अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ

लोकसंवाद संवाददाता  |  अपराध  |  जेठ २५, २०७७

दाङ । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १४ ग्राम १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय श्री बहादुर राउत र बैजनाथ गाउँपालिका-१ बस्ने २४ वर्षीय सुजन शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको भे‍.२ प २७४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको सिटमुनी लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । 

नवलपरासी(पश्चिम), सुस्ता गाउँपालिका-५ रतनगञ्जस्थित भित्री सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६० ट्याब्लेट र ओनोरेक्स ४ बोतल सहित विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगर बस्ने २६ वर्षीय निरज कुमार गौडलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  जनाएको छ ।