गुमेको हाम्रो पहिचान र विदेशीको गुलाम गर्ने भावी पिँढी उत्पादन गर्ने शिक्षा नीति
जेठ २१, २०७७

शिक्षाको अर्थ बालबालिकालाई प्रशिक्षण, सम्बद्र्धन गर्दै जन्म सिद्ध अन्तर्निहित क्षमता वा गुणलाई  विकसित गराउनु  हो । विवेकनन्दका अनुसार मानिसमा अन्तर्निहित पूर्णताको अभिव्यक्ति प्रदान गर्नु नै शिक्षा हो । तर समाज शास्त्री हेर्बट स्पेन्सरका अनुसार शिक्षाको अर्थ मानव जीवनमा रहेका अन्तर्निहित शक्तिको बाहिरी जीवनसँग समन्वय गराउनु पनि हो ।

समाजलाई केन्द्रमा राखेर शिक्षाको माध्यमबाट व्यक्ति एवम् सामाजिक विकासको साधन मानिन्छ । शिक्षालाई एक सामाजिक प्रक्रिया पनि भनिन्छ  । जहाँ सामाजिक प्रक्रिया वा अन्तरक्रिया हुन्छ, जहाँ भाषा, विचार अचारण समेत प्रभावित हुन्छ । शिक्षा र समाजको उद्देश्य एवम् लक्ष्य प्राप्तिको साधन पनि हो समाज । समाजजस्तो हुन्छ उस्तै खालको शिक्षाको विकास गरिएको  हुन्छ । यस्तै गरेर शिक्षालाई समाजको निरन्तर प्रक्रिया समेत मानिन्छ ।  जुन निरन्तरताको अर्को पक्ष हो– यस प्रसङ्गमा मेकाजीले भनेका छन्– शिक्षा यस्तो प्रक्रिया हो, जहाँबाट व्यक्तिको हरेक जीवनका अनुभवबाट उसको ज्ञानको भण्डार वृद्धि हुन्छ ।  

शिक्षाको व्यापकतालाई हेर्ने हो भने शिक्षाले व्यक्तिको जन्मदेखि मृत्युसम्मको विषयलाई समेट्छ । यसरी हेर्दा शिक्षाले एक पक्षलाई प्रभाव पर्छ भने अर्को पक्ष प्रभावित हुन्छ ।  सोही अनुसारको व्यवहार तथा क्रियाकलाप सम्पादन गर्न सफल हुन्छ भन्दै सामाजिक तथा पर्यावरणीय परिस्थितिलाई जोड दिन्छ । 

शिक्षा विकासको प्रक्रिया हो जहाँ शिक्षाले मानिसलाई परिस्थितिको सम्मान गर्ने मात्रै नभई यसले सामाजिक परिवर्तन गर्ने र परिवर्तनलाई स्वीकार गर्ने मानव शक्तिलाईसमेत तयार पर्ने गर्दछ । यस कारण शिक्षाले मानव तथा समाज दुवैको निर्माण गर्नु पर्दछ । किनकि शिक्षा यस्तो माध्यम हो जसबाट मानिसले आफ्नो सभ्यता एवम् संस्कृतिको निरन्तर विकास गर्दछ ।  जुन एक पिँढीको कला–कौशल अर्को पुस्तामा हस्तान्तरित गर्ने प्रक्रिया विद्यालय शिक्षामा समाहित हुन्छ । यसरी सिकाइ एउटा विकासको अनवरत प्रक्रिया हो जुन बाल्यकालदेखि वयस्क कालसम्म सिकारुलाई सामाजिक वा आध्यात्मिक पर्यावरण परिवेश अनुकूल बनाउँदै लैजान्छ । सोही अनुरूप जीवनलाई सञ्चालन गर्ने अभ्यास गर्दछ । अब के हामीसँग पनि यो क्षमता छ ?

शिक्षाले बालकको अन्तरिम शक्तिलाई बाह्य रूपमा प्रकट गर्दछ तर यदि शिक्षा प्रणाली नै फरक भएमा के हुन्छ ?

