जबरजस्ती करणी उद्योगः महिलाको अस्मिता बचाउन ल्याइएको कानुन बदला लिने साधनको रूपमा उपयोग !
थुनुवाको डायरी: नखाएको विष
जेठ २४, २०७७

भद्र बन्दी गृहकाे २९औँ दिन    २०६७/०७/१८ विहिवार  (४नोवेम्बर२०१०)

आज रातभरिमा चारचोटि पिशाव लाग्याे । मेरो शरीरमा चिनी बढ्यो होला । अथवा हिजो घरबाट कुखुराको मासु ल्याईदिएको थियो । दिउँसो र बेलुका खाएँ । प्यास लाग्यो । धेरै पानी पिएँ । त्यसैले पिशाव भएको हो कि ! आजकल मेरो पेट गोलमाल छ । कहिले दिनभरिमा पाँच छ चोटि दिसा लाग्छ । कहिले तीन चार दिनसम्म दिसा नै हुँदैन । मलाई साह्रै पीर पर्‍यो । आज डाक्टर देखाएको त पानी बेस्सरी पिउनु भन्थे ।

विष्णु थापाले अदालतबाट सफाई पाए पनि घर जान पाएको छैन । आज जेलरले सही गरेपछि मात्र जान पाउनु हुन्छ होला । आज उहाँलाई ओम शान्तिमा तिलक लगाएर खादा ओढाएर बिदाई दिए । बिदा हुने व्यक्तिको अनुभव सुन्ने परम्परा अनुसार उहाँले आफ्नो अनुभव सुनाउनु भयो ।

गुल्मी जिल्लाबाट काठमाडौं आइ कलङ्कीमा होटल व्यवसाय गरिरहेका विष्णु थापाको होटलमा एउटी केटी काम गर्थी । एक वर्ष काम गरेर केटीले काम छाडेर गइन् । केटीले काम छाडेर गएको एक महिना पछि विष्णुका शत्रुहरूले ती केटीलाई उसले भारतमा लगी बेचेको आरोप लगाएर कालिमाटी महिला सेलमा जाहेरी दिए । प्रहरीले उसलाई र उसको होटेलमा काम गर्ने एक जना केटालाई समातेर थुन्यो । प्रहरीले उनीहरूमाथि जिउ मास्ने बेच्ने मुद्दा दायर गर्‍यो । अदालतमा बहस भयो । विष्णु थापालाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो । उसको कामदारसँग सात हजार रुपैयाँ धरौटी माग्यो । उसले धरौटी बुझाउन सकेन दुवैजनालाई भद्रगोल जेल पठायो । विष्णु थापाका घरका मान्छेहरूले ती केटीलाई खोज्न थाले । बल्ल पाँच महिना पछि ती केटीलाई वागवजारको एउटा होटेलमा काम गरिरहेकी फेला पारे । १७ गतेको पेशीको दिन ती केटीलाई अदालतमा उपस्थित गराइयो । आफू कसैद्वारा बेचिएकी होइन, आफू खुशी अर्को होटेलमा काम गर्न गएको भनेर केटीले अदालतमा वयान दिए पछि विष्णु थापा र त्यो केटो दुवैजनाले सफाइ पाए ।

छ महिना पछि अदालतले सफाइ दिएर के गर्ने ? त्यतिबेलासम्म बिष्णु थापाको होटेल बन्द भइसकेको थियो । अब ऊ गुल्मी फर्कने भन्दै थियो । अब गुल्मीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र खोल्ने विचार सुनाउनु भयो ।

