सेन्ट्रल जेल र भद्र बन्दी गृह नरक र स्वर्ग जस्तै फरकः पैसा दिई मिलापत्र गरी बाहिर आउने प्रस्ताव अस्वीकार !
थुनुवाको डायरी: नखाएको विष
जेठ १७, २०७७

भद्र बन्दी गृहकाे २६औँ दिन  २०६७/०७/१५  सोमवार (१ नोवेम्बर २०१०)

'नुहाउनको लागि पानी खुल्यो' भनेर माइकबाट सुचना जारी गर्‍यो । यहाँ नुहाउनको लागि आफूले चाहेको बेलामा पानी पाउँदैन । यस्तै हप्ता दश दिनमा एकचोटि पाइन्छ । बाल्टिन लिएर पानी थाप्न गएँ । अरूहरू दुईटा बाल्टिन लिएर आएका छन् । आफ्नो त एउटा मात्र बाल्टिन छ । पानी थापेर आएँ । बाहिर बसेर नुहाउन लागेँ ।

नुहाइरहँदा मलाई घरको याद आयो । घरमा ग्याँस गिजरमा पानी तताएर तातो पानीले नुहाउँथेँ । यहाँ चिसो पानीले नुहाउनु परिरहेको छ । मानिस परिस्थितिको दास हो । परिस्थितिले आज चिसो पानीले नुहाउन बाध्य तुल्यायो । साबुन लगाउँदा पनि घरको याद आयो । अझ श्रीमतीलाई सम्झेँ । म नुहाइरहँदा उनी आउँछिन् । हेर ढाडमा कति मैलो छ भनेर मैलो माडेर साबुन पानीले पखाली दिन्छिन् । राम्ररी शरीर पुछि दिन्छिन् ।

मेरो श्रीमती कृष्णा, मेरो स्वास्नी मात्र होइन । मेरो जीवनमा उनको अनेकौँ भूमिका छ । आमाले जस्तै मलाई भोक लाग्यो कि भनेर चिन्ता लिइ हरदम खुवाउन तयार हुन्थिन् । बच्चाले आमालाई तेल मालिश गरि दिए जस्तै म कामबाट थाकेर आउँदा तेल मालिश गरिदिन्थिन् । उनी पढेलेखेकी नभए पनि उनको स्मरणशक्ति गजवको थियो । साथीसँग सल्लाह गरेझै हामी सल्लाह गथ्र्यौँ । हामी एक अर्कामा पूर्ण विश्वास गर्थ्यौ । कुनै बेला कुनै किसिमको गल्ती हुन गएमा हामी एक अर्कासँग माफी माग्थ्यौँ । यसरी चखेवा–चखेवी जस्तै बसिरहेका हामीलाई ती अधर्मी बच्चाहरूले गर्दा आज छुट्टिएर बस्नु परेको छ ।

नुहाएर एकछिन घाममा बसिरहेको बेला माइकबाट मेरो नाम बोलायो । ढोकामा गएको त सालिकराम आएको रहेछ । उसले पनि यहाँ भित्र परेकोमा दुखेसो पोख्यो । म निरपराध छु भन्नेमा ऊ पनि विश्वस्त छ । आगामी कार्तिक ३० गते पाँगा धुसिको गौतम बुद्ध विहारमा कठिनोत्सव हुँदैछ । त्यस विहारको सञ्चालक समितिको सचिव म अहिले थुनुवामा बसिरहनु परेको छ । १७ नं पुनरावेदनबाट छिटो छुटोस भन्ने शुभकामना दिएर गयो ।

मानिस हत्यारा किन बन्छ ? यदि त्यतिबेला मलाई फसाउने ती बच्चाहरूलाई उनीहरूले भेट्टाएको भए बाँकी राख्थ्यो होला त ? अवश्य राख्दैन थियो होला । उनीहरू भन्दै थिए - 'हाम्रा बाबु जस्तो सरलाई यस्तो दुःख दिने उनीहरूलाई भेटेँ भने गर्न जानेछु ।'

