चन्द्रसमशेरकाे दास र करिया प्रथामा अमलेख : जहानसिंह भुजेल, पार्वती धाई आमा र विना सहमति बेचिनु पर्ने वाध्यता !

फर्केलान् र ती दिनहरू

चन्द्रसमशेरकाे दास र करिया प्रथामा अमलेख :  जहानसिंह भुजेल, पार्वती धाई आमा  र विना सहमति बेचिनु पर्ने वाध्यता !

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ १०, २०७७

हामीलाई धर्मका बारेमा कसैले केही पनि सिकाएको थिएन तर हाम्रा दैनिक व्यवहारले एउटा नियमित जीवन दिइरहेको थियो । हाम्रो परिवार संयुक्त थियो र बुढी फुपू, हजुरआमा, तीन ओटा बाहरू, तीन ओटा आमाहरू, अनि तीन ओटा बाहरूका सन्तान र अवशेषमा रहेको पुराना करियाका सन्तानहरूको एउटा संयुक्त परिवार थियो । भन्न त भन्ने चलन थियो । -हाम्रो भान्सामा प्रत्येक छाक करिब ३० जनाका लागि खाना बन्थ्यो । परम्परागत सहयोगी अर्थात् पुराना दासहरूबाहेक पनि अरू काम गर्नेहरू थिए । तिनीहरू कोही गाई मात्र हेर्थे, कोही घाँस मात्र काट्थे र कोही भाँडा मात्र माझ्ने, लिप्ने पोत्ने काममा आमाहरूलाई सहयोग गर्थे । 

पहिले दास प्रथा हुँदा दासहरूलाई करिया भनिन्थ्यो । धनीमानीहरुले आफ्ना घरमा दासहरू राख्थे । धनी मानिसहरूले आफ्नी छोरीको विवाहमा छोरीलाई घरमा बुहार्तन नहोस् भन्नका लागि पनि सँगै दासीहरू पठाउँथे रे । करियाप्रथाको मुख्य आशय भनेको बलका काममा सहयोग लिने हो । उनीहरूलाई विक्री गरिन्थ्यो र किनिन्थ्यो । मैले सुने अनुसार दासको वा मर्दको मूल्यभन्दा दासी या नारीको मूल्य दोब्बर हुन्थ्यो रे । विक्रम संवत् १९८३ सालमा तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र समसेर जबराले दास प्रथा नेपालबाट उन्मुलन गरे र जति पनि दासदासीहरु छन्, तिनको सम्भावित र मागेको मूल्य मालिकहरूलाई बुझाएर उनीहरूलाई अमलेख गरे । मलाई त सबैभन्दा अमानवीय चलनका रूपमा त्यो दास प्रथा लागेको थियो । जब कक्षा ९ र १० को अङ्ग्रेजीको गद्यांशमा (पाठ्यपुस्तक) बुकर टी वासिङ्टनको शिक्षाको लागि गरेको सङ्घर्षको कथा पढेँ, त्यसै बेलामा दासहरूप्रति अमेरिकामा गरिने व्यवहारको बारेमा थाहा पाएको थिएँ । त्यहाँको त्यो दमनको कथा आज पनि यथावत् छ र अहिलेको कोरोनाको महाव्याधिमा समेत पूर्व राष्ट्रपति बाराक ओबामाले कालाहरूप्रति स्वास्थ्य सुविधामा अहिले पनि विभेद गरिएको भनेर विरोध गरिरहनु भएको छ । कालाहरूलाई दास बनाएका थिए र आज पनि कालाहरूलाई गरिने व्यवहारमा समानताको व्यवहार नभएको भनेर विरोध यथावत् छ । 

