काठमाडौँ सहर, हेर्न लाग्यो रहर : अहिलेको रूप टिकाई राख्ने चुनौती र हाम्रो दायित्व

काठमाडौँ सहर, हेर्न लाग्यो रहर :  अहिलेको रूप टिकाई राख्ने चुनौती  र हाम्रो दायित्व

निर्जला कक्षपति  |  दृष्टिकोण  |  जेठ १३, २०७७

काठमाडौँ सहर यति बेला निकै नै सुन्दर देखिएको छ । सधैँभर धुवाँ र धुलोले ग्रस्त यो सहरको वास्तविक रूप हेर्न पाउने कुरामा हामीलाई शङ्का गर्ने गथ्र्याे । कहिले होला काठमाडौँ  सहर शान्त अनि पहिलेकै जस्तै सुन्दर भन्ने लाग्थ्यो । यही सहरलाई सुन्दर बनाउन थुप्रै विकासे योजनाहरू पनि बने । मिटिङ र चार तारे होटेलमा कार्यशाला गोष्ठी त कत्ति हो कत्ति ?

अहँ ! अब काठमाडौँ  सहर धुलो धुवाँमुक्त हुन सक्दैन । हामी धेरैले कल्पना समेत गर्न छोडेका थियौँ । प्रकृतिले नै यस्तो अवस्थाको सृजना गरिदिँदो रहेछ ।  मानिसले चाहेर पनि केही गर्न नसक्ने अवस्था सृजना हुँदो रहेछ । यसका बाबजुद प्रकृति खुलेर हाँस्न पायो र आफ्नो सौन्दर्य प्रस्तुत गन पाइरहेको छ । अहिले काठमाडौँ  सहर यसरी खुलेकी छिन्, जसरी महिलाले आफ्नो शृङ्गार गरेपछि उनको रूप अझ खुल्ने गर्छ त्यसै गरी काठमाडौँ धपधप बलेकी छिन् ।

काठमाडौँ सहरलाई हराभरा, प्रदूषणमुक्त र पहिलेको जस्तै शान्त र सुन्दर सहर बनाउन विकासे योजनाहरू थुप्रै बने । योजना अनुरूपका केही काम पनि भए होलान् तर सहरको स्वरूपमा केही परिवर्तन आउन सकेन । काठमाडौँका प्रदूषणलाई लिएर थुप्रै कोठे गफ गरिए, कार्यक्रम बनाइए । तर अहँ  !  ती गफहरू गफमै मात्र सीमित भयो । योजनाहरू कागजमा मात्र सीमित भए ।  प्रकृतिले गरेको परिवर्तनलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो ।

काठमाडौँ  सहरका आकाश यति बेला निकै खुलेका छन् । हिमालहरू हाम्रै घर आँगनबाट देखिन थालेका छन् । बादलको घुम्टो उघारिँदा प्रकृतिले लुकामारी खेलेको आभास हुन्छ । वातावरण स्वच्छ र शान्त छ । सधैंभर कोलाहल अनि गाडीको ध्यार,ध्यार र  घुर  घुर आवाज सुन्न परेको छैन । जता कतै खाली सडक सुनसान छन् । चराचुरुगींको चिरबिर चिरबिर आवाज सुन्न पाइएको छ । हाम्रा घरका कौसीहरूमा चराचुरगींका आवागमन बाक्लिन थालेको छ । नागबेली आकारका खोलानाला बिस्तारै स्वच्छ देखिन थालिएका छन् । प्राचीन झझल्को देखिने मन्दीरहरुको वास्तविक रूप देख्न पाइन थालिएको छ । त्यहाँ कुँदिएका कलालाई नजिकबाट नियाल्न पाइएको छ । मठमन्दिर नजिक भुरभुर गर्दै उडेका परेवाहरू पनि ढुक्कका साथ उडेका छन् । कसैले उनीहरूलाई लखेटेका छैनन् । निर्धक्कका साथ मन्दिर वरपर झुम्मिइरहेका छन् । यी सब दृश्य हेर्दा हामीलाई पाठ्यपुस्तकमा पढेको प्राचीन नेपालको याद दिलाउँछ ।

