निद्रामा घुर्ने रोग अर्थात् ओएसए : पहिचानदेखि निदानसम्म

निद्रामा घुर्ने रोग अर्थात् ओएसए : पहिचानदेखि निदानसम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  जेठ ११, २०७७

राती सुतेको बेला घुर्ने, सास फेर्न गाह्रो हुने र केही समय सास रोकिने रोगलाई अवस्ट्रकटिभ स्लिप एपनिया अथवा छोटकरीमा ओएसए भनिन्छ । सुतेको बेला एक घण्टामा पाँच अथवा पाँच पटक भन्दा ज्यादा केही समय सास बन्द हुने रोगलाई ओएसए भनिन्छ । कडा किसिमको ओएसएमा घण्टामा ३० अथवा यो भन्दा ज्यादा सास रोकिन्छ । यो रोग मोटा र ज्यादा उमेर भएका पुरुषहरूमा पाइन्छ । उत्तर अमेरिकामा यो किसिमको निद्रामा पाइने यो रोग १५-३० प्रतिशत पुरुष र १०-१५ प्रतिशत महिलाहरूमा पाइएको तथ्याङ्क रहेको छ । सानो चियूडो ठुलो टन्सिल हुने केटा केटीहरूमा पनि निद्रामा पाइने रोग ज्यादा हुन्छ । यो रोगबाट पीडित व्यक्तिहरू नेपालमा कति छन् भन्ने बारेमा हालसम्म अध्ययन भएको छैन । यस विषयमा अध्ययन हुनु आवश्यक छ । 

 Lewis R Kline का अनुसार निम्न रोगहरू भएका व्यक्तिहरूमा ओएसए ज्यादा पाइने गर्दछ  । 

१ मोटोपन
२ मुटु कमजोरी अर्थात् हार्ट फेलियर
३ उच्च रक्तचाप
४ अल्परक्तप्रवाह हृदय रोग
५ अन्तिम अवस्थाको मिर्गौला रोग
६ पक्षाघात
७ दोस्रो प्रकारको चिनी रोग
८ पुरानो दम खोकी
९ गर्व अवस्था
१० एक्रोमेगाली
११ थाइराइड ग्रन्थिको हर्मोन कम हुने रोग
१२ पार्किनसनस  डिजिज
१३ पोलीसिस्टिक ओभरी सिन्ड्रोम
१४ पल्मोनरी हाइपर्टेनसन
१५ हृदयगतिको गडबडी एट्रियल फिव्रीलेसन

यहाँ उल्लेख गरिएको सास फेर्न गाह्रो हुने रोगबाट पीडित व्यक्तिहरू दिउसो उङ्ने र राती घुर्ने गर्छन् । मुटुको ढुकढुकी बढ्नुका साथै र बिहान टाउको दुख्नु यो रोगको मुख्य लक्षण मानिन्छ । ठुलो गर्धन अर्थात् पुरुषमा १७ इन्च र महिलामा १६ इन्च भन्दा ज्यादा हुनसक्छ । थकावट यो रोगको अर्को लक्षण हो । २४ घण्टै मेसिनद्वारा  रक्तचाप नाप्ने पद्धतिलाई एमवुलेटरी ब्लड प्रेसर मनिटरिङ भनिन्छ । सामान्यतया राती सुतेको बेला रक्तचाप कम हुन्छ । तर ओएसएबाट पीडितहरूको राती सुतेको बेलाको रक्तचाप कम नहुन पनि सक्छ । करिब ५० प्रतिशत ओएसएमा उच्च रक्तचाप हुनसक्छ । 

हिजोआज श्वासप्रश्वास प्रणालीलाई उत्तेजित गरेर ओएसएमा फाइदा गर्ने ओखतीहरूको पनि चर्चा भएको पाइन्छ । यहाँ गाँजाले ओएसए भएका बिरामीलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा अझै विशेषज्ञहरूको एकमत भएको पाइँदैन । निकट भविष्यमा ओएस।एको सफल उपचार गर्ने औषधीहरू उपलब्ध हुन सकुन् भनेर आशा गरौँ ।

