन तलमाथि गरिरहनु हुन्छ ? माइकबाट बोलाएको बोलाएकै छ ।' एकजना साथीले भन्यो ।

म केही नबोलिकन ढोकामा गएको त बाहिर छोरा मलाई पर्खिरहेको रहेछ ।

'आज पुनरावेदनमा मुद्दा दर्ता भएन । आइतवार मात्र दर्ता हुन्छ । तिहारपछि मात्र पेशी हुन्छ ।' छोराले मलिन अनुहार बनाएर भन्यो ।

“ममीको के हालखवर छ ?” मैले चिन्तित भएर सोधेँ ।
'ममीको हाल बेहाल छ ड्याडी । तपाई घरबाट निस्कनु भएदेखि न राम्ररी सुत्नु हुन्छ, न त खाना नै खानु हुन्छ । ममी तपाईंहरूको कोठामा सुत्नु हुन्न । भान्सामा डाइनिंग टेबुलमा बसेर खाना पनि खानुहुन्न । साह्रै पीर लिइरहनु भएको छ ।'

'मलाई केही हुँदैन । मैले सफाइ पाइहाल्छु । परिवन्दले मात्र मलाई भित्र पठाएको हो ममीलाई सम्झाउ न ।'
'मैले सम्झाएको त हो नि ? ममी मान्नुहुन्न । बाहिरका मानिसहरूले थरि थरिका कुरा गर्छन् । कसैले तपाईंलाई ५ वर्ष जेल सजाय हुन्छ भन्छन् । कसैले १५ वर्ष भन्छन् भनेर घरमा आएर रुनु हुन्छ ।'

समय सकियो भनेपछि उठेर आएँ । अरूबेला छोरा भेटेपछि मन हलुका हुन्थ्यो । अहिले भारी महसुस भयो ।

२४औँ दिन

हिजो छोरा निरजले ममी सुत्नु पनि हुन्न, खाना पनि खानुहुन्न भनेको सुनेर मेरो मन साह्रै रोयो । उनको यादले छिनछिनमा मलाई रोऊँ रोऊँ जस्तो लागेर आयो । तर म रोएर कसले के गर्न सक्छ र ! म रुनु भनेको आफूले आफैलाई सास्ती दिनु हो । अहिले मलाई केही नहुँदा त कृष्णाको यो हालत छ भने मलाई केही भयो भने झन उनको के हालत हुने होला ! यो जेलमा सबभन्दा नराम्रो रोग टेन्सनमा बस्नु हो । टेन्सनको कुनै औषधी हुँदैन ।

श्रीमतीलाई पत्र मार्फत सम्झाउनु पर्‍यो भनेर ओम शान्तिमा नगइकन श्रीमतीको नाममा पत्र लेख्न थालेँ ।

प्रिय जीवन संगीनी कृष्णदेवी,
अशेष अनुराग, आँखाभरिको सम्झना, मुटुभरिको माया ।

हिजो छोरा मलाई भेट्न आउँदा ममीको के हालखवर छ भनेर सोधेको थिएँ । के भनूँ ड्याडी, ममीको हाल बेहाल छ, ममी रातभरि सुत्नुहुन्न, खाना पनि राम्ररी खानुहुन्न, हरेक पल तपाईंको पीर लिइरहनु हुन्छ भन्यो । यो सुनेर मेरो मन खिन्न भयो । मलाई पनि रुन मन लाग्यो । बिछ्यौनामा बसेर धेरैबेर रोएँ । रुँदारुँदै मेरो मुखबाट सुँक्कसुँक्क आवाज पनि आयो । सँगै सुतिरहेका साथीहरूले किन रोएको बा, नरुनु भनेर सम्झाए । हाम्रो कोठाका २५ जना वन्दीमध्ये सबैभन्दा जेठो र बूढो मै हूँ । सबैजनाले मलाई बा भनेर सम्मान गर्छन् । हो, रोएर के गर्ने ? तिम्रो हाम्रो हातमा केही पनि छैन । यो विधिको विधान हो । हाम्रो कर्मको फल हो । हाम्रो जीवन एउटा नाटक हो । हामी नाटकका पात्र हौं । त्यसैले रोएर अपशोच मानेर केही हुनेवाला छैन । त्यसैले मन दह्रो बनाएर यो परिस्थितिको सामना गर्नु नै हाम्रो बहादुरीपन हो ।