पत्रिका पढिरहेको बेला फेरि माइकबाट मेरो नाम बोलायो । भान्जा भूवन आएको रहेछ । उसँग भेटघाट गरेँ । उसले पनि आइन्दा कुनै पनि गरिव बच्चा भनेर माया नगर्न सल्लाह दियो । सम्झना अर्यालको आमा कल्पना अर्यालले पनि म जेल परेकोमा दुःखेसो पोखेको कुरा बतायो । सम्झनालाई यहाँ भेट्न आउनु भन भनेँ साथै भोलि म सेन्ट्रल जेल जाँदैछु । आज साँझ खाना खाएर आफ्नो बेडमा बसिरहेको थिएँ । मलाई अर्को नम्बरमा लैजाने भन्यो । किन भनेर सोध्दा, ‘तपाईं बुढो मान्छे राम्रो ठाउँ ५ नं.मा लैजान लिन आएको ।’ एकजना भाइ नाईकेले भन्यो । म उसको पछि लागेँ । हो रहेछ ठाउँ त राम्रै रहेछ ।

२७औँ दिन

आज नयाँ ठाउँमा सुतेको । पहिलेको ठाउँभन्दा अहिलेको ठाउँ राम्रो छ । खाट जस्तो उँचो ठाउँमा सुत्न पाएको छु । हामी पब्लिक ५ जना, भाइ नाईकेहरू चार जना चारैतिर सुत्थे । म ढोकानिर छेउमै सुत्न पाएको थिएँ ।

आज उता सेन्ट्रल जेलमा राजयोग सेवा केन्द्रको सातौं वार्षिकोत्सव समारोह हुँदै छ । उक्त समारोहमा भाग लिन जान मैले पनि नाम लेखाएको थिएँ । त्यसैले चाँडै खाना खाएर तयार भएर बसिरहेँ । एउटा कारागारमा बसेर अर्को कारागारको पनि अनुभव बटुल्न पाइने भएकोले मेरो मन रोमाञ्चित भएको छ ।

१०:४५ बजे सेन्ट्रलमा जानको लागि ढोका खुल्यो । लाइनमा बसेर गएँ । पर्खाल र घरको विचमा सात फुट जतिको बाटो रहेछ । त्यहाँबाट भित्र लगियो । वास्केटवल कोर्टमा कार्यक्रमस्थल बनाईएको रहेछ । कार्यक्रम सुरु भएको थिएन । त्यसैले यताउता घुम्न थालेँ । घरहरू हेर्न थालेँ । दक्षिणतिर एउटा नयाँ दुईतल्ले घर छ । अरू चारैतिर पुराना दुई तल्ले घरहरू रहेछन् । चिया खाने होटलहरू चारवटा रहेछन् । मःमः पसल, छ्वय्ला, चाउमिन, थुक्पा, माछादेखि बंगुरसम्मको मासु पाइदो रहेछ । चुरोट पसल तीन वटा रहेछ । चिया पसलमा बसेर चुरोट पिउन पनि हुँदो रहेछ । कपडा पसल पनि रहेछ ।

ओम शान्तिको कार्यक्रम संचालन भयो । म सुनिरहेको थिएँ । अचानक माइकबाट मेरो नाम बोलायो । म छक्क परेँ । आज मलाई भेटघाट गर्न नआउनु भनेको थिएँ । यहाँसम्म कसले भेट्न आएको होला भनेर भेटघाटस्थलमा गएँ । बाटो निकै लामो रहेछ । भेटघाट गर्ने ठाउँमा पुग्दा म अचम्भित भएँ । डा.देवकाजी डंगोल, डा.अजय सिंह र सुजेन्द्र महर्जन आउनुभएको रहेछ । तीनैजनासँग हात मिलाएँ ।

'हामी भ्वाइस अफ चिल्ड्रेनमा गएर आएको मैले सबै कुरो बुझीसकेँ । भोलि बच्चाहरू भेट्न जानेछौँ । तिमी निर्दोष छौं भन्नेमा मलाई विश्वास छ । उनीहरूले यस्तो आरोप किन लगाएको होला ?’ डा.डंगोलले सोध्नुभयो ।

मैले सबै यथार्थ कुरा बताएँ ।

'अब ५,१० लाख दिएर भए पनि मिलाउनु पर्‍यो । तिमी छिट्टो बाहिर निस्कनु पर्‍यो ।' डा.डंगोलले भन्नुभयो ।