शिक्षा परिवर्तन गरी समाज र संस्कारको साख बचाउन तपाईँ हामी एक हुनुपर्ने देखिन्छ ।  यसका लागि केही नगरी राणाहरूले शासन गरेझैँ अब पनि हैकम चलाउने हो भने अबको भविष्य अन्धकारमय नै हुनेछ ।  यो जटिल अवस्थामा सीमा अतिक्रमण राष्ट्र र राष्ट्रियता जस्ता विषय केवल देखाउने कुरा मात्र होइन व्यावहारिक रूपमा कर्म गरेर देखाउने बेला हो । यसका बारेमा हामीले सोच्नु आवश्यक छ ।  

डानायलका अनुसार शिक्षाको कार्य भावनाको अनुशासित, संवेगको नियन्त्रित, प्रेरणाको उत्तेजित, धार्मिक प्रभावबाट विकसित र नैतिकताको अभिवृद्धि गर्नु हो । यदि शिक्षा प्रणाली नै फरक भएमा के पहिचान बच्दछ त ? डी.बी.ले असहाय प्राणीका लागि विकासमा सहायता पुर्‍याउनु न कि ती नैतिक सुख र कुशल मानव बन्न सकुन् ?

यस्तै गरेर शिक्षाका कार्य देश अथवा समय अनुसार बदलिन्छ । किनकि  देशको उत्तम नागरिक देश विकासको आधार स्तम्भ हुन्  । त्यो देश आफ्नो समाजका लागि उपयोगी हुन्छ । यही प्रसङ्गमा राधा कृष्णले भनेका छन् – चरित्र भाग्य हो, चरित्र त्यो वस्तु हो जसमा राष्ट्रको भाग्यको निर्माण हुन्छ ।  तुच्छ चरित्रवाला व्यक्तिले उत्तम राष्ट्रको निर्माण गर्न सक्दैनन् । यसरी हामी नेपाली समाजमा सधैँ जस्तो नयाँ परिवेश र विकासको निर्माणमा कहाँ नेर चुक्यौँ ? अब सोच्ने बेला भयो– हाम्रो शिक्षाले सामाजिक भावना, आवश्यकताको पूर्ति जस्ता पक्षमा बढी जोड दिनुपर्ने हो । तर, के वैदेशिक रोजगारमा पठाएर न्यूनतम आवश्यकता पूर्ति गर्नु हाम्रो शिक्षाको लक्ष्य हो त ? फेरि पनि हेरौँ यसले आत्मनिर्भरतालाई नै मेरुदण्डको रूपमा मान्दछ । के यसले यो कुरालाई पूरा गर्‍यो त ?

वास्तविक र व्यावहारिक कुशलता के मा छ ? सायद कृषिप्रधान देश कृषिमै होला फेरि पनि विश्लेषण गरौँ । जहाँ हामीसँग यस विषम परिस्थितिमा समेत तीन महिनाभन्दा बढी पुग्ने खाद्यान्न छैन भने जीवनको तयारी, आध्यात्मिक विकास र वातावरण अनुकूलन हुने व्यवहारजस्ता कुरालाई शिक्षाले कसरी सम्पादन गर्छ । यही प्रमुख कार्यको अभाव भएको त होइन ? मलाई स्मरण छ कि डा.लक्ष्मीनारायण ढकाल केन्द्रकी ले आफ्नो लेखमा ‘अमेरिका हामी नेपाली भाषी डायस्पोरिक व्यक्तिहरू यति बेला भाषिक हैजाले ग्रसित छौँ । हाम्रा बालबालिकाले मातृभाषा  भुल्न थालेका छन् भने थुप्रै अभिभावकहरू मातृभाषाप्रति जागरूक छैनन् । केही जागरूक व्यक्तिहरूका सक्रियतामा सामुदायिक स्तरमा कमै मात्रामा भए पनि साप्ताहिक भाषा कक्षाहरू सञ्चालित हुँदै छन्  । यो सकारात्मक र आशाजनक सङ्केत हो । ‘यसले जो विदेशमा छन् उनीहरूको भाषाप्रतिको मोहलाई छर्लङ्ग पार्दछ । उसो भए हामीले चाहिँ नेपालमै बसेर के गर्यैँ त ?

