सपनामा आगोले जलेर समाप्त भएकाे देखेँ तब 'मन्दीरमा फूल चढाइ...' बोलकाे गीतको सृजना गरेको थिएँ

गीतको रचना गर्भ

सपनामा आगोले जलेर समाप्त भएकाे देखेँ तब 'मन्दीरमा फूल चढाइ...' बोलकाे  गीतको सृजना गरेको थिएँ

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  जेठ २२, २०७७

'मन्दिरमा फूल चढाइ ढोगेँ तिमीलाई भनेर 
रातभरि रोएँ सपना देखि नराम्रो लागेर ।'  

मेरो शब्द भएको यो गीत सम्भवतः २०५० सालमा रेकर्डिङ भएको हो । सङ्गीतकार प्रसिद्ध संगीतकर्मी शिलाबहादुर मोक्तान हुनुहुन्छ भने प्रसिद्ध गायिका कुन्ती मोक्तान हुनुहुन्छ । सङ्गीतकारले ज्यादै मीठो सङ्गीत बनाउनु भएको छ । त्यसरी नै सङ्गीतलाई आफ्नो खारिएको स्वरमा डुबेर गायिकाले 'इम्प्रेसिभ' बनाउनु भएको छ । आज यो गीतको चर्चा गर्दा दुवै स्रष्टाहरूलाई अभिवादन गर्न चाहन्छु ।

यो गीतको जन्म घटनासँग सम्बन्धित छ । जसले जीवनमा प्रभाव बनाई रह्यो । यो चर्चा गरिरहँदा फेरि उस्तै सपनाले मलाई आज आहत बनायो । कुन्नि के हो सपना र जीवन यो अध्ययनको विषय हुनसक्छ । 

गीतको सुरु र अन्त्य हुँदैन तर गीतकारले सानो छोटो हरफभित्र कथाको रूप बुनेको हुन्छ । गीत पहिलो निर्जीव वस्तु हो, यसलाई सङ्गीतकारले प्राण भर्छ, गायकगायीकाले स्वर भरेर बाहिर ल्याउँछ । तसर्थ गीतको पहिलो महत्त्वपूर्ण स्रष्टा गीतकार हो । शब्दलाई गीत कस्तो बनाउने भन्ने क्षमता गीतकारसँग हुन्छ । अर्थपूर्ण तथा गहन कल्पनाबाट एउटा पूर्ण गीतको जन्म गीतकारले गर्दछ । वास्तवमा यो सामान्य कुरा बिलकुल होइन । गीत बनाउन गीतकारले जीवनमा धेरै मेहनत तथा अध्ययनका लागि समय खर्चेको हुन्छ । 

मैले कतै पढेको छु, अमेरिकाको न्युयोर्कमा गुलाम अलिको 'सो' थियो । जाबेद अख्तर अर्को सहरबाट पाँच घण्टाको ट्रेन चढेर हेर्न आएछ। जब कि अल्लारे उत्साही जाबेद अख्तरसँग पैसा थिएन, हल भित्र पस्ने टिकेट किन्ने कुरै भएन । जबरजस्त हाफ सो कार्यक्रम हेर्न सफल भएपछि गुलाम अलिसँग भेटेछ । गुलाम अलिसङै मोटर चढेर होटेल गएछ ।  होटलमासंगै बसेछ, आफ्नो कुरा अलिलाई राखेर भोलिपल्ट छुटेछ । गायकको गार्डले अलि सापको मान्छे होला भनेर वास्तै गरेनछ । पछि थाहा भयो त्यो युवक अलि सापसँग अपरिचित थियो । रहरले मान्छेलाई कहीँ न कहीँ केही दिन्छ । जाबेद अख्तरले गीत लेख्दै गए महान् बने । हाम्रा देशमा पनि राम्रा गीतकारहरू हुनुहुन्छ जसको जीवन मेहनतले भरिएको छ । 

यो मेरो फगत सानो सिकारु प्रयास मात्र हो । त्यसो त यो लेख्नु भन्दा छ दिन अगाडि हाम्रा महान् गीतकार श्रद्धेय रत्नसम्सेर थापा हामीबाट २०७७ साल जेठ ७ गते बिदा हुनुभयो । रत्नसम्सेर रत्न नै थिए अख्तार जस्तै । सायद जाबेद अख्तार भन्दा घेरै माथि हो कि ?