ओएसएमा अक्सिजन कम भएर क्यारोटिड बडी र भेगस नामक केन्द्रीय स्नायु प्रभावित भएर मुटुको चाल कम हुन्छ । सास रोकिदा रगतमा कार्वोनडाइअक्साइड ज्यादा भएर 'रिस्पेटेटरी एसिडोसिम' हुन्छ । यसको फलस्वरूप मुटु प्रभावित हुन्छ ।

अवस्ट्रकटिभ स्लिप एपनियाको निदान 

ओएसए भए नभएको पत्ता लगाउन पोलिसोमनोग्राफी नामक जाँच गराउनु पर्दछ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूलाई यो जाँच गराइन्छ । यो जाँच अस्पतालको विशेष कक्षमा भर्ना गरेर गरिन्छ । रातभरि टेक्निसियनको निरीक्षणमा गरिने यो जाँच काठमाडौँ मेडिकल कलेजमा समेत उपलब्ध छ । घण्टामा ५ अथवा यो भन्दा ज्यादा सास रोकिएको पाइयो भने ओएसएको निदान गर्न सकिन्छ । यसलाई एपनिया हाइपोपनिया इन्डेक्स अर्थात् एएचआई भनिन्छ । 

ओएसएमा राती सुतेको बेला राती सुतेको बेला घुर्ने मुख्य लक्षण हो । राती घुर्ने जति  सबैलाई सबैमा ओएसए हुँदैन । यसर्थ ओएसएको निदान गर्न पोलिसोमनाग्राफि गर्नैपर्छ । यो जाँच घरमा पनि गर्ने गरिन्छ । यसलाई होम स्लिप टेष्टिङ भनिन्छ ।

 ओएसएमा हुने लक्षणहरूको आधारमा विशेषज्ञहरुले सोधपुछ गरेर यो रोग हुने सम्भावना पत्ता लगाउने प्रयत्न गरेका छन् । यो प्रश्नोत्तर स्कोरिङको छोटो विवरण सबैलाई चाखलाग्दो हुनेछ भन्ने ठानेको छु । 

१ एपओर्थ स्लिपिनेस स्केल (Epworth sleepiness Scales or ESS)

अस्ट्रेलियाका  मुरेजोन्स  (Murray Johns)  ले सन १९९०मा निद्राको यो स्केललाई बनाएका थिए । यीनैले स्थापना गरेको एपओर्थ  स्लिप सेन्टरका नामबाट यो स्केलको नाम राखिएको हो । यसमा ८ वटा प्रश्न हुन्छन् । विभिन्न अवस्थामा दिउसो निद्रा पर्ने अवस्थालाई ०देखि ३को स्केलमा नापिन्छ । जति ज्यादा निद्रा पर्छ । त्यही अनुपातमा ज्यादा स्केल हुन्छ । १० भन्दा ज्यादा स्कोर पाइयो भने दिउसो निद्रा लाग्ने प्रमाणित हुन्छ । ईएमएसले ओएसएको निदान गर्दैन तर यसले ओएसए हुने संभावनलाई सङ्केत गर्दछ र स्लिप स्टडी गराउनु पर्ने हुन्छ । 

२ स्टपबयाङ् कोइसेनेर  (STOP-Bang Questionaire)

यसमा आठ वटा प्रश्न भए नभएको जानकारी लिनु पर्छ । यी प्रश्नहरू स्टपव्याङ्गका अक्षरबाट सुरु हुन्छन् । उदाहरणको लागि एस भनेको स्नोरिङ, टी भने टायरनेस, लाई लिन सकिन्छ । स्टपका ४ मध्ये २ अथवा ज्यादा प्रश्नहरू पोजेटिभ भएर थप पुरुष,  विएमआई ३५ भन्दा ज्यादा र गर्धनको मोटाइ हुनुपर्ने भन्दा ज्यादा भएमा ओएसए हुने सम्भावना हुन्छ । 

३ वर्लिन प्रश्नावली ( Berlin Questionaire)

यसमा १० वटा प्रश्नहरू सोध्नु पर्ने हुन्छ । धेरै प्रशनहरु घुर्ने र थकावटका विषयमा छन् भने उच्च रक्तचाप र ३५ भन्दा ज्यादा विएमआई पनि प्रश्नावलीमा पर्छन् यी प्रश्नहरूका उत्तरका आधारमा ओएसए हुने सम्भावना भएन नभएको जानकारी प्राप्त गर्न सकिन्छ । 

माथि उल्लेख गरिएका प्रश्नावलीले ओएसए हुन सक्ने सम्भावनालाई सङ्केत गर्दछन् । ओएसए हुनसक्ने सम्भावना भएका व्यक्तिहरूले स्लिप विशेषज्ञसँग सम्पर्क गर्नुपर्दछ । 

ओएसए प्रमाणित भएमा के गर्नु पर्छ ?