बुकर टी वासिङ्टनको अनुभव पछि पनि धेरै दासका बारेमा लेखिएको साहित्य पढियो, इतिहास बुझियो तर आफ्ना घरमा रहेका पहिले जहानसिंह घर्ती दाइ, उनकी जहान ती बुढी दिदी, उनका छोरा माइल दाइ जसलाई हामी डल्लु दाइ पनि भन्थ्यौँ डम्बरबहादुर भुजेल, जेठी दिदी राम्री र कान्छी दिदी पुर्नी थिए । ती हाम्रा घरबाट अमलेख भएका जहानसिंह दाइका सन्तान थिए र पनि हाम्रै घरमा रहेका थिए । हाम्रा घरमा, बराल बाजेहरूका घरमा समेत ती करियाहरु थिए र अमलेख भएपछि आफ्ना आफ्ना घर बनाएर बेग्लै बसेका थिए । घर्ती भनेपछि नेपालको पश्चिमी भागमा क्षत्रीहरुलाई भनिन्छ तर हाम्रा तिर ती अमलेख भएका पुराना दासहरूलाई घर्ती या भुजेल भनिन्थ्यो । अहिले पनि भुजेल थरमा उनीहरू पुकारिन्छन् । वास्तवमा क्षतिपूर्तिको सिद्धान्तमा उनीहरूका ती सन्तानहरूलाई अहिले पनि सामाजिक न्यायको पक्षमा हिजोको अतीत बिर्सिने गरी सकारात्मक विभेदअनुसार व्यवहार आवश्यक छ । ती भुजेलहरू आज पनि मेरो गाउँमा छन् र अब ती आधुनिक तरिकाले बाँचेका छन् अनि उनीहरूमा त्यो दासको कुनै अवशेष त बाँकी छैन र पनि सामाजिक विकासको क्रम भने सहज अझै छैन भन्दा पनि हुन्छ कतिपयको । कतिपय त अहिलेको समाजको नयाँ परिवेश र समानुपातिक सुरक्षाको प्रबन्धमा आफूलाई समाहित गरेर प्रजातान्त्रिक प्रक्रियामा सहज जीवनका प्रवाहित हुन सकेका छन् । 

त्यसपछि धेरै पुस्तकहरू पढियो र दास प्रथा र त्यसपछि त्यसको अन्त अनि त्यसका लागि भएका सङ्घर्षका कथाहरूभन्दा हाम्रो देशमा भएको शान्तिपूर्ण करिया उन्मुलनको कथाले अहिले पनि मलाई सन्तोष लाग्छ । सँगै जहानसिंहकी बैनी पार्वती थिइन् जसलाई हामी धाइ आमा भन्थ्यौँ जसको कारण थियो पहिलो कान्छी आमाको सुत्केरी हुने बित्तिकै भएको निधनमा दाजु पीताम्बरलाई दूध ख्वाएकी थिइन् । ती पार्वती धाई आमाका पति कर्णबहादुर थिए रे जसलाई मैले देखिन । अनि धाई आमाका कति सन्तान थिए होलान् तर काहिँलो पहलमान र कान्छो चनखेलाई मात्र देखियो । अहिले डल्लु दाइ बितेको पनि दुई वर्ष भयो, पहलमान दाइ अहिले पनि  छँदै छन् । यी सबै जन्मेका अमलेख भएपछि हुन् । चनखे पनि धेरै पहिले नै मरेका थिए ।

बिहान उठेपछि दैनिक कार्यका जाँदा लोहोटामा पानी लिएर जाने, दीर्घ शङ्कापश्चात् माटोले वा खरानीले हात धुने, यदि ब्रतबन्ध भएको रहेछ भने जनै कानमा राखेर शौच नगरुन्जेल नबोलीकन बस्ने, दाँत नमाझी कन र मुख नधोईकन केही पनि खान नपाइने, ब्रतबन्ध नगरेकोले चुलामुनि बसेर खानुपर्ने, ब्रतबन्ध गरेकाले चुलामा बसेर औसनी हालेर र अग्निलाई होम गरेर मात्र खानुपर्ने विधि थियो । अझ घरमा कुनै पुरुष अभिभावकहरू हुनुहुन्न भने पाञ्चायन पूजा गरेर मात्र खान पाइने । पाञ्चायन पूजाका लागि आमाहरूले चन्दन घोट्नु हुन्थ्यो, बत्ती भिजाउनु हुन्थ्यो, तर पूजा भने गर्नु हुन्थ्यो । सायद शालिग्रामको पूजा गर्नका लागि उहाँहरूलाई अनुमति थिएन क्या रे !

