लकडाउनको विषम परिस्थिति : खुकुलो बनाउने कि ठुलो आर्थिक–सामाजिक दुर्घटना निम्त्याउने ?
जेठ १६, २०७७

हाल विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्था छ । हालसम्म कुनै पनि औषधि तथा भ्याक्सीन  उपलब्ध नभई राखेको अवस्थामा महामारी नियन्त्रण गर्ने पुरानो विधि सोसियल डिस्ट्यासिङ्ग, क्वारिनटाईन तथा लकडाउनका विधि नै धेरै जसो राष्ट्रहरूले अपनाई रहेको अवस्था छ । तर हाल केही राष्ट्रहरूले लकडाउनलाई खुकुलो बनाउँदै जनजीवनलाई सामान्य बनाउने तर्फ अग्रसर भइरहेका छन् ।

धेरैजसो देशहरूले अपनाएको विधि के लकडाउनको विधि साँच्ची नै प्रभावकारी भएकै हो त ? करिब २–३ महिना लामो लकडाउनको विधिले गर्दा आर्थिक तथा सामाजिक क्षेत्रहरूमा पुर्‍याएको नोक्सानीलाई भरपाई हुन सक्ला त ? यो प्रश्नहरू आजकल सर्वसाधारण व्यक्तिहरूको मनमा उब्जिरहेका छन् ।

हालसम्मको तथ्याङ्क हेर्दा, विश्वभर करिब ६० लाख मानिसहरू कोरोना भाइरसबाट सङ्क्रमित भई सकेका छन् र करिब  ३ लाख  लाख ६२ हजार  व्याक्तिहरुको मृत्यु भई सकेको छ । र करिब २६ लाख स्वास्थ्य पनि भई सकेका छन् । अमेरिकामा करिब १७ लाख ६८ हजार  सङ्क्रमित भएका छन् र एक लाख भन्दा बढी व्यक्तिहरूको मृत्यु भई सकेको छ । विश्वभर सङ्क्रमित दर र मृत्यु दर देश अनुसार फरक फरक छ, जसले गर्दा सबैलाई अचम्मित बनाइरहेको छ । ब्राजिलमा करिब ४ लाख भन्दा बढी सङ्क्रमित छन् र २५ हजार भन्दा बढीको मृत्यु भएको छ, तर रसियामा करिब ४ लाख जना सङ्क्रमित भएता पनि करिब चार हजारको मात्र मृत्यु भएको छ । यस्तै प्रकारले अन्य युरोपियन राष्ट्र स्पेन, इटली, फ्रान्स तथा बेल्जियममा मृत्यु दर उच्च रहेता पनि जर्मनीमा कम नै रहेको छ । यस्तै प्रकारले एसियाली राष्ट्रहरू भारत, बङ्गलादेश, पाकिस्तान, जापान, कोरिया, आदि देशहरूमा मृत्युदर न्यून नै रहेका छ ।

तुलनात्मक रूपले स्वास्थ्य सेवा राम्रो अवस्थामा रहेका युरोप तथा अमेरिकी राष्ट्रहरूमा मृत्युदर उच्च रहनु तथा कमजोर स्वास्थ्य सेवा र पर्याप्त सुविधा नरहेका देशहरू एसिया तथा अफ्रिकी राष्ट्रहरूमा कम रहनुले गर्दा सबै स्वास्थ्य विशेषज्ञहरूलाई अचम्मित बनाई राखेको छ । तर प्रश्न के छ भने जसरी डब्लुएचओको भनाई अनुसार कोरोना भाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त बनाई करोडौँ मानिसको मृत्यु हुने आँकडा व्यक्त गरिएको थियो ? तर हालको छ महिनाको तथ्याङ्क अनुसार सम्भव देखिन्न । सबैभन्दा महत्त्वपूर्ण कुरा, जुन तथ्याङ्कलाई अगाडी सारिएको छ, त्यो नै भ्रमपूर्ण छ । जसरी केश अथवा सङ्क्रमित व्यक्तिलाई बिरामी जस्तो गरी चित्रण गरियो, त्यो नै अतिरञ्जित छ । हामीले बुझ्नु पर्दछ कि केश भनेको बिरामी होइन । सामान्य अवस्थामा सङ्क्रमित व्यक्ति, कुनै लक्षण बिना आफैँ निको हुन्छ र लक्षण देखिएका व्यक्तिरुमा पनि धेरै जस्तो सामान्य उपचारबाट नै निको भएका छन्  र केही व्यक्तिहरू मुख्यता अन्य रोगबाट ग्रसित भएका, बढी उमेरका तथा कमजोर रोग प्रतिरोध क्षमताका व्यक्तिहरूको मात्र मृत्यु भएको देखिन्छ । 

