शिक्षामा छुवाछुत : समग्र शिक्षा क्षेत्रको अपमान र मनोबल गिराएर कस्तो संवृद्ध नेपालको ढ्वाङ पिट्दै छ सरकार ?
जेठ १९, २०७७

मानिसहरूको आवत जावत खासै नहुने एकान्त ठाउँमा केही वर्षौदेखि एक जना योगी तपस्यारत थिए । धेरैजसो ध्यानमै लीन हुने उनी गाउँलेहरूले मायाले दिने खानेकुराले गुजारा चलाउँथे । योगीको बरेमा सुनेर एक जना शोधकर्ता उनलाई भेट्न आइपुगेछन् । शोधकर्तालाई देख्नासाथ योगीको अनुहारमा अनौठो प्रतिक्रिया देखिएछ । उनको अनौठो व्यवहार देखेर अचम्म मानेका शोधकर्ताले आफ्नो परिचय दिँदै उनलाई भेट्न आउनुको उद्देश्य प्रस्ट पारेछन् । त्यति हुँदा पनि योगीको अनौठो भावमा परिवर्तन देखिएनछ । 

यो देखेर शोधकर्ताले भनेछन् ‘योगी महाराज ! मैले हजुरको ध्यानमा वाधा पुर्‍याएकोमा माफी चाहन्छु । तर हजुर जस्तो महातपस्वीको बारेमा सुनेर हजुरको दर्शन गर्न आएको हुँ ।’

‘यति बेला म तिमीसँग कुरा गर्ने अवस्थामा छैन । तिमी तुरुन्त यहाँबाट फर्किनु बेस ।’ धेरै बेर पछि योगीले यति कुरा बोलेछन् । 

योगीको बोली सुनेपछि शोधकर्ताको अनुहारमा पनि अचानक अनौठो परिवर्तन देखा परेछ । शोधकर्ताले योगीलाई अझै नियालेर हेरेछन् । तलदेखि माथिसम्म, माथिदेखि तलसम्म, दायाँ बायाँ चारैतिरबाट हेरेपछि शोधकर्ता अचम्म र खुसीले उफ्रिएछन् ‘योगी, तिमी ??? तिमी त मेरो युवा उमेरको अनन्य मित्र पो रहेछौ ।’ एकै श्वासमा यति कुरा भन्न भ्याएछन् शोधकर्ताले । ‘धन्न तिमी आजसम्म यहाँ लुकेर बस्न सफल भएछौ । तर तिमीलाई यता पनि खतरा छ । तिमी यहाँ नबस । अन्यत्रै कतै लुक्न जाऊ ।’ 

मित्रको कुरा सुनेर योगी छक्क परेछन् । किन ? भन्ने भावले शोधकर्तालाई हेरिरहेछन् ।  योगी असमन्जसमा परेको बुझेर शोधकर्ताले भनेछन्– ‘सहर भरी तिम्रो खोजी भइरहेको छ । सरकारले तिमीलाई अपराधीको सूचीमा राखेर खोजिरहेको छ ।’

के कति कारणले सरकारले खोजीको सूचीमा राख्यो होला भन्ने लागेछ । आफैले आफैलाई प्रश्न गरेछन् । कहाँ के अपराध गरिएछ होला भन्ने कुरा सम्झिन खोजेछन् । तर उनले अपराध त के, जीवनमा कसैलाई अप्ठेरोमा पर्ने गरी गल्ती गरेको क्षण पनि सम्झन सकेन छन् । धेरै बेरको मौनता पछि शोधकर्तालाई सोधे छन् ‘जानकारीको लागि धन्यवाद मित्र ! तर मैले कुन अपराध गरेको रहेछु, त्यो कुरा बुझ्न सकिन्न ।’ 

निजी विद्यालयहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने मौका दिएको हो । त्यसो हो भने कार्यकारी अधिकार सहित सामुदायिक विद्यालय निजी विद्यालयको जिम्मामा सरकारले दिन सक्छ ? तर मलाई लाग्दैन, सरकारले यो हद सम्मको हिम्मत गर्ला ! नियत सफा भए पो ? मलाई लाग्छ, सरकारको यो घोषणाले स्वयं सामुदायिक विद्यालयका प्रअ शिक्षकहरूको पनि अपमान गरेको छ । राज्यबाट यसरी अपमानित हुनुपर्दाको पीडा अरूले शायदै बुझ्लान् । समग्र शिक्षा क्षेत्रको मनोबल गिराएर कस्तो संवृद्ध नेपाल निर्माण गर्ने कुरा गरेका हुन् ?

