बजेट अभावमा जीर्ण बन्दै त्रिभुवन पार्क

बजेट अभावमा जीर्ण बन्दै त्रिभुवन पार्क
काठमाडौंस्थित त्रिभुवन पार्क । फाइल तस्बिर : ट्रिपएजभाइजर डट कम ।

लोकसंवाद संवाददाता  |  पर्यटन  |  फाल्गुन २७, २०७५

काठमाडौं ।  काठमाडौँको थानकोटस्थित ऐतिहासिक, सांस्कृतिक र मनोरञ्जनका दृष्टिले महत्व बोकेको त्रिभुवन पार्क जीर्ण बनेको छ । 

पार्क संरक्षणका लागि राज्यपक्षबाट आवश्यक बजेट विनियोजन नगर्दा र स्तरोन्नतिको योजना ल्याउन नसक्दा पार्कको सुन्दरता गुम्न पुगेको हो । 

उक्त पार्कको नाम त्रिभुवन पार्क रहे पनि अहिले त्रिभुवनको शालिक बेवारिसे रूपमा फालिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ढालेको उक्त शालिक वर्षै बितिसक्दा पनि बन्न सकेको छैन । पार्कलाई उचित किसिमले व्यवस्थापन गर्न नसक्दा यहाँ चहलपहल पनि निकै घटेको स्थानीयवासी बताउँछन् । 

एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कको चारैतिर लगाइएका बारबन्देज भत्किएको छ । उक्त भत्किएको पर्खाललाई बजेट अभावमा निर्माण गर्न नसक्दा स्थानीयवासी जथाभावी रूपमा प्रवेश गरेर फोहर गरी यसको स्वरुपलाई नै कुरूप पारेको सहिद स्मारक प्रकृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मदन ताम्राकारले बताउनुभयो । उहाँका अनुसार बजेट अभावमा लडेको त्रिभुवनको शालिकसमेत उठाउन सकेको छैन । ‘पार्कको अस्तित्व जोगाउन सम्बन्धित निकायमा केही बजेट प्रदान गर्न आग्रह गयौँ, तर सहयोग मिलेको छैन,’ उहाँले भन्नुभयो । पार्कभित्र कहिलेकाहीँ हुने गरेको वनभोजका कार्यक्रमबाट नै कर्मचारीलाई जेनतेन तलब खुवाउँदै आएको अध्यक्ष ताम्रकारले बताउनुभयो । 

राजा त्रिभुवनको मृत्युपश्चात् उनको सम्झानामा विसं २०२४ मा श्री ५ त्रिभुवन स्मारक समिति गठन गरिएको थियो । केशव शम्शेर जबराको अध्यक्षतामा गठित उक्त समितिमा नौ जना सदस्य रहेका थिए । विसं २०२४ मा दर्ता भई विसं ०२८ मा निर्माण गरिएको त्रिभुवन पार्क सुरुका दिनमा ११२ रोपनी क्षेत्रफलमा फैलिएको थियो ।

पार्कको चहलपहल बढ्न थालेपछि श्री ५ त्रिभुवन स्मारक समितिले नै विसं २०४२ मा वरिपरिको ४० रोपनी जग्गा खरिद गरेर पार्कको क्षेत्रफल बढाएको थियो । पार्कभित्र राजा त्रिभुवनको शालिक र भैरवनाथको मन्दिर छ । तर, भूकम्पयता शालिक पोखरी नजिकै छेउमा लडेको छ । शालिक मर्मत गरेरे ठड्याउनका लागि बजेट अभाव भएको प्रतिष्ठानले जनाएको छ । 

विसं २०३०/०३१ बाट सर्वसाधारणका लागि खुला गरिएको पार्कको उद्घाटन तत्कालीन राजा वीरेन्द्रले गर्नुभएको थियो । यसको संरक्षण र हेरचाहका लागि २७ कर्मचारी राखिएका छन् । तीमध्ये २० कर्मचारी स्थानीय हुन् । एक सय ६५ रोपनी क्षत्रफलमा फैलिएको उक्त पार्क बाटो विभागबाट १० रोपनी कटानी भई हाल १५५ रोपनीमा सीमित भएको छ । विभागले बाटो बनाउने क्रममा पार्कको बार बन्देजलाई अलपत्र बनाएर भत्काइ दिएपछि थप समस्या उत्पन्न भएको कार्यलयका कर्मचारी बताउँछन् । 

विसं २०६५ भन्दाअघिसम्म यो पार्कको नाम श्री ५ त्रिभुवन स्मारक समिति थियो । विसं २०६५ मा नाम परिवर्तन गरी शहीद स्मारक प्रकृति प्रतिष्ठान राखिएको खबर राससमा जमुना धमलाले लेख्नुभएको छ ।