ओएसएबाट पीडित व्यक्तिहरूलाई के सल्लाह दिनु पर्छ भन्ने विषयमा विभिन्न सङ्घ संस्थाहरूले गाइडलाइन बनाएका छन् । स्लिप मेडिसिनको अमेरिकन एकाडमी (AASM)  ले ओएसएका बिरामीहरूलाई सल्लाह दिने गर्छ । कडा किसिमको ओएसएको उपचार स्लिप विशेषज्ञको सल्लाह बोमोजीम गराउनु बुद्धिमानी हुन्छ । 

मोटर चलाउँदा दुर्घटना हुने सम्भावना हुन्छ । फ्याक्ट्रीमा मेसिन चलाउँदा पनि दुर्घटना हुनसंकने कुरोलाई बिर्सनु हुँदैन । मदिरा र निद्रा पार्ने ओखतीहरूको सेवन गर्दा पनि सावधानी अपनाउनु पर्छ । 

मोटा मानिसहरूले तौल घटाउँदा ओएसबाट पीडित व्यक्तिहरूलाई फाइदा हुन्छ । कम खाना खाएर नियमित व्यायाम गर्नाले तौल कम हुन सक्छ । अत्यधिक तौल भएका व्यक्तिहरूको तौल कम गराउन विशेष किसिमको शल्यक्रिया पनि गर्न सकिन्छ । 

उत्तानो परेर सुत्नेहरूमा ओएसए ज्यादा हुने भएकोले कोल्टे परेर सुत्न सल्लाह दिइन्छ । ओएसएका बिरामीहरूलाई निद्रा पार्ने औषधि प्रयोग गर्दा होसियारी अपनाउनु पर्छ ।

कनटिनुवस पोजेटिभ एरवे प्रेसर (CPAP) दिने मेसिनद्वारा ओएसएको उपचार सम्भव हुन्छ । केही प्रतिशत रोगीहरूलाई वाइप्याप (BIPAP) मेसिनद्वारा पनि उपचार गर्नु पर्ने हुन्छ । अर्को प्रकारको पोजेटिभ प्रेसलाई अटोटाइट्रेटिङ (CPAP)भनिन्छ । धेरैजसो गरी सिप्याप मेसिन नै प्रयोग गरिन्छ । यो प्रविधि सन् १९८०को जुन महिनामा अस्ट्रेलियाका प्रोफेसरले Colin Sulivanले  आविष्कार गरेका हुन् । 

कडा कसिमको ओएसएको बिरामीहरूलाई विभिन्न प्रकारको शल्यक्रिया कहिलेकाहीँ गरिन्छ । म्यान्डिबुलर एडभान्समेन्ट डिभाइस र निभ्रोले सास रोक्न नदिने डिभाइसहरू सामान्य शल्यक्रियाका साधनहरू पनि कहिलेकाहीँ प्रयोग गरिन्छन् ।

केही कडा किसिमको ओएसएमा हाइपोल्गोसल नर्भ स्टमुलेसन डिभाइस पनि प्रयोग भएको पाइन्छ । यहाँ उल्लेखित शल्यक्रिया अनुभवी चिकित्सकद्वारा मात्रै सम्भव हुन्छ ।

 हिजोआज श्वासप्रश्वास प्रणालीलाई उत्तेजित गरेर ओएसएमा फाइदा गर्ने ओखतीहरूको पनि चर्चा भएको पाइन्छ । यहाँ गाँजाले ओएसए भएका बिरामीलाई फाइदा पुर्‍याउँछ भन्ने विषयमा अझै विशेषज्ञहरूको एकमत भएको पाइँदैन । निकट भविष्यमा ओएसएको सफल उपचार गर्ने औषधिहरू उपलब्ध हुन सकुन् भनेर आशा गरौँ ।