कृष्णा ! हामी जीवनको गोरेटोमा एउटा रथको दुई पाङ्ग्रा भएर गुडेको ३७ वर्ष भएछ । चखेवाचखेवीजस्तै हामी सँधै सँगै हुन्थ्यौँ । एकले अर्कोको मनको भावना बुझेर दुःख सुख बाँड्थ्यौँ । हाम्रो जीवनमा अनेकौँ उतार–चढाव आए । कति दुःख कष्ट आयो । हामीले मिलेर सामना गर्‍यौँ । तिम्रो साथ पाएर मैले सफलता हासिल गरेँ । तिम्रै सम्झनामा, तिम्रै मायाको बलले आज म भद्रवन्दी गृहमा जिउँदो छु । म छिट्टै तिमी कहाँ आउने छु । निराश नहुनु ।

हाम्रा ति विगतका दिनहरू सम्झ । हामीले समस्याहरूसँग कसरी जुध्यौँ । अरूहरूले विवाहपछि पढाइ छाड्छन् । तिम्रो प्रेरणाले मैले पढाइ सुरु गरेँ । काठमाडौंको थानाबहालमा हाम्रो डेरा थियो । म दिनभरि जनसेवा माध्यमिक विद्यालयमा पढाएर आउँथें । डेरामा पुग्ने बित्तिक्कै तिमीले मलाई खाजा ख्वाउँथ्यौँ । खाजा खाएर त्रिचन्द्र कलेजमा बि.ए.पढ्न जान्थें । कहिलेकहीँ आज कलेज जान्न भन्दा तिमीले मलाई रत्नपार्कसम्म पुर्‍याउन आउँथ्यौँ । क्याम्पसबाट फर्कंदा रातको १० बजी सकेको हुन्थ्यो । खाना खाएर म पढिरहन्थेँ । तिमीले मेरो पढाइमा कहिल्यै बाधा पुर्‍याइनौँ । स्वास्नीसँग डेरामा बसेर के पढ्छ ? भनेर गिल्ला गर्नेहरूलाई मैले बिएपास गरेर देखाइ दिएँ । तिमी निरक्षर केटीले डेरामै बसेर नेपाली लेख्न पढ्न सिक्यौँ । तिमी कति मेहनती, परिश्रमी छौँ ।

कृष्णा ! मैले तिम्रो एउटा इच्छा पूरा गर्न सकिनँ । तिमीले म शाखा अधिकृत भएको हेर्न चाहन्थ्यौं । त्यसैले मैले थुप्रै ठाउँमा थुप्रै पटक शाखा अधिकृतको परीक्षा दिएँ । कहिल्यै कहीँ पास गर्न सकिनँ । म अयोग्य भएर होइन । म कलेज पढ्दादेखि नै व्यवस्था विरोधी राजनीतिमा लागेका कारण ‘व्यवस्थाप्रति आस्था नभएको’ भन्ने आरोप लागेको रहेछ । म अन्याय, अत्याचार र शोषणको घोर विरोधी त्यसैले जनसेवामा खाइरहेको मास्टर जागिर पनि राजीनामा दिन बाध्य पारे । अनि सानो छोरा लिएर हामी वीरगञ्ज गएको होइन ? त्यहाँ पनि हामीलाई कबुल गरे बमोजिम साहुले तलब दिएन । छोरालाई खाना खुवाउन नसक्ला भनेर कति दिन आधा पेटमा गुजार्नु परेको थियो । वीरगञ्ज गएर पनि हामीले कति दुःख झेल्यौँ । तिमीले रातदिन स्वीटर बुनेर खर्च जुटायौँ । मैले बच्चाहरूलाई ट्यूसन पढाएँ । वीरगञ्जको रेशमकोठीमा दाउरा डिपो राखेँ । वीरगंज–जनकपुर चल्ने बसमा पार्टनरशीप गरेँ । मैले केही दिन कन्डक्टरी काम पनि गरेँ । त्यतिबेला मानिसहरूले हामीलाई कति हेला गर्थे । तैपनि हामी अलिकति पनि विचलित भएनौँ । तिम्रो गहना बेचेर हामीले कोइलाको व्यापार गर्‍यौँ । तिम्रो माया र सल्लाहले ममा हिम्मत बढ्यो । काम गर्ने जाँगर बढ्यो । त्यसैले व्यापारमा हामी सफल भयौँ । वीरगंञ्जमा घर बनाएँ । जग्गा किनेँ । कीर्तिपुरमा जग्गा किनेर घर बनाएँ । हाम्रो व्यापारको सफलताले हाम्रा साथीभाइहरू, नातेदार र आफन्तले पनि हामीबाट फाइदा लिए ।

