पढाउने कि सिकाउने ? बन्दाबन्दीमा स-साना नानीहरूको स्वतन्त्रता खोसिँदै
जेठ २०, २०७७

हिजोआज राजधानीमा निजी विद्यालयमा पूर्व प्राथमिक पढ्ने स–साना नानीहरूले पनि हात हातमा टयावलोयड, मोबाइल र ल्यापटप लिएर पढिरहेका दृश्य घरघरमा देख्न थालिएको छ । यसले गर्दा बच्चासँगै उनीहरूका अभिभावक पनि त्यत्तिकै सक्रिय हुनु पर्ने स्थिति सृजना हुन थालेको छ । सबै अभिभावक प्रविधिमा नि पूर्ण देखिदैंनन्  । यसले गर्दा कत्तिलाई त यो अनलाइन कक्षा घाँडो समेत  बन्न थालेको छ ।

अनलाइन कक्षा सुरु भएपछि केही दिन पहिले छोरीको साथीको ममीले फोन गर्दै भन्नु भएको थियो ‘असाइनमेन्ट’हरू कहाँ दिन्छ ? कसरी पठाउने ? अनि कुन दिन कसरी पढाई हुन्छ ? पढाइको तालिका कसरी थाहा पाउने ? अनि मैले मेसेँजरमा गएर टिचरलाई एड गर्नुस् अनि त्यही मेसेन्जरमा सबै कुरा आएको हुन्छ भने । आफू प्रविधिमा त्यति धेरै अपडेट नभएकोले छोरीलाई अनलाइन कक्षामा सघाउ पुर्‍याउन निकै गाह्रो भएको अनुभव उहाँको थियो । हुन पनि हो  धेरै अभिभावकहरू प्रविधि मैत्री छैनन् । यसै गरी सबै कहाँ ल्यापटप र टयाव हुन सम्भव हुने कुरा भएन र सबैले स्मार्ट फोन पनि बोक्दैनन्  पनि । यस्तो अवस्थामा अनलाइन पढाइ गर्न असम्भव जस्तो हुन्छ । फेरी सबै ठाउँमा इन्टरनेटको पहुँच पनि त  छैन र सबै जना यो सुविधा लिन सक्ने अवस्थामा पनि छैनन् ।

हतारमा सुरु गरिएको यो अनलाइन कक्षा कुन उमेर समूहका र कति कक्षादेखि पढाउनु ठिक हुन्छ भनेर समेत अध्ययन गरिएको छैन । अनलाइन कक्षा, प्राथमिक तहसम्मका विद्यार्थीलाई लिनुको कुनै औचित्य र तात्पर्य देखिँदैन । प्राथमिक तह अथवा कक्षा ५ सम्म पढ्ने बालबालिकाको उमेर भनेको ११ वर्ष सम्मको हो । प्राथमिक कक्षासम्म आउनको लागि स–साना नानीले प्रारम्भिक बाल कक्षा र पूर्व प्राथमिक कक्षा पूरा गर्नु पर्छ । अहिले निजी विद्यालयले प्रारम्भिक बाल कक्षादेखि प्राथमिक कक्षा पढ्दै गरेका स–साना नानीलाई पनि अनलाइन कक्षा लिइरहेका छन् । उनीहरूले यस्तो महामारीका बेला घरमा निर्धक्कका साथ बसेर अभिभावकसँगै थुप्रै ज्ञान लिन सक्छन् । तर हामीकहाँ शिक्षकले पढाए मात्र विद्यार्थीले पढ्छन् भन्ने सोच अभिभावकले राख्ने चलन छ र आफ्ना छोराछोरीलाई स्कुलको जिम्मा लगाइदिएपछि सबै टन्टाबाट मुक्त भइने विश्वास राख्नु पनि गलत हो । 

