चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगका लक्षणहरु 

चिनी रोगमा पाइने लक्षणहरूले चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूले आफूलाई चिनी रोग भए नभएको कुरा पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरेर रगतको जाँच गराउनु पर्छ ।

चिनी रोग भएका व्यक्तिहरूमा चिनी रोगका लक्षणहरू हुन पनि सक्छन् नहुन पनि सक्छन् । चिनी रोगीहरूलाई ज्यादा पिसाब लाग्ने, मुख सुक्ने, भोक लाग्नेदेखि कमजोर हुने, दुब्लाउँदै जाने र शरीर चिलाउने जस्ता लक्षणहरू देखा पर्छन्  । यी लक्षणहरू चिनी रोगमा मात्र नभएर अन्य रोगहरूमा पनि पाइन्छन् । यसर्थ चिनी रोग भएको कुरा पत्ता लगाउन रगतको ग्लुकोज जाँच्नु पर्छ ।

चिनी रोगका प्रकार 

चिनी रोग पहिलो (Type 1) र दोस्रो (Type 2) दुई प्रकारको हुन्छन्  । करिब ९० प्रतिशत चिनी रोगीहरू दोस्रो प्रकारका हुन्छन् भने ५-१० प्रतिशत पहिलो किसिममा पर्छन् ।

पहिलो प्रकारको चिनी रोग केटाकेटीहरू र युवा युवातीहरुमा पाइने गरेको छ । पहिलो प्रकारको चिनी रोगलाई पनि Type 1 A  र Type 1 B  मा विभाजन गरिएको छ । अटोइमुन रोग लागेर प्यांक्रियाजको विटा सेल नष्ट भएर हुने चिनी रोगलाई Type 1 A  भनिन्छ । Type 1 B चिनी रोगमा विटा सेल नास गर्ने अटो इमुन रोग पाइँदैन र यसको कारण पनि थाहा पाइएको छैन ।

पहिलो प्रकारको चिनी रोगमा प्यांक्रियाजका विटाकोषहरु रोगग्रस्त भएर इन्सुलिन पैदा हुँदैन जसको फलस्वरूप रगतमा ग्लुकोज ज्यादा हुनुको साथै रगत अम्ल भएर पिसाबमा एसिटोन देखा पर्छ । पहिलो किसिमको चिनी रोगबाट पीडित किशोर किशोरीहरू प्राय गरेर दुब्ला हुन्छन् र यिनीहरू वेहोसी अवस्थामा अस्पताल पुग्छन् । केही प्रतिशत युवायुवतीहरूको चिनी रोग पहिलो प्रकारको भएता पनि यिनीहरूमा मोटोपन हुन्छ । कहिले काहीँ चिनी रोग पहिलो किसिमको हो वा दोस्रो किसिमको हो भनेर छुट्ट्याउन गाह्रो पर्छ । पहिलो प्रकारको  चिनी रोगीहरुलाई इन्सुलिनद्वरा उपचार गर्नु पर्छ भने दोस्रो प्रकारका रोगीलाई खाने ओखतीहरूले नै चिनी रोग नियन्त्रण गर्न सकिन्छ । यसर्थ चिनी रोग पहिलो किसिमको हो वा दोस्रो किसिमको हो भनेर छुट्ट्याउन अति आवश्यक हुन्छ । 

यस्तो अवस्थामा विशेष प्रकारका रगतका जाँचहरू गर्नुपर्ने हुन्छ । आइलेट सेल र ग्लुटामिक एसिड डिकार्वेक्सिलेज-६५ अटो एण्टी बडी रगतमा पाइयो भने पहिलो किसिमको चिनी रोग भएको मान्नु पर्छ । त्यस्तै ग्लुकागोन प्रयोग पछिको सी–पेप्टाइड कम पाइयो भने पनि पहिलो किसिमको चिनी रोग हुने सम्भावना हुन्छ ।

विभिन्न किसिमका औषधिहरूले पनि रगतमा ग्लुकोज बढाउँछन् । उच्च रक्तचापमा प्रयोग गरिने बिटाल्वकर समूहका औषधिहरू, मोक्सि फ्लोक्सासिन, ओलाञ्जपिन, नायासिन, ग्लुकोकर्टिकोष्टेरायड, परिवार नियोजनमा प्रयोग गरिने औषधि, र साईल्कोसपोरिन जस्ता ओखतीहरूले रगतको ग्लुकोज बढाउँछन् । कार्योडिलोल विटाल्वकर समूहको औषधि भए पनि यसले रगतको ग्लुकोज बढाउँदैन भनिएको छ ।