नेपालको कस्तो कानून कसैले जाहेरी दिने बितिक्कै समातेर मुद्दा चलाइ हाल्ने । थुन्नै पर्ने । मलाई पनि हेर न ! एउटा सल्लाह गर्नु छ भनेर बोलाएर थुनिदियो । थुनछेकको वहसमा सामान्य तारिख या धरौटीमा छुट्छु कि भन्ने आशा थियो । पुर्पक्षको लागि थुनामा पठाईदियो । यदि म बाहिर जान पाएको भए संस्थाको वार्षिक कार्यक्रम हुन्थ्यो । ज्वजलपा पत्रिकाको वर्गिकरणको लागि फाराम भर्न पाइन्थ्यो । पार्टीमा एमाले नगर कमिटीको अध्यक्ष बन्न पाउँथेँ । म भित्र परेर यी सबै उपलब्धीबाट बञ्चित भएँ । भोलि मैले सफाई पाएँ भने पनि यी अवसरबाट म वञ्चित भइसक्छु ।

विहान खाना खाएर घाम तापिरहेको बेला ‘नजरमान महर्जन’ भनेर माइकबाट लगातार तीनचोटि बोलायो । सायद नीलम र लक्ष्मी आएका होलान् । उनीहरू आउँदा मात्र नजरमान लेखाएर आउँथे । ढोकामा गएर हेरेको त भतिजा गंगामान आएको रहेछ । उसलाई देख्ने बित्तिक्कै मेरो मन रमायो । आफ्नो मान्छे आउँदा मन कति रमाउँछ भनेर बाहिरका मानिसहरूलाई थाहा छ कि छैन । भेटघाटस्थलमा गएँ । सञ्चो विसञ्चोको कुराकानी भयो । मलाई यहाँ भित्र पठाएकोमा दुखेसो र आक्रोस पोख्दै भन्यो, 'कलियुगमा राम्रो काम गर्ने मान्छेले जस पाउँदैन भन्थ्यो । साँच्चै रहेछ । काकाले मानवीय सेवा नै ठूलो धर्म ठानी अनाथ असहाय बालबालिकाहरूलाई सहयोग गर्नुभयो । फलस्वरुप आज जेल जीवन बिताइरहनु परेको छ । आइन्दा अब फेरि त्यस्ता वालवालिकाको लागि केही सहयोग नगर्नु होला ।'

'नयाँ नयाँमा सबैको यस्तै भेटघाट आउँछन् । कोही फर्मालिटी पूरा गर्न आउँछन् । कोही तपाईंको तमाशा हेर्न आउनेहरू पनि हुन्छन् । तपाईंको आफ्नै परिवारका बाहेक दुई तीन पटक आएकाहरू कति जना छन् ?'

हरे भगवान ! जति जना मलाई भेट्न आउँछन् सबैको एउटै भनाइ हुन्थ्यो– आइन्दा कसैलाई सहयोग नगर्ने । यी तीनजना केटीहरूको कारण गरिव, अनाथ, असहाय भन्ने शब्दप्रति नै मेरा आफन्त, साथीहरू र नातेदारहरूको मनमा घृणा पैदा गराइदियो ।

गंगामानको कुरालाई मोड्दै सोधेँ, 'हाम्रो टोलको हाल खवर के छ ?'

'सबै जनालाई ठिकै छ । सबैको एउटै चिन्ता छ तपाईं कहिले छुट्नु होला भनेर ।'

'कार्तिक २५ गते १७ न पुनरावेदन अदालतमा पेशी छ । त्यतिबेला सामान्य तारिखमा छुट्न पनि सक्छु । नभए अरू चार पाँच महिना पनि लाग्न सक्छ ।”

 ऊसँग निकैबेर कुराकानी भयो । जानेबेलामा उसले भन्यो, 'काका धेरै पीर नलिनुहोस् । हामीले गरेर हुने भए जे पनि गर्न तयार छौं ।’

दुई बजे छोरा आयो । कुराकानीको क्रममा उसले भन्यो, 'आज पुनरावेदन अदालत गएर आएको । २५ गतेभन्दा अगाडि पेशी सार्न मिल्दैन रे । अस्ति भिनाजुले जसरी पनि तपाईंलाई निकाल्न लगाउँछु भन्नुभएको थियो । आज फोन गर्दा सक्दिन भन्नुभयो । नित्यमान र पवन दाइ पनि दौडिरहनु भएको छ ।’

