चार जनालाई कोभिड पोजेटिभ देखिएपछि केएमसी शिक्षण अस्पतालका सम्पूर्ण सेवा स्थगित

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालका  इमर्जेन्सी लगायत सम्पूर्ण सेवाहरू अर्को सूचना नआइन्जेल स्थगित गरिएको जानकारी दिएको छ । 

काठमाडौँ मेडिकल कलेज स्थित अस्पताल प्रशासनले २०७७ साल ज्येष्ठ  २० एक प्रेस नोट जारी गरी सेवाहरू स्थगित गरेको जानकारी दिएको हो ।  प्रेस नोटका अनुसार ४ दिन पहिले कोभिड परीक्षणका लागि स्वाव नमून सङ्कलन गरी टेकु स्थित सरकारी प्रयोगशालामा पठाइएकोमा २०७७ साल ज्येष्ठ  २० को अपराह्नमा रिपोर्ट प्राप्त भएको हुँदा सूचना प्राप्त हुना साथै सेवा लिन आउने नयाँ बिरामीहरूको सङ्क्रमण जोखिम र अस्पताललाई तत्कालै निर्मलीकरण गर्न जरुरी भएको हुँदा तत्कालको लागि सेवा स्थगित गर्नु परेको जनाएको छ । 

कलेजका अनुसार अस्पतालमा उपचारमा आएका २ जना सेवाग्राही र उपचार प्रक्रियामा सामेल २ जना अस्पतालका स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षणबाट कोभिड पोजेटिभ देखिएको थियो । 

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार सङ्क्रमण नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले अस्पतालका २ जना स्टाफलाई आ–आफ्नै वासस्थानमा सङ्क्रमण सम्भावित बिरामीहरूको उपचार भएका दिन देखिनै क्वारेनटाइनमा राख्ने व्यवस्था मिलाइएको र उपचारमा आएका दुवै जना बिरामी पनि उपचार गरी आ–आफ्नै वासस्थानमा फर्किसकेका  छन् । उक्त कुराको जानकारी सम्बद्ध सरकारी निकायलाई दिइसकेको पनि कलेजले जनाएको छ ।