‘तिमीले युवा उमेरमा आफ्नो सम्पूर्ण सम्पत्ति लगानी गरेर आफ्नो ठाउँमा स्कुल र कलेज स्थापना गरेको अपराध ।’ पत्याउनै नसकिने कुरा गरेछन् शोधकर्ताले । उनी भन्दै गएछन् ‘तिमीले समाजको हित गर्छु भनी स्कुल–कलेज स्थापना गर्‍यौ, त्यतिले नपुगेर सारा सम्पत्ति त्यही स्कुलको नाममा राखेर हिँड्यौ । आज त्यो ठाउँ निकै ठुलो सहर बनिसकेको छ । तिमीले सञ्चालन गरेको स्कुल–कलेजमा पढेर हजारौँ विद्यार्थीहरूले चेतनाको दियो बालेका छन् । अहिले पनि हजारौँ बिद्यार्थीहरु पढ्छन् ।’ 

‘अनि मेरो अपराध !’ योगीको प्रश्न  गरेछन् ।

‘कुरा यहीँनेर आउँछ । शासकहरूको जन विरोधी काम, राष्ट्रियता विरोधी कामहरूको विरोधमा तिम्रो स्कुल कलेजका शिक्षक विद्यार्थीहरूले आवाज उठाइरहे । बिस्तारै त्यो विरोधले विद्रोहको रूप लियो । शासकहरू बिद्रोहीहरुलाई दबाउने बाटोमा लागेका छन् । उनीहरूले विद्रोहको कारण खोज्दै गए । तिम्रै स्कुल–कलेजलाई विद्रोहको मूल केन्द्र मानिरहेका छन् । शासकहरूले त्यसको पनि कारण खोजे । यदि तिमीले स्कुल–कलेज स्थापना नगरेको भए, सारा सम्पत्ति लगाएर त्यसलाई ठुलो नबनाएको भए त्यसरी मान्छेमा असल–खराब छुट्टाउन सक्ने चेतनाको विकासै हुने नै थिएन । चेतना विहीनहरूले विद्रोह गर्ने हिम्मतै गर्ने थिएनन् । अन्तमा शासकहरूले त्यो विद्रोहको मूल कारण तिमी नै हौ भन्ने ठम्याइमा पुगेका छन् । उनीहरूको नजरमा तिमीले स्कुल–कलेज खोलेर अक्षम्य अपराध गर्‍यौ । त्यसैले तिमीलाई मष्ट वान्टेडको सूचिमा राखेर खोजी भइरहेको छ । तिमी पनि धेरै वर्षदेखि सहरमा देखा परेका छैनौ । सहरवासीको मनमा पनि तिमी फरार अभियुक्त नै हौ कि भन्ने भान परेको छ ।’

आज नेपाली शिक्षाकर्मीहरुको हालत पनि यस्तै छ । बर्सेनि अरबौँ रुपैयाँ विदेश जानबाट रोक्ने, देश भित्रै अन्तर्राष्ट्रिय गुणस्तर दिन सक्ने गरी विद्यालयहरू स्थापना भए । उद्यमशील बन्ने शिक्षा पाएका विद्यार्थीहरूले शासकहरूको झोले बन्न मानेनन् । धेरैले आफै अवसर निर्माण गर्दै र अवसरको खोजीमा विश्वभरि छरिए । एकै ठाउँमा खुम्चिएर बस्न पनि चाहेनन् । जति जति विश्व परिवेशलाई बुझ्दै गए त्यति त्यति नै शासकहरूको बदमासी बुझ्ने बन्दै गए । तुरुन्तै सत्य, तथ्य सहित प्रतिक्रिया जनाउन सक्ने बने । अर्कोतर्फ नेपालमै स्तरीय स्कुल–कलेजहरू स्थापित भए पछि विदेशी शैक्षिक माफियाहरू पनि तिल्मिलाए । तिनले धमाधम नीति निर्माण तहदेखि सडकमा उफ्रनेहरूलाई समेत निजी विद्यालय विरुद्ध तयार पारे । तिनी माथि लगानी गरे, पालन पोषण गरे ।    