मेरो सहयोगको लागि मेरा नातेदारहरू लागिरहेको सुनेर मेरो मनमा आशा पलायो । म निस्कन पाउँछु पाउँदिन यो आफ्नो ठाउँमा छ । प्रयास त भइरहेको छ ।

'कवितालाई संस्थाका मान्छेहरूले लोभ दिएर कुरा सिकाएर तपाईंको बिरुद्ध बोल्न लगाएको रहेछ । उनको आमालाई पनि तपाईंको बिरुद्ध उजुरी देउ भन्न गएको थियो रे मेरो छोरीलाई उहाँले केही गर्नु भएकै छैन किन उजुरी दिने भनेर हकारेर पठाइन रे ।' निरजले भन्दै गयो, 'यदि अदालतमा बोलायो भने कविताले सिधै भन्ने रे संस्थाले सिकाएर मात्र भनेको हुँ नत्र हाम्रो सरले मलाई बाबुले जतिकै माया गर्नुहुन्छ ।'

निरजसँग विदा भएर आएपछि मेरो मन आनन्दित भयो ।

३०औँ दिन

हिजोदेखि मेरो दिलको शान्त पोखरीमा छोराले ढुङ्गा हानेर छाल पैदा गरिदियो । त्यो छालले मलाई कहाँ पुर्‍याई दिने हो थाहा छैन । म कार्तिक २५ गतेको दिनलाई पर्खिरहेको छु । 

हिजो यहाँबाट चार जना बन्दीहरू छुटेर गए । चारैजनाले आरोपबाट सफाइ पाएका थिए । एक जना म जस्तै जवरजस्ती करणी उद्योगमा थुनामा थियो । यो जवरजस्ती करणी उद्योग भन्ने मुद्दा कसैलाई वदला लिने साधन जस्तो भइदिएको छ । अहिले मानिसहरूले महिलाको अस्मिता बचाउन ल्याइएको कानूनको दुरूपयोग गरिरहेका छन् ।

सुमन र राजन (नाम परिवर्तन) साह्रै मिल्ने साथीहरू थिए । हिजो छुटेर जाने केटो सुमन त्यस्तै ३० वर्षजति भयो होला । उसले एमबीएस पास गरेर कुनै प्राइवेट क्याम्पसमा पढाउँथ्यो । उसको स्कूलदेखि मिल्ने राजन भन्ने साथी थियो । क्याम्पसमा पनि सुमन र राजनले सँगै पढेका थिए । राजनको केटीहरूसँग सङ्गत भयो । केटीहरूसँग जाँदा जाँदै बदमाश केटाहरूको पनि सङ्गत भयो । ऊ बदमाश लाइनमा फस्यो । डिप्लोमा पास नहुँदै उसले केटी भगाएर ल्यायो । रेष्टुराँ गएर रक्सी पिउन थाल्यो । उसको पढाई बिग्रियो । सुमनले एमबी.एस.पास गर्दा बल्ल राजनले बीबीएस पास गरेछ ।