शिक्षा मानवीय व्यवहार र क्रियाकलापलाई परिवर्तन गरी कुनै पनि समाज र संस्कृतिको जगेर्ना गर्ने राष्ट्र र राष्ट्रियताप्रति बफादार नागरिक उत्पादन गर्ने प्रमुख माध्यम हो  । साथै  वैज्ञानिक शिक्षा आजको आवश्यकता हो तर हाम्रो शिक्षा र हामी कहाँ नेर हरायौँ, यो बहसको खाँचो  छ । वास्तवमा हामी त्यहाँ चुक्यौँ जहाँ आफ्नू भन्ने रहँदैन । 

हाम्रो शिक्षाले हामी को हौँ भन्ने कुरालाई नै चिनाउँदैन । हाम्रो भाषा, संस्कृति, माटो, भूगोललाई पहिचान गराउने अध्यापनको सट्टा हामी विदेशीका जीवनी पढ्दै छौँ भने अबका बालबालिकाले के सिक्ने र हाम्रो धरोहर कसरी जोगिने हो ? भाषा त गयो, विदेशी गायनको पाठ सिकाएर जनताले विदेशीको गुलाम गर्ने भावी पिँढी उत्पादन गर्ने नीतिले अब पुनः हाम्रो पहिचान गुमेको छ । यसर्थ अझै पनि  हामीले हाम्रा यथार्थ समेट्ने पाठ्यक्रम तयार गरी अगाडी बढ्नु आवश्यक छ । 

कृषि प्रधान देश कृषिमा स्वाधीन छैन । यसर्थ पुन बागबानी, पशुपालन, खेती प्रणाली समेट्ने खालको सिकाइको हाम्रोजस्तो मुलुकको वर्तमान आवश्यकता हो । यस परिवेशमा बहु जाति, भाषा संस्कृति परम्परा झल्काउने र ब्युँझने शिक्षा प्रणालीमा जोड दिइनुपर्छ । हाम्रा सीमा कति कसरी बचाउने, राष्ट्रियतालाई कसरी बचाउने भन्नेतर्फ ध्यान जाओस् ।
 अझ हेरेँ जुन धर्म संस्कृतिमा महिलालाई पूजा गरिन्छ त्यहाँ नै लज्जित हुनुपर्ने ? जहाँ देवीको रूप मानिन्छ ।  त्यहाँ महिला घृणाको पात्र बन्नु पर्ने ? सोचौँ, जुन कुरा पश्चिमाले धेरै पछाडि मात्रै लागु गरे तर हाम्रोमा आदिमकादेखि नै थियो । यसरी हेर्दा पारिवारिक संरचनाबाट नै हामीले सोच्नु आवश्यक छ ।यदि यस्तै हुँदै जाँदा हाम्रा मूल्य मान्यता सबै नष्ट भए भने के नै बाँकी रहन्छ र ? हामी त यताको न उताको परिवेशमा पुग्ने निश्चित छ । 

अर्कोतर्फ उदेकलाग्दो विषय त पृथ्वीनारायण जसलाई एकीकरणको श्रेय छ  उनको मूर्ति हटाउनु, उनैलाई सामन्त मान्नु फेरि यहाँ नयाँ सामन्ती व्यवहार देखिनु नै भएको छ । इतिहासलाई यथार्थभन्दा पर रहेर आरोप लगाउने शैली छ । भानुभक्तलाई तत्कालीन  सामन्त परिवारका लेखक मान्ने  सोचप्रति झनै दया लागेर आउँछ ।  जो एउटा सामान्य पण्डितको संस्कारले अध्ययन गर्ने अवसरबाट कवित्व भावमा पोखिए । आहा, उनका लागि त विदेशका रामभन्दा भक्ति र आदर्श प्रिय भयो । म पुनः एक पटक दर्जिलिङ्गमा बसी देखाएको भाषा संस्कृतिप्रति पनि सोचेर हेरौँ र विचार गरौँ । 

तब मात्रै आफ्नोपनको महत्त्व थाहा होला । यस कारण  शिक्षा परिवर्तन गरी समाज र संस्कारको साख बचाउन तपाईँ हामी एक हुनुपर्ने देखिन्छ ।  यसका लागि केही नगरी राणाहरूले शासन गरेझैँ अब पनि हैकम चलाउने हो भने अबको भविष्य अन्धकारमय नै हुनेछ ।  यो जटिल अवस्थामा सीमा अतिक्रमण राष्ट्र र राष्ट्रियता जस्ता विषय केवल देखाउने कुरा मात्र होइन व्यावहारिक रूपमा कर्म गरेर देखाउने बेला हो । यसका बारेमा हामीले सोच्नु आवश्यक छ ।  
 


लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