कोरोना भाइरसबाट सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श

कोरोना भाइरसबाट सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न परामर्श

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २५, २०७७

पाेखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७-७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका साथै यसबाट सिर्जित विभिन्न समस्याको समाधानमा जोड दिएको हो । कोरोनाको परीक्षणलाई व्यापक विस्तार गर्ने र निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा यसबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र यसका विरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सुदृढ गरिने उल्लेख गरिएको छ ।

ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिलाई लकडाउनको अवधिमा जीवन निर्वाहका लागि स्थानीय तहसँगको सहकार्यमा राहत तथा रोजगारी उपलब्ध गराइने प्रदेश प्रमुख अमिक शेरचनले बताउनुभयो । महामारीबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, महिला, दलित, गरिब तथा सीमान्तकृत, असहाय तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकको हित संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी छ ।