प्रकाश थाम्सुहाङ | साहित्य | जेठ १७, २०७७
प्रतेक दिन उदाइरहेछ घाम
नदी बगिरहेछ आफ्नै लयमा
फूलले छाडेको छैन फूल्न
बतास बहिरहेछ बेरोकटोक
झरीको पहिलो स्पर्शबाट निःसृत
माटोको सुगन्ध उस्तै छ
साँझमा उस्तै छ आकाशको गुलाबी रङ्ग
उस्तै छ चराहरूको सुमधुर संगीत
सदाझैं
जङ्गल फेरेर नयाँ बस्त्र, गाइरहेछ बर्ष गीत
उसरी नै नृत्यरत छ पुतली
उभौलीमा उभैँउभोँ उडीजाने
कर्याङकुरूङको आवाज उस्तै छ
उस्तै छ कालीझार माड्दै थातथलो फर्कने
तितेमाछाको लहर
फगत मानिस शान्त छ
कि ऊ दुम्सी चुपचाप लुकेको छ दुलोमा
र बाहिर
आधुनिक शिकारी लगाइरहेछ धुँवा ।
इलाम