वास्तवमा सत्य पनि हो, राजनीतिमा समय खर्चिएको हुन्छ, सामान्य मान्छेले नदेख्न सक्छ । त्यसको पीडा उसैलाई मात्र थाहा हुन्छ । अग्रज पेशल राईलाई सम्झँदै भनाइ सापटी लिन चाहन्छु । कुन गाउँको बाटो, पहरा, ढुङ्गा घर कस्तो छ मैले पनि चिनेको छु ।  सायद बाटोले, हाटबजारले, माटोले, मान्छेले मलाई नचिनेको हुनसक्छ ,तर ती अनुभूतिहरू मेरो मानसपटलमा ताजै छ । 

यो गीत लेखेपछि एक कार्यक्रममा प्रसिद्ध गायक कुबेर राईसँग भेट भयो । सरल इमानदार गायक कुबेर राईको स्वर सबैले सुनेको मिठो स्वर रहेको छ । गफको क्रममा मसँग रचना माग्नु भयो । मेरो लागि राम्रो गायकले दिएको अवसर पनि थियो । एउटा कताकति 'रिकगनीसन' भएको अनुभव पनि भयो ।  मसँग गीत छ, शिलाबहादुर मोक्तानलाई सङ्गीत गर्न लगाउन त भनेर प्रस्ताव राखेँ । कुबेरजी पनि 'एक्साइटेड' हुनु भयो । मैले शिलाबहादुर मोक्तानलाई दुई गीत मध्ये एक छानेर सङ्गीत गरिदिन आग्रह गरेँ । हामी दुवै भाइ सङ्गीतकारको घरमा गएका थियौँ । 

पछि भेटमा भन्नु भयो–दुई वटा नै मिठो गीत रहेछ सङ्गीत गरेँ । त्यसमध्ये कुन्ती मोक्तानले गाउनु भएको यो एउटा गीत हो । शालीन पवित्र मनको धनी शिलाबहादुर मोक्तान हुनुहुन्छ । मलाई थाहै भएन रेकर्डिङ गरेर सक्नु भएछ, पछि गीत उहाँको घरमा सुनाउनु भयो । मलाई गीत मिठो लाग्यो । मलाई कुनै झन्झट भएन । आफ्नो पेसामा समर्पित असल व्यक्ति शिलाबहादुर सरलाई आज पनि धन्यवाद भन्न चाहन्छु ।

जीवनले कता लान्छ वा भाग्यले कता धकेल्छ । आफ्नो हातमा हुँदैन रहेछ सायद सबैलाई यस्तै हुँदो हो | मैले जीवनको यो समय जम्माजम्मी सत्तरी प्रतिशत उपभोग गरेको छु । थाहा छैन अझ जीवन कसरी हिँड्छ । तैपनि मेरो आफ्नो बाटो निरन्तर हिँडिरहेछु जस्तै हुरी बतास चले पनि । २०४२-२०५५ सालसम्म राजनीति गर्ने विचारले मैले पहाड घरमा बिताएँ । तर पछि बुझेँ म यो पेसामा फिट हुने मान्छे होइन रहेछ भनेर !  मेरो जीवनको क्रिम समय खोटाङमा सामाजिक काम गरेर बित्यो । मलाई कुनै गुनासो छैन जिन्दगीसँग । मैले धेरै सिकेँ र महत्त्वपूर्ण चिज पाएँ पनि । जसको आधारले मलाई अहिले उभिन केही सहज भएको अनुभूत हुन्छ । अनुभव जीवनको आफ्नै पाठशाला रहेछ । म सामान्य किसानको छोरा यो बिन्दुमा उभिएको छु । 

जीवन खोलाको पानी हो भन्छन् तर खोला पनि त आफ्नो क्षमता अनुरूप बग्ने हो । २०५५ सालबाट मैले त्रिभुवन  विश्वविद्यालयमा प्राध्यापनको काम गर्न थालेँ । मेरो मेहनतले जीवनमा अर्को मोड ल्यायो । तर सपना भने गाउँ घरको मन मस्तिष्कबाट हट्न सकेन । अहिले पनि हटेको छैन । आफन्तहरूलाई भेट्न वर्षमा एक पल्ट पुग्छु । 