सहरका बिच बिच भागमा रहेको जाकाराण्डाको फूलहरू ढपक्कै फुलेका छन् । यसले गर्दा झनै सौन्दर्यमा चमक आएको छ । प्रदूषणको सहर भनेर चिनिने काठमाडौँ यति बेला प्रदूषणमुक्त बनेको छ । हामीले ढुक्कले श्वास फेर्न पाउने भएका  छौँ । 

हाम्रो पनि दिन चर्या बदलिएको छ । बिहान ५ बजे उठेर छोराछोरी स्कुल पठाउनको लागि गर्नु पर्ने तयारी अब बिस्तारै गर्न थालेका छौँ । शरीरले पनि आराम पाएको छ । कहिल्यै ध्यान, योगा नगर्नेहरूले पनि बिहानको समय हतार नहुने भएपछि बिहानको काम बिस्तारै गर्न थालेका छौँ । र, ध्यान योगामा हामी केन्द्रित हुन थालेका छौँ । साँझ बिहान आफ्नै घर वरपर भएको खाली ठाउँमा १-२ घण्टा खुटा तन्काउन थालेका छौँ । हामीले खाने खानामा पनि विशेष ध्यान पुर्‍याउन थालेका छौँ । फाष्टफुड र रेस्टुरेन्ट अधिकांश बन्द भएकाले आफूलाई खान मनलागेको परिकारहरू आफैँ बनाएर खान थालेका छौँ । यसले गर्दा हामीले शुद्ध खान पाएका छौ । शुद्ध खाना हाम्रो शरीरको लागि कति महत्त्वपूर्ण छ भन्ने बारेमा पनि हामीलाई परिस्थितिले सिकाएको छ । 

यसैगरी हाम्रा केटाकेटीहरू आफ्नै घर आँगनमा खेल्न थालेका छन् । हैन भने हामीलाई घर बाहिरै पठाउन डर लाग्थ्यो । गाडीहरू बेसुरमा हुइँकिन्थे । अहिले गाडीको चाप ठ्याप्पै कम छ । ढलको दुर्गन्ध सुँघ्न परेको छैन । चराचुरंगीको चिरबिर आवाज सुन्दा म्युजिक सुने झैँ लाग्ने थालेको छ । 

काठमाडौँ सहरलाई हराभरा, प्रदूषणमुक्त र पहिलेको जस्तै शान्त र सुन्दर सहर बनाउन विकासे योजनाहरू थुप्रै बने । योजना अनुरूपका केही काम पनि भए होलान् तर सहरको स्वरूपमा केही परिवर्तन आउन सकेन । काठमाडौँका प्रदूषणलाई लिएर थुप्रै कोठे गफ गरिए, कार्यक्रम बनाइए । तर अहँ  !  ती गफहरू गफमै मात्र सीमित भयो । योजनाहरू कागजमा मात्र सीमित भए ।  प्रकृतिले गरेको परिवर्तनलाई जोगाइराख्नु हामी सबैको कर्तव्य हो । अब सरकारले काठमाडौँमा गुड्ने गाडीको सङ्ख्या कम गर्नु पर्छ । सार्वजनिक यातायातको प्रवर्द्धन गर्नुपर्छ । सार्वजनिक यातायात चढ्न प्रोत्साहन गर्नुपर्छ । यसै गरी कङ्क्रिटको घर निर्माणमा रोक लगाउनु पर्छ । जमिन मुनीबाट पानी निकाल्न रोक लगाउनु पर्छ । व्यापारिक प्रयोजनका लागि बाहेक ठूलाठूला घर निर्माणमा रोक लगाउनु नै उत्तम हुन्छ । हरिया रुख, बनजंगल रोप्न प्रोत्साहन गर्नु पर्छ । भएका हरिया रुखहरू घरको कम्पाउन्ड भित्रै भए पनि उसले असर नपुर्‍लाउँदा सम्म कटान नमिल्ने व्यवस्था गर्नु पर्छ । यसो गर्‍यो भने मात्र काठमाण्डौं सहरको निखारिएको रूप टिकी रहन सक्छ ।