निजी विद्यालयमा पढाउने सबै शिक्षक समेत प्रविधि मैत्री छैनन् । कतिपय सामुदायिक विद्यालयमा त कम्प्युटर समेत अन गर्ने चलन नभएकाले कम्प्युटरमा तिन खाप धुलो जमेका हुन्छन् । केही थोरै सामुदायिक विद्यालयले अनलाइन कक्षा र प्रविधि सम्बन्धी तालिम भरखर भरखर लिन सुरु गरेको भए पनि अधिकांश सामुदायिक विद्यालयले अनलाइन कक्षा लिन सक्ने सामर्थ्य राख्दैनन् ।  किनभने विद्यालयले अनलाइन कक्षा लिन जबरजस्ती सुरु गरेर मात्र हुँदैन । त्यहाँ पढ्ने अधिकांश विद्यार्थी निम्न आय स्तर भएका र कत्तिलाई त इन्टरनेटको पहुँचसम्म पुग्न र स्मार्ट फोन किन्न समेत धौ धौ पर्ने देखिन्छ । यस्तो अवस्थामा अनलाइन कक्षा भनी रहने कि बच्चालाई नयाँ सोच, फरक तरिका र घरमै बसेर पढ्न सकिने उपाय खोज्ने ?

अहिले नेपालको नक्सा विवादको कुरा उठेको छ यो विषयलाई लिएर बालबालिकासँग कुरा गर्न सकिन्छ । कोभिड–१९ कै बारे जानकारी दिन सकिन्छ । यस्ता थुप्रै कुरा छन् जून बच्चाले घर परिवारकै सदस्यसँग सिक्न सक्छन् । खेल्ने, उफ्रने, आफ्नो आमाबाबुसँग बसेर रमाउने यी उमेरका बालबालिकालाई कम्प्युटरको की बोर्डमा औला थम्याउन आवश्यक छैन । त्यसैले अनलाइन शिक्षाको विकल्प के के हुन सक्छ यसबारे सोची अब वैकल्पिक माध्यमबाट पढाउन ढिलो गर्नु हुन्न ।

अनलाइन कक्षा र त्यहाँ पढाएको दृश्य देख्दा के लाग्छ भने शिक्षकहरू नयाँ प्रविधिमा पढाएका त छन् तर पढाउने तरिका विल कुल फरक छैन । थोरै शिक्षकले मात्र पावर प्वाइन्टमा आफ्नो सामग्री प्रस्तुत गरे पनि केही शिक्षकहरूले भने मोबाइलमा पाठ्यपुस्तकका पाठहरू खिचेर विद्यार्थीलाई देखाउने र पढाउने  गरेको पाइएको छ ।  इन्टरनेटका कारण शिक्षकले पढाएको बोली समेत बुझ्न कठिन हुने समस्या त छँदै छ त्यसमाथि फोटो खिचिएका स–साना अक्षर पढ्नै नसकिने छ । यस्तो बेलामा बच्चालाई  सिकाइका माध्यम के के हुन सक्छन् ? भनेर सोचिएको छैन र कुनै पनि विद्यालयले त्यो अभ्यास गरिरहेका पनि छैनन् ।  रेडियो, टेलिभिजनबाट पनि बालबालिकालाई शिक्षा दिन सकिन्छ तर त्यो अभ्यास निजी विद्यालयले गरिरहेका छैनन् ।

शिक्षा भनेको सिकाइ हो । केही पनि नयाँ कुराको ज्ञान प्राप्त गर्नु नै शिक्षा हो । शिक्षा अथवा ज्ञान हामीले जो कसैबाट लिन सक्छौँ । घरका परिवारका सदस्यबाट पनि हामीले शिक्षा लिन सक्छौँ । ऋषिमुनि र गुरुहरूबाट ज्ञान लिन सक्छौँ । यसै गरी विद्वान वर्गबाट पनि केही कुराहरू सिक्न सक्छौँ । घरपरिवारबाट प्राप्त गर्न सकिने शिक्षा र जिवनउपयोगी तथा व्यवहारमुखी शिक्षाको हामीले कुरै गर्न सकिरहेका छैनौँ । अहिले यो कठिन समयमा शिक्षकले अनलाइन कक्षा लिँदा पनि पाठ्यपुस्तकलाई आधार मानेर हामीले जीवनमा भोगेका कुराहरूलाई पढाउन सक्नु पर्दथ्यो ।