जसरी दाइँमा माल दाम्लोमा बाँधेका गोरुहरू दाम्लो फुकाए पनि मियोको वरिपरि घुम्छन्, त्यसै गरी ती अमलेख भएका जहानसिंह र कर्णबहादुरका सन्तान हाम्रै घरमा रहेका रहेछन् । तिनले आफ्नो जीविका हाम्रै घरमा बसेर काम गर्दै खाने, बस्ने, लाउने कुराको प्रत्याभूति लिएका रहेछन् । अझै पनि माइला दाइकी श्रीमती र छोराहरू, बुहारीहरू र नातिहरू  ग्वाल्टारमा नै छन् र स्वतन्त्ररुपमा आफ्नो जीविका चलाएर बसेका छन् । तर हामीलाई उनीहरूलाई नोकरको रूपमा नभएर एउटै परिवारका सदस्यजस्तै मान्न घरमा कडा उर्दी थियो र हामी पनि दाजु, दिदी, आमै, भाउजू भनेर भन्यौँ र अहिले पनि ती सन्तानहरूलाई यथोचित नातामा पुर्काछौँ । उनीहरूको चाहना कति होलान् तर करिया अमलेख भइसकेर पनि चार पुस्ता यता आएका सन्तानहरूसँगको हाम्रो सम्बन्धचाहिँ एउटै परिवारका नातागोता जस्तै छ । 

इतिहासको त्यो कालो खण्डको सम्झना दिलाउने तर अहिले स्वतन्त्र नागरिकका रूपमा ती भुजेल जातिहरू अहिले पनि ग्वाल्टारमा छन् । ग्वाल्टारको च्याङ्लुङ्मा छन्, ओख्लेमा छन् र धेद्रे सुदामेमा छन् । सिन्धुली रामेछाप दोलखा काभ्रे, सिन्धुपाल्चोकमा पाइने यी समुदाय नेपालका अरू भागमा पनि होलान् । कतै तिनलाई शिवभक्ति पनि भनिएको होला, कतै भुजेल भनिएको होला त कतै घर्ती मात्रै भनिएको होला । वास्तवमा भुजेल कस्तो जाति हो भन्ने कतै पाइँदैन । उनीहरूलाई दासको रूपमा पहिले ल्याइयो, पालियो, दास बनाएर राखियो होला अनि अमलेख भएपछि कतिलाई अमलेख गन्जमा बास दिइयो होला र कति आफ्नै पुराना मालिकहरूकै आसपासमा बसेर गुजारा गरिरहे होलान् किनभने सरकारले अमलेख गरे पनि काम गर्ने श्रमिकको कमी पूरा गरेर त्यहीँ स्वतन्त्र तर श्रमिकको रूपमा रहे होलान् । अमलेख भएपछि उनीहरूले बेचिनु परेन, उनीहरूकी बहिनी, छोरी र श्रीमतीहरूलाई बस्तुको रूपमा विना सहमति बेचिनु परेन घरमा पालेको गाई, भैँसीझैँ । पशुझैँ । प्रधानमन्त्री र मुख्य प्रशासकका रूपमा चन्द्र शमशेरले गरेको यो कामका लागि नेपालको इतिहास सधैँ कृतज्ञ रहनेछ । त्यस्तै सती प्रथाको पनि उनैले अन्त्य गरेकोले पनि नेपाली जाति उनीप्रति कृतज्ञ रहनेछ । 