कृष्णा ! त्यतिबेला तिम्रा आफन्तहरूले तिमीलाई भाग्यमानी मान्दथे । मेरो परिवार र आफन्तहरूले तिमीलाई ‘साक्षात लक्ष्मी’ ठान्थे । त्यस्तो गरीव परिवारमा तिम्रो आगमनले यति सम्पन्न बनायो भन्थे । मलाई पनि हिम्मतदार र मेहेनती भनेर प्रशंसा गर्थे । तिमीजस्तो जीवन साथी पाएर म खुशी थिएँ । तिमी सुन्दरी, चिटिक्क परेकी, तिम्रा ती ठूलाठूला गाजलु आँखाहरू, पिडौलासम्म पुग्ने तिम्रा ती निख्खर कालो बाक्लो कपाल र बान्की परेको जिउडाल हेरेर मेरा साथीहरूले ईष्र्या गर्थे ।

कृष्णा !  तिमी कति हिम्मतदार महिला हौ । आज म आफूले नगरेको अपराधमा आरोपित भएर जेल पर्ने बित्तिक्कै तिमी किन निराश भयौँ ? किन हतोत्साही भयौँ ? म मरेको छैन । अहिलेसम्म बाँचेकै छु । जीवितै म जेलबाट फर्किन्छु । म अपराधी होइन । मलाई आरोपमात्र लगाइएको हो । मेरो मुद्दाको फैसला भएको छैन । त्यसैले म कैदी होइन । थुनुवा मात्र हुँ । तिमीले ठानेकी हौली जेलमा मैले कति दुःख पाइरहेको होला भनेर । हामीले बाहिर बसेर सोचे जस्तो यहाँ केही तकलिफ छैन । मलाई त लाग्छ म वृद्धाश्रममा बसिरहेको छु । यहाँ समयमा खाना खान पाइरहेको छु । मन्सुली चामलको भात, दुई थरी तरकारी र गोलभेडाको अचार खान पाइरहेको छु । मैले एक पैसा तिर्नु पर्दैन । आफूले खाना खाएको थालसम्म पनि पखाल्नु पर्दैन । विहान छ बजेदेखि साँझ पाँच बजेसम्म पैसा तिरेर चिया, कफी खान पाइन्छ । विहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म भात खाइसक्नुपर्छ । बेलुका ९.३० बजेसम्म बिछ्यौनामा जानुपर्छ । हल्ला गर्न पाईंदैन ।

म विहान सबेरै उठेर नित्यकर्म गर्छु । यहिँ खेलकुद ग्राउण्डमा मर्निंग वाक गर्छु । ६:३० बजे होटलमा गएर बिना चीनिको दूधवाला चिया, अण्डा वा विस्कुट खान्छु । त्यसपछि ओम शान्ति हलमा गएर ध्यान बस्छु । प्रवचन सुन्छु । ८ बजे फिल्टरको खाने पानी थाप्छु । त्यसपछि एकछिन घाम ताप्छु । फेरि एक कप चिया खाएर आफ्नो बेडमा आउँछु । अनि चिठ्ठि लेख्नु परे लेख्छु नभए डायरी लेख्ने गर्छु । डायरी लेख्न सिध्याएर कहानी लेख्छु । १० बजे डायविटिजको औषधी खान्छु । आधा घण्टा बाहिर घुम्छु । १०:३० बजे खाना खान्छु । एकछिन घाम ताप्छु । अनि पुस्तकालयमा गएर पत्रिका पढ्छु । त्यसपछि मलाई भेटघाट गर्न आउनेहरूसँग भेट्दा भेट्दै दुई तीन बज्छ । मलाई भेट्न आउनेहरू मध्ये कसैले मासु, चिउरा, कसैले फलफूल, कसैले सुगर फ्री विस्कुट ल्याएको हुन्छ । त्यही खाजाको रूपमा खान्छु । यहाँ भित्र होटलमा पनि कहिले छ्वय्ला, कहिले बफ चिल्ली, कहिले तास, कहिले ममः बनाएको हुन्छ । चार बजेदेखि ६ बजेसम्म साथीहरूसँग गफ गर्दै बित्छ । ६ बजे औषधी खाएर ६ः३० बजे खाना खान्छु । एकछिन यताउता घुमेर ७ बजे ओम शान्ति हलमा गएर ध्यान बस्छु । टीभीमा शिवानीको प्रवचन सुन्छु । त्यसपछि बेडमा आएर सुत्छु ।