सुमनको प्रगति राजनको स्वास्नीले हेर्न सकिनन् । सुमन पीएचडी गर्न अमेरिका जाने भयो । अमेरिका जान भिसा समेत आइसकेको थियो । त्यसैले ऊ वचपनदेखिको साथी राजनसँग विदा माग्न उसको घर गयो । राजन घरमा थिएन । मोबाईलमा फोन गर्दा बस्दै गर्नु आउँछु भन्यो । राजनको स्वास्नीले उसलाई आफ्नो कोठामा लगेर राखिन् । चिया खुवाउन ल्याइन् । सुमन चिया खाइरहेको बेला राजनको स्वास्नीले सुमनलाई अँगालो मार्न गइन् । सुमनले के चलेको यो भनेर जुरुक्क उठ्यो । तैपनि राजनको स्वास्नीले उसलाई छाडेन । सुमनले उनलाई धकेली दियो । यसरी चल्दा चिया पोख्यो । त्यतिकैमा राजनको आमा कोठामा आइन् । के भएको भनेर सोध्दा सुमनले बलात्कार गर्न खोज्यो भनिन् । सुमनले होइन भन्दा भन्दै राजनको आमाले सुमनलाई गालामा दुई चड्कन हानिन् । आइन्दा हाम्रो घरमा नआउनु भनेर गाली गरिन् । सुमन आफू निर्दोष भएको वयान दिँदै आमाको खुट्टा समातेर रुन थाल्यो । राजनको बुबा पनि आयो । उसले सुमनको कुरा सुनेर भइगो जाउ अब उप्रान्त यो घरमा कहिल्यै नआउनु भन्यो । राजनको स्वास्नीले प्रहरीमा फोन गरी सकेकी थिइन् । सुमन घरबाट बाहिर जान लागेकै बेला प्रहरीहरू आए । सुमनलाई गिरफ्तार गरेर लगे । राजनको बुबाले भइगो भन्दा पनि प्रहरी मानेन । राजनको स्वास्नीले जवरजस्ती गर्न खोजेको भनेर जाहेरी लेखाइन् । मुद्दा चलायो । सुमनको अमेरिका जाने योजना चकनाचूर भयो ।

राजनले आफ्नो स्वास्नीको कुरामा विश्वास गरेन । उसले स्वास्नीलाई घरबाट निकाली दियो । अदालतमा साक्षी बकपत्र हुने भयो । राजनले आफ्नो स्वास्नीसँग एउटा सर्त राख्यो, 'यदि तिमी मसँग बस्न चाहन्छौँ भने अदालतमा इन्कारी बकपत्र देउ । होइन भने मसँग सम्बन्ध विच्छेद गर्न तयार रहनु ।’

बकपत्रको बेला राजनको स्वास्नीले इन्कारी बयान दिएपछि चौथो पेशीमा सुमनले सफाइ पायो । सफाइ पाएर के गर्ने ? उसको अमेरिका जाने सपना पूरा भएन । उसको समय, धन सबै वर्वाद भइसकेको थियो ।

१२:१५ बजे श्रीमती कृष्णा र छोरा आए । भेट्न गएँ । श्रीमतीको अनुहार हेरेँ । अस्तिअस्ति जस्तो मलिन थिएन । आज उनको अनुहारमा चमक छ । एउटा आशा पलाएको छ । मलाई निराश नहुन ढाडस दिइन् । छोराले पनि मलाई रामै्र खवर सुनायो । ज्वजलपा पत्रिका छाप्न गएको छ । भोलि शनिवार सम्झनाको आमा कल्पना र सम्झना मलाई भेट्न आउनेछ । हिजो नीम्ता पनि मलाई भेट्न आएकी थिइन् रे ३ बज्यो भनेर पठाएन रे ।

आज कोठामा लक्ष्मी पुजाको तयारी हुँदैछ । कोठामा झिलिमिलि बत्ती, प्लाष्टिकको फूल, बेलूनले कोठा, बाटो सबै सजाइरहेको थियो । कोठामा बस्ने ठाउँ छैन । त्यसैले फेरि बाहिर गएँ । जवरजस्ती करणी मुद्दा लागेका खेमराज सापकोटा भेटेँ । कुराकानी भयो । मंसिर २ गते उसको पेशीको कागज आएको बतायो । त्यहिबेला दिनेश बस्नेत आयो। उसले मेरो उपन्यास ‘लम्किरहेको पाइला’ पढेर आफ्नो भनाइ लेखेर दिनुभयो ।

आज साढे सात बजेतिर जेलको चौकीदार, मूलनाईके, मूलभाइ नाईके, ठूलो बहिदार, सानो बहिदार लगायत अरू नाईकेहरू लक्ष्मीपूजा गर्न हाम्रो कोठामा आउनुभयो । त्यसपछि हामीले पनि लक्ष्मी पूजा गर्‍यौं । त्यसपछि फोटो खिच्ने काम भयो ।

