मनोसामाजिक परामर्श : सङ्कटमा किन आवश्यकता हुन्छ ? विमर्श कसरी गरिन्छ ?

मनोसामाजिक परामर्श : सङ्कटमा  किन आवश्यकता हुन्छ ? विमर्श कसरी गरिन्छ ?

कोपिला पौडेल  |  दृष्टिकोण  |  जेठ २३, २०७७

हामी अहिले असहज परिस्थितिमा छौँ I यस सङ्कटको घडीमा विश्व नै आक्रान्त छ I मानिसलाई कसरी आफू सुरक्षित रहने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सताई रहेको छ I  यो लेख तयारी गर्दासम्म कोरोना भइरसा कारण विश्वभर करिब ६७ लाख २०  हजार  सङ्क्रमितमध्ये करिब  ३ लाख ९३ हजारले मृत्युवरण गरिसकेका छन् भने नेपालमा कुल सङ्क्रमित २६३४ मध्ये ११ जनाले मृत्युवरण गरिसकेका छन् I  

नेपालमा युवा वर्गहरू यो भाइरसबाट बढी जोखिममा परेका छन् I यसो हुनुमा युवा जनशक्ति वैदेशीक रोजगारीबाट विभिन्न कारणले भित्रिएका र विना सावधानी उनीहरूको आव-जावत बढेका कारणले यो अवस्था सृजना हुनुमा जिम्मेवार रहेको छ । नेपालमा कति युवाहरू त एकान्तवासीबाट (क्वारेनटाइनबाट) फरार भएका समाचारहरू पनि दिनहुँ आइरहेका छन् I दुःखद कुरा त सङ्क्रमित भएर मरिसक्दा समेत रोगको पहिचान हुन सकिरहेको छैन I यस्तो परिस्थितिमा स्वयम् धैर्यता र संयमताका साथ आफू पनि बच्ने र अरूलाई पनि बचाउने कार्यमा सबै जुट्नु बाहेक हामीसँग अरू विकल्प छैन I 

धेरै मानिसहरू बेरोजगार हुनु । भएको रोजीरोटीमा सङ्कट पैदा हुनु  I ठुला व्यापारीदेखि पेटीमा व्यापार गरेर जीविकोपार्जन गर्नेहरूको समेत व्यापार चौपट भइरहेको छ I त्यस्तै निजी शैक्षिक संघसस्थाहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको महिनौँदेखिको तलब पाउन सकिरहेका छैनन् । पर्यटन क्षेत्र पनि नराम्रोसँग डुबेको अवस्था छ । कृषकले उत्पादन गरेका फलफूल तथा तरकारी पनि बारीमै कुहिएको अवस्था छ I विद्यार्थीहरू स्कुल जान पाएका छैनन् I सुत्केरी महिला, बालबालिका, दीर्घ रोगी तथा वृद्ध-वृद्धहरू उपचार नपाएर मर्नु पर्ने अवस्थामा बनिरहेको छ । कति सुत्केरी महिलाहरूले त समयमा अस्पताल नपुगेकै कारण ज्यान गुमाउनु परिरहेको छ । अधिकांश मानिसहरूलाई आफ्ना आधारभूत आवश्यकता पूरा गर्न पनि हम्मे हम्मे परि रहेको छ । यसले हरेक व्यक्तिमा मनोसामाजिक समस्यालाई निम्त्याउने प्रबल सम्भावनालाई नकार्न सकिन्न ।  

आफूले चाहे जस्तो वातावरण प्राप्त गर्न असमर्थ छन् I फलस्वरूप उनीहरूमा मनोसामाजिक समस्या देखा पर्न सक्दछ I यस्ता समस्यामा परेकाहरूलाई  मन विज्ञ वा अन्य जाने-बुझेको व्यक्तिबाट परामर्श  उपलब्ध गराएर गुम्न लागेको मानसिक असन्तुलनलाई सन्तुलनमा ल्याएर सही मार्गमा डोर्‍याउन मनोसामाजिक परामर्शको आवश्यक पर्दछ I

 

