गाउँसभा तयारीका लागि सेवा ठप्प

गाउँसभा तयारीका लागि सेवा ठप्प

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २६, २०७५

काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । 

यहीँ फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा आयोजना गर्दैछ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत काम गर्न नसकिने जनाएको हो । 

गाउँपालिका अध्यक्ष सलामसिं तामाङले गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजनाका सबै सेवा रोक्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँसभाको तयारीका लागि हामी सबै व्यस्त हुन्छौँ, त्यसैले विभिन्न काम गर्नुपर्ने भएकाले सूचना नै जारी गरी सेवा रोकेका हौँ ।’ 

सार्वजनिक सूचना जारी गरी योजनाका काम रोक्न नहुने पूर्वविद्यार्थी नेता समीप त्रिपाठीले बताउनुभयो । ‘गाउँपालिकाले काम नै रोक्नु गलत हो, यसबाट योजना सञ्चालन गरिरहेका उपभोक्ता समितिलाई समस्या परेको छ,’ उहाँले भन्नुभयो । यो खबर राससमा छ ।