अनलाइन कक्षा माथिको टिका टिप्पणी : नेपालमा सुरु गर्ने बेला नभएकै हो त ?
जेठ १२, २०७७

परिस्थिति

जगजाहेर छ, कोभिड–१९ विश्वका २१८ वटा देशहरूमा फैलिसकेको छ । आज सम्ममा करिब ५४ लाख मानिसहरू सङ्क्रमित भइसकेका छन् भने करिब ३ लाख पचास हजार मानिसहरूले ज्यान गुमाइसकेका छन् । हाम्रै देशमा पनि ६ सयको बिन्दुमा पुगिसकेको छ । नेपालमा यसले महामारीको रूप लिन थालेको सङ्केत हो यो । मार्च महिनाको अन्त्यसम्म आइपुग्दा विश्वका एक अरब पचास करोड भन्दा बढी बालबालिकाहरु नियमित शिक्षा लिनबाट वञ्चित भइसकेका थिए । यो सङ्ख्यामा कमी आइसकेको छैन ।
नेपालमा हेर्ने हो भने ७० लाख भन्दा बढी बालबालिकाहरु स्कुल भन्दा बाहिर परेका छन् । लामो समय घर बन्दीजस्तै बस्नुपर्दा उनीहरू भित्र कुण्ठा बढ्दै गइरहेको छ ।

सामान्यतया केटाकेटीहरु घरमा दुःखी हुँदा स्कुलका साथीहरूसँग मनको भावना पोख्न पाउँथे । अहिले त्यस्तो अवस्था छैन । तपाई हामीलाई लाग्न सक्छ, ती जहाँ छन्, सुरक्षित छन् । अवश्य, ज्यानको सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हो । तर कतिन्जेलसम्म यथास्थितिमा बस्ने ? के त्यस्तो कुनै उपाय छैन ? जसले स्वास्थ्य सुरक्षा र अध्ययन अवसरको ग्यारेन्टी सँगसँगै गरोस् ? लकडाउनको अवधि दुई महिना नाघिसकेको छ । के यस बारेमा सोच्ने बेला आएको होइन र ? दुःख लाग्छ, जुन निकायले यस बरे चिन्ता लिनुपर्थ्यो त्यही निकाय कुम्भकर्णको निन्द्रा छ । 

प्रयास

बरु तालुकदार अड्डाले जतिसुकै हेपे पनि, पेले पनि, खिसीट्युरी गरे पनि, निजी क्षेत्रले आफ्नो प्रयास जारी राखेका छन् । शिक्षाका विभिन्न बैकल्पिक माध्यमहरुका बारेमा बहस गरिरहेका छन् । निचोडमा यिनले स–साना केटाकेटीहरूका लागि होम स्कुलिङ र ठुलाका लागि अनलाइन शिक्षा प्रमुख विकल्प प्रस्तुत गरेका छन् । होम स्कुलिङमा प्रमुख जिम्मेवारी अभिभावक आफैले लिनुपर्ने हुन्छ । अनलाइन शिक्षामा स्कुलले भूमिका खेल्छ । 

समाजमा सधैँ सकारात्मक सोच्नेहरू मात्र हुँदैनन् । सम्भावना खोज्ने भन्दा पनि हरेक सम्भावना मार्ने प्रवृत्तिका मान्छेहरूको हाबी हुन्छ । जाडो मौसममा आफै अगो बालेर अरूलाई तातो बाँड्ने, अरूले बालेको आगो ताप्ने र आगो बाल्ने वातावरण नै बिगार्ने गरी तीन थरिका मान्छे हुन्छन् । यो लकडाउन अवधिमा पनि यस्तै तीन प्रकारका मानिसहरू सक्रिय छन् । 

