जेठ, महेन्द्र माला र राजसंस्थाको लिगेसी

जेठ, महेन्द्र माला र राजसंस्थाको लिगेसी

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  जेठ १२, २०७७

हामी स्कुले भुरा थियौँ, विद्यालयबाट फर्कने क्रममा हामीले मदन भण्डारी सवार रहेको  जिप त्रिशूलीमा खसेको खबर सुन्यौँ । हामीलाई मदन भण्डारीको भाषणको चर्चा, उनको बहुदलीय जनवादको पार्टीमा भएको बहुमत, उनले राजा वीरेन्द्रलाई श्रीपेच खोलेर आफूसँग चुनाव लड्न आउन खुलामञ्चबाट दिएको चुनौती र पाका नेता कृष्णप्रसाद भट्टराई माथि हासिल गरेको चुनावी विजय आदि कारणले गर्दा उनी सुपर ह्युमन भएको परिकल्पनाले हाम्रो बाल मस्तिष्क खाइसकेको थियो । जिप नदीमा खसेको र हराई रहेको सुन्नासाथ हामीले पत्याएनौँ, तर जब घरमा रहेको कपडाको खोल लाएको त्यो बेलाको चर्चित पानासोनिक ब्रान्डको रेडियोले जिप खसेको समाचार भन्यो, तब हामीले त्यो कुरा पत्याउन बाध्य भयौँ ।

पत्याउनु त के थियो, एउटा बाल्यकालको अमूर्त परिकल्पना जोड्नु थियो, बुझेको देश, भूगोल र परिस्थिति जोड्नु थियो । हामीले परिकल्पना जोडेर त्यसलाई गतिलो कथा बनाएर पत्यायौँ, कुनै कारणवश गाडी त खस्यो होला तर मदन भण्डारी जस्ता मान्छे मर्न सक्दैनन्, पौडेर निस्कन्छन् भनेर हामीले अलि समय मीठो कथा बनाएर त्यो दुर्घटनालाई सुखद अन्त्य दिने रूपमा बुझ्यौँ । त्यो थियो जेठ ३ गते !

दुखका साथ भन्नु परिरहेछ – गणतन्त्रले कुनै माला गाँसेको छैन, बरु छिन्नभिन्न पारेको छ, यो सबैको उस्तै मियो बन्न सकेको छैन, हाम्रो मस्तिष्कको महेन्द्र माला किताब फेरेर मेटिने वाला छैन, पैसाका नक्सा मेटेर मेटिने वाला छैन । समय लाग्ला तर राजसंस्था किन जनमत सङ्ग्रह बेगर फालियो भनेर जनताले हिसाब खोज्छ, गणतन्त्र दिवसको आसन्न समयमा राजनैतिक दलहरूलाई गणतन्त्रको लिगेसी स्थापित गर्न र राजसंस्था तथा मुलुकका पुराना धरोहरहरूको विरुद्ध नगएर तिनको सम्मान गरेर आफ्नो लिगेसी छिटो स्थापित गर्न तर्फ अघि बढ्न सुझाव तथा शुभकामना दिन चाहन्छु ।


जेठ ३ गते भन्दा अघि नै हामी एक हिसाबको शोकमा परिसकेका रहेछौँ, वैशाखमा नेपालकी नारी रत्न पहिलो सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा सगरमाथाको सफल आरोहण पश्चात् फर्कने क्रममा बितेकी थिइन । हामी त्यो शोक पछि अर्को शोकको खबर सुन्न तत्काल तयार रहेनछौँ, कल्पना जोडेर शोकलाई पनि सहज पारेर सुन्न खोज्नु बाल मनोविज्ञानकै कुरो थियो ।  नेपालमा राम्रा मान्छे रहन्नन् भन्ने कुराले त्यो बेला नै हाम्रो मस्तिष्कमा जरा गाडेको थियो । नेपाल भन्ने कुरासँग बच्चै देखिको सामीप्य रहेको कुरा अहिले आएर महसुस हुन्छ । हामी हरेक घटनाले देशलाई भएको क्षति मात्र महसुस गर्थ्यौँ । नेता वा हिमाल आरोही को हो, के थरको, के जातको हो वा कुन दलको हो, हामी बुझ्ने र पूर्वाग्रह राख्ने गर्दैनथ्यौँ, बचपनमै देशलाई केन्द्रमा राख्न हामीलाई विविध कुराले सिकाएको थियो होला ।