मुख्यता रेमिट्यान्स, व्यापार तथा पर्यटनमा आधारित अर्थतन्त्र, विश्वभर आएको आर्थिक मन्दि पर्यटन क्षेत्रमा आएको ह्रास तथा विदेशमा गएका मानिसहरूमा फर्कँदा पर्ने  आर्थिक तथा सामाजिक चापले गर्दा आगामी दिनहरू कठिन हुने देखिन्छ । यस्तो  आर्थिक विषम परिस्थितिमा  के लकडाउन लम्बाउँदै जाने हो भने नेपालले ठुलो आर्थिक –सामाजिक दुर्घटना निम्त्याउँदै छ । 

 

करिब ३३ करोड जनसङ्ख्या भएको मूलक अमेरिकामा करिब १ करोड ६० लाखमा परीक्षण गर्दा १८ लाखमा मात्र सङ्क्रमित भएको भेटियो र त्यस मध्ये करिब १ लाखको मात्र मृत्यु भएको छ । तथ्याङ्कको हिसाबले, १० लाख व्यक्तिहरूमा परीक्षण गर्दा  ४७ हजारमा मात्र सङ्क्रमण देखियो र ३०४ जनाको मात्र मृत्यु भएको छ । अन्य राष्ट्रहरूमा पनि १० लाख मानिसहरूको तथ्याङ्क हेर्दा, ब्राजिलमा ११६ जना, रसियामा २६ जना, स्पेनमा ५८० जना, टर्कीमा ५२ जना र भारतमा ३ जनाको मात्र मृत्यु भएको छ ।

अमेरिकी संस्था (Center For Disease control Prevention)  को तथ्याङ्क अनुसार अक्टोबर २०१९ देखि अप्रिल २०२० को तथ्याङ्क अनुसार फ्लुबाट करिब ५ करोड मानिस सङ्क्रमित भएका थिए र आधा जति २.५ करोड मानिस स्वास्थ्य सेवा लिएका थिए र करिब ७ लाख व्यक्ति अस्पताल भर्ना भएका थिए  र ५० हजारको मृत्यु भएको थियो । करिब १० लाख सङ्क्रमित भएको तथ्यंक हेर्दा १०० जनाको मृत्यु फ्लुबाट भएको छ । कोरोना सङ्क्रमण हेर्दा हालसम्म १० लाख भन्दा बढी टेस्ट गरिएको राष्ट्रहरूको तुलना गर्दा सबै भन्दा बढी बेल्जियममा ८०६, स्पेनमा ५८०, अमेरिकामा ३०४,र भारतमा तीन जनाको मृत्यु भएको छ । यस तथ्याङ्कले के देखाउँछ भने देश अनुसार मृत्युदर पनि फरक छ र जति प्रचार गरेता पनि कोरोना भाइरसको महामारी कोरोना समूह सार्स र मर्स जति घातक होइन ।

हालको तथ्याङ्कलाई विचार गर्दा पनि सरदर १० लाख जनसङ्ख्या आधार मान्दा पनि विश्वभर सबैलाई सङ्क्रमित बनाउँदा र विशेषज्ञहरुका अनुासर  बढीमा २० लाख र कम्तीमा १० लाख मात्र मानिसको मृत्यु हुने देखिन्छ । यसबाट प्रस्ट छ कि, कोरोना भाइरस जति खतरनाक भाइरस भनेर प्रचारित गरेता पनि त्यत्ति खतरनाक त होइन । तर अन्य रोगबाट ग्रसित जस्तै मिर्गौला, मुटु, फोक्सो डाईवेटिज, क्यान्सर आदिबाट पीडित व्यक्तिहरूलाई चाँहीँ अति नै घातक देखिन्छ । बढी उमेरका र गर्भवती महिलाहहरु पनि जोखिमको समूहमा पर्दछन् । 