कृष्ण ! यसरी मेरो दिन आरामले बितिरहेको छ । यहाँ मेरो कोठाको नाईके, सहनाईके, भाइनाईकेहरू हाम्रा छोरा भन्दा कम उमेरका छन् । साहै्र राम्रा मान्छेहरू छन् । उनीहरूमध्ये कसैले मलाई बा भन्छन्, कसैले अंकल भन्छन् । उनीहरूको व्यवहार हेर्दा साहै्र माया लाग्छ । त्यसैले कृष्णा, जेलमा परेकाहरू सबै खराव मान्छे होइनन् । बदमाश छैनन् । सबैको हृदयमा भगवान छन् । कोही मजस्तै फसाइएका छन् । कोही परिवन्दले जेल परेका छन् । अरूले भने वमोजिम नेपालको जेलहरूमा सबैभन्दा राम्रो र व्यवस्थित जेल यही नै हो ।

कृष्णा ! तिमी हरेश नखाउ । हिम्मत नहार । तिमी आफू जवान छँदाको विगत सम्झ त । छोरा ५ वर्षको थियो होला । तिमी जवान थियौँ । म जवान थिएँ । कामको सिलसिलामा त्यतिबेला महिनाको १५ दिन म वीरगंजबाट बाहिरै हुन्थेँ ।  तिमी र छोरामात्र वीरगञ्जमा हुन्थ्यौँ । त्यतिबेला तिमीलाई छाडेर जान म हिचकिचाउँथेँ । तिमी मलाई ढाडस दिएर भन्थ्यौँ, 'धन्दा मान्नु पर्दैन, जहाँ जानु पर्ने हो जानु मेरो चिन्ता नलिनु । मेरो सुरक्षा म आफै गर्न सक्छु । म कसैको कोठामा जान्न । मेरो कोठामा पसेर कसैले केही गर्न खोजे अगाडि जे हतियार छ त्यसैले हानिदिन्छु ।’

अनि तिम्रो हिम्मत देखेर म उत्साहित हुन्थेँ । निर्धक्क भएर आफ्नो काममा लाग्थेँ । हामीले सफलता पनि पायौँ । कृष्णा ! त्यतिबेला तिमीसँग सानो छोरा बाहेक वीरगञ्जमा आफ्नो भन्ने कोही पनि थिएन । आज हामी आफू जन्मेको ठाउँ, कीर्तिपुरमा बसिरहेका छौं । जहाँ हाम्रो आफन्त, नातेदार, साथीहरू सबैजना छन् । सबभन्दा ठूलो कुरा त आज तिमीसँग जवान छोरा–बुहारी र नाती छन् । हिजो मैले कमाउन नसक्दा हाम्रो घरको चुल्हो बल्दैनथ्यो । आज हाम्रो घरको स्थिति त्यो छैन । मैले कमाउन नसक्दैमा हाम्रो घरको चुल्हो नबल्ने होइन । विगत आठ वर्षदेखि कमाउन छाडेर समाजसेवामा लागिरहेको छु । तैपनि हामी भोकै छैनौँ । अहिले हाम्रो जीवनमा अभाव भनेको हामीसँगै बस्न नपाएको मात्र त हो नि !