दासहरू कहिलेदेखि नेपालमा राखिन थालियो भन्ने खासै केही त्यस्तो इतिहास नभए पनि कुनै युद्धमा हार्नेलाई दास बनाउने चलन देखिन्छ र हार्नेले शूद्रका रूपमा रहेर जस्तोसुकै सेवा पनि गर्ने गराउने चलन पौराणिक कालदेखि नै रहेको पाइन्छ । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले लामो अभिभाषण तयार गरेर करिया अमलेख गरेका रहेछन्  र त्यसमा भावपूर्ण धारणा राखेर मानवीय कार्यका लागि दासका मालिकहरूलाई मूल्यसमेत तिरिएको रहेछ । त्यो मूल्य पशुपति नाथको ढुकुटीबाट दिइएकोले करियाहरुलाई शिवभक्ति पनि भनिएको मानिन्छ । राणा शासनको विचारमा यस्तो पनि रहेछ कि शिवजीको भेटीबाट दिइने मूल्य लिन कतिले चाहने छैनन् र दासलाई उन्मुक्ति दिनेछन् भन्ने विचारले पशुपतिको भेटीबाट दासको मूल्य चुकाउने भनिएको हो । त्यहाँबाट रकमको व्यवस्था गरिएको थियो होला । कतिले त साँच्चै मानवको मुक्तिका लागि कुनै रकम चाहिँदैन भनेछन् र लिएनन् पनि । कतिले शिवजीको भेटी नलिने किनभने शिवस्व लाग्छ भनेर लिएनछन् अनि कतिले मानिसको मूल्य लिनु त नहुने, शिवस्व पनि हातले कसरी लिनु भनेर दौराको फेरमा पैसा थापेछन् रे । तर हाम्रो घरमा कुनै पनि मूल्य नलिई स्वतन्त्र घोषणा गरिएको थियो रे ! तर उनीहरू नै हाम्रै घर वरिपरि बसेका रहेछन् र पछिसम्म पनि उनीहरू हाम्रै घरमा पालैसँग काम गरेर बसेका थिए । 

डल्लु दाइ अर्थात् माइला दाइ पछिसम्म पनि हाम्रै घरमा बसेको हो काम गरेर तर जब हामी मधेसतिर पनि बस्न थाल्यौँ, अनि उसले आफू मधेस नजाने भनेर आएन र उसका सन्तान अहिले पनि ग्वाल्टारमा नै छन् । त्यो इतिहासको एउटा कालो खण्डको कुनै तुस त देखिँदैन तर पनि त्यो जीवित इतिहास थियो र अहिले पनि त्यो इतिहासको केही प्रभाव बाँकी छ र त लोपोन्मुख जातिको रूपमा भुजेलहरू छन् ।  जनजातिको रूपमा छन् र उनीहरूका केही अमूल्य सँस्कृतिहरुलाई जोगाउनु जरुरी छ । उनीहरूलाई शूद्रको रूपमा गणना गरिएको रहेछ, उनीहरू भारी बोक्न, डोली बोक्न तर पानी चल्ने जातको रूपमा रहेका रहेछन् । आज त हामीले प्रजातान्त्रिक समाजको रूपमा आफूलाई विकास गरिसकेकाले त्यो कालो अतीत अब कहिल्यै वर्तमान भएर कहिल्यै नफर्कियोस् कुनै पनि रूपमा, कुनै पनि सारमा । चाहे राजनीतिक दासताको रूपमा होस् या आर्थिक दासताका रूपमा होस् वा भौतिक रूपमा दासताको स्वरूपमा होस् । गरिब र धनीका बिचमा बढ्दो खाडल र नयाँ भुईँफुट्टा वर्गको शासनमा प्रतिभा पहुँचका कारणले आधुनिक दासताको युगको सुरुवात होला कि भन्ने समाजशास्त्रीहरुको डर कर्हीँ साँचो साबित नहोस् ।  