आधिकांस चिनी रोगीहरु दोस्रो किसिमको चिनी रोगमा पर्छन् । दोस्रो किसिमको चिनी रोगमा प्यांक्रियाजबाट इन्सुलिन पैदा भइरहेपनि यो निष्क्रिय हुन्छ । केही चिनी रोगीहरुमा इन्सुलिन निस्कन कम हुँदै जान्छ । यी दुवै अवस्थामा रगतको ग्लुकोज ज्यादा हुन थाल्छ । रगतमा इन्सुलिन भएर पनि यसले काम गर्न छोड्यो भने यो अवस्थालाई इन्सुलिन रजिष्टेन्स भनिन्छ । मेटफोर्मिन जस्ता औषधिहरूले इन्सुलिनलाई क्रियाशील तुल्याउन सक्ने भएकाले हिजो आज इन्सुलिनको साथै मेटफोर्मिन पनि प्रयोग गरिन्छ ।

प्राय गरेर दोस्रो किसिमका चिनीरोगीहरुको तौल हुनुपर्ने भन्दा ज्यादा हुन्छ । यिनीहरूको उमेर ४० वर्ष भन्दा बढी हुन्छ । केही प्रतिशत दोस्रो किसिमका चिनीरोगीहरु दुब्ला पनि हुन्छन् । कहिले काहीँ दोस्रो किसिमको चिनी रोगलाई पहिलो किसिमको चिनी रोगबाट छुट्ट्याउन गाह्रो पर्छ ।

चिनी रोगका कारणहरू 

पहिलो र दोस्रो किसिमको चिनी रोग इन्सुलिनको कमी अथवा इन्सुलिन क्रियाशील नभएर हुन्छ । इन्सुलिन कम नभएर पनि रगतमा ग्लुकोज बढेर चिनी रोग हुन सक्छ । विभिन्न किसिमका रोगहरूमा रगतमा ग्लुकोज ज्यादा भएर चिनी रोग हुन सक्छ । यसरी चिनी रोग गराउने धेरै रोगहरू हुन्छन् । यी रोगहरूको विषयमा संक्षिप्त विवरण अब प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

Latent Autolmmune Diabetes in Adults (LADA)

लाडामा पहिलो र दोस्रो चिनी रोगमा पाइने लक्षण्हरु पाइन्छन् । यो किसिमको चिनी रोगमा अटो एण्टी बडी पाइन्छ । सुरुमा यस किसिमको चिनी रोगमा इन्सुलिनको आवश्यक पर्दैन तर पछि इन्सुलिनको आवश्यक पर्न सक्छ ।

Maturity Onset Diabetes of the young (MODY)

मोडी प्रया गरेर २५ वर्ष भन्दा कम उमेर भएका युवायुवातीहरुम पाइन्छ । यो किसिमको चिनी रोग हुनेहरूको सङ्ख्या एकदमै कम छ । यो किसिमको चिनी रोगमा इन्सुलिन दिनुपर्दैन र यसमा प्यांकक्रियाजका अटो एण्टी बडी पनि हुँदैन । यो किसिमको चिनी रोग अटो सोमल डोमिनेण्ट तरिकाले सन्तानहरूमा जाने रोग मानिएको छ  र ५० प्रतिशत छोराछोरीहरूलाई यो  रोग लाग्छ ।

मोडीमा प्यांक्रियाजको विटा सेलहरुलाई नियन्त्रण गर्ने जिन  प्रभावित भएर इन्सुलिनको कमी हुन्छ जसको फलस्वरूप रगतमा ग्लुकोज ज्यादा हुन्छ । प्यांक्रियाज अटो एण्टी बडी हुनेहरूमा मोडी हुने सम्भावना हुँदैन । मोटोपन नभएका चिनी रोगीहरुलाई मोडी हुने सम्भावना हुन्छ । यो किसिमको चिनी रोगको निदान जिनको जाँच गरेर पत्ता लगाउन सकिन्छ । चिनी रोगमा धेरै प्रकारका जिनहरू प्रभावित हुन्छन् । यहाँ उल्लेखित प्रभावित जिन पत्ता लगाउने जाँच धेरै ठाउँमा उपलब्ध छैन र यो जाँच गराउन सम्भव हुँदैन ।

Wolfram syndrome

ओलफ्रामले इन्सुलिनद्वारा उपचार गर्नुपर्ने चिनी रोग सन् १९३८मा पत्ता लगाएका हुन । यो किसिमको चिनी रोग हुनेहरूको सङ्ख्या एकदमै कम हुन्छ ।ओलफ्रामले पत्ता लगाएको यो रोगमा रगतमा ग्लुकोज ज्यादा हुनुको साथै धेरै पिसाब लाग्ने डायवेटिज इन्सीपिडस र आँखाको अपटिक एट्रोफी नामक रोग पनि हुन्छ ।