मेरो जीवनरूपी रथको पाङ्ग्रा, मेरो जीवनको प्रकाश, मेरो हिम्मतको बलियो खम्बा कृष्णा ! तिमी नरुनु । तिमी रोएको भन्ने मात्र सुन्दा आज मलाई यत्रो पीडा भयो । साँच्चीकै तिमीलाई केही भयो भने म त जिउँदै मर्छु । शायद हृदयाघात भएर म जेलमै मर्छु होला । त्यतिबेला छोराको कत्रो विजोग हुन्छ ।

त्यसैले मेरी प्यारी कृष्ण ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ । यो एकहप्ता भित्रमा मलाई भेट्न आउनु । म तिम्रो प्रतीक्षामा छु ।

तिम्रो जीवन साथी

दिउँसो चिया खाएर डाँडामा बसी चुरोट तानिरहेको बेला माइकबाट मेरो नाम बोलायो । को आएको होला भनेर गएको त तुयू वहादुर र जितेन्द्र आएका रहेछन् । उनीहरूसँग भेट भयो । सञ्चो विसञ्चोको कुरा भयो । मेरो मुद्दाको बारेमा कुरा भयो । तुयू वहादुरले त मैले त्यो अपराध गरेकै हो भन्ने ठोकुवा गर्दै मसँग सोध्यो, 'साथीको नाताले वास्तविक के भएको हो मलाई नढाँतिकन भन त बच्चाहरूलाई खाटमा राखेर गरेको कि भुईंमा राखेर गरेको ?'

उसको कुरा सुनेर म छक्क भएँ । के सोधेको होला ? मलाई ऊदेखि रिस पनि उठ्यो । तैपनि मैले रिस थामेर भनें, 'तिमीले के भन्न खोजेको ? मेरो के मुद्दा हो थाहा छ ? मैले बलात्कार गर्‍यो भनेको छ र ? कहाँ राखेर गरेको भनेर सोध्नलाई ? मैले जवरजस्ती गर्न खोजेको मात्र भनेको छ । त्यो पनि गर्दै नगरेको झुटो आरोपमात्र लगाएका हुन् । बच्चाहरूको कुमारी जाली नच्यातेको भनेर मेडीकल रिपोर्ट आइसकेको छ ।’

हामी दुई जना वीच निकै चर्काचर्की भयो । जितेन्द्र मुख अँध्यारो पारेर बसिरह्यो । उसले एक शब्द बोलेन ।

'तिमी साथीको नाताले मलाई सान्त्वना दिन आएको कि पीडा दिन आएको ? तिमीले के भन्न खोजेको ?'मैले सोधेँ ।

'तिमी वाहिर ननिस्केसम्म अब ज्वजलपा पत्रिका निस्किँदैन ।' कति न उसको सहयोगले प्रकाशित भइरहेको जस्तो तुयू वहादुरले भन्यो ।

'किन त्यत्रो साथीहरू छन् । म कारागारमा परेर के भयो ?'

'किनभने पत्रिका वितरण गर्न जाने पनि कोही छैन । सन्ध्या टाइम्स पनि अब कीर्तिपुरमा ल्याउन छाड्यो ।' उसले वडो गर्वका साथ भन्यो ।

'ज्वजलपाको नामबाट पत्रिका निकाल्न असुविधा भए अरू कुनै नामले निकाले पनि त हुन्छ नि !'

'अर्को नामबाट पत्रिका निकाल्न पैसा छैन । पैसाको व्यवस्था गरी देउ ।' उसले भन्यो ।

'म कारागारभित्र परेको मानिसले कसरी पैसाको व्यवस्था गर्ने ? तिमी त नेपाल भाषाको नाममा पैसा कमाइरहेको मान्छे । तिमी नै लगानी गर ।' मैले भनेँ ।

उनीहरू फर्केर गए । मेरो मनमा कुरा खेल्न थाल्यो । नेपाल भाषाका कीर्तिपुरका चार खम्बा मध्ये आफूलाई एउटा खम्बा ठान्ने मान्छे । नेपाल भाषा पढाएरै तीन तीन ठाउँबाट तलब लिइरहेको मान्छेले आफूले पनि केही गर्छु भन्ने त कहाँ कहाँ मसँग पो पैसा माग्छ । उसले त नेपाल भाषालाई दुहुनो गाई पो बनाएका रहेछन् ।
सन्ध्या टाइम्स पत्रिका मैले नै कीर्तिपुरमा बाँड्न लगाएको थिएँ । अब बन्द भयो भनेर गर्व गर्‍यो । यस्ता नक्कली नेपाल भाषा प्रेमीहरूले गर्दा त आज नेपाल भाषाको यो हातल भएको । काम केही नगर्ने पद नभइ नहुने ।