३१औँ दिन

खाना खाएर बाहिर साथीहरूसँग गफ गरिरह्यौँ । गफ गरिरहेको बेला लुगा धुने पानी खुल्यो भनेर माइकबाट सूचना दियो । मानिसहरू हस्याङ्ग फस्याङ्ग गर्दै ट्याकितिर दौडन थाले । ममाथि झरनानिर बसेर हेरिरहेँ । मलाई लुगा धुनु छैन, त्यसैले पानी थाप्नु पनि छैन । मेरो लुगा त घरमा धुन पठाउँछु । घरका मानिसहरूको माया पाएर नै यहाँभित्र पनि मेरो इज्जत छ । म साहित्यकार भनेर यहाँ सबैले थाहा पाइसकेका छन् । मेरो 'आस्था र जीवन' र 'लम्किरहेको पाइला' यहाँ धेरैजनाले पढिसकेका छन् । जति जनाले पढे सबैले प्रशंसा गरे । नेपाली भाषामा प्रकाशित गरेको भए मैले कति पुरस्कार पाइसक्थेँ होला भने ।

आज मेरो भेटघाटमा कोही पनि आउँदैन होला । आज हामी नेवारहरूको लक्ष्मीपूजा गर्ने दिन । घर सफा गरेर पूजाको तयारी गर्नुपर्छ । घरका मान्छेहरू त आज आउँदिन भनेर गएका थिए । अरू को आउला र ? आए सम्झना र उनको आमा आउनसक्छन् । तर उनीहरूलाई यहाँ आउने बाटो र तरिका थाहा छ कि छैन । तैपनि कोही आउँछ कि भन्ने आशामा म यताउता टहलिरहेँ । सुतेँ भने माइकबाट बोलाएको सुनिंदैन कि भनेर बाहिरै घुमिरहेँ ।

अस्ति जितेन्द्र र तुयूबहादुर आएका थिए । त्यही दिन लक्ष्मी उप्रेती र नीलम सुवेदी आएकी थिइन् । उनीहरूसँग भेटेर आउँदा यहाँका मेरा साथीहरू घाम तापिरहेका थिए ।

'भेटघाट सकियो ?' एकजना साथीले सोध्यो ।

'आज त भेटघाटबाट आउँदा पनि खाली हात आउनु भयो । के आज छोरा आएन ?' अर्को साथीले सोध्यो ।

'आज छोरा आएन । प्रत्येक दिन आउनु पर्दैन भनेको थिएँ । त्यसैले नआएको होला ।' मैले भनेँ ।

'आइरहेको मान्छेलाई नआउ कहिले पनि भन्नु हुँदैन ।' पहिलो साथीले भन्यो ।

 'प्रयेक दिन दुई जना तीन जनाले भेट्न आइरहेकै छन् । छोरालाई कति दुःख दिने भनेर दिनका दिन आउनु पर्दैन भनेको नि ।' मैले भनेँ ।

'नयाँ नयाँमा सबैको यस्तै भेटघाट आउँछन् । कोही फर्मालिटी पूरा गर्न आउँछन् । कोही तपाईंको तमाशा हेर्न आउनेहरू पनि हुन्छन् । तपाईंको आफ्नै परिवारका बाहेक दुई तीन पटक आएकाहरू कति जना छन् ?'

साथीको कुराले म झस्केँ । दोहोर्‍याएर को को आएको छ भनेर सम्झन थालेँ । धेरै जनामध्ये थोरै जना मात्र दोहोर्‍याएर आएका थिए ।

'के सोचिरहनु भएको कति जना दोहोर्‍याएर आइसक्यो ?'

