शे–फोक्सुण्डो निकुञ्ज भित्रबाट १७ थान भरुवा बन्दुक बरामद

शे–फोक्सुण्डो निकुञ्ज भित्रबाट  १७ थान भरुवा बन्दुक बरामद

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २१, २०७७

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा बन्दुक र एक थान नाल बरामद गरेको छ । निकुञ्ज क्षेत्रभित्र हुने संरक्षित एवं दुर्लभ वन्यजन्तुको चोरी शिकारी रोक्न अप्रेशन नै चलाएर हातहतियार खोजी गर्न शुरु गरेपछि १७ थान भरुवा बन्दुक, एक थान नाल बरामद गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने करेलीकाँडा छल र ठूलीभेरी नगरपालिकामा साँङ्टालगायतका ठाउँबाट बन्दुक र नाल बरामद गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो । सेना र कर्मचारीसहितको गस्ती टोलीले यसअघि पनि २० थान भरुवा बन्दुक, एक नाल, तीन थान घोरलका छाला बरामद गरिसकेको छ । सबै गरेर ३७ थान भरुवा बन्दुक, तीन थान घोरलका छाला र दुई नाल बरामद भइसकेको र खोजीकार्य जारी रहेको संरक्षण अधिकृत पौडेलले बताउनुभयो ।

बरामद गरिएका भरुवा बन्दुक र छाला निकुञ्ज कार्यालय सुलिगार्डमा राखिएको छ । निकुञ्जले हातहतियार बुझाउन सूचना जारी गर्दै आएपछि स्थानीयले पक्राउ पर्ने त्रासले घरदेखि टाढा लगेर बेवारिसरूपमा फालेको अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । बेवारिसे फेला परेका भरुवा बन्दुकका कसका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ । 

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधारणलाई आफूसँग भएका हातहतियार बुझाउन ३५ दिने सूचनासमेत जारी गरिएको छ । निकुञ्जमा पाइने बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तु र सम्पूर्ण वन पैदावारको चोरी तस्करी रोक्न निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेना रातदिन खटिरहेको गुल्मपति लेखनाथ कटवालले जानकारी दिनुभयो । यस निकुञ्जमा दुर्लभ वन्यजन्तु हिउँ चितुवासमेत पाइने गर्दछ ।