हरेक सङ्कटले अवसर पनि निम्त्याएको हुन्छ भन्ने कुरा इतिहासलाई पल्टाएर हेर्दा पनि सहजै अनुमान गर्न सकिन्छ I सुख दुःख जीवनका एक सिक्काका दुई पाटा जस्तै हुन् I जसरी रातपछि दिन र दिनपछि रात आउँछ त्यसरी नै सुखपछि दुःख र दुःखपछि सुख अवश्य आउँछ I हरेक बाबु-आमाले आफ्नो सन्तानलाई कहिल्यै पनि सङ्कट वा दुःख नपरोस् भनेर आशिष् दिइनै रहनु हुन्छ I तर कुनै न कुनै बेला हाम्रा जीवनमा मानव निर्मित वा वातावरणीय सङ्कटको सामना गर्नुपर्ने हुन्छ । चाहे हामीले जतिसुकै कमाऊँ वा जति सुकै पढेलेखेका किन नहोऊँ ।  सङ्कट एक न एक दिन अवश्य नै आएरै छाड्छ I तसर्थ सङ्कटको सामना र समाधान गर्न सक्ने क्षमता हामीले विकास गर्नुपर्छ I यस्तो अवस्थामा हाम्रो मन अति चञ्चल हुने गर्छ । मन आक्रान्त र निराश हुन्छ I हामीलाई सामान्य आस्थामा आउन निकै गाह्रो पर्ने हुन्छ ।  यस अवस्थामा हामीलाई जुनसुकै मनोसामाजिक परामर्शको आवश्यकता पर्दछ I यस विषयमा केन्द्रित रहँदा निम्न कुरामा ध्यान दिइनु आवश्यक देखिन्छ ।  

मनोसामाजिक विषयका बारे बुझ्न पहिला मन र वातावरण बारेमा बुझ्नु जरुरी छ I मनलाई हामी कसैले पनि देखेका छैनौँ तर यो  अति नै चञ्चल हुने गर्छ । यो प्रकाशको गतिभन्दा पनि आवेगमा चल्ने गर्छ I हाम्रा  अनुभव तथा ज्ञानेन्द्रियजन्य सूचनाहरू मनमा थुप्रिन थाल्छन् I यस्ता सूचनाहरू हाम्रा मस्तिष्कमा गएर बस्छन् र यसमा ज्ञान, बुद्धि र विवेक मिलिसकेपछि कच्चा पदार्थरूपी मनका भावहरू परिपक्व भई मन स्थिर हुन सहयोग पुग्दछ ।   कहिलेकाहीँ हामी दुःखी हुन्छौँ I धेरै कुरा मनमा खेल्न थाल्छ I ती हाम्रा भावना, विचार, चाहना, संवेग र अनुभूतिहरू तथा ज्ञानेन्द्रियजन्य कुराहरू हुन् I यिनीहरूसँग हाम्रो वरपरको वातावरण सामाजिक, आर्थिक,राजनीतिक, परम्परागत चलनचल्ती, रीतिरिवाज, सामाजिक  अपेक्षाहरू मेल नखाएका अवस्थामा मन विचलित हुन्छ । अर्थात् हाम्रा मनका भावहरू र बाहिरी वातावरणबिच द्वन्द्व भई मन आत्तिन्छ I फलस्वरूप हामीमा मनोसामाजिक समस्या उत्पन्न हुन्छ I  

हामी यो भएको भए हुन्थ्यो त्यो भइदिएको भए हुन्थ्यो भन्दै मनलाई अशान्त बनाउँछौँ I हामी सबैलाई दोषी देख्न थाल्छौँ I  मनमा तरङ्ग खेल्न थाल्छ I तब हाम्रो मनमा के कुराले अशान्ति भइरहेको छ ? अरूलाई दोषी देख्ने कि मसँग के के विकल्प छन् भनेर सोच्ने ? मैले स्विकार्नु पर्ने के के कुरा छन् ? म आफूमा के कस्ता चुनौती छन् ? यदि यी विषयमा केन्द्रित रहेर छलफल गर्‍यौँ भने यो मनोसामाजिक विमर्श हुन्छ I यसो गर्दा पनि हामीलाई  अन्योल भयो र कुनै उपाय नै देखेनौँ अर्थात् धर्म सङ्कट पनि उत्पन्न हुन सक्छ । यस्तो अवस्थामा हामीले विश्वासिलो, अनुभवी र  समस्याहरूलाई सहजै हल गरिदिन सक्ने खुबी भएका व्यक्तिबाट आफ्ना समस्याको समाधानका उपायहरू खोजेर  मनलाई शान्त बनाउन सक्छौ I  यसलाई नै मनोसामाजिक परामर्श भनिन्छ I 