'म यहाँ आएको एक महिना मात्र त हुन लाग्यो । चार पाँच जना दोहोर्‍याएर आइसकेका छन् ।'

'होइन भेटघाटको त्यत्रो के महत्व छ ?' अर्को साथीले सोध्यो ।

'यस्तै सङ्कटकालको अवस्थामा त को आफ्नो, को पराई थाहा हुन्छ । मुद्दा नछिनेसम्म त अदालतले सफाइ दिन्छ कि के हो–के हो भनेर पनि आउँछन् । अहिले भेट्न गएन भने पछि कसरी मुख हेर्ने भनेर पनि आउँछन् । साँच्चीकै माया गर्नेहरू त पछिपछिसम्म पनि आइरहन्छन् ।' पहिलो साथीले भन्यो ।

'तपाईले के आधारमा भनिरहनु भएको छ ?' मैले सोधेँ ।

'मेरो आफ्नै अनुभवको आधारमा भनिरहेको छु । सुरुसुरुमा मलाई पनि भेट्न आउनेहरूको लर्को लाग्थ्यो । विहान ११ बजेदेखि ४ बजेसम्म त म भेटघाटमै व्यस्त हुन्थेँ । जब अदालतले मलाई १५ वर्षको सजायँ सुनायो । त्यसबेलादेखि मलाई भेटघाट गर्न आउनेहरू पातलिँदै गए । अहिले त कोही भेट्न आए हुन्छ जस्तो लाग्न थाल्यो । ठूलो छोरा त आउनै छाडिसक्यो । कान्छो छोरा महिनामा एक दुईचोटि आउँछ ।'

'तपाईंको श्रीमती भेट्न आउँदैन ?' मैले उत्सुक भएर सोधेँ ।

'सुरुसुरुमा त दिनको एक एक थरि खानेकुरा लिएर आउँथिन् । भेटघाटमा व्यस्त हुँदा खानै भ्याउँदैनथ्यो । हरेक दिन अरूलाई बाँडेर खुवाउँथेँ । 

सबैलाई खुवाउन त पुग्दैन । कुनै दिन कसैलाई खाजा खुवाउन सकेन भने त्यो मान्छे रिसाउँथ्यो । अनि मैले घरबाट खाजा ल्याउनु पर्दैन भनिदिएँ । त्यसपछि घरबाट सामान ल्याउन छाड्यो । पहिले त श्रीमती भेट्दा रमाइलै लाग्थ्यो । तर नजिक बसेर कुरा गर्दा पनि सँगै बस्न नपाएपछि मलाई टेन्शन हुन थाल्यो । श्रीमतीलाई पनि त्यस्तै भएको महसुस गरेँ । अनि श्रीमतीलाई पनि प्रत्येक दिन आउनु पर्दैन भनेँ । त्यसपछि श्रीमती पनि आउन टाढिँदै गयो । अहिले त आउनै छाडी सकिन् । त्यसैले साथी भेट्न आइरहेकाहरूलाई नआउ कहिल्यै नभन । ल्याएको चीज कहिल्यै पर्दैन नभन । जे दिए पनि खुशी मनले लिने । भेट्न आउनेसँग खुशीसाथ भेट्ने गर ।'

साथीले भनेको कुरा ठिकै हो जस्तो लाग्यो । अस्ति नीलमले मैले खान नहुने फलफूल लिएर आएकी थिइन् । मैले खानु हुँदैन भनेर फर्काई दिएँ । त्यसपछि उनले केही पनि ल्याइनन् । 'केही लिएर जानु पर्दैैन । भेट्न गए पुग्छ भाउजूले भन्नुभयो । त्यसैले आज केही पनि ल्याएको छैन ।' लक्ष्मीले भनेकी थिइन् ।

सबैजना सहानुभूति दर्शाउन मात्र आउँदैनन् तमाशा हेर्न आउनेहरू पनि हुन्छन् भनेकोमा मलाई विश्वास लाग्यो । अस्ति तुयूबहादुर मलाई भेट्न आएको थियो । उसलाई देखेर म कति खुशी भएको थिएँ । तर पछि कुरा गर्दै जाँदा मलाई यति रिस उठाई दियो कि काटूँ कि मारूँ जस्तो लाग्यो । एकजना साथीको नाताले मप्रति सहानुभूति दर्शाउने त कहाँ कहाँ मलाई अभियोग पो लगाउन थाल्यो । मैले बच्चाहरूलाई खाटमा राखेर करणी गरेको कि भुईंमा राखेर गरेको नढाँटीकन भन पो भन्न थाल्यो । होइन मैले करणी गर्नै सक्दिन । करणी प्रयास पनि गरेको होइन भनेर कति कसम खाएँ उसले विश्वासै गरेन । झन यतिसम्म भन्न थाल्यो, 'मैले यतिसम्म सुनेको छु कि वीरगञ्जबाट पनि यस्तै केटी काण्ड भएर फर्कनु परेको थियो ।'