उदाहरणको लागि कक्षा ६ को नेपाली किताबमा भविष्यको योजना भन्ने पाठ छ । यो पाठ शिक्षकले लाइन बाइलाइन पढाउनु आवश्यक छैन । भविष्य र योजना भनेको के हो ? यसको अर्थ प्रष्टयाई विद्यार्थी सबैलाई आ–आफ्नो भविष्यको योजनाका बारे भन्न र लेखाउन सकिन्छ । यसै गरी सोसल स्टडिजमा हामीले मनाउने चाडपर्व, धर्म संस्कृति, आचरण, समुदाय लगायतका यस्तै कुराहरू नै छन् । यी कुराहरूलाई विद्यार्थीले आफूले मनाउने गरेको चाडपर्व लेखेर प्रस्तुत गर्न लगायो भने विद्यार्थीले आफूले जानेका कुरा लेख्छन् अभिभावकसँग सहयोग माग्छन् । यसरी पढाउन थालियो भने अभिभावकको पनि संलग्नता हुन्छ । तर अनलाइनमा शिक्षकले पढाउँदा नौलो र नयाँ प्रयोग गरेको देखिँदैन । पुरानै शैलीमा पाठ्यपुस्तकका पानाहरूलाई अनलाइनमा पढाइने गरिएको छ ।

पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई अनलाइन कक्षा लिनु कुनै जरुरत छैन । पूर्व प्राथमिक पढ्ने बालबालिका भनेको ८ वर्ष उमेर समूहका नानीहरू हुन् ।  ८ वर्षसम्मको यो अवधिलाई प्रारम्भिक बाल अवस्था भनिन्छ ।  नानीहरूका योे समय भनेको शारीरिक र मानसिक विकास हुने बेला हो । यो उमेर समूहका नानीहरूलाई मानसिक दबाब सृजना गरिनु हुँदैन । यो उमेर समूहका नानीहरू निर्धक्कका साथ उफ्रने खेल्ने र आफ्नै अभिभावकसँग रमाइ रमाई उनीहरूले भोगेका कुराहरू नै  सिकाई गर्ने हो । टयावलोइडमा दिएको होमवर्क गर्न नजानेर दिक्दार हुने समय पनि होइन ।

 अमेरिकी प्राध्यापक न्यान्सी कार्लसनले गरेको अध्ययन अनुसार, सानो उमेरमै विद्यालय जान सुरु गरेका विद्यार्थीमा डर, अलमल र चिडचिडापन हुने गरेको देखा परेको थियो । विकसित देशमा स–साना नानीहरूको लागि त्यहाँको राज्यले खेल्दै सकिने नीति लिएको पाइन्छ र फिनल्यान्डले सात वर्ष मुनिका बालबालिकालाई औपचारिक शिक्षा दिँदैन । आयरल्यान्डमा औपचारिक शिक्षाको लागि बच्चाको उमेर ६ वर्ष भएको हुनुपर्छ । यसै गरी अस्ट्रेलियाले विद्यालय भर्नाको उमेर ६ वर्ष तोकेको छ । बेलायत र अमेरिकाले भने ५ वर्ष पुगेपछि मात्र औपचारिक शिक्षा दिन थाल्छन् । तर हामी कहाँ बच्चा दुई वर्ष हुन पाएको हुँदैन विद्यालय पठाउन हतार भइहाल्छ ।

स–साना नानीहरू जो आफ्नो कुरा समेत राम्ररी भन्न सक्दैनन् यस्ता नानीहरूलाई विद्यालय पठाउन हतार गर्नु हुँदैन । उनीहरूले घरमै धेरै किसिमका शिक्षा लिन सक्छन् । राम्ररी बोल्न सिक्नु पनि शिक्षा नै हो । उनीहरू आफ्ना घरमा, खेल सम्बन्धी शिक्षा, भान्छा घरको शिक्षा, पुलवारिको शिक्षा, छिमेकीका बारे शिक्षा लिन सक्छन् । प्रारम्भिक बाल विकास विज्ञ डा. मिनाक्षी दाहाल भन्नुहुन्छ –पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलाप गराउँदा अभिभावकको सहयोग लिनु जरुरी हुन्छ । उहाँ भन्नुहुन्छ – ८ वर्ष उमेरसम्मका बालबालिकाको लागि कक्षा भित्रको सिकाई प्रभावकारी हुँदैन त्यसैले सिकाइलाई किताब केन्द्रित नबनाएर सिकाई केन्द्रित हुनु पर्छ । बच्चालाई उफ्रन लगायो भने उनीहरू दङ्ग परेर उफ्रिने गर्छन् यसबाट उनीहरूको शारीरिक व्यायाम त हुन्छ नै यसबाहेक हाम्रो शरीरलाई व्यायाम गर्नु किन आवश्यक छ भनेर स्वास्थ्य सम्बन्धी ज्ञान दिन सक्छौ । र उफ्रँदा गन्न लगायौँ भने बालबालिका गन्न सक्छन् र खेल सँगै गणित पनि पढ्छन् । यस्ता थुप्रै कुरा छन् घरमै बसेर पनि बच्चालाई ज्ञान दिन सकिन्छ ।

