फूल

फूल

जिचेन स्याङतान  |  साहित्य  |  जेठ १७, २०७७

साँच्चै भन्नु पर्दा
त्यति सजिलो छैन
फूल भएर बाँच्न

नानीबाबुले देख्नै हुन्न
आहा भन्दै टिपिहाल्छन्
भीरपाखाले देख्नै हुन्न
अक्करे शिरमा सिउरिहाल्छन्

साँच्चै भन्नु पर्दा
त्यति सजिलो छैन
फूल भएर बाँच्न

बेलौतीको क्यालेण्डरमा
दशैँ र तिहार 
देखिन थालेपछि
ऐश्वर्य भई फुलिदिनुपर्छ 
घरघरमा
लिङ्गे पिङ खेलिदिनुपर्छ
गलागलामा

कहिले,
साक्षी भइदिनुपर्छ
मित्रताको डोरी कस्न
कहिले,
साँघु भइदिनुपर्छ
दुई मनको ढिस्को जोड्न

कतै, 
गमला भइदिनुपर्छ
कसैको सोखमा 
कतै,
श्रद्धाञ्जली भइदिनुपर्छ
कसैको शोकमा 

साँच्चै भन्नु पर्दा
त्यति सजिलो छैन
फूल भएर बाँच्न

फूल भएपछि
खोपीका देउताहरु खोज्दै 
सखारै
ढोग्न पनि जानुपर्छ । 

ललितपुर, वाग्मती प्रदेश