भारतमा यातायात सञ्चालनसँगै काँकडभिट्टा नाकाबाट सयौँ नेपाली  भित्रिए

भारतमा यातायात सञ्चालनसँगै काँकडभिट्टा नाकाबाट  सयौँ नेपाली  भित्रिए

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २२, २०७७

झापा । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश गरिरहेका छन् । भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो । 

उहाँले भन्नुभयो, 'लकडाउन भइसकेपछि सीमा क्षेत्रमा अलपत्र हुनुभएका नेपालीलाई उद्धार गरी गन्तव्यसम्म सुरक्षितरूपमा पुर्‍याउनु हाम्रो दायित्व हो । काँकडभिट्टा नाकाबाट यति धेरै नेपाली आउनु भयो कि उहाँहरुलाई राख्न होल्डिङ सेन्टर बनाउनुपर्‍यो ।' उहाँले उनीहरुलाई आ–आफ्नो प्रदेश र जिल्लासम्म पुग्नका लागि यातायातको साधनलाई सवारी पाससहित व्यवस्था गरेको बताउनुभयो । सो काम  जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँगको समन्वयमा गरेको बताउँदै ७७ जिल्लाकै नागरिकलाई सहयोग पुर्‍याउने जिम्मेवारी आउँदा कतिपय काम सोचेजस्तो हुन नसकेको उहाँले जानकारी दिनुभयो ।

'एउटा नगरपालिकाले मात्र सबै गर्न सम्भव हुँदैन', उहाँले भन्नुभयो, 'तैपनि हामी जिम्मेवारीबाट कहिल्यै पन्छिएनौँ, भागेनौँ, निरन्तर काममा लागिरहेका छौँ', नगरप्रमुख आचार्यले प्रदेश नं १ मा रहेको पिसीआर परीक्षण गर्ने तीन प्रयोगशालामध्ये एउटा बिग्रिएकाले रिर्पोट आउन ढिला हुँदा समस्या भइरहेको बताउनुभयो । लामो अवधि होल्डिङ सेन्टरमा राख्न सकिने अवस्था नरहेको बताउँदै कतिपय नागरिकलाई सम्बन्धित जिल्लाकै क्वारेन्टिनमा राखेर पिसीआर परीक्षण गर्ने भन्दै पठाउनुपर्ने बाध्यतासमेत रहेको उहाँको भनाइ छ ।

मेचीनगरमै प्राइमरी आइसोलेसन

बन्दाबन्दी शुरु हुनुभन्दा हप्ता दिनअघि नै ९३ हजार बढीको पूर्वीनाकामा स्वास्थ्य परीक्षण गर्न सफल झापाको मेचीनगर नगरपालिकाले नगरमै प्राइमरी आइसोलेसन बनाउने तयारी गरेको छ । नगरमै प्राइमरी आइसोलेसन बनाउन तयारी गर्ने प्रदेश नं १ मै मेचीनगर पहिलो नगरपालिका हो । नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० श्ययाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको छ । यसअघि सो स्वास्थ्यचौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।
 
उहाँले दिनादिनु भारतबाट आउने नेपालीको सङ्ख्या बढ्दै गएको र कचनकवल गाउँपालिकाबाट लगिएको १७ बिरामीलाई केही दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानले रातभर अस्पतालको गेट बाहिर राखिएको खबरले त्रसित भइ प्राइमरी अस्पतालको तयारीमा लागेको बताउनुभयो । 'समस्या बढ्दै जाँदा प्रदेश नं १ को विराटनगर र धरानमा रहेको कोभिड अस्पतालमा भर्ना नपाउने अवस्था आउन सक्छ', नगरप्रमुख आचार्यले भन्नुभयो, 'त्यस्तो अवस्थामा कोभिड अस्पतालकै जस्तो सङ्क्रमितले प्राथमिक उपचार पाउने व्यवस्थासहितको प्राइमरी आइसोलेसनकक्षको व्यवस्था नगरमै गर्न लागेका  हौँ ।' उहाँले धरान र विराटनगरकै जस्तो कोभिड अस्पताल नभए पनि जाँच र उपचारचाहिँ नगरकै स्वास्थ्यकर्मीद्वारा गर्न सकिने बताउनुभयो ।

मेचीनगरमै आइसोलेसन नबनाए भोलिका दिनमा नगरवासीको स्वास्थ्य सङ्कटमा पर्ने देखेर बेलैमा तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । उहाँले विश्व महामारीका रूपमा फैलिएको यो कोरोना महामारीसँग जुध्न नगरवासीसहित सबैसँग सहकार्यका लागि नगरपालिकाले हात बढाएको बताउनुभयो । उहाँले आवश्यक स्वास्थ्य सुरक्षणका सामग्री र नगरकै स्वाथ्यकर्मीको टोलीको प्रबन्ध मिलाइरहेको बताउँदै भन्नुभयो, 'नगरवासीले भोको बस्नुपर्ने र उपचार नपाउने अवस्था सिर्जना हुन दिँदैनौँ, यो हाम्रो बाचा हो ।'