लकडाउनको अवस्थामा बैङ्क तथा अन्य वित्तीय संस्थाहरूबाट लिएको ऋणको व्याज पनि धान्न नसकेर ऐना अगाडि बसेर आफ्नो मुख आफैलाई देखाउन नसक्ने अवस्थामा पुगेका निजी विद्यालयका सञ्चालकहरूलाई ज्येष्ठ १५ गते आर्थिक वर्ष २०७७/०७८ का लागि जारी गरेको बजेट वक्तव्यले माथि कथाको योगीकै हैसियतमा पुर्‍याइदिएको छ । देशको कुल बजेट १४ खर्व ७४ अर्व ६४ करोड मध्ये शिक्षामा सबै भन्दा बढी ११.६४ प्रतिशत अर्थात्, १ खर्व ७१ अर्व ७१ करोड बजेट छुट्टाइएको घोषणा गर्दै गर्दा कोभिड–१९ को महामारीको त्रास देखाएर महिनौँ बन्द हुन बाध्य पारिएका निजी विद्यालयहरू र तिनका शिक्षकलाई केही राहत त के उल्टै एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको स्तरोन्नतिको जिम्मा लिनुपर्ने घोषणाले सबैलाई आहत पारेको छ । सरकार आफैले तीन खम्बे आर्थिक नीतिको उपहास गरेको छ ।

बजेट वक्तव्यको १६६ नं बुँदामा यस्तो कुरा लेखिएको छ, ‘माध्यमिक तह सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सबै निजी विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्तीमा एक सामुदायिक विद्यालयमा पूर्वाधार सामाग्री सहित विद्यालयको शैक्षिक गुणस्तर सुधारको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छु ।’ देशको शिक्षा क्षेत्रमा करिब २३ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई यसरी नजर अन्दाज गर्नुको हिसाब सरकारले समय आए पछि अवश्य पनि चुकाउनु पर्ने हुन्छ ।

सरकारको निर्देशनलाई मानेर निजी विद्यालयहरूले अन्तिम परीक्षा नियमित भन्दा एक हप्ता/दश दिन अघि सञ्चालन गरे । शनिवार भनेनन्, अरू बिदा भनेनन्, तोकिएको जिम्मेवारी पुरा गरे । उता सरकार भने आफ्नो गल्ती कमजोरीको ढाकछोप गर्न, जनताको ध्यान अन्यत्रै मोड्न चैत्र महिनाको शुल्क नउठाउनु भनी उर्दी जारी गर्न तिर लाग्यो । लकडाउन लम्बिँदै जाँदा बालबालिकाहरूको अध्ययनबाट बाधा नपुगोस् भनेर भर्चुअल कक्षा, अनलाइन कक्षा सञ्चालन गर्ने जमर्को निजी विद्यालयहरूले गरे । त्यसमा पनि सरकारले भाँजो हाल्यो । निजी स्कुलका सञ्ंचालकहरुको हुलमा पुग्दा प्रविधि मैत्री शिक्षा आजको आवश्यकताको राग अलाप्दै हिँड्ने, स्कुलहरू अपडेट हुने कि आउटडेटेड हुने भनी तर्साउँदै हिँड्ने सत्ताधारी पार्टीका र सरकारका शिक्षा हेर्ने ठालुहरू, तिमीले भनेझैं अपडेट हुन प्रविधि र नयाँ प्रयोगहरू गर्दा किन टाङ अड्काउनु परेको ? 

शोषक र सामन्तीको कुरा गरेर नथाक्नेहरु आफै किन यति धेरै शोषक बनेका ? किन यति धेरै सामन्ती बनेका ? बजेटमा निजी विद्यालय सञ्चालकहरुले व्यक्तिगत फाइदाका निम्ति के पो मागेका थिए र ? भोका शिक्षकलाई राहत देऊ भन्यो । राहत दिन नसके ऋृण देऊ, ऋृणको रकमबाट तलब आफै खुवाउँछौं भन्यो ! के निजी विद्यालयमा अध्यापन गराउने शिक्षक नेपाली नागरीक होइनन् ? के उनीहरूलाई मात्र भोक लाग्दैन ? के शिक्षामा छुवाछुत सुरु भएकै हो त ? मलाई यहाँनेर मित्र तथा कवि प्रेम राईको  ‘दलित र निजी विद्यालय’ शीर्षकको कविताको कवितांश प्रक्तुन गर्न मन लागेको छ,

