गोरखामा लोपोन्मुख तामे सालकको उद्धार

गोरखामा लोपोन्मुख तामे सालकको उद्धार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २५, २०७७

गोरखा । गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिनुभयो ।

फेला परेकोे उक्त सालकलाई वन कार्यालयबाट गएको टोलीले  उद्धार गरेको उहाँले बताउनुभयो । 'शनिबार फेला परेको सालक तामे सालक हो, यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ' , उहाँले भन्नुभयो । सालकको आहारा कमिला तथा धमिरालगायतका किरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने उहाँको भनाइ छ ।
 
यसको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी सिकार गर्ने गरेको बताइन्छ ।  यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने उहाँले जानकारी दिनुभयो । उद्वार गरिएकोे सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको उहाँले बताउनुभयो । 
    
यसअघि यही जेठ ५ गते पनि जिल्लाको पालुङटार नगरपालिका वडा नं १० मिरकोट रहेको स्थानीय देउराली सामुदायिक वनमा मृतावस्थामा तामे सालक फेला परेको थियो । विश्वमा पाइने आठ जातिका सालकमध्ये नेपालमा कालो सालक (अतिसङ्कटापन्न) र तामे सालक (लोपोन्मुख) गरी दुई जातिका सालक पाइने उहाँको भनाइ छ ।