महामारी नियन्त्रणमा : सङ्घले ६ अर्ब ३ करोड,  प्रदेशले एक अरब ८ करोड र स्थानीय तहले २ अरब ७६ करोड खर्च गरे

महामारी नियन्त्रणमा : सङ्घले ६ अर्ब ३ करोड,  प्रदेशले एक अरब ८ करोड र स्थानीय तहले २ अरब ७६ करोड खर्च गरे

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २७, २०७७

काठमाडाैँ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउनुभयो । मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा सर्वसाधारणकोे पीसीआर परीक्षणको व्यवस्था गर्न सकिने उहाँको भनाइ थियो ।

अहिले मुलुकका २१ स्थानबाट दैनिक चार हजारको सो परीक्षण भइरहेको छ । अहिलेसम्म पीसीआर एक लाख ९७१ र आरडिटी एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको  जानकारी  मन्त्री  ढकालले दिनु भएको छ । मन्त्री  ढकालका अनुसार नेपालमा तीन हजार ७६२ जनामा सङ्क्रमण, १४ जनाको मृत्यु र ४८८ जना अस्पतालबाट डिस्चार्ज भएका छन ।

मन्त्री  ढकाललेले सात प्रदेशमा सात ठूला मेसिन खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । मन्त्री  ढकालले अहिलेको बन्दाबन्दी (लकडाउन)लाई सहजिकरण गर्न विज्ञसँग परामर्श भइरहेको बताउनुभयो । मुलुकमा ७७ दिनदेखि लकडाउन जारी छ । उहाँले अहिले विनियोजित बजेट स्वास्थ्य सुधारका लागि पर्याप्त नभएपनि स्वास्थ्य क्षेत्रको बलियो जग बसाल्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री ढकालले सर्वसाधारण जनतालाई दिइने स्वास्थ्य सेवाको गुणस्तरीय र आम नागरिकको पहुँचमा सेवाको वृद्धि हुने गरी आगामी वर्षमा स्वास्थ्यका कार्यक्रम सञ्चालन हुने विश्वास दिलाउनुभयो । निरोगी नेपाल अभियान अन्तर्गत प्रदेश र स्थानीय तहसँग समन्वय गरी विभिन्न स्वास्थ्य कार्यक्रम, आयुर्वेद, प्राकृतिक चिकित्सा, होमोपेथिक तथा योग लगायतका वैकल्पिक उपचार पद्धतिमार्फत प्रभावकारी सेवा प्रवाह गर्ने कार्यलाई प्राथमिकता दिइएको मन्त्री ढकालले बताउनुभयो ।

भौगोलिक र जनसङ्ख्याका आधारमा स्वास्थ्य संस्थालाई स्तरोन्नति गरिने उहाँले बताउनुभयो । स्वास्थ्य संस्थाका अहिलेको दरवन्दीमा पुर्नसंंरचना गरी आवश्यकता अनुसार तत्काल अस्थायी दरवन्दी स्वीकृत गरिने मन्त्री  ढकालको भनाइ थियो । चिकित्सकलाई उच्च मनोवलका साथ काम लगाइने भन्दै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता र २५ लाख विमा गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक स्थानीय तहमा एक चिकित्सक र एक चिकित्सक एक संस्थाको व्यवस्थापनका लागि आवश्यक कार्यक्रम गरिने मन्त्री  ढकालले ले बताउनुभयो । गरिब, विपन्न, असाहय र ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न पर्याप्त बजेट विनियोजन गरिएको मन्त्री ढकालकाे दावी थियो ।  खोप, पोषण, क्षयरोग, एचआईभी एड्स र अन्य महामारी रोगका लागि बजेट विनियोजन गरिएको छ । यो वर्षको कार्यक्रम अन्तर्गत ३०० बेडको सङ्घ र प्रत्येक प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल बनाइने बजेटमा उल्लेख छ ।

मन्त्री  ढकालले पुराना अञ्चल अस्पताललाई २०० बेडमा स्तरोन्नति गर्ने र सङ्घमा रहेका पाँच वटा अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरी ५०० बेडको बनाउने बताउनुभयो । कोभिड १९ को रोकथाम, नियन्त्रणका लागि सरकारले प्रयास गरिरहेको भन्दै उहाँले कोभिड १९ को महामारी अरु देशको भन्दा हाम्रो देशमा सङ्क्रमण फरक रहेको बताउनुभयो ।

मन्त्री  ढकालका अनुसार नेपालमा २१ देखि ३१ वर्ष उमेर समुहलाई बढी सङ्क्रमण देखिएको छ । महामारी नियन्त्रणमा १० अरब खर्च भएको सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सङ्घले ६ अरब ३ करोड,  प्रदेशले एक अरब ८ करोड र ६४१ स्थानीय तहमा २ अरब ७६ करोड खर्च भएको जानकारी दिनुभयो ।

यस्तै दुई अर्ब ९२ करोड ५५ लाख ८९ हजार स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री खरिदमा खर्च भएको उहाँले उल्लेख गर्नुभयो । दक्षिण एशियामा राम्रो दक्षिण एशियामा हामीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा राम्रो भूमिका खेलेको मन्त्री ढकालले उल्लेख गर्नुभयो । प्रति १० हजारमा तीन हजार ३३७ जनामा परीक्षण गरिएको छ । सङ्गठनले प्रतिवन्ध लगाएको छैन उहाँले विश्व स्वास्थ्य सङ्गठनले आरडिटी प्रतिवन्ध नलगाएको स्पष्ट पार्दै भन्नुभयो, 'अध्ययन, अनुसन्धानका लागि आरडिटी परीक्षणमा प्रतिवन्ध लगाएको छैन । आरडीटी परीक्षण गर्दा पोजेटिभ देखियो भने पोजेटिभको आधारमा सङ्क्रमित भनेका छैनौ । सङ्क्रमण पुष्टि गर्नका लागि पीसीआर परीक्षण गरेका छौँ । आरडीटी स्क्रीनिङ्गका लागि मात्र परीक्षण गरिएको हो ।’