 ३:३० बजेतिर माइकबाट फेरि मेरो नाम बोलायो । निरज आएको होला भनेर गएको त लक्ष्मी र नीलम आएका रहेछन् । पहिले पब्लिक भेटघाट गर्ने ठाउँमा पठायो पछि फेरि स्टाफ भेटघाट गर्ने ठाउँमा पठायो । एक छिन के कुरा गरेको थिएँ । भेटघाटको समय सकियो भनेर हामीलाई उठायो । अरू दिन अलि चाँडै आउँला भनेर उनीहरू गए ।

२५औँ दिन

विहानको खाना खाने बेला भयो । मेरो डायविटिजको औषधी सकिएको थियो । औषधी ल्याइदिनु भनेर छोरालाई हिजो भनेको थिएँ । हिजो छोरा नै आएन । अस्पताल गएँ । मैले खाने औषधी ल्याइसकेको जानकारी पाएँ । अबदेखि मैले घरबाट औषधी मगाउन नपर्ने भयो । मेरो मन हर्षित भयो ।

खाना खाँदै गर्दा माइकबाट मेरो नाम बोलायो । ढोकामा जाँदा निरज र भरतलाई देखेँ । भेटघाट गर्न गएँ ।

हिजो तुयू वहादुरसँग भएको कुरा बताउँदै भनेँ, 'अब ज्वजलपा पत्रिका बन्द गर ।'

'तपाईं भित्र परेर के भयो त ? हामी प्रकाशित गर्छौ । भरत र म मिलेर चलाउँछौँ ।' निरजले भन्यो ।

'ठीकै छ । भरत, राज्य, जितेन्द्र, श्रीकृष्ण सबैसँग सल्लाह गरेर अर्को नामबाट चलाउ । पत्रिका पछि दर्ता गरे पनि हुन्छ ।' मैले भनेँ, 'पत्रिका कसले बांँड्छ ?'
'म बांँड्छु । म खट्छु ।'भरतले भन्यो ।

'१७ नं.पुनरावेदनमा मुद्दा दर्ता गर्न लागेको छु । अहिले हतार गर्नु हुँदैन । १७ नं बाट धरौटी या सामान्य तारिखमा छुडाउने प्रयास गर्दैछु ।' निरजले भन्यो ।

निरजले मैले लेखेका नेपाल भाषाका ६ वटा उपन्यासहरू र एउटा कथा संग्रह दियो । एउटा टिफिन क्यारियर पनि दिएर गयो ।

कोठामा आएर टिफिन क्यारियर खोलेर हेरेँ । बारा (ओ) र छ्वयला पठाएको रहेछ । अस्ति कुखुरा मासु मात्र पठाउँथ्यो । अति भएपछि खति हुन्छ भनेझै मलाई चिकेन खानै मन लागेन । त्यसैले छ्वय्ला ल्याइदेउ भनेको थिएँ । बारा, छ्वय्ला र चिउरा खाजा खाने बेलामा खाएँ । मिठो लाग्यो । मिठो पनि किन नलाग्ने ? यस खानामा घरको स्वाद छ, स्वास्नीको माया थियो । घरका मान्छेहरूको मायाले त म यहाँ आनन्दले बसिरहेको थिएँ । बस्न सकेको थिएँ । मेरो मुहार सँधै हँसिलो देखेर अरूहरू छक्क पर्थे । अस्ति ब्लड दिएको ब्लड टेस्टको रिपोर्ट आयो कि भनेर सोध्दा आइसक्यो भनेर रिपोर्ट दियो । फास्टिंगमा ११६ र पीपीमा २०९ आएको रहेछ । मेरो सुगर त बढेको रहेछ ।

याे पनि

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

थुनुवाको डायरीः साहित्य सम्मेलनमा  दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !

थुनुवाको डायरीः कोही छोरीका बलिन्द्र धारा आँसु ! कोही छोरीद्वारा यौन दुराचारको आरोप !!