बुढा डिट्ठा जिबाको अर्ती र आकाशको फल : ' तैँले सकिस् भने एउटा राम्रो अस्पताल बनाउनू र त्यो च्याङ्लुङ् नबेच्नू'

फर्केलान् र ती दिनहरू

बुढा डिट्ठा जिबाको  अर्ती  र आकाशको फल  : ' तैँले सकिस् भने एउटा राम्रो अस्पताल बनाउनू र त्यो च्याङ्लुङ् नबेच्नू'

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ १७, २०७७

जब अतीतको बगैँचामा कोही घुम्न थाल्छ, त्यहाँ सबै राम्रा फूलहरुमात्र भेटिँदैनन् । कतै फूल टिप्दा काँडाले घोचेको स्मृति पनि स्वतः आउँछ । एउटा फूल फुल्न प्रकृतिका धेरै तत्त्वहरूको संयोजन जरुरी भए जस्तै एउटा व्यक्तिको व्यक्तित्व निर्माणमा कहिले कुन तत्त्वले त कहिले कुन घटनाले प्रभाव पारेकै हुन्छ । फेरि जब मन पुराना समयमा फर्केर ती कुराहरूमा, स्थानहरूमा एकाग्र भएर घुम्न थाल्छ, पुराना कुराहरू ताजा भएर सामुन्ने आउँछन्  । जसरी कि म त्यही समयमा बाँचिरहेको छु या त्यही समयमा तिनै पात्र तथा स्थानमा घुमिरहेको छु । त्यो बेलामा आएको प्रतिक्रिया फेरि ताजा हुन्छ र आवेशमा आउने या भाव विह्वल हुने हुन्छ ।

जब पुराना कुराहरू सम्झिरहेको हुन्छ, कति बेर आँखामा आँसु छचल्किएको हुन्छ या बगिरहेको हुन्छ, थाहै हुँदैन । सिनेमा हेर्दा सुरुमा त लाग्छ, म कुनै नाटकको गतिशील रिलमा हेर्दैछु, यो फगत कृत्रिम हो तर हेर्दै जाँदा आफ्नै भावावेशले मान्छे खुसी हुने, रुने गर्छ । त्यो त थाहा भएको कृत्रिम नाटक हो र पनि त्यस्तो हुन्छ भने स्मृति त आफ्नो निजी मामिला हो, आफूलाई बाहेक अरूलाई त्यस बेलाको अनुभूति थाहै हुँदैन । पहिलो पटक कुनै व्यक्ति भेट्दाको अनुभूति र त्यससँग बर्सौँ उठबस गरेपछिको अनुभूतिलाई नै हामीले दाँजेर हेर्‍यौँ भने स्पष्ट हुन्छ, पहिले के सोचिएको थियो र पछि के भयो । त्यो अनुभूति दुवैमा उस्तै हुन पनि सक्छ या पीडक र पीडितमा फरक फरक त हुन्छ नै । आफू पीडित भए जुन अनुभूति हुन्छ, त्यो पीडकमा पक्कै हुँदैन र एक अर्कालाई पीडक या पीडित मान्ने पनि हुन्छ । 

त्यसैले त कतिपय विस्मृतिका पोल्टामा पुगेका कुराहरू पनि ताजा मात्र होइन कि क्रिया प्रतिक्रिया जनाउँदै वर्तमानलाई समेत चुनौती दिन थाल्छन् । आफूले त्यस बेलामा किन खपियो होला भनेर वर्तमानमा प्रतिशोध जन्मन पनि सक्छ या सबै कुराहरूलाई विस्मृतिको गर्भमै रहन दिने इच्छा पनि हुन्छ किनभने अब ती पात्रहरू पनि नहुन सक्छन् या त्यसपछिका परिणामहरूले पीडितलाई मलम लगाइसकेको पनि हुनसक्छ । तर नसम्झँदा बिर्सेर बसेको कुरा जब एकाग्र भएर सम्झन थालिन्छ, अनि एउटा नयाँ चेतनाले काम गर्न थाल्छ किनभने कतिकुराहरु त बिर्सन पनि थालिएको हुन्छ । 

