नदीजन्य पदार्थको दोहन जारीः  चुरे क्षेत्रका रूख, ढुङ्गा, गिट्टी, बालुवा  निकालिएका  कारण बाढी पहिरोको समस्या बढ्यो

सर्लाही ।  चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको  खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने वाग्मती र फुलजोर खोलाबाट  ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ निकासी हुँदै आएको छ ।

वन र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । अहिले त्यस क्षेत्रमा  ती पदार्थको दोहन तथा उत्खन्नन जारी नै छ । पूर्वपश्चिम लोकमार्गबाट ५०० मिटरदेखि करिब छ/सात किलोमिटर उत्तर चुरेक्षेत्रबाट ती पदार्थको दोहन हुने क्रम रोकिएको छैन । हरेक वर्ष असार–साउनमा बन्द भए पनि स्थानीय तहले ठेक्का लगाएपछि त्यसैको आडमा दोहन हुने गरेको बताइएको छ । दिनहुँ धेरै सङ्ख्यामा टिपर तथा ट्र्याक्टरले ढुङ्गा, गिट्टी, बालुवा ओसारेको स्थानीयवासी बताउँछन् ।

चुरे फेदीमै पुगेर नदीजन्य पर्दाथ लैजान थालेका स्थानीयवासीको भनाइ छ । नगरपालिकाको दिएको ठेक्का भनेर ठेकेदारले नदीजन्य पर्दाथ निकासी पैठारी गरिरहेका छन् । चुरेको फेदीबाटै केही समूहले ढुङ्गा ओसार्न थालेपछि वनले कडाइ गरेको थियो । वनले रोक्दारोक्दै पनि ठेक्काको नाममा जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रमा दोहन नरोकिएको स्थानीयवासीको भनाइ छ । यो क्रम पछिल्लो दुई वर्षयता तीव्र भएको छ । केहीले नदीजन्य पदार्थ सङ्कलन गरी बाटोमा राखेका छन् । वाग्मती, फुलजोर, कालीञ्जोर र लखनदेहीको ढुङ्गा, गिट्टी, बालुवा जिल्लाका विभिन्न स्थानीय निकायको भित्री बाटोको प्रयोग गर्दै छिमेकी देश भारतसम्म पनि पुग्ने गरेकोे पाइएको छ ।

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा हरेक वर्ष रकम विनियोजन गर्ने गर्दछ ।  दुई दशकअघिसम्म चुरे पहाडबाट आउने नदीको पानी तराई मधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पागो माटोले यस क्षेत्रलाई उर्वर बनाउँथ्यो । पछिल्लो समय जताततै ढुङ्गा उत्खनन, नदीमा खाडल, नदी तथा चुरे दोहनले सो नदीमा अहिले पागो होइन, बालुवा र साना गिट्टी बग्छ । यसले तराई–मधेसमा हराभरा होइन, उब्जनी कम र उजाड बनाएको पाइएको छ ।

पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ । चुरे क्षेत्रका रूख, ढुङ्गा, गिट्टी, बालुवा जथभावी निकाल्ने गरिएका कारण बाढी पहिरोको समस्या बढेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवं डिभिजन वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो । चुरेबाट रूख बिरुवा, ढुङ्गा, ग्राभेललगायत नदीजन्य पदार्थ उत्खनन गर्दा सतह खुकुलो भएर वर्षाको पानीसँगै बालुवा तराई मधेसका खोलामा थुप्रिएर सतह उठ्दै जान्छ । वर्षामा आउने भेल सिधै बस्तीमा पस्ने सम्भावना बढेको उहाँले बताउनुभयो ।

मधेसमा बाढी र डुबानजस्ता समस्या समाधानका लागि खोलामा होइन, मूल चुरे क्षेत्रमै उपचार खोज्नुपर्ने प्रदेशसभा सदस्य बेची लुङ्गेलीले बताउनुभयो । स्थानीय तहले हचुवाका भरमा नदीजन्य वस्तुको ठेक्का लगाउँन नहुने उहाँको भनाइ छ । चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । मापदण्डविपरीत स्थानीय निकायले नदीजन्य वस्तुको निकासी पैठारीका लागि ठेक्का लगाउने नहुने स्थानीयकोे माग छ ।

शङ्खर पहाडी/ रासस