हाम्रो बालक दिमागमा नेपाल र नेपालीपन सँगै जोडिएर राजा रानी आउँथे । यी सब हुनुमा हाम्रा विद्यालयका पाठ्यपुस्तकको धेरै ठुलो भूमिका रहेको थियो, हरेक पाठ्यपुस्तकका अगाडी राजाले बोलेका वाणी, देश प्रेम र हामी प्रतिका सदिच्छा रहेका हुन्थे, तिनले हाम्रो मस्तिष्कमा यी सब भावना पैदा गर्नको लागि 'सफ्ट पावर'को रूपमा काम गरिरहेका हुन्थे भन्ने अहिले आएर महसुस हुन्छ ।

ती सबै पाठ्यपुस्तक मध्ये नेपाली विषयको पाठ्यपुस्तकको नाम नै महेन्द्र माला थियो । महेन्द्र मालाको 'सफ्ट पावर' हाम्रो मस्तिष्कमा देश र संस्कृति प्रेम, राजसंस्था प्रेम रोप्ने भूमिकामा अग्रणी रहेछ भन्ने अहिले ती पुस्तकहरू हेर्दा थाहा हुन्छ । ती पुस्तकहरूका कभरमा रहेका केही कुराहरू देखाइएको छ, तिनमा राजपरिवारको शिक्षा प्रतिको सदिच्छा, बच्चाहरूमा शिक्षाले ल्याउने परिवर्तन आदि र देश प्रेमका कुराहरू बाल्यकाल देखि नै कसरी पढाइएको थियो भन्ने कुराहरू केही चित्रमा संलग्न गरिएका छन् ।

जागरूक, परिश्रमी र उन्नतिशील समाजको परिकल्पना गर्दै राजा वीरेन्द्रले दिएको सन्देश हरेक पुस्तकमा कभर भन्दा भित्री पृष्ठमा छापिएको थियो । यसले राजा वीरेन्द्रको सकारात्मक छवि आम शिक्षित जमातमा बच्चै देखि रोपिदिएको थियो । अहिलेको जस्तो एक कक्षामा पुग्न दुई तीन साल पढिसकेको हुनुपर्ने चलन त्यो बेला थिएन, अधिकांश बच्चाहरूले कक्षा एक देखि नै स्कुल आरम्भ गरेका हुन्थे, त्यो तह देखि नै बच्चाको मानसिकतामा देश, संस्कृति र राजसंस्था प्रतिको प्रेम रोपिएको सहजै देख्न सकिन्छ । यसलाई देखाउन कक्षा एकको महेन्द्र माला पुस्तकमा भएको एउटा कविताको चित्र यहाँ सम्मिलित गरिएको छ ।

कक्षा एकको पाठ १८ मा राखिएको नेपालका राजा रानी शीर्षकको कविताले नेपाल तथा राजा रानी प्रतिको सम्मान बाल मस्तिष्कमा रोपेको पाइन्छ । यसरी नै कक्षा बढ्दै जाँदा देश प्रेमसँगै राजसंस्था प्रतिको प्रेम बोकेर एउटा नागरिक तयार हुन्थ्यो । 

वि. सं. २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त्य हुँदै प्रजातन्त्र आयो । त्यसपछि राजा महेन्द्रको नाम जोडिएका कुरामा परिमार्जन ल्याउन थालियो । वर्षको एउटा कक्षाका दरले पुस्तक परिमार्जन गर्दै लाँदा २०५७ सालमा महेन्द्र माला पुस्तक पूर्णतया विस्थापित भएर कक्षा एक देखि कक्षा १० सम्मकै नेपाली पुस्तक हाम्रो नेपाली पुस्तकको रूपमा बदलियो ।

वि. सं. २०५८ साल जेठ १९ गते नेपाली राजनीतिको सबैभन्दा कहालीलाग्दो घटना दरबार हत्याकाण्ड घटित भयो । त्यो बेला राजपरिवारका सदस्य मर्दा हजारौँ युवाहरू रोए, तिनले कपाल खौरे र शोक मनाए । यी सब कुराको पछाडि उनीहरूले देश र राजपरिवार अलग्याएर हेर्नै नसक्ने किसिमको मनोविज्ञानले काम गरेको थियो जुन उनीहरूले स्कुल जान थाले देखि नै विकास गरेर ल्याएका थिए । 