यो अनुभूति प्रत्येक चेतनशील प्राणीमा पक्कै हुन्छ । घोडा धेरै दिनपछि जब आफ्नो तबेलामा आउँछ, कसरी हिनहिनाउँदै दौडँदै आफ्नो वासस्थानमा जान लालायित हुन्छ । बस्तुभाउमा पनि यो स्मृति देखिन्छ । फरक के हो भने मानिसमा सुनेर, सोचेर र मनन गरेर बोल्ने संज्ञा प्रकृतिले दिएको छ । फेरि मानिसचाहिँ कस्तो प्राणी हो भने नसिकाई उसले जान्दै जान्दैन । जस्तो कि एउटा गाईको बाच्छालाई कहिल्यै पनि उसकी माउले यहाँनिर दूधको फाँचो छ, आइज र खा भनेर सिकाएको देखिँदैन र हिँड्न पनि था था थै थै गरेर सिकाएको पनि पाइँदैन । यो चीज खानु हुन्छ, यो चीन खानु हुँदैन भनेर सिकाएको पनि हुन्न तर प्रकृतिजन्य तरिकाले उसले जानेको हुन्छ, चाहे त्यो अरू मानिसबाहेकका प्राणीमा होस् या  हामीले पालेका पाल्तु जनावरमा होस् । त्यो नै उसको जन्म सिद्ध गुण हो । मानिस तर नसिकाए जान्दैन । मानिसमा फेरि कस्तो गुण हुँदो रहेछ भने प्रत्येक पाइलामा, क्षणमा जानेका कुराहरूलाई सङ्गतिपूर्ण तरिकाले आफैँमा स्वतः जोडेर दैनिकी चलाउने एउटा अचम्मको गुण हुन्छ जसलाई विवेकको रूपमा हामीले मानेको हुन्छौँ । प्रत्येक प्राणीमा आहार, निद्रा, भय र मैथुनिक क्रियाको गुण हुन्छन् । आहार निद्रा भय मैथुनञ्च भनेर हाम्रा पुर्खाले उहिल्यै अनुसन्धान गरेका थिए । हामी शिक्षाको कुरा गर्दा भन्छौँ नि, ! जीवन बाँच्न चाहिने गुण आवश्यक छ किनभने पहिले मानिसलाई सिकाउनु पर्छ अनि त्यही मानिसले यस्तो समीकरण तयार गर्छ कि त्यसलाई अझ बढी विकास गरेर झन् सहज र सर्व स्वीकार्य बनाउँछ । 

अहिले पनि त्यो जग्गा मेरो नाममा छ २२ रोपनी जत्ति । जब जब म ग्वाल्टारमा पुग्छु , बुढा हजुर बाको त्यो अर्ती सम्झन्छु र सपनामा अस्पतालको परिसर पनि देख्छु । जब बिपनामा आउँछु, लाग्छ त्यो काम बाँकी नै छ । मैले आयुर्वेदसम्बन्धी अस्पतालका बारेमा एक पटक समाजसेवी बालप्रसाद शाहीसँग कुरा पनि गरेको थिएँ र उहाँले गुलियो आश्वासन पनि दिनु भएको थियो तर खोइ के भयो भयो, अझै त्यो आकाशको फल भएको छ ।