छान्दोपग्योपनिषद (६.५.४) मा 'अन्नमय हि सौम्ममन:' भनेर मन अन्नमय हुने भएकाले जस्तो भोजन गरिन्छ । त्यसको प्रभाव मनमा पर्छ I सोही अनुरूप हाम्रो स्वास्थ्य र स्वभाव निर्माण हुन्छ भन्ने कुरालाई सङ्केत गरिएको छ  I तसर्थ हाम्रो मन मस्तिष्कलाई स्वस्थ राख्न आहार-विहार, जीवनशैली र आचरणलाई पहिलो प्राथमिकतामा राख्नु पर्दछ I मानव मन र मस्तिष्कलाई सहजै देख्न सक्दैनौँ तर उसले देखाउने व्यवहार हेरेर उ कस्तो हो, उसमा के कस्ता सम्भावना छन्, उसका विचारहरू के केमा केन्द्रित छन् र  समस्याहरू के के छन् भन्ने बारेमा आकलन गर्न सकिन्छ I  एक दक्ष व्यक्तिले आफ्ना अनुभव, ज्ञान, सूचना र उसले संसारमा देखेका उपायहरू प्रयोग गरी परामर्श दिन्छ र समस्याग्रस्त व्यक्तिका मनभित्र रहेका बोझहरूलाई बिस्तारै हटाई दिन्छ I मन र वातावरणबिचको सम्बन्ध बिग्रन जाँदा मनोसामाजिक समस्या उत्पन्न हुन्छ । यी विषयमाथि छलफल गर्नु मनोसामाजिक विमर्श हुन्छ भने विमर्श गरिसकेपछि उपायहरू बताई दिनु मनोसामाजिक परामर्श हुन्छ I 

नेपालको परिप्रेक्ष्यमा १५ देखि २० प्रतिशत मानिसमा मनोसामाजिक समस्या हुन्छ भन्नेमा मनोवैज्ञानिकहरूको अनुमान छ I यहाँ कतिपय मानिसहरू आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सकिरहेका छैनन् I  बेरोजगारको समस्याले ५०/६० लाखको हाराहारीमा युवाहरू खाडी मुलुक वा अन्य विकसित देशहरूमा नङ्ग्रा खियाइरहेका छन् I राम्रो सीप भए पनि श्रम शक्ति नबिकेको अवस्था छ I बिदेसिनु परेको पीडा त छँदै छ अहिले त झन् यस महामारी फैलिएसँगै आम मानिसको आय आर्जन गर्ने मुहानहरू बन्द भएका छन् I  लामो समयदेखि घर परिवारसँग भेट्न  पाएका छैनन् I ठुलो आकाङ्क्षा राखेर युवाहरू बिदेसिएका छन् तर त्यहाँ अनेकन् हन्डर र ठक्कर खाएका हुन्छन् I

आफूले चाहे जस्तो वातावरण प्राप्त गर्न असमर्थ छन् I फलस्वरूप उनीहरूमा मनोसामाजिक समस्या देखा पर्न सक्दछ I यस्ता समस्यामा परेकाहरूलाई  मन विज्ञ वा अन्य जाने-बुझेको व्यक्तिबाट परामर्श  उपलब्ध गराएर गुम्न लागेको मानसिक असन्तुलनलाई सन्तुलनमा ल्याएर सही मार्गमा डोर्‍याउन मनोसामाजिक परामर्शको आवश्यक पर्दछ I जसरी हामीले घर बनाउनु पर्‍यो भने दक्ष र अनुभवी इन्जिनियरसँग सल्लाह लिन्छौँ र त्यो घरमा हामी ढुक्कसँग बस्न सक्छौँ I त्यस्तै गरेर मनोसामाजिक समस्यामा परेको व्यक्तिले पनि उसका समस्यालाई राम्रोसँग बुझेर उपायहरू बताई दिने अनुभवी,दक्ष र दुःख-सुखको अनुभव राम्रोसँग बुझेको परामर्शदातासँग परामर्श लिएर आफ्नो जीवनलाई खुसी र सुखी राख्न सक्दछ I