 त्यसैले ५ वर्ष नपुगी विद्यालय पठाउने तरिका नै गलत हो जून हामी गरिरहेका छौ । बच्चा सुत्ने, खेल्ने खाने अनि रमाउने समयमा हामी बोझ थपेर विद्यालय पठाइरहेका छौँ । अझ यो बन्दा बन्दीको समयमा फेरि अनलाइन कक्षा भन्दै उनीहरूको स्वतन्त्र रहने अधिकारलाई हामी खोसिरहेका छौँ ।  हाम्रो पालासम्म अधिकांश बालबालिकाहरु ५ वर्ष पुगेपछि मात्र विद्यालय जाने चलन थियो । कक्षा १ बाट नै पढाई सुरु हुने गर्दथ्यौ‌ं । ५ वर्ष नपुगुन्जेल हामी घरमै आफ्ना अभिभावकसँग कखरा देखि लिएर १ देखि १०० सम्मका अङ्क जान्थ्यौँ । स्कुल गएपछि एक एक अक्षर।बाट बन्ने शब्द जस्तै, कलम लेख्न सिकाइन्थ्यो । आखिर घरमै बसेर पनि पढ्न सकिन्छ भन्ने प्रमाण हामीसँगै छ  । तर अहिले बाबु आमा दुवै कामकाजी हुने र एकल परिवारमा बस्ने भएकाले बच्चाको हेरचाह र स्याहार सुसार गरिदिने कोही नहुँदा जति नै महँगो शुल्क तिर्नु परे पनि पढ्न पठाएपछि आफू फ्री हुन पाइने सोच अभिभावकहरू राख्छन् । यही सोचका कारण आमाका दूध चुस्ने धेरै बालबालिकाहरु दिनभर पढाइका नाममा पिल्सिराखेका छन् । 

नेपाल सरकारले अभिभावकको सहयोगमा स–साना नानीलाई घरमै गराउन सकिने सिकाई क्रियाकलापका बारे विद्युतीय पुस्तक प्रकाशित गरिसकेको अवस्था छ । यो किताबमा ४५ दिनसम्म पढाउन सकिने शैक्षिक क्रियाकलापहरू समावेश गरिएका छन् । पूर्व प्राथमिक देखि ३ कक्षा सम्मका लागि हुने गरी निकालिएको यो पुस्तकमा बालबालिकाले गर्ने दैनिक क्रियाकलापको समय तालिका लेख्न अभिभावकले बालबालिकालाई सिकाउने रहेको छ । दैनिकी बनाउँदा बालबालिकाका चार पक्षहरू शरिरीक, सामाजिक, संवेगात्मक र बौद्धिक विकासलाई  समेटेर बनाउनु पर्ने सुझाव छ । बच्चाले आफ्नो फोटो टाँसी आफ्नो परिचय दिन सिकाइएको छ । हात धुन र हात धुनुको महत्त्व बारे लेख्न सुझाइएको छ । विद्यार्थीले आज कस्तो महसुस गरेको छ, त्यस्तो बारे चित्र बनाई रङ्ग भर्न सिकाइएको छ । 