'हुँदैन, पैसा दिएर, मिलाएर म बाहिर आउन चाहन्न । त्यो संस्थालाई पैसा दिनु भनेको फेरि मजस्तै अर्को बूढालाई फसाउन प्रोत्साहन दिनुजस्तो हुनेछ । मैले गर्दै नगरेको अपराधमा कसरी सजायँ हुन्छ ? यदि सजायँ नै भए पनि भु्क्तान गर्न म तयार छु ।’

यतिकैमा समय सकियो भनेर हामीलाई कुरा गर्न दिएन । तीनैजनासँग हात मिलाएर म भित्र गएँ । भद्रवन्दी गृहमा जस्तो धेरैवेर कुरा गर्न नपाइने रहेछ । सेन्ट्रल जेलभित्र यताउता घुम्न लागेँ । भद्रबन्दीजस्तो सफा सुग्घर रहेनछ । जहाँ पायो त्यहाँ बसेर चुरोट पिउन पाइने, नालीमा पानी जमेको छ । मिनिरल वाटर बोटल पनि नालीमा फालिराखेको छ । जताततै कागजको टुक्राहरू देखिन्छ । पान खाएर पिच्च पिच्च थुकिराखेको छ । एक प्लेट चिउरा र छ्वय्ला खाएँ । ५० रुपयाँ लियो ।  मलाई त भद्रमा कहिले फर्कुंला जस्तो भयो । सेन्ट्रल जेल र भद्रबन्दी गृह नरक र स्वर्ग जस्तै फरक रहेछ । २:४५ बजे हामी भद्रवन्दी गृहमा फर्किर्यौं ।

२८औँ दिन 

ओहो ! म यस भद्रबन्दी गृहमा आएको अठाइस दिन भइसकेको रहेछ । कति छिटो समय बितेछ । मलाई त एक हप्ता पनि भएको छैन जस्तो लाग्छ । परिस्थितिसँग सामना गर्न सकेँ भने मानिस जहाँ पनि बस्न सक्दोरहेछ । जीवन एक चुनौती हो । त्यसको सामना गर्न सक्नुपर्छ । आज मैले कहिल्यै नसोचेको ठाउँमा आएर बस्नु परेको छ । परिस्थितिले मलाई यहाँ ल्याइ पुर्‍यायो । मैले चाहेर यहाँ आएको होइन । त्यसैले मैले यहाँ बस्दिन भनेर सुख पाउँदिन । मानिस परिस्थितिको दास हो । मैले चाहे पनि नचाहे पनि मुद्दा नछिनेसम्म यहाँ बस्नै पर्छ । यो मेरो बाध्यता हो । यो कुरालाई मैले बुझेको छु । त्यसैले यहाँको परिस्थितिसँग मैले घुलमिल हुन सक्नुपर्छ । यहाँको परिस्थितिसँग घुलमिल भइसकेको छु । त्यसैले त मैले अठाइस दिन बितेको चालै पाइनँ । यो मेरो सफलता हो ।

जीवन एक खेल हो । यसलाई स्वीकार गर्न सक्नुपर्छ । खेलमा हिजो जति पटक जिते पनि आज पनि जित्नुपर्छ । आज जित्न सकेन भने हिजोको रेकर्ड तोड्न सक्छ । आज हारेँ भनेर निराश हुनुहुँदैन । आजको हारलाई जीतमा बदल्न मेहेनत गर्नुपर्छ । एकचोटि जित्दैमा सँधै जितिन्न । जित्नको लागि निरन्तर अभ्यास गरिरहनु पर्छ ।

Past is past, Future is uncertain, Present is most important यो कुरा कहिल्यै बिर्सनु हुँदैन । त्यसैले भविष्यको ठूलो सपना देख्नु हुँदैन । यदि त्यो सपना पूरा भएन भने मानिसलाई पीडा हुन्छ । त्यो पीडा सहन सकेन भने मानिस पागल हुन्छ या आत्महत्या गर्छ ।

अस्ति हनुमान ढोकाको खोरमा बस्दा पेशीको दिन सामान्य धरौटीमा छुटूँला भन्ने मेरो ठूलो आशा थियो । त्यही आशाले गर्दा पेशीको व्यग्रताका साथ प्रतीक्षामा थिएँ । त्यो प्रतीक्षाको घडी मैले कति छटपटीमा, पीडा र वेदनाले बिताएँ । त्यो मलाई मात्र थाहा छ । मात्र मलाई थाहा छ ।