प्यांक्रियाजमा बिटा र अल्फा सेल हुन्छन् । विटा सेलबाट इन्सुलिन उत्पन्न हुन्छ भने अल्फा सेलबाट ग्लुकागोन निस्कन्छ । इन्सुलिनले रगतको ग्लुकोज बढ्न दिँदैन तर ग्लुकागोनले रगतको ग्लाइकोजनबाट ग्लुकोज  बढाउँछ । रगतमा ग्लुकोज बढ्ने अर्को कारण कलेजोमा भएको ग्लुकागोनबाट ग्लुकोज ज्यादा पैदा हुनु हो । रगतबाट ग्लुकोज शरीरका विभिन्न अङ्गहरूमा पुग्छ र त्यहाँका कोषहरूले ग्लुकोज प्रयोग गर्छन् । यसरी कोषहरूले ग्लुकोज प्रयोग गरेर रगतमा ग्लुकोज बढ्न दिँदैनन् ।

यसरी रगतमा ग्लुकोज घटी बढी हुँदा कसैको रगतमा ग्लुकोज कम हुन्छ भने कसैको ग्लुकोज ज्यादा भएर चिनी रोग लाग्छ ।

सिष्टिक फाइब्रोसिस, सन्तानमा जाने हिमोक्रोमाटोसिस र क्रनिक प्यांक्रियाटाइटिस भएका व्याक्तिहरुलाई पनि चिनी रोग लाग्न सक्छ ।

मानिसको शरीरमा धेरै किसिमका ग्रन्थिहरु छन् । यिनीहरूले हर्मोन पैदा गर्छन् । प्यांक्रियाजका अल्फा सेलहरूबाट ग्लुकागोन, एड्रिनल ग्रन्थिको मेडुलाबाट इपिनेफ्रिन, एड्रिनल ग्रन्थिको कर्टेक्सबाट कटिजोल र अघिल्लो तिरको पिटुइटरी ग्रन्थिबाट ग्रोथ हर्मोन पैदा हुन्छ । यहाँ माथि उल्लेख गरिएका सबै हर्मोनहरुले इन्सुलिनलाई काम गर्न दिँदैनन्  जसको फल स्वरूप चिनी रोग हुन्छ ।

कुशिङ्ग सिण्ड्रोममा कर्टिजोल, एक्रोमेगालीमा ग्रोथ हर्मोन, फियो क्रोमोसाइटोममा इपिनेफ्रिन, ग्लुकागोनोमामा ग्लुकागोन र हाइपर थाईग्वाइडिज्ममा थाईरोकसिन नामक हर्मोनहरु पैदा हुन्छन् । यी उल्लेख गरिएका रोग भएका व्यक्तिहरूलाई चिनी रोग हुने सम्भावना भएकोले रगतको ग्लुकोज जाँच्नु आवश्यक हुन्छ ।

विभिन्न किसिमका औषधिहरूले पनि रगतमा ग्लुकोज बढाउँछन् । उच्च रक्तचापमा प्रयोग गरिने बिटाल्वकर समूहका औषधिहरू, मोक्सि फ्लोक्सासिन, ओलाञ्जपिन, नायासिन, ग्लुकोकर्टिकोष्टेरायड, परिवार नियोजनमा प्रयोग गरिने औषधि, र साईल्कोसपोरिन जस्ता ओखतीहरूले रगतको ग्लुकोज बढाउँछन् । कार्बोडिलोल विटाल्वकर समूहको औषधि भए पनि यसले रगतको ग्लुकोज बढाउँदैन भनिएको छ ।

विषाणु अर्थात् भाइरसको सङ्क्रमण खास गरेर क्रनिक हेपाटाइटिस–सी ले रगतको ग्लुकोज बढाउन सक्छ । गर्भवती महिलाहरूको ल्पासेन्टबाट इन्सुलिनलाई निष्क्रिय पार्ने हर्मोन पैदा भएर रगतको ग्लुकोज बढ्छ । यसरी गर्भ धारण गरेको अवस्थामा हुने चिनी रोगलाई जेष्टेसनल डायवेटिज भनिन्छ ।

एक प्रकारको स्नायु पद्धतिको अटोइमुन रोगलाई स्टीफ पर्सन सिन्ड्रोम (stilff person syndrome)  भनिन्छ । यो रोगमा ढाड कडा भएर हिँडडुल गर्न गाह्रो हुन्छ । यो रोगबाट पीडित करिब एक तिहाइ रोगीहरूलाई चिनी रोग पाइएको छ 


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।