 शिक्षाविद् डा. मनप्रसाद वाग्लेका अनुसार–यो बन्दा बन्दीको समयमा केटाकेटीलाई, घर पढाउनुपर्छ, करेसाबारी पढाउन सकिन्छ, घरका व्यवस्थापन प्रणाली पढाउन सकिन्छ । घरको समाज शास्त्र र अर्थ शास्त्र पढाउन सकिन्छ । घरका विज्ञान घरका गणित, घरको भाषा सिकाउनु पनि अध्ययन नै हो । मन्टेश्वरी पढ्ने नानीका लागि त विना टेन्सन हाँस्न खेल्न नाच्न, आमाको काखमा रमाउन, र बच्चा जे गर्दा रमाउँछ त्यही गर्न दिनु हो । घरका सदस्य सँग पनि बच्चाले केही न केही नयाँ कुरा सिकी रहेको हुन्छ । पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई पढाइको बोझ दिनु भन्दा घरमै बसेर आफूले बोल्ने भाषा सम्बन्धी ज्ञान दिनु पनि पढाइ नै हो । आफूभन्दा ठुलालाई आदर गरेर बोल्नुपर्छ अनि सानालाई माया गरी बोल्नु पर्छ भन्ने सिकाउनु पनि ज्ञान नै हो । हेर्दा यस्ता कुरा सामान्य लाग्ने गरे पनि  जीवनमा यसले निकै नै ठुलो अर्थ र महत्त्व राख्दछ ।

किनभने अभिभावकले छोराछोरीलाई प्रेमपूर्ण व्यवहार नगर्दा बच्चा रूखो हुने अनि झर्केर बोल्ने, कसैसँग मित्रवत् व्यवहार गर्न नजान्ने हुन्छन् । त्यस कारण बच्चालाई व्यवहारिक कुरा सिकाउनु पनि ज्ञान नै हो । स साना नानीलाई घरमै सिकाउने थुप्रै कुराहरू हुन्छन्, जस्तो केही पनि कुरा दिएर गन्न लगाउने । यसबाट उनीहरूले गन्न सिक्छन् र अङ्क थाहा पाउँछन् । तपाईँले बच्चालाई हरेक दिन खुवाउने फलफूलबाट फलफूलको नाम सिक्छन् । जस्तो केरा खान दिनु भयो भने यसलाई अंग्रजीमा बनाना भन्छन् भनेर सम्झाउन सकिन्छ । यसै गरी तरकारीको नाम पनि सम्झाउन सकिन्छ । तरकारीको नाम सम्झाउँदै गर्दा हरियो तरकारी हाम्रो शरीरका लागि किन आवश्यक र महत्त्वपूर्ण छ भन्ने विषयमा बच्चालाई सम्झाउन सकिन्छ । बच्चाले प्रयोग गर्ने किताब कापी र कलम लाई अङ्ग्रेजीमा बुक, कपी र पेन भनेर सम्झाउन सकिन्छ । त्यसैले किताबमा लेखिएका कुराहरू रटान गराउनु मात्र पढाई होइन । कामको बारेका जानकारी गराउनु, स्वस्थ रहन हामीले गर्ने क्रियाकलाप बारे जानकारी गराउनु पनि शिक्षा नै हो । 

योग गर्नु किन आवश्यक छ ? अनि ध्यान गर्दा के हुन्छ ? यस्ता जीवन उपयोगी शिक्षा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीलाई सिकाउन सके निकै नै उपलब्धिमूलक हुन्छ । यसै गरी आफ्नो फूलबारीमा बच्चालाई साथै लगेर फलफूलको नाम, विभिन्न फूलहरूको नाम र कस्तो कलरको छ त्यसबारे जानकारी दिन सकिन्छ । कलरलाई प्रकृति र संस्कृति सँगसँगै जोडेर बताउन सकिन्छ । दिनदिनै बच्चालाई चित्र कोर्न लगाउन सकिन्छ । पेन्टींग गराउन सकिन्छ । देशको भूगोल बारे बताउन सकिन्छ । अहिले नेपालको नक्सा विवादको कुरा उठेको छ यो विषयलाई लिएर बालबालिकासँग कुरा गर्न सकिन्छ । कोभिड–१९ कै बारे जानकारी दिन सकिन्छ । यस्ता थुप्रै कुरा छन् जून बच्चाले घर परिवारकै सदस्यसँग सिक्न सक्छन् । खेल्ने, उफ्रने, आफ्नो आमाबाबुसँग बसेर रमाउने यी उमेरका बालबालिकालाई कम्प्युटरको की बोर्डमा औला थम्याउन आवश्यक छैन । त्यसैले अनलाइन शिक्षाको विकल्प के के हुन सक्छ यसबारे सोची अब वैकल्पिक माध्यमबाट पढाउन ढिलो गर्नु हुन्न ।