काजक्रियाको खर्चबाट पाँच लाखको अक्षयकोष

काजक्रियाको खर्चबाट पाँच लाखको अक्षयकोष

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १९, २०७७

काठमाडौँ । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले आफ्नी आमाको मृत्युपछि गरिने संस्कार (काजक्रिया)को खर्च कटाएर अक्षयकोष स्थापना गर्नुभएको छ ।

अध्यक्ष गुरुङले गत वैशाख ७ गते मृत्यु हुनुभएकी ७७ वर्षीया आमा चिसकुमारी गुरुङको काजक्रियामा लाग्ने खर्च कटाएर २०७७ साल जेठ १८ गते आइतबार पाँच लाखको अक्षयकोष स्थापना गरिएकाे जनाइएकाे छ । उहाँले विश्वव्यापीरूपमा फैलँदै गएको महामारीलाई ध्यानमा राखेर गुरुङ परम्परानुसार अन्त्येष्टिपछि गरिने अर्घौँको रकम कटाएर संस्कार समाजका नाममा  पाँच लाखको अक्षयकोष स्थापना गरेको जानकारी दिनुभएको छ । 

 'पाँच लाखको अक्षयकोषबाट आउने ब्याजबाट बर्सेनि समाजमा महत्वपूर्ण योगदान दिने प्रेरणादायी व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गर्नेछौँ ', उहाँले भन्नुभयो । अध्यक्ष गुरुङले बुबाआमाको समाज सेवाप्रतिको भावनाको कदर गर्दै उक्त अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले विगत तीन वर्षदेखि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ संस्कार समाज नेपालको स्थापना गरेर सामाजिक कार्य गर्दै आउनुभएको छ ।