यो लेख कुनै पनि राष्ट्र, संस्था तथा व्यक्तिहरूको हालसम्म गरिएको प्रयासहरूको आलोचना गर्न खोजिएको होइन । सुरुमा चीनको उहान सहरबाट सुरुवात हुँदा चीनको सरकारले कठोर लकडाउनको विधिबाट नियन्त्रण गर्न सक्याे , जसले गर्दा डब्लु एचओले पनि सम्पूर्ण राष्ट्रहरूलाई लकडाउन तथा सोसियल डिस्ट्यान्सिङ्गको सल्लाह दियो टेस्ट टेस्ट टेस्टलाई अगाडि बढाउन सल्लाह दिएको पाइन्छ । धेरैजसो राष्ट्रहरूले यसै विधिलाई अपनाएता पनि  सङ्क्रमित दरलाई नियन्त्रण गर्न सकिरहेका थिएनन् । तर केही राष्ट्रहरू जस्तै ताइवान र न्युजिल्याण्डले यसलाई नियन्त्रण गर्न सफलता हासिल गरे । तर केही राष्ट्रहरू, जस्तै जापान र स्विडेनले लकडाउनको नीति विपरित गएर पनि केही  हदसम्म सङ्क्रमणलाई नियन्त्रण गर्न सफल भएका छन् ।

सुरुको अवस्थामा, भाइरसको बारे जानकारी नहुँदा लकडाउनको नीति अपनाउँदा बुद्धिमानी नै देखिन्छ । तर लकडाउनको नीति अपनाउँदा हाल विश्वले ठुलो मूल्य चुकाउँदै छ, र यसले  भविष्यमा ठुलो आर्थिक मन्दी ल्याउने सम्भावना छ, जसले गर्दा कोरोना भाइरसको कारण भन्दा बढी मानिसहरू भोक, रोग तथा गरिबीको कारणबाट मर्ने देखिन्छ । यसै कारणले धेरै राष्ट्रहरूले लकडाउनलाई खुकुलो बनाउँदै गई रहेका छन् ।

नेपालको सन्दर्भमा १ हजार भन्दा बढी जनालाई सङ्क्रमित भएर ५ जनाको मृत्यु भइसकेको छ । नेपालले पनि विश्वभरका अन्य राष्ट्रहरूले अपनाएको लकडाउनको नीति अपनाएर हाल जेठ २० गते सम्म लम्ब्याएको छ । तुलनात्मक रुपमा सङ्क्रमित दरलाई नियन्त्रण गरेर  यसमा सफलता मिलेता पनि तर नेपालले ठुलो मूल्य चुकाउँदै आएको छ ।
मुख्यता रेमिट्यान्स, व्यापार तथा पर्यटनमा आधारित अर्थतन्त्र, विश्वभर आएको आर्थिक मन्दि पर्यटन क्षेत्रमा आएको ह्रास तथा विदेशमा गएका मानिसहरूमा फर्कँदा पर्ने  आर्थिक तथा सामाजिक चापले गर्दा आगामी दिनहरू कठिन हुने देखिन्छ । यस्तो  आर्थिक विषम परिस्थितिमा  के लकडाउन लम्बाउँदै जाने हो भने नेपालले ठुलो आर्थिक –सामाजिक दुर्घटना निम्त्याउँदै छ । 

अबको दिनमा कोरोना भाइरससँग डराएर होइन डटेर मुकावला गर्नु पर्दछ । लकडाउनलाई केही खुकुलो बनाउँदै सोसियल डिस्ट्यान्सिङ्गलाई विचार गरी हवाई तथा अन्य सार्वजनिक यातायातलाई सुचारु रूपले सञ्चालन गर्नु पर्दछ । पहिलो चरणमा कृषि, उद्योग तथा सामान्य व्यापारलाई खुला गर्न जरुरी छ । हालको अवस्थामा राजनीतिक सम्मेलन तथा जुलुस जस्ता कार्यलाई नियन्त्रण गरी सामान्य जनचेतना गर्न छुट दिनु पर्दछ । सुरुमा विद्यालय, कलेज तथा विश्वविद्यालयहरूमा सामान्य प्रशासनिक कार्य गर्न छुट दिएर अनलाइन कक्षा सञ्चालन गर्नु वातावरण बनाउन सकिन्छ । उमेर पुगेका र अन्य रोगबाट ग्रसित व्यक्ति, गर्भवती महिलाहरू बाहेक सामान्य मानिसहरूलाई सामान्य गतिविधि गर्न छुट दिनु पर्दछ ।

अन्यथा, लकडाउनको असान्दर्भिक विधिनै लागु गर्ने हो भने भविष्यमा आउने ठुलो आर्थिक–सामाजिक दुर्घटनालाई सबै नेपालीहरूले  भाेग्नु पर्ने ५ अतः समयमै सचेत हुनु जरुरी छ ।