मेरो पैसा चल्ने, मेरो सेवा चल्ने
मेरो अब्बल नतिजा पनि चल्ने
मेरो नाम चाहिँ नचल्ने ?
उता दलितको नाममा
रुकुममा नवराज बिक मारिए
यता दलित जस्तै भएर सिंहदरबारका
राता पुस्तकहरूमा
राजपत्रहरूको हरफ हरफमा दलित भनेर
निजी विद्यालयहरू
धमाधम भेरीमा फालिइदैछन
मलाई सोध्न मन लागेको छ
तिमी मेरो सरकार हौ कि कसाई ?
तिमी मेरो अभिभावक हौ कि सौतेला माई ?

लकडाउनको अवधिमा सिन्को नभाँची बस्ने । हामीले तिरेको करबाट तलब खाने । हामी भने रातदिन थाहा नपाउने गरी काम गर्ने, तर सित्तै आउने धन्यवाद पनि नपाउने ? जनताबाट चुस्नुसम्म चुसेको रकम तलब र भत्तामै स्वाहा गर्नेहरू अझै आफ्नो जिम्मेवारी निजी विद्यालयलाई पन्छाउन खोज्ने? 

ललिपप खानेले भन्लान्, सरकारले निजी विद्यालयको व्यवस्थापकीय क्षमताको सम्मान गरेको हो । निजी विद्यालयहरूलाई आफ्नो क्षमता प्रमाणित गर्ने मौका दिएको हो । त्यसो हो भने कार्यकारी अधिकार सहित सामुदायिक विद्यालय निजी विद्यालयको जिम्मामा सरकारले दिन सक्छ ? तर मलाई लाग्दैन, सरकारले यो हद सम्मको हिम्मत गर्ला ! नियत सफा भए पो ? मलाई लाग्छ, सरकारको यो घोषणाले स्वयं सामुदायिक विद्यालयका प्रअ शिक्षकहरूको पनि अपमान गरेको छ । राज्यबाट यसरी अपमानित हुनुपर्दाको पीडा अरूले शायदै बुझ्लान् । समग्र शिक्षा क्षेत्रको मनोबल गिराएर कस्तो संवृद्ध नेपाल निर्माण गर्ने कुरा गरेका हुन् ? शैक्षिक जगतलाई दुःखी बनाएर कसलाई  सुखी बनाउने कुरा गरेका हुन् ? बुझ्न सकिएको छैन ।

सानो छँदाको एउटा घटनाको याद आयो । टाउको दुख्यो, पेट दुख्यो भने गाउँकै वैद्यसँग झारफुक गराउने चलन थियो । जेसुकै भए पनि वैद्यले कि त दोबटे भूत मन्छाउने कुरा गर्दथ्यो या त नाग लागेको भन्थ्यो । मेरी आमालाई यस्ता कुरामा खुबै विश्वास लाग्थ्यो, त्यसैले परिवारका कसैलाई सामान्य ज्वरो आउँदा पनि अक्षता मन्छाउने वा नाग पूजा गरिहाल्नुहुन्थ्यो । 

एक पटक यस्तो भयो, जति सुकै अक्षता मन्छाए पनि वा नाग पूजा गरे पनि समस्या समाधान भएन । जति जति मान्यो उति उति दुःख दिइरह्यो भन्ने बुझाई भएछ आमालाई । यो कुराले आमालाई निकै आक्रोशित बनायो । रिसको झोँकमा उहाँले कोपरामा फोहर गरेर नाग स्थापना गरेको ठाउँमा खन्याइदिनुभयो  । नाग पूजा गर्ने ठाउँ पनि भत्काइदिनु । त्यो दिन देखि भूत मन्छाउने र नाग पूजा गर्ने काम सधैँको लागि बन्द भयो । नाग वा भूत लाग्न पनि कम भयो । जुन दिनदेखि डर आफै डराउन थाल्यो, समस्या समाधान भयो । 
यस्तो दिन नआओस् नेपाली शैक्षिक जगतले पनि अक्षता मन्छाउन र पूजा गर्नुको बदला अरू नै केही गर्नु नपरोस् ।  
 


महर्जन भक्तपुरको बालकोटस्थित माउण्ट भ्यू ई. बो. स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका प्राज्ञिक सल्लाहकार र क्वेष्ट नेपालका अध्यक्ष हुनुहुन्छ ।