यसो हेर्नुस् त, प्रत्येक मानिसमा फरक फरक ल्याकत हुन्छ किनभने उसले कुनै कुरा कसरी सिक्छ, त्यसलाई कसरी लिन्छ र कसरी आफैँमा प्रयोग गर्न जान्दछ भन्ने कुराको अहिलेसम्म कुनै मापन हुन सक्दैन, सकेको पनि छैन । प्रत्येक व्यक्ति आफैँमा फरक हुन्छ अर्कोभन्दा । भन्छन् कपालको रौँ र हातका औँलामा रहेको चिन्हहरू कसैगरी पनि मिल्दैनन् । सायद ल्याप्चे लगाएर प्रमाणित गर्ने कारण त्यही होला । हस्त रेखाका आधारमा मानिसको पहिचान गर्ने । अचेल कम्प्युटरलाई त्यसको जिम्मा दिइएको छ विद्युतीय हस्ताक्षरका लागि या पहिचानका लागि । बायो मेट्रिक पहिचान । तर मानिसहरूमा  कतिपय  प्राकृतिक गुणहरू एउटै हुन्छन् । हामीले त्यसैले शिक्षामा पाठ्यक्रम बनाउँदा सामान्य सम्झेर एउटै गुणका आधारमा अनिवार्य विषयहरूको चयन गर्ने  र विशिष्ट गुणहरू पहिल्याउने अनि मात्र शिक्षा बच्चाको असल क्षमताको आधारमा ज्ञान दिने भन्ने । सायद त्यसैले होला, औषधि विज्ञानले उस्तै रोगका लागि पनि प्रत्येक व्यक्तिमा रहेका प्रत्येक फरक फरक गुणहरूका आधारमा औषधिले प्रभाव पार्ने भएकाले फरक फरक औषधिको उत्पादन गरेको । 

आज म मेरो त्यो बालापनको स्मृतिमा बुढा डिट्ठा जिबासँग पुगेको छु । मेरा बाको पनि मावलीतर्फका बाजे, हजुरबा या जिबा । उहाँलाई सबैले डिट्ठा बाजे नै भन्थे । उहाँको नाम थियो गोपीकृष्ण उपाध्याय बराल । सामान्यतः बा, बाजे या जिबा, आमा, काकी, बज्यै, मामा, माइजू, फुपू, फुपाजु, दिदी, भिनाजु, दाजु भाउजू, पुरेत बा, भानिज बा वा भान्जी आमा कसैको पनि नाम काढेर बोलाउने चलन थिएन र अहिले पनि त्यो असभ्यता नै हो । तर अहिले त्यस्तो गरिँदैन र नाम काढेर बोलाइन्छ । अनि उस्तै नाम र थर अनि नाता पर्दा कुनै पहिचानको आधार चाहिन्थ्यो किनभने उहाँका कान्छा छोरा गुणराज जिबालाई पनि डिट्ठा नै भन्थे । उहाँ कान्छो छोरा बुढा डिट्ठा जिबाको । बुढा जिबा एकदम हक्की । पुराना कुराहरूको एउटा जिउँदो इतिहास । साँच्चै डिट्ठा भएर राजकाज चलाएर आउनु भएको राणाकामा । कानुनी र व्यावहारिक ज्ञानका लागि बुढा डिट्ठा जिबासँग सोध्न नजाने कोही पनि हुँदैनथ्यो । मलाई उहाँले पनाति भन्नुहुन्थ्यो र साह्रै माया गर्नुहुन्थ्यो । उहाँका तीन ओटा छोराहरू हुनुहुन्थ्यो र मैले थाहा पाउँदा जिबा माहिला छोरा (माहिला हजुरबा मेरा लागि )सँग बस्नुहुन्थ्यो । उहाँका तीन ओटा छोराहरू हुनुहुन्थ्यो—जेठा भैरवप्रसाद, माहिला कुलप्रसाद र कान्छा गुणराज । 