कोरोना प्रकोपले कठ्याङ्ग्रिएको शिक्षा क्षेत्रलाई राहत होस भनेर एक थरी शिक्षासेवीहरु आगो बाल्न लागिपरेका छन् । अनलाइन, भर्चुअल वा दूर शिक्षाका कुनै पनि माध्यमबाट कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने कुरामा यिनीहरू विश्वस्त छन् । ती माध्यमको पहुँच र प्रभावकारिता कति छ त ? भन्ने प्रश्न यो कुरा बिस्तारै सुधार हुँदै जाने कुरा हुन् । ओथारो नबसीकन चल्ला कोरल्ने कुरा जस्तो हुन्छ नत्र । पहिलो काम बालबालिकाहरूलाई एकाङ्की जीवनबाट अलि खुल्ला वातावरण निर्माण गर्नु सबैको दायित्व हो । भौतिक रूपमै भेटघाट गर्न नपाए पनि शिक्षक र साथीहरूसँग छलफल गर्न पाउने वातावरण निर्माण गर्नु हो । भर्चुअलै सही, अनलाइन सही, लकडाउनमा पनि शैक्षिक क्रियाकलापलाई निरन्तरता दिनु नै हो । जसका लागि हुन सक्ने सम्मका उपायहरू जस्तै, टेलिभिजन, सामाजिक सञ्जाल, युट्युब, अदिको प्रयोग गर्नु नै हो ।

विद्यार्थीले प्रश्न सोध्ने, शिक्षकले कक्षा तालिका, गृहकार्य लगायतका विविध सूचनाका लागि सामाजिक सञ्जालका माध्यमलाई प्रयोग गर्न थालिसकेका छन् ।  तसर्थ, लकडाउनको बहानामा निष्क्रिय नबसौँ । बालबालिकाहरूको सिक्न पाउने अधिकारको हनन नगरौँ । जसले सक्छ, घरमै पर्याप्त समय दिएर सिकाऔँ । नसक्नेले विद्यालयसँग समन्वय गरौँ । शिक्षकसँग समन्वय गरौँ । जहाँ जुन माध्यम सहज हुन्छ, त्यो माध्यमलाई प्रयोग गरौँ । शिक्षण सिकाइलाई निरन्तरता दिऊँ ।

यही महामारीमा दोस्रो प्रकारका मान्छे, ज्यान रहे पढाउँला भनेर सिन्को नभाँची बसेका छन् । लकडाउनको बेला कुनै पनि जिम्मेवारी नलिनु व्यक्तिगत अधिकार ठानेका छन् शायद । तेस्रो थरीका भने विभिन्न नाराबाजी र दोषारोपण गरी जसरी पनि भाँड्नतिर लागिपरेका छन् । यो उपायलाई पैसासँग दाँजेर हतोत्साहित गर्न खोजिरहेका छन् । स्कुलहरूले निःशुल्क सेवा दिँदा पनि भँडुवा प्रवृत्तिकाहरुले यसको पहुँच र प्रभावकारीताका कुरा गरेर प्रहार गरिरहेका छन् । त्यसैले त भनिन्छ, जसलाई कुनै गन्तव्यको बोध छैन वा जीवनमा कुनै ठाउँमा पुग्नु नै छैन, ती नै ट्राफिक जामका पात्र हुन् । यी दिनका ट्राफिक जामका पात्रहरू सहजै चिनिएका छन् । यस्ता पात्रहरूले सधैँ समाजको गतिलाई रोक्ने कोसिस गरिरहन्छ । यिनीसँग होसियार हुन जरुरी छ । 

नेपालमा अनलाइन कक्षा सुरु गर्ने बेला नभएकै हो त ?

अनलाई कक्षाका विरोधीहरूले भने जस्तै के नेपालमा यो प्रविधिको सुरुवात गर्ने बेला नभइसकेकै हो त ? अवश्य पनि यसको व्यवस्थित बिस्तार र प्रभावकारीताका बारेमा छलफल गर्नुपर्छ । तर हचुवाको भरमा यो चिजै बेठिक भन्नु पनि उचित हुन्न । संसारको इतिहासलाई केलाउने हो भने सन् १९८३ टेलि लर्निङ सिस्टम इनकर्पोरेशन मार्फत रोन गर्डनले सर्वप्रथम विश्वविद्यालय र कलेजलाई अनलाइन कोर्स सम्बन्धी सहयोग गर्ने उद्देश्यले इलेक्ट्रोनिक युनिभर्सिटी नेटवर्कको विकास गरेबाट नै अनलाइन कोर्सको अवधारणा जन्मेको भन्न सकिन्छ । फोनिक्स विश्वविद्यालयले सन १९८९ मा पहिलो पटक सार्वजनिक रूपमा अनलाइन कोर्सको आह्वान गरिसके पछि यो अवधारणले स्थापित भयो । 

आज विश्वका सयौँ सर्वोत्कृष्ट विश्वविद्यालयहरूको प्रमुख शैक्षिक कर्यक्रमहरु अनलाइन मार्फत अध्ययन गर्न पाइन्छ । नेपाल भने अनलाइन कक्षाको अवधारण अलि ढिलै सुरु भएको भए ता पनि दशबर्षे सशस्त्र सङ्घर्ष (बि.सं. २०५२–०६२)को समयमा शैक्षिक क्रियाकलापलाई दूर शिक्षा मार्फत निरन्तरता दिइएको थियो । त्यस बेला उपलब्ध साधन र श्रोतहरू रेडियो, टेलिभिजन, स्थानीय एफएम रेडियोहरू मार्फत गरिएको शिक्षणले राम्रै भूमिका खेलेको थियो ।

आज कोभिड–१९ को कारण देश लकडाउनको अवस्थामा छ । २०७६ साल चैत्र ६ गतेदेखि आज पर्यन्त केटाकेटीहरू बिना कुनै योजना र कार्यक्रम घरघरमै थुनिएर बस्नु परेको छ । स्वास्थ्य सुरक्षाको नाममा घरमै थुनिएका बालबालिकाहरु के साँच्चै सुरक्षितै छन् त ? शारीरिक सुरक्षा होला तर उनीहरूको मानसिक सुरक्षाका बारेमा पर्याप्त ध्यान पुगेको छ त ? जुन घरमा उस्तै उमेरका अरू केटाकेटीहरू छन् र घर वरिपरि खुल्ला वातावरण छ, तिनलाई केही राहत मिल्ला तर सानो चौघेरामा सीमित वा एक दुइवटा कोठामा सीमित भएर बस्नुपरेका बालबालिकाहरूले आफ्नो मनको कुरा पोख्ने ठाउँ कहाँ छ ? 

बाल मनोविज्ञान बुझेका र शैक्षिक क्रियाकलाप जानेका अभिभावकहरूले होम स्कुलिङको अवधारणा लागू गरेका होलान् । अभिभावक आफैले मेन्टरको भूमिका निर्वाह गरिरहेका होलान् । तर यो सीप र क्षमता कतिजना अभिभावकमा होला ? जसले यो काम गर्न सक्दैन, उनका बालबच्चाहरूको अवस्था के होला ? अब प्रश्न उठ्ला, के सबै बिद्यार्थीहरु अनलाइन कक्षाको पहुँचमा पुग्न सक्छन् त ? यो प्रश्न गर्नेहरूका निम्ति अर्को प्रश्न, ‘के सबै बिद्यार्थीहरु स्कुलको पहुँचमा थिए त ? अहिले छन् त ?’ पक्कै थिएन । छैनन् पनि । देशमा करिब ३५ हजार स्कुलहरू छन् तर अझै पनि धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेका छन् । यस्तो अवस्थामा कुनै पनि स्कुल चलाउन पाइँदैन भन्न मिल्छ ? अनलाइन कक्षाका बारेमा मात्र यत्रो टिका टिप्पणी किन ? के मान्छेहरूले कुरा गर्ने गरे जस्तो अनलाइन कक्षाका लागि देशको अवस्था नाजुकै हो त ? आउनुहोस्, एक पटक तथ्यलाई केलाएर हेरौँ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई आधार मान्ने हो भने पनि सन् २०१९ को मे महिना सम्ममा नेपालमा जम्मा ३ करोड ९९ लाख ८८ हजार ७५२ वटा मोबाइल सिम कार्डको प्रयोग भएको छ । यो सङ्ख्या आजसम्म आइपुग्दा ४ करोड नाघिसकेको छ । नेपालको करिब दुई करोड ९१ लाख जनसङ्ख्या मध्ये करिब ७० लाख त बिद्यार्थीहरु मात्र छन्, ५० लाख भन्दा बढी विदेशमा छन् । विदेशमा रहेकाले नेपाली सिम पक्ककै चलाउँदैनन् । बाँकी रह्यो १ करोड ९१ लाख वयस्क व्यक्तिहरू । अब हिसाब गर्नुस्, नेपालमा बसेका हरेक वयस्क व्यक्तिमा कति वटाका दरले मोबाइल होलान् ?

त्यस्तै गरी नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सन् २०१९ सम्ममा २ करोड २५ लाख नेपालीहरूमा इन्टरनेटको पहुँच पुगिसकेको छ । जुन नेपालको कूल जनसङ्ख्याको करिब ७० प्रतिशत हो । यो सङ्ख्या अघिल्लो वर्षमा ५४ प्रतिशत हाराहारी मात्र थियो । यसले के इङ्गित गर्छ भने नेपालीले इन्टरनेटलाई आधारभूत आवश्यकताको रूपमा लिइसकेका छन् । कोभिड–१९ को महामारीले यसलाई दैनिक जीवनको एक पाटो बनाइसकेको कुरा कसैले नकार्न सक्दैन । माथिको तथ्याङ्कलाई हेर्ने हो भने अनलाइन कक्षा सञ्चालन गर्नहुन्न भन्ने विषय तर्कसङ्गत देखिँदैन । 

फेसबुक चलाउन, युट्युबमा नाना भाँती भिडियो हेर्न, टिकटक भिडियो बनाउनलाई पहुँच पुगे नपुगेको बहस कहिल्यै भएको छैन । त्यस्तै बालबालिकाहरु फ्री फायर, पव्जी लगायतका अनलाइन गेममा डुब्न दिनलाई इन्टरनेटको समस्या भएन । तर प्रविधि प्रयोग गरी सिकाई क्रियाकलापमा सञ्चालन गर्ने कुरामा यत्रो विधि विरोध किन ? माथि नै भनिसकेँ, यी दिनहरूमा सञ्चालित अनलाइन कक्षाहरू न त औपचारिक शैक्षिक सत्र शुवात नै हो, न त स्कुलहरूले शुल्कका निम्ति नै गरेका हुन् । यो विधि मान्छेले सोचेजस्तो सजिलो पनि होइन । शिक्षकले एक घण्टा कक्षा सञ्चालन गर्न कयौँ घण्टा तयारी गर्नुपर्छ, गरेको हुन्छ । कमसेकम आफै केही नगरे पनि मिहेनत गर्नेलाई हतोत्साहित नबनाऊँ न ।

निचोड

विकसित राष्ट्रहरू अनलाइन सिकाई इ–लर्निङबाट एम–लर्निङ वा मोबाइल लर्निङमा स्थानान्तरण भइसकेका छन् । रिसर्चहरूका अनुसार मोबाइलबाट सिक्नेहरू कम्प्युटर वा ल्यापटपबाट सिक्नेहरू भन्दा ४५ प्रतिशत छिटो काम पुरा गर्दछन् । यसको अलावा विद्यार्थीहरूले सिकाइको तरिकामा गेमिङलाई प्राथमिकता दिन थालेका छन् । फ्री फायर, पव्जी आदि जस्ता अनलाइन गेमहरू मार्फत मारकाट र हिंसा सिकाउनु भन्दा त ज्ञान र सिकाई मिसिएको त्यस्तै रमाइला गेमहरूमा केटाकेटीहरूलाई भुलाउन सकियो भने कमसेकम सिकाइको उद्देश्य पनि पुरा हुनेछ र केटाकेटीहरू नराम्रो बाटोमा लाग्नबाट पनि बचाउन सकिन्छ ।

अर्को तथ्य, वर्तमान समाजमा सोसल मिडियालाई शिक्षण सिकाइको माध्यम बनाउन थालिसकेको छ । यो माध्यम, शिक्षक र विद्यार्थीको बिचमा सञ्चारको प्रमुख साधन बनिसकेको छ । विद्यार्थीले प्रश्न सोध्ने, शिक्षकले कक्षा तालिका, गृहकार्य लगायतका विविध सूचनाका लागि सामाजिक सञ्जालका माध्यमलाई प्रयोग गर्न थालिसकेका छन् । 
तसर्थ, लकडाउनको बहानामा निष्क्रिय नबसौँ । बालबालिकाहरूको सिक्न पाउने अधिकारको हनन नगरौँ । जसले सक्छ, घरमै पर्याप्त समय दिएर सिकाऔँ । नसक्नेले विद्यालयसँग समन्वय गरौँ । शिक्षकसँग समन्वय गरौँ । जहाँ जुन माध्यम सहज हुन्छ, त्यो माध्यमलाई प्रयोग गरौँ । शिक्षण सिकाइलाई निरन्तरता दिऊँ ।
 


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।