बिद्यालयको सिफारिसमा रोटरी क्लब बर्दिवासले  १५ छात्रा साइकल  प्रदान

बिद्यालयको सिफारिसमा रोटरी क्लब बर्दिवासले  १५ छात्रा साइकल  प्रदान

लोकसंवाद संवाददाता  |  शिक्षा  |  जेठ २५, २०७७

महोत्तरी । महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् ।

' घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी छुट्ने गर्दथ्यो”, बर्दिवास–५ चेरुस्थित इच्छेश्वर माध्यमिक विद्यालयमा यसपालि कक्षा–१० पुगेकी छात्रा सम्झना घोर्स्यङ्गी मगरले भनिन्, ' अब भने साइकल पाएकी छु, घण्टी नछुट्लान् ।'  इच्छेश्वर माविमा अध्ययनरत सम्झनाजस्तै विद्यालयबाट पाँच/सात किलोमिटर दूरीमा घर रहेका १५ जेहेन्दार र गरिब परिवारका छात्रालाई शनिबार रोटरी इन्टरनेशनल क्लबले साइकल र शैक्षिक सामग्रीसहितको झोला दिएपछि उनीहरुमा पढाइले निरन्तरता पाउने आस जागेको हो ।

उनीजस्तै कक्षा ९ की भवानी जर्घा मगरले पनि अब विद्यालयमा सबै घण्टी (सातै घण्टी) राम्ररी पढ्न पाइने आस पालेकी छन् । 'विद्यालय आउन पाँच/छ किलोमिटर पर्छ, बिहान घाँस–दाउरा गरेर समयमा विद्यालय आइपुग्न धौधौ, फेरि सातौँ घण्टी पढाइ नसकिँदै घर फर्केर घरको काम सक्नुपर्ने चिन्ता'  उनीले भनिन्, ' अब साइकलले आउँदा–जाँदा हामीलाई समय दिनेछ, घण्टी छोड्नु परोइन ।' साइकल पाउने कुराले छात्राका परिवारजन (बाबुआमा, घरका अभिभावक) ले पनि गरिबीभित्र आफ्ना छोरी–चेलीको पठनपाठनमा सहयोग पुग्ने बताएका छन् ।

माध्यमिक तहमा पढ्ने अत्यन्त गरिब, जेहेन्दार र बढी दूरीबाट आउनुपर्ने १५ छात्रालाई बिद्यालय प्रशासनको सिफारिसमा रोटरी क्लब बर्दिवासले शनिबार साइकल र शैक्षिक सामग्रीसहितको झोला प्रदान गरेको हो । सामग्री प्राप्त गर्ने छात्रा जेहेन्दार, गरिब, बाबुआमा गुमाएका र कमसेकम बिद्यालयबाट पाँच किलोमिटर दूरीबाट आउने–जाने परेका प्रधानाध्यापक युवराज अधिकारीले जानकारी दिनुभयो ।

साइकलसहित शैक्षिक सामग्री पाउनेमा कक्षा १० का यतिमाया श्रेष्ठ, सम्झना घोर्स्यङ्गी, मनिषा साह, अमिशा घिसिङ र मनिषा खड्का छन् । त्यसैगरी कक्षा ९ का अजिता थिङ, भवानी जर्घा, इशा लामा र एलिशा घिमिरे, कक्षा ८ का उषा लामा, प्रकृति खत्री र अर्पणा भण्डारी, कक्षा ७ का आरती विक, कक्षा ६ का प्रतिक्षा वाइवा र दिलु घोर्स्यङ्गी मगर छन् ।

ती छात्राको पठनपाठनप्रति उत्साह बढाएको र घरका अभिभावकमा पनि छोरी–चेलीको पढाइले निरन्तरता पाओस् भन्ने भाव सवल बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ देवकोटाको भनाइ छ । नगर क्षेत्रका विकट बस्तीका छात्रालाई साइकलसहितका शैक्षिक सामग्रीले पढाइलाई निरन्तरता दिन बल पुग्ने अपेक्षासाथ सामग्री प्रदान गरिएको सो क्लबका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । शिक्षा, स्वास्थ्य आफूहरुको सेवा क्षेत्रको प्राथमिकतामा पर्ने भएकाले यस्ता कार्यक्रमले निरन्तरता पाउने क्लबले जनाएको छ ।