भारतको आम निर्वाचन सात चरणमा

भारतको आम निर्वाचन सात चरणमा
भारतमा भएको आम निर्वाचन । फाइल तस्बिर : लाइभहिन्दुस्थान डट कम ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २७, २०७५

काठमाडौं । भारतको आसन्न आम निर्वाचन सात चरणमा हुने भएको छ ।

भारतको निर्वाचन आयोगले आइतबार यसको घोषणा गरेको हो । 

निर्वाचन आयोगका मुख्य चुनाव आयुक्त सुनिल अरोडाका अनुसार सन् २०१९ को आम निर्वाचनमा झण्डै ९० करोडले मतदान गर्नेछन् ।

भारतको संविधान अनुसार तल्लो सदनमा ५४३ जना सांसद् निर्वाचित हुने व्यवस्था छ । 

कुन चरणमा कति ?  

निर्वाचन आयोगका अनुसार पहिलो चरणको निर्वाचन ११ अप्रिलमा हुनेछ, जसअन्तर्गत २० राज्यमा ९१ सिटका लागि निर्वाचन हुनेछ । जसमा आन्ध्र प्रदेशमा २५, अरुणाञ्चलमा २, असममा ५, विहारमा ४, छत्तीसगढमा १, जम्मू काश्मिरमा २, महाराष्ट्रमा ७, मणिपुरमा १, मेघालयमा २, मिजोरममा १, नागाल्यान्डमा १, ओडिशामा ४, सिक्किममा १, तेलंगानामा १७, त्रिपुरामा १, उत्तर प्रदेशमा ८, उत्तराखन्डमा ५, पश्चिम बंगालमा २, अन्डमान निकोबारमा १ र लक्षद्वीपमा १ सिटका लागि निर्वाचन हुनेछ । 

दोस्रो चरणको निर्वाचन १८ अप्रिलमा हुनेछ, जसअन्तर्गत १३ राज्यमा ९७ सिटका लागि निर्वाचन हुनेछ । जसमा विहारमा ५, छत्तीसगढमा ३, जम्मू काश्मिरमा २, कर्नाटकमा १४, महाराष्ट्रमा १०, मणिपुरमा १, ओडिशामा ५, तमिलनाडुमा ३९, त्रिपुरामा १, उत्तर प्रदेशमा ८, पश्चिम बंगालमा ३ र पान्डिचेरीमा १ सिटका लागि निर्वाचन हुनेछ । 

तेस्रो चरणको निर्वाचन २३ अप्रिलमा हुनेछ, जसअन्तर्गत १४ राज्यमा १ सय १५ सिटमा प्रतिस्पर्धा हुनेछ । जसमा असममा ४, विहारमा ५, छत्तीसगढमा ७, गुजरातमा २६, गोवामा २, जम्मू काश्मिरमा १, कर्नाटकमा १४, केरलामा २०, महाराष्ट्रमा १४, ओडिशामा ६, उत्तर प्रदेशमा १०, पश्चिम बंगालमा ५, दादर नगर हवेलीमा १ र दमनद्वीपमा १ सिटका लागि निर्वाचन हुनेछ । 

चौथो चरणको निर्वाचन २९ अप्रिलमा हुनेछ, जसअन्तर्गत ९ राज्यमा ७१ सिटमा निर्वाचन हुँदैछ । जसमा विहारमा ५, जम्मू काश्मिरमा १, झारखण्डमा ३, मध्य प्रदेशमा ६, महाराष्ट्रमा १७, ओडिशामा ६, राजस्थानमा १३, उत्तर प्रदेशमा १३ र पश्चिम बंगालमा ८ सिटका लागि निर्वाचन हुनेछ । 

पाचौँ चरणको निर्वाचन ६ मईमा हुनेछ, जसअन्तर्गत ७ राज्यमा ५१ सिटमा निर्वाचन हुनेछ । जसमा विहारमा ५, जम्मू काश्मिरमा २, झारखण्डमा ४, मध्य प्रदेशमा ७, राजस्थानमा १२, उत्तर प्रदेशमा १४ र पश्चिम बंगालमा ७ सिटका लागि निर्वाचन हुनेछ । 

छैठौं चरणको निर्वाचन १२ मईमा हुनेछ, जसअन्तर्गत ७ राज्यमा ५९ सिटमा प्रतिस्पर्धा हुनेछ । जसमा विहारमा ७, हरियाणामा १०, झारखण्डमा ४, मध्यप्रदेशमा ८, उत्तर प्रदेशमा १४, पश्चिम बंगालमा ८ र नयाँ दिल्लीका ७ सिटका लागि निर्वाचन हुनेछ । 

यसैगरी सातौँ चरणको निर्वाचन १९ मईमा हुनेछ, जसअन्तर्गत आठ राज्यमा ५९ सिटमा निर्वाचन हुनेछ । जसमा विहारमा ८, झारखण्डमा ३, मध्यप्रदेशमा ८, पञ्जाबमा १३, चण्डिगढमा १, पश्चिम बंगालमा ९, हिमाञ्चल प्रदेशमा ४ र उत्तर प्रदेशमा १३ सिटका लागि निर्वाचन हुनेछ । 

 २३ मईमा भोट गणना हुने निर्वाचन आयोगले जनाएको छ । 

स्मरण रहोस्, सन् २०१४ को लोकसभा चुनाव ९ चरणमा सम्पन्न भएको थियो । उक्त चुनावमा नरेन्द्र मोदी अगुवाई गरेको एनडिए ३३६ सिट र कांग्रेसले अगुवाई गरेको युपिएलाई ६० सिट एवम् अन्य क्षेत्रीय दललाई १४७ सिट प्राप्त भएको खबर एजेन्सीको सहयोगमा तयार पारिएको छ ।