अब म फर्केँ आफ्नै परिवारको गन्थनमा । बाको पहिलो बिहे बितिजोर, धारा पानीका पौडेल बाजेकी छोरी नन्दा भनौँ वा नीलकुमारीसँग भएको थियो । ठुलीआमाबाट ६ जना दिदीहरू र दुई ओटा दाजुहरूसमेत जन्मेर म जन्मने बेलासम्ममा कोही पनि हुनुहुन्थेन । ठुलीआमाको निधन २००४ सालमा भएको रहेछ । मेरा आमासँग बिहे २००६ सालको फागुनमा भएको रहेछ । मेरा दुईओटी दिदीहरू २००९ सालसम्म हुनुहुन्थ्यो रे । ठूलीदिदीको बिहे बोहोरेटारका विष्णुप्रसाद आचार्यसँग भएको रहेछ । खोइ के भएर चाँजो परेन, भिनाजुसँग मेरो भेट हुन सकेन । कारण होला, दिदीको निधन बिहे भएको ४५ दिनभित्रै भएकाले भिनाजु ससुराल कहिल्यै आउनु भएन र हामीलाई पनि दिदी नभएका भिनाजुसँग भेट्ने चाहना पनि भएन तर म जब जब रात माटाको बाटो हिँड्थे, भोजराज हजुरबमसँग सोध्थेँ, उहाँले भन्नुहुन्थ्यो, विष्णु त कलकत्ता तिरै जागिर खान्छ यता छैन । अनि मैले थाहा पाएको थिएँ कि भिनाजुको नाम विष्णुप्रसाद रहेछ । बाले पनि खासै उहाँको बारेमा जानकारी दिनु भएको थिएन । तर मलाई अहिले पनि लाग्छ, यदि दिदी हुनुहुन्थ्यो भने आमाको कमीलाई अलिकति भने पनि पूरा गर्नु हुन्थ्यो होला । आफूसँगैकी  जस्ती आफ्नी आमालाई भन्नुहुन्थ्यो रे–आमा मेरालागि एउटा भाइ पाइदिनुस् न । दुर्भाग्य, म जन्मँदा मेरा कुनै दाजु तथा दिदीहरू थिएनन् । त्यसैले म नै दृश्यमा बाको पहिलो सन्तान जस्तै भएँ । 

हामीले जीवन यसरी नै बाँच्नुपर्छ भन्ने कुनै पनि त्यस्तो तालिम किन पाएका थिएनौँ भने हाम्रो दैनिक जीवन नै यसरी एउटा संयोजित थियो कि अपरिहार्यरुपमा ती कामहरू स्वतः गरिन्थ्यो । बिहान उठेपछि दैनिक कार्यका जाँदा लोहोटामा पानी लिएर जाने, दीर्घ शङ्कापश्चात् माटोले वा खरानीले हात धुने, यदि ब्रतबन्ध भएको रहेछ भने जनै कानमा राखेर शौच नगरुन्जेल नबोलीकन बस्ने, दाँत नमाझी कन र मुख नधोईकन केही पनि खान नपाइने, ब्रतबन्ध नगरेकोले चुलामुनि बसेर खानुपर्ने, ब्रतबन्ध गरेकाले चुलामा बसेर औसनी हालेर र अग्निलाई होम गरेर मात्र खानुपर्ने विधि थियो । अझ घरमा कुनै पुरुष अभिभावकहरू हुनुहुन्न भने पाञ्चायन पूजा गरेर मात्र खान पाइने । पाञ्चायन पूजाका लागि आमाहरूले चन्दन घोट्नु हुन्थ्यो, बत्ती भिजाउनु हुन्थ्यो, तर पूजा भने गर्नु हुन्थ्यो । सायद शालिग्रामको पूजा गर्नका लागि उहाँहरूलाई अनुमति थिएन क्या रे ! अरूलाई अक्षता चल्थ्यो तर विष्णुलाई जौ र तिलले पूजा गर्नुपर्थ्यो । गणेशलाई नुहाउनु जरुरी थियो किनभने बत्ती बाल्ने बित्तिकै गणेशको पूजा नगरी अरू कसैको पनि पूजा वर्जित थियो । किनभने उनी गणेश हुन् अर्थात् सम्पूर्ण देवगणका ईश  । बिघ्नेश । के खाने कति बेर खाने के लाउने कुन बेलामा के लाउने भन्ने एउटा तालिका नै हुन्थ्यो । शुद्ध धोती नलगाई चुलामा जान पाइँदैन थ्यो । 
क्रमशः