'यो सबै वाहियात कुरा हो, वीरगञ्जमा मैले कति जना केटीहरूलाई बिगारेर आएँ प्रमाण देउ । कति जनालाई सपारेर आएँ मान्छे अगाडि राखी दिनसक्छु । यदि मैले वीरगञ्जमा त्यस्तो अनैतिक काम गरेर आएको भए पहिले यो कुरा किन उठेन ?'

'सफाइ पाएर निस्कनु । घरमा आएर पत्रकार सम्मेलन गर्न सक्छ ? अनि मात्र हामी पत्रिका निकाल्न सक्छौं ।' तुयूबहादुरले भन्यो ।

'ठिक छ अहिल्यै पत्रकार सम्मेलन गर्न तयार छु ।'

'अहिलेलाई ज्वजलपा पत्रिका बन्द हुन्छ । अरू कुनै नाम राखेर पत्रिका निकाल्न पैसा छैन ।' तुयूबहादुरले भन्यो ।

कस्तो निर्लज्जताका साथ भनेको ? ज्वजलपा पत्रिकामा सम्पादकीय मण्डलमा उसको नाम त सम्मानको निम्ती राखेको हूँ । नत्र उसले त एक पैसाको सहयोग गरेको थिएन न एकचोटि पत्रिका सम्पादन गरेको थियो । उसले मलाई भेट्न आएको त मप्रतिको उसको ईष्र्या पोख्न आएको रहेछ । ऊ र म कीर्तिपुरका नेपाल भाषाका उपन्यासकारहरू हौँ । मेरो भन्दा पहिले उसको उपन्यास प्रकाशित भएको थियो । उसले दुईटा उपन्यास लेखेर बन्द गर्‍यो । मेरो छ वटा उपन्यास र एउटा कथा संग्रह प्रकाशित भइसकेका छन् । ऊ नेपाल भाषाबाट पैसा कमाइरहेको थियो । मैले नेपाल भाषाको लागि आफ्नो खल्तीबाट पैसा खर्च गरिरहेको थिएँ । कीर्तिपुरका मान्छेहरूले उसलाई भन्दा बढी मलाई चिन्छन् । सम्मान गर्छन् । त्यसैले उसले ईष्र्यावश मलाई भनेको जस्तो लाग्यो ।

आज यहाँभित्र पनि देउसी खेल्ने तयारी गर्दै थिए । रातको १:१५ बजे देउसी गाउनेहरूले मेरो नाम लिएर भट्याउन थाले । म उठें । मैले पनि ५ सय ५५ रुपयाँ  दिएँ । १:३० बजेसम्म भट्याई रहे । 

याे पनि 

थुनुवाको डायरी: शिक्षाकहरुकाे झुठाे बयान र भद्रवन्दी गृहकाे मेरो पहिलो रात

थुनुवाको डायरीः साहित्य सम्मेलनमा  दोस्रो पुरस्कार पाउँदा पनि मन चाहिँ खिस्रिक्क !

थुनुवाको डायरीः कोही छोरीका बलिन्द्र धारा आँसु ! कोही छोरीद्वारा यौन दुराचारको आरोप !!

थुनुवाको डायरी: मेरी प्यारी कृष्ण ! तिमीले मलाई जिउने साहस, प्रेरणा र हिम्मत देऊ !!

सेन्ट्रल जेल र भद्र बन्दी गृह नरक र स्वर्ग जस्तै फरकः पैसा दिई मिलापत्र गरी बाहिर आउने प्रस्ताव अस्वीकार !