महेन्द्र मालाको अन्त्य भएको अर्को साल राजपरिवारको समेत वंश विनाश भयो र राजा महेन्द्रको लिगेसी घट्न थाल्यो । राजा ज्ञानेन्द्रले आफूलाई पहिलाकै राजाको समकक्षमा आफूलाई उभ्याउन सकेनन्, जनतामा उनको तथा युवराज पारसको छवि पनि उच्च नरहेको समयको फाइदा उठाउँदै वि. सं. २०६३ मा गणतन्त्र आयो । गणतन्त्रको घोषणा पनि जेठमै भयो, अब केहिदिनमा गणतन्त्रका रटान लाग्छन्, देशमा मियो बेगरको दाइँ चल्दै जाने नै देखिन्छ  । महेन्द्र माला सकिए यता क्रमिक रूपमा राजसंस्था मात्र सकिएन, राजा महेन्द्रका लिगेसीहरू एक से एक सकिए । अहिलेको राष्ट्रिय गीतमा ‘सैयौं थुँगा फूलका हामी एउटै माला नेपाली’ भनिन्छ, त्यो मालामा एउटा कुरो छुट्यो त्यो महेन्द्र माला थियो किनभने राजा महेन्द्रले नेपालको उत्तरी सीमामा तैनाथ भारतीय सुरक्षा बल नहटाएको भए अहिले नेपाल नेपाल रहिराख्ने थिएन । अहिले सिङ्गो नेपालको लिम्पियाधुरा समेत समेटिएको नक्सा जारी गर्न साथ भारतीय सुरक्षा निकायको उच्च पदस्थहरू नेपालमा हामीले माओवादी प्रयोग गरेर कसरी हिन्दु राज्य र राजसंस्था 'डिसम्यान्टल' गर्‍यौँ भनेर सार्वजनिक रूपमा बोलिरहेका छन्, नेपालका नेताहरू यो विषयमा अनौठो मौनता साँधिरहेका छन् ।

महेन्द्र माला छुटे यता माला बलियो भएको देखिन्न, युवाहरूको देश प्रेममा पनि दलगत स्वार्थहरू र विभाजन देखिए, मालाको केन्द्रीय र मुख्य फूल चुँडेर राज परिवारको लिगेसी हटाउन अझै सम्म सकिएको छैन, अहिले आएर राजाको तस्बिर अङ्कित पैसा धरि हटाउन जोड गर्दै गरिएको पाइन्छ । लिगेसी काम गरेर स्थापित गर्ने हो, लिगेसी शिक्षा मार्फत स्थापित गर्ने हो, 'ब्रेनवास' गरेर वा कसैलाई पनि मेटाएर, हटाएर, थर्काएर धम्क्याएर लिगेसी स्थापित हुन्न, तर वर्तमान व्यवस्थाका धरोहरहरूले यो बुझ्न सकेको देखिन्न । त्यसैले यिनीहरू राजसंस्था भन्दा धेरै तल छन्, निम्न कोटीको राजनीति गर्छन्, गणतन्त्र दिवसको मुखमा महेन्द्र माला सम्झँदै हामीले दुखका साथ भन्नु परिरहेछ – गणतन्त्रले कुनै माला गाँसेको छैन, बरु छिन्नभिन्न पारेको छ, यो सबैको उस्तै मियो बन्न सकेको छैन, हाम्रो मस्तिष्कको महेन्द्र माला किताब फेरेर मेटिने वाला छैन, पैसाका नक्सा मेटेर मेटिने वाला छैन । समय लाग्ला तर राजसंस्था किन जनमत सङ्ग्रह बेगर फालियो भनेर जनताले हिसाब खोज्छ, गणतन्त्र दिवसको आसन्न समयमा राजनैतिक दलहरूलाई गणतन्त्रको लिगेसी स्थापित गर्न र राजसंस्था तथा मुलुकका पुराना धरोहरहरूको विरुद्ध नगएर तिनको सम्मान गरेर आफ्नो लिगेसी छिटो स्थापित गर्न तर्फ अघि बढ्न सुझाव तथा शुभकामना दिन चाहन्छु । जय नेपाल ।