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हो । पहिले साप्सु खोलामा पुल थिएन । जहाँ दिक्तेल जाँदा हामी तर्ने गर्थ्यौँ ।  तल्लो पुल लाफ्याङका गडुलमान राईले निजी सम्पत्तिले लगाइदिनु भएको थियो । बडो इमानदार मान्छे जुँगा भने गडुलमान राईको ठ्याक स्टालिन स्टायलको थियो । सायद ज्यान पनि भव्य उस्तै खालको हुनुपर्छ ।  

सपनामा टुक्रे र साप्सु खोलाको दोभानमा गडुलमान राईले बनाएको झोलुङ्गे पुल तर्दै रहेछु । पुल तर्नासाथ केही मानिसले मेरो शरीरमा आगो लगाएको सपना देखेँ । केही मिनेटमा म दनदनी पुरै जलेर समाप्त भएँ ।  कसैले साथ दिएन मलाई हेरिरहेका थिए । म सपनाबाट अचानक झस्केर कराउँदै उठेँ !  नबोली बसिरहेँ ! त्रासले मन हल्लिरह्यो के होला भनेर ! महिनौँसम्म मनमा आगो जलिरह्यो ! आज पनि थाहा छ । यो भयानक सपना पहाड घरमा २०४९ साल असारमा देखेको थिएँ । 

यो सपनाबाट गीतको सृजना गरेको थिएँ । कसैको समर्पणमा कुनै प्रेमीले प्रेम गरेर मन्दिरमा फूल चढाएको मिठो कल्पना यसभित्र छ । मन पराएको मान्छेलाई केही नहोस् भनेर फूल समर्पण गरेको भाव छ ।  कविले सानो झिल्का समातेर दियो बाल्ने हो गीत वा कवितामा । शब्दलाई सङ्गीतले गहिरो बुझेको छ । यसमा वरिष्ठ सङ्गीतकार शिलाबहादुरलाई मैले प्रशंसा गर्नै पर्छ ।

युरोपका प्रसिद्ध गीतकार Jonathan Culter ले भन्छन्  'the lyric words claims its emotional place in music and poetry, with the word to a song being that called while a lyric power is one steeped in personal emotion making its song.' सायद यो परिभाषाभित्र मेरो यो शब्दको वातावरण परिवेश खोलिन्छ होला जस्तो लाग्छ । ठाउँ अनुसारको सपना देखिन्छ । मान्छेको सङ्गत हुन्छ । जीवनको अनुभूति हुन्छ।

मलाई पछिल्लो जिल्ला बसाइले ठुलो अवसर दियो। मेरो जिल्लाका तत्कालीन सप्तेस्वर छितापोखरी योंग्सोला बस्ने आदरणीय पेशल राई हुनुहुन्छ । उहाँ तार्किक मार्मिक बौद्धिक व्यक्तित्व  हुनुहुन्थ्याे । जिल्लामा नाम चलेको राजनीतिकर्मी पनि हो । मैले सम्मान गर्ने अग्रज ,भन्नु हुन्थ्यो मलाई- ‘यो पेशललाई प्रत्येक ढुङ्गाले चिनेको छ ।' वास्तवमा सत्य पनि हो, राजनीतिमा समय खर्चिएको हुन्छ, सामान्य मान्छेले नदेख्न सक्छ । त्यसको पीडा उसैलाई मात्र थाहा हुन्छ । अग्रज पेशल राईलाई सम्झँदै भनाइ सापटी लिन चाहन्छु । कुन गाउँको बाटो, पहरा, ढुङ्गा घर कस्तो छ मैले पनि चिनेको छु ।  सायद बाटोले, हाटबजारले, माटोले, मान्छेले मलाई नचिनेको हुनसक्छ ,तर ती अनुभूतिहरू मेरो मानसपटलमा ताजै छ । 

यो मेरो शब्दको गीत धेरैले रुचाएको गीत हो जस्तो लाग्छ । भन्न त सबै स्रष्टाहरूले यसै भन्छन् नभन्नु होला ।  गीत पनि कविको निजत्व मन हो । मेरो दुःख र सुखलाई गीतको रूपमा सम्मान गरिदिनु भएको छ श्रोताहरूलाई हौवा सहित धन्यवाद भन्न चाहन्छु । 

याे गीत युट्युबमा पनि सुन्न सक्नु हुने छ