सरकारी वकिल कार्यालयमा बयान दिन जाँदा भान्जा नरेन्द्र, बहिनी नन्दकुमारी, रामकुमारी, मेरो छोरा–बुहारी लगायत विद्यार्थीहरू अनिशा, सरिता, नीम्ता, कृष्णकुमारी, सविना आएका थिए । त्यतिबेला मलाई हतकडी लगाएर ल्याएको देखेर सबैजना रोएका थिए । त्यसमध्ये सम्झना त मलाई समातेर डाँको छाडेर रोएकी थिइन् । त्यो कति पीडादायी क्षण थियो । मलाई पनि रुन आएको थियो । तर म रोइनँ । सबैभन्दा बुज्रूक म हूँ । म रोएँ भने उनीहरूलाई कति पीडा हुन्छ होला ।

मानिस हत्यारा किन बन्छ ?  यदि त्यतिबेला मलाई फसाउने ती बच्चाहरूलाई उनीहरूले भेट्टाएको भए बाँकी राख्थ्यो होला त ? अवश्य राख्दैन थियो होला । उनीहरू भन्दै थिए - 'हाम्रा बाबु जस्तो सरलाई यस्तो दुःख दिने उनीहरूलाई भेटेँ भने गर्न जानेछु ।'

गर्नु र भन्नुमा फरक छ । आवेशमा मान्छेले जे पनि गर्न सक्छ । जोशमा होस नभएर त ठूलाठूला अपराध हुन जान्छन् । पछि होस खुलेपछि पछुताउनु पर्छ ।

१२: ४५ बजे अचानक माइकबाट मेरो नाम बोलायो । पक्कै छोरा आएको होला भनेर लुगाको पोका लिएर गएँ । ढोकाबाट बाहिर हेरेको त मेरी प्यारी जीवन संगीनी कृष्णा र बुहारी सरू आएका रहेछन् । मेरो मन हर्षले प्रफुल्लित भयो । कृष्णा अस्ति जस्तो दुब्लाएकी छैनन् । अहिले मुख पनि उज्यालो छ । कुराकानीको क्रममा थाहा पाएँ । डा. डंगोल हिजो मेरो घरमा गएको रहेछ । मैले पैसा खुवाएर मिलाएर बाहिर निस्कन्न भनेको कुरो डा. ले घरमा गएर भनेछ । किन त्यसो भनेको भनेर श्रीमतीले सोधिन् । यहाँ कति दिन बस्ने विचार छ ?

'मैले गर्दै नगरेको अपराधमा सफाइ पाउनु पर्छ । मिलाएर बाहिर आएँ भने मैले अपराध गरेकोले त संस्थालाई पैसा ख्वाएर बाहिर आएको भन्छ । मेरो इज्जत जान्छ ।' मैले भनेँ ।

हामी कुरा गरिरहेको बेला छोरा आयो । कार्तिक २५ गते पुनरावेदनमा मेरो पेशी राखेको कुरा छोराले बतायो । हामी चारै जना बसेर निकैबेर कुराकानी गर्‍यौँ । निकैबेर कुराकानी गरेपछि घरमा नाती निशान्त एक्लै छ भनेर गए ।

१७ नं पुनरावेदनबाट छुटिएला भन्ने मलाई विश्वास छैन । यहाँ सबै जनाले भन्छन् १७ नं भनेको जिल्ला सदर नम्बर हो सयकडा उनान्सय प्रतिशत जिल्ला सदर हुन्छ भन्छन् । घरका मान्छेहरू भने मलाई छुडाउन सकिन्छ भनेर पानी सरह पैसा खर्च गरिरहेका छन् । डुब्तेको तिनकेका सहारा भनेझै सबै आशावादी छन् ।

यो पनि

थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

थुनुवाको डायरीः साहित्य सम्मेलनमा  दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !

थुनुवाको डायरीः कोही छोरीका बलिन्द्र धारा आँसु ! कोही छोरीद्वारा यौन दुराचारको आरोप !!

थुनुवाको डायरी: मेरी प्यारी कृष्ण ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ !!