प्रहरी लागु औषध कारोबारी बिच भिडन्त : एक मृत्यु , दुई पक्राउ

प्रहरी लागु औषध कारोबारी  बिच भिडन्त : एक मृत्यु , दुई पक्राउ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७७

महोत्तरी । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई  पक्राउ गरेको जनाइएको छ । 

जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर  भीडन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो ।

सोही स्थानबाट  अभियुक्त सुरेन्द्र र राहुललाई पक्राउ गर्नसमेत सफल भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । घटनास्थलबाट केही मात्रामा लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । सो भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएको र उनीहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।