छेकेन बन्दाबन्दीले २३ वर्षदेखि जयतु संस्कृतम् अभियानलाई, जुम प्रविधिबाटै संस्कृतमा कवि सम्मेलन

छेकेन बन्दाबन्दीले २३ वर्षदेखि जयतु संस्कृतम् अभियानलाई, जुम प्रविधिबाटै संस्कृतमा कवि सम्मेलन

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २७, २०७७

काठमाडौँ ।  प्राचीन भाषा संस्कृतका कविहरु प्रविधिमार्फत् जुममा जोडिएर दुई दिने कवि सम्मेलन सम्पन्न गरेको जनाइएको छ । 

जयतु संस्कृतम् संस्थाको आयोजनामा भएको सम्मेलनमा ६० जना कवि एवं कवयित्रीले संस्कृत भाषामा लेखिएका आ-आफ्ना रचना पाठ गर्नु भएको थियाे ।  संस्कृतका विद्वानले आधुनिक प्रविधिलाई उपयोग गर्न सक्दैनन् भन्ने टिप्पणीलाई जवाफ दिँदै कवि एवं कवयित्रीले शास्त्रीय छन्दमा लेखिएका मीठा कविता सुनाउनुभयो । राष्ट्रिय भावना, स्वसंस्कृति, कोरोना भाइरस लगायत समसामयिक विषयमा लेखिएका कविता सम्मेलनमा वाचन गरिएको समेत जनाईएको छ । 

सम्मेलनमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण विभिन्न जिल्लामा रहनुभएका कवि एवं कवयित्रीले जुम प्रविधिमा जोडिएर कविता वाचन गर्नुका साथै अरुका कविता पनि सुन्नुभयो । सम्मेलनमा अमेरिका, जर्मन, बेलायतमा रहेका संस्कृतका कवि एवं कवयित्रीले पनि रचना पाठ गर्नुभएको थियो । जयतु संस्कृतम्ले विगत २३ वर्षदेखि संस्कृत कवि सम्मेलनको आयोजना गर्दै आएको छ । दुई दिने गोष्ठीमा वाचन भएका कविता प्रकाशन गरिने सो अवसरमा जानकारी दिइएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्नुहुँदै नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले सम्मेलनले संस्कृत भाषाको उन्नयनमा योगदान पुग्ने बताउनुभयो । विश्वका धेरै भाषाको जननी संस्कृत संस्कारित र परिमार्जित भाषा भएकैले पछिल्लो समय विकसित देशसमेत यसतर्फ आकर्षित भइरहेकाले नेपाल, भारत जस्ता देशमा यसलाई अनिवार्य विषयका रुपमा समावेश गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । संस्थाका अध्यक्ष डा. बद्री पोखरेलले ब्रह्माण्डलाई समेट्ने भाषा भएकैले अमेरिकी वैज्ञानिक संस्था नासाले समेत संस्कृत भाषामा कम्प्युटर सफ्टवेयर बनाउन लागेको बताउनुभयो । अन्तरिक्षमा समेत ध्वनि परिवर्तन नभई पुग्ने विश्वको एकमात्र भाषा प्रमाणित हुँदा यसका विद्यार्थीले गौरव गर्नुपर्ने उहाँको भनाई थियो । महासचिव डा नवराज कट्टेलले ७४ औँ जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गते दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छा सहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने जानकारी दिनुभयो ।

विगत वर्षमा दिवसका अवसरमा पदयात्रा र उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरिएकामा यस वर्ष बन्दाबन्दीका कारण स्थगित गरिएको जनाइएको छ । त्यसै दिन दिउँसो जुम प्रविधिका माध्यमबाट वर्तमान युगमा संस्कृत भाषाको महत्व विषयमा गोष्ठी समेत आयोजना गर्न लागिएको जनाइएको छ ।

विसं २००४ सालमा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै जयतु संस्कृतम् आन्दोलन गरेका थिए । यो आन्दोलन नेपालको पहिलो विद्यार्थी आन्दोलन हो । आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै शुरु भएको आन्दोलन पछि जहानियाँ राणा शासनको विरुद्धमा केन्द्रित भएको थियो । राणा शासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि जहानियाँ राणा शासनको बिरोध गर्दै देशभर जागरण फैलाएका थिए ।

देशका विभिन्न भाग हुँदै विद्यार्थीहरु भारतको वनारस पुगी राणा शासनको अन्त्य गर्न लागि पर्नुभएका काँग्रेसका संस्थापक बिपी कोइराला लगायतका नेतासँग भेटघाट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन शुरु गरेको सम्झनामा प्रत्येक वर्ष जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।