बुढा जिबा नै  हाम्रो गाउँमा त्यो बेलामा सबैभन्दा मान्यवर उमेरमा, ज्ञानमा र क्षमतामा । त्यो घरमा मभन्दा अलि जेठो भए पनि मुकुन्द काका हुनुहुन्थ्यो, सँगैको साथी टंकु काका अनि माहिला काकाको छोरो डम्बर थिए । तर म साथीहरूसँग खेल्नभन्दा पनि हजुरबासँग पुराना कुरा सुन्न र केही अर्ती लिन जान्थेँ । बुढा हजुर बा मूल ढोकानिरको चौकीमा बस्नुहुन्थ्यो एकदम सफा ओढ्ने ओढेर र नरम राडीमा । सायद उहाँका माहिला भाइ बलभद्र बराल अलि पहिले नै स्वर्गे हुनुभएको थियो र साहिँला भाइचाहिँ उहाँको घरभन्दा माथिको टोलमा बस्नुहुन्थ्यो । कडा हुनुहुन्थ्यो साहिँला बाजे तर अत्यन्तै मायालु । अनि धेरै कुराहरू त अब सम्झनामा पनि छैन । धेरै सोचे केही सम्झनामा आउला । मेरा बालाई पनि बोलाएर बुढा जिबाले कतिपय कुरा अह्राउनु हुन्थ्यो । हामी उहाँलाई हातमा ढोग्थ्यौँ किनभने म उहाँकी भतिजीको पनि नाति थिएँ अर्थात् छोरीपट्टिको नातिको छोरो । हाम्रो चलन अहिले पनि छोरीलाई ढोग्ने, बहिनीलाई ढोग्ने, छोरी या बहिनीतर्फका सन्तान आदरणीय । टिका लगाएर दक्षिणा दिनु पर्ने नाता । भान्जा भान्जीहरूलाई मान्नु पर्ने ढोगेर । चाहे आफूभन्दा जति सानो हुन् । अनि एक दिन बुढा हजुरबाले मलाई काखैमा जस्तो राखेर भन्नुभयो - पनाति, त्यो नवराज पनि रामेछापतिर गयो । सायद उहाँलाई नवराज काका रामेछापमा गएर राजनीति गरेको मन परेको थिएन क्यारे ! नवराज काकाबाट सिन्धुलीमा नै राजनीति गरेर यहाँकै धेरै विकास होस् भन्ने चाहना थियो । पछि नभन्दै रामेछापमा त धेरै विकास गर्नुभयो पनि । अझै सक्रिय हुनुहुन्छ रामेछापको विकासका लागि । बुढा हजुरबाले समयको ठुलो मार खप्नु भएको थियो बाबुराम काकाको सहादत पछि सायद । उहाँको माहिलो छोराको जेठो छोरो बाबुराम काकालाई रौतहटमा प्रति क्रान्तिमा मारेका थिए राणाहरूले । 

तर हाम्रो गाउँमा काँग्रेसले नै मार्न लगाएको रे किनभने उहाँलाई ठुला नेताहरूले नेतृत्व क्षमताका कारणले खपेका थिएनन् रे भनिन्थ्यो । अनि उहाँले के सम्झेर हो म करिब ८- ९ वर्षको बच्चालाई किन  यसो भन्नु भयो,  थाहा छैन । म सामान्यतया बाजेसँग पुराना कुराहरू बारम्बार सोधेर बस्थेँ र जिज्ञासा राखेर प्रश्न सोधेर बस्थेँ । यहाँको विकास गर्ने भनेको तेरा बा –मेरो नाति, हाम्रो कान्छो गुणराज, जिम्मवाल पुण्यप्रसादले हो । सीताराम पनि केही गर्दछु भनेर लागेको छ । तेरो बाबुले किनेको च्याङ्लुङ् हाम्रो लच्छिनको जग्गा हो र मैले नै त्यो जग्गा किन भनेर भनेको हुँ । यो गाउँमा एउटा अस्पताल चाहिन्छ भोलिका दिनमा । तैँले सकिस् भने बनाउनू एउटा राम्रो अस्पताल बनाउनू र त्यो च्याङ्लुङ् नबेच्नू । मेरो जेहेनमा आज पनि त्यो बुढा हजुरबाको अर्ती मनमा खोइ किन हो गढेर बसेको छ । म एउटा सामान्य कमाइ भएको पेन्सनर शिक्षकले कसरी त्यो पूरा गर्न सकुँला । उहाँको सङ्केत च्याङ्लुङ्मै अस्पताल खोल्नु भन्ने थियो जस्तो लाग्छ । 

अहिले पनि त्यो जग्गा मेरो नाममा छ २२ रोपनी जत्ति । जब जब म ग्वाल्टारमा पुग्छु , बुढा हजुर बाको त्यो अर्ती सम्झन्छु र सपनामा अस्पतालको परिसर पनि देख्छु । जब बिपनामा आउँछु, लाग्छ त्यो काम बाँकी नै छ । मैले आयुर्वेदसम्बन्धी अस्पतालका बारेमा एक पटक समाजसेवी बालप्रसाद शाहीसँग कुरा पनि गरेको थिएँ र उहाँले गुलियो आश्वासन पनि दिनु भएको थियो तर खोइ के भयो भयो, अझै त्यो आकाशको फल भएको छ । ग्वाल्टारमा सायद अब चाँडै ५० शैय्याको अस्पताल बन्दैछ स्थानीय गोलन्जोर गाउँ पालिकाको सरकारले । तर मेरो मनमा अहिले पनि त्यो आयुर्वेदिक अस्पतालको संरचना छँदैछ । सोचौँ, पक्कै त्यो पूरा होला, भन्छन् नि, भगवानले भन्छन् रे तँ आँट, म पुर्‍याउँछु । 

हाम्रो गाउँमा बरालहरू बाका मावली, पोखरेलहरूमध्ये जेठा छोरालाई अन्तरे बाजे कृष्णभक्त पाध्येकी जेठी छोरी दिएको रहेछ, माहिला छोरालाई माहिली छोरी दिएको रहेछ, त्यसैले पोखरेलहरूमा कान्छा छोरालाई त कुटुम्बका आधारमा नाता परिहाल्यो । अनि हाम्रो गाउँमा थापा काजीहरू, कार्की काजीहरू हुनुहुन्थ्यो । एउटा घर माझीको थियो गाउँको माथिल्लो भित्तोमा अनि एउटा भनौँ या दुई ओटा घर थिए हाम्रै परिवारका सदस्यहरू भुजेलको । किन एउटा वा दुई ओटा भनेका भने खासमा जहानसिंह सान दाइको मात्र घर थियो जहाँ राती उनीहरूका परिवारका सदस्यहरू सुत्न जान्थे । कर्णबहादुरका सन्तानहरू कि त हाम्रो घरमा थिए कि त कान्छा बाका घरमा थिए ।  काहिँलो हाम्रा घरमा अनि उसकी आमा भनेकी पार्वती धाई आमा कान्छा बाको घरमा । त्यसैले खासमा घर भनेर बस्न जाने चाहिँ एउटै घर थियो । हाम्रो घरको अलिमाथि । हुन त ग्वाल्टार पहिले माझीहरूकै वासस्थान थियो रे । अहिले पनि कान्छा बाको छोराहरूको बारीलाई माझीबारी भनिन्छ पनि । हामी साना हुँदा पुराना घरहरू सिस्नोको झाङसहित देखिन्थ्यो र भनिन्थ्यो ती घरहरू माझीहरूका हुन् । पछि पाटुमा ग्वाल्टारे माझी भनेर भनिन्थ्यो , त्यसले पनि के बुझिन्छ भने ग्वाल्टारमा माझीहरू बस्थे होलान् । अनि नाताको कुरा गर्दा नेपाली सामाजिक अवस्था अत्यन्तै समझदारीरुपमा चल्ने र सहकारितामा आधारित देखिन्छ । 

खास गरी ब्राह्मण र क्षत्रीहरुको सामाजिक चलन, मगर जातिको सामाजिक चलन, नेवार समुदायको सामाजिक चलन, तामाङ जातिको सामाजिक चलन र किराँती समुदाय, तमु समुदाय र थारुको सामाजिक चलन फरक फरक दर्शनमा आधारित भएको पाइन्छ । खास गरी ब्राह्मण, क्षेत्री, सन्न्यासी, थारु, कामी, दमाई, सार्की र मधेसका बहुतायत जात तथा समुदाय सबैको एउटै हिन्दु दर्शनअन्तर्गतको वैदिक परम्पराअनुसार र अरू जातिको प्रकृति पूजन र परम्परागतरुपमा चल्दै आएको चलनलाई मानेको पाइन्छ । थारुहरूको सामाजिक चलन वैदिक हुँदाहुँदै पनि केही मौलिक परम्पराअनुसार चलेको पाइन्छ । भन्न त स्वयं सिद्धार्थ गौतम नै थारु समुदायका हुन् भन्ने पनि छन् । नेवार समुदाय अहिले पनि हिन्दु र बौद्ध धर्ममा बाँडिएको छ । हुन त अहिले जुन धर्म पनि मान्न सकिन्छ र अरू धर्ममा पनि लागेका छन् तर परम्परा भने समन्वयात्मकता मानेको देखिन्छ । नेवार समुदायलाई वैदिक चलनका आधारमा सम्झने हो भने वैश्यको रूपमा बाँडिएको छ । मगरहरूको नेपालको पश्चिम भागमा, किराँतीहरूको केन्द्रीय शासन खास नेपालमा, तामाङहरूको शासन नेपालका विभिन्न भागमा चले पनि चाहे शुक्ल यजुर्वेदका आधारमा होस् या अथर्व वेदका आधारमा होस् या मुन्धुमका आधारमा होस्, ती सबै बहुजन हिताय, मानव कल्याणको दर्शनका आधारमा भएको पाइन्छ । मगर, गुरुङ जातिमा कोही हिन्दु त कोही बौद्ध धर्मावलम्बी भएको पनि पाइन्छ । इस्लाम धर्मी तथा इसाई धर्मावलम्बीहरूको आफ्नै धार्मिक चलन छ र पनि नेपालीहरूमा अलि फरक धार्मिक सहिष्णुता देखिन्छ । आपसमा मिलेर बस्ने चलनको उदाहरण नेपालमा मात्र पाइन्छ । त्यसको एउटा स्वरूप हाम्रो गाउँमा पनि पाइन्थ्यो । र अझै पाइन्छ । ब्राह्मण र क्षत्रीहरु वैदिक परम्पराअनुसार चलेकै छन् तर परम्परागत चलेकाले थाहै छैन कि यो परम्परा वैदिक हो या चलन मात्र हो । 

ग्वाल्टारमा पनि बाहुन र क्षेत्रीको बाहुल्यता भएको बस्ती थियो । हाम्रो नाता कुटुम्ब ग्वाल्टारमा नै थियो । बरालहरू बाका मावली, पोखरेलहरू भान्जा भान्जी अनि हाम्रा पुरोहितहरू पनि जेठा पोखरेल ईश्वरीप्रसाद पोखरेल हुनुहुन्थ्यो जेठी फुपुबज्यैको जेठो छोरो । विवाहका लागि एउटा परम्परागत सीमाको नाता तयार गरेको छ समाजले । कति पुस्तासम्म विवाह गर्नु हुँदैन र कति डोली चलेको भए कति पुस्तासम्ममा विवाह हुने हुन्छ । मावली र घरतर्फका ६ र ५ जोडेर ११ पुग्दासम्म विवाह गर्नु हुँदैन भन्ने छ जुन कुरा मुलुकी संहिताले परम्परागत चलनका आधारमा हाडनाताको व्यवस्था गरेको छ । जस्तो कि बाहुन र क्षेत्रीले मामाकी छोरी विवाह गर्नु हुँदैन तर ठकुरीहरूको चलन छ परम्परागत । कतिसम्म भने ठकुरीहरूको मामा भनेको ससुरा पनि हो र ससुरा भनेको मामा पनि हो । अर्थात् मामाकी छोरी हक लाग्छ भनेर मानिएको छ । त्यस्तै मगरमा पनि छ । केही गुरुङ र तामाङमा फुपूकी छोरी विवाह गर्ने चलन पनि रहेछ । अब त त्यो चलनभन्दा नयाँ समाज निर्माण हुन थालेको छ । मागी विवाहको परम्परागत चलन र हेरेर मन पराउने चलनमा फरक त हुन्छ नै । मातृ प्रधान समाज र पितृ प्रधान समाजका बिचको अन्तर अहिले त्यस्तो नभए पनि पहिले त्यही नै समाज सञ्चालनको आधार थियो भन्ने बुझ्न सकिन्छ । 

अतीततिर रुमलिन थाल्दा के के सम्झन पुगिन्छ , वर्तमानसँग र अतीतसँगको जुहारी खेल्न